कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विदेशी अवार्डलाई ४४ करोड !

आईफा अवार्ड
सुशील पौडेल

काठमाडौँ — इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डस्को २० औं संस्करण अगस्ट अन्तिममा काठमाडौंमा हुने भएको छ । यसका लागि बिहीबार मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री वा राज्यमन्त्री संयोजक रहने गरी एक उच्चस्तरीय समिति बनाएको छ ।

विदेशी अवार्डलाई ४४ करोड !

अवार्डको सहआयोजक काठमाडौं महानगरपालिका हुने गरी नेपाल पर्यटन बोर्डले नेतृत्व रहने बताइएको छ । अवार्ड आयोजनासहित कार्यक्रमका लागि सरकारले आईफालाई ४० लाख डलर (४४ करोड २५ लाख रुपैयाँ) सहित हवाई, खानपान तथा आवासको छुट्टै व्यवस्थापन गर्ने छ ।


‘आईफाबाट ५० लाख डलर नगदसहित खानपान, आवास र भारतदेखि काठमाडौंसम्मको हवाई खर्च बेहोर्न प्रस्ताव गरिएको थियो । तर ४० लाख डलरमा सहमति नजिक पुगेका छौं । अवार्ड हुने लगभग ९० प्रतिशत टुंगो लागिसकेको छ,’ पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कान्तिपुरसँग भने, ‘लगभग छ सय पाहुनाहरूको सहभागिता रहनेछ ।’


जोशीले कार्यक्रम आयोजना स्थल सम्भवतः सैनिक मुख्यालयअगाडिको खेल मैदानमा हुने बताए । मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय समितिमा महानगर मेयर, गृह, परराष्ट्र, अर्थ, स्थानीय विकास, सूचना मन्त्रालयका सचिव, नेपाल पर्यटन बोर्ड, चलचित्र विकास बोर्ड, नेपाल उडड्यन प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपालका प्रमुखहरू सदस्यका रूपमा रहने बताइएको छ ।


विदेशी फिल्म अवार्डका लागि सरकारले ठूलो रकम दिने भएपछि स्वदेशी फिल्मकर्मीहरूले असन्तुष्टि जनाएका छन् । चलचित्र संघ अध्यक्ष प्रदीपकुमार उदयले स्वदेशी फिल्मका लागि लगानी गर्न हच्किने सरकारले विदेशको निजी अवार्डका लागि करोडौं रुपैयाँ दिनु लाजमर्दो भएको टिप्पणी गरे ।


‘आईफा आयोजना गर्नु नराम्रो हैन । कुनै निजी अवार्ड अर्को निजी संस्थाले गरेको भए नराम्रो हैन । तर सरकारले नै सहआयोजना गर्नुपर्ने कारण के हो ? स्पष्ट पारिनुपर्छ,’ अध्यक्ष उदयले थपे, ‘यहाँ आएर रातारात फर्किने पाहुनाकै कारण देशको पर्यटन अभिवृद्धि हुन्छ भन्नु व्यर्थको कुरा हो । स्वदेशी फिल्मको श्रीवृद्धिका लागि एक रुपैयाँ खर्च नगर्ने पर्यटन बोर्डले विदेशी फिल्म अवार्डका लागि करोडौं रुपैयाँ खर्च गर्नुको औचित्य के हो ?’


पर्यटन बोर्डका कार्यकारी अध्यक्ष जोशीले भने यस्ता बृहत् अवार्डको असर निकै ठूलो हुने जिकिर गर्दै भने, ‘यो अवार्ड विश्व सिनेमाको सर्वाधिक ठूलो अवार्डमा पर्छ । धेरैभन्दा धेरैले कार्यक्रम हेर्ने गर्छन् । आईफा हुँदा नेपालको पर्यटनको प्रवर्द्धन हुन्छ । यस्ता ठूला कार्यक्रम भएपछि संसारभर अरू कार्यक्रम गर्नका लागि पनि नेपाल उपयुक्त स्थल हुन सक्छ भन्ने सकारात्मक सन्देश जान्छ ।’


जोशीले अवार्डमा आउने हाई प्रोफाइललाई नेपाल घुम्न जाउँ भन्ने सन्देशसहितको भिडियो सामग्री बनाएर सेयर गरिदिन पनि अनुरोध गरिएको उल्लेख गरे । उनले आईफाका अन्य संस्करणमा पनि सम्बन्धित देशको पर्यटन बोर्ड वा महानगरपालिकाले नै आर्थिक र अन्य सहयोग गर्ने गरेको जनाउँदै आफूहरूले स्वदेशी फिल्म क्षेत्रलाई पाखा र विदेशीलाई काखा गर्न नखोजेको बताए । भने, ‘बढी भावनात्मक भएर सोच्नुभन्दा पनि जे गर्दा त्यसको असर सकारात्मक पर्छ, त्यो हेरेर कार्यक्रम बनाउने हो, गर्ने हो । हाम्रो कसैलाई हाइलाइट गर्ने भन्ने उद्देश्य छैन । बरु कसरी नेपाललाई भ्रमण गन्तव्य बनाउन सकिन्छ भन्ने सुन्दर प्रयास गरेका मात्रै हौं ।’

उच्च स्तरीय समितिकै एक सदस्यसमेत रहेका चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईले भने आईफामा नेपाली चलचित्रकर्मीको भूमिका कस्तो रहने भन्नेबारेमा छलफल भइरहेको उल्लेख गरे । ‘त्यसबाहेक यस अवार्डले नेपाललाई देशबाहिर परिचित गराउन मद्दत गर्छ । यहाँको छायांकन स्थलका बारेमा पनि प्रचार हुनुका साथै नेपाललाई सुटिङ हबका रूपमा चिनाउन अवार्डलाई सदुपयोग गर्न खोजेका हौं,’ अध्यक्ष भट्टराईले थपे, ‘भारतीय फिल्मको सुटिङ नेपालमा ल्याउनका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा लिइएको छ ।’


उनले अवार्डमा प्रतिष्ठित सेलिब्रेटीहरूको उपस्थिति रहने भएकोले पनि उनीहरूको सुरक्षा र खान, बस्नको उचित प्रबन्ध गर्नका लागि पनि सरकारको संलग्नता उचित हुने दाबी गरे । कार्यकारी प्रमुख जोशीले कार्यक्रमको मुख्य आकर्षण अवार्ड सेरेमोनी नै भए पनि त्यसबाहेक भारतबाट आउने कर्पोरेट प्रमुखहरूको स्वदेशी व्यवसायीसँग अन्तरक्रिया र भारतीय कलाकारसहितको एक सार्वजनिक सांस्कृतिक कार्यक्रम गर्नेबारेमा कुरा भइरहेको उल्लेख गरे ।


विजक्राफ्ट इन्टरनेसनलले आयोजना गर्दै आएको आईफा अवार्डको १९ औं संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो । अभिनेता अभिताभ बच्चन आईफा अवार्डका ब्रान्ड एम्बेस्डर हुन् ।

प्रकाशित : असार १३, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?