२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चित्रमा महिला संघर्ष

विपिन श्रीस

काठमाडौँ — महिला, माछा र जाल । मिथिलादेवी यादवको चित्रकलामा मुख्य त यिनै तीन पक्ष देख्न सकिन्छ । यो मिथिला चित्रमा महिला र माछालाई सँगै देखाइएको छ । यसको अर्थ जालमा परेका होलान् या कुनै पनि बेला पर्न सक्छन् ।

चित्रमा महिला संघर्ष

‘त्यो जालले समाजमा व्याप्त पितृसत्तात्मक सोचलाई प्रतिविम्बित गर्छ,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शनी कक्षमा आफ्नो चित्रले देखाउन खोजेको विषयलाई प्रस्ट पार्दै लोककला विभाग प्रमुखसमेत रहेकी यादवले भनिन्, ‘अहिले पनि मिथिला क्षेत्रमा महिलाको अवस्था यस्तै नै छ, धेरै परिवर्तन भएको छैन । हुन जरुरी छ ।’


मिथिला क्षेत्रमा महिलाको अवस्थालाई यथार्थपरक ढंगबाट प्रस्तुत गरेकी यादव आफूचाहिँ कसरी जालमुक्त भइन् त ? अहिलेको स्थितिसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको उनले सुनाइन् । सानैमा आमा र हजुरआमासँग चित्र बनाउन सिकेकी उनको १३ वर्षमा विवाह भएको थियो । उनलाई चित्र बनाउन एक होटल व्यवसायीले प्रोत्साहन र अवसर दिएका थिए । ती व्यवसायीले चित्र बनाएबापत् त्यसबेला दिनको ५ सय रुपैयाँ दिन्थे । यसबाट उनलाई चित्रकलामा लागिरहन मौका मिल्यो ।


चालीसको दशकको बेला एउटा ठूलो अवसर आयो । उनले त्यसलाई सामाजिक परिवेशका कारण चुकाउनुपर्‍यो । ‘जापानमा गएर मिथिला चित्रकला गर्ने अवसर थियो । त्यतिबेला नै महिनामा ३ लाख पाउने । चित्रबाट पाउने पुरस्कारसमेत आफैंले लिने,’ उनले भनिन्, ‘मेरा श्रीमान्ले जान दिनुभएन । उहाँ लेखपढ नभएका मान्छे । श्रीमती टाढा गएपछि के के हुन्छ भनी अरूले सुनाएछन् ।’ उनले हाम्रो समाजको यथार्थ चित्रण सुनाइन् ।


‘तर पनि मैले चित्र बनाउन छोडिनँ, २०५१ सालमा मिथिला हस्तकला पेन्टिङ उद्योग स्थापना गरेर ४५ जनालाई तालिम दिएँ,’ कक्षा ९ सम्म अध्ययन गरेकी यादवले विगत सम्झिँदै भनिन्, ‘काम गर्दै गएपछि श्रीमान्ले पनि विश्वास गर्नुभयो । पछि एक जना दाइसँग काठमाडौं आएर काम गर्न थालें ।’ मिथिला जालबाट निस्किएर कला क्षेत्र काम गर्दै आएकी यादव शुक्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् ।


तराईमा हुने दाइजो प्रथालगायतका महिला हिंसाविरुद्ध चित्रकलामार्फत सन्देश दिँदै आएकी यादवले आफ्नै लोककलामार्फत समाज परिवर्तनका लागि सशक्त रूपमा आवाज उठाउन सकिने बताइन् । महिला सशक्तीकरणसम्बन्धी अर्को चित्र पनि प्रदर्शनीमा देख्न सकिन्छ । चित्रमा पिँजडाभित्र थुनिएको चरालाई (महिला रूपी चरालाई) एक महिलाले पिँजडाको ढोका खोलिदिएर उड्ने स्वतन्त्रता दिएकी छन् ।


यसमा उन्मुक्त समाजको परिकल्पना गरिएको छ । त्यो मिथिलाचित्रले लोककला विधामा सञ्जुकुमारी यादवलाई २०७६ को राष्ट्रिय पुरस्कार दिलाएको थियो । चित्रका बारेमा बताउँदै रञ्जुले समाजमा महिला पुरुषबाट मात्र नभई महिलाबाट पनि विभेदमा पर्ने गरेको भन्दै यसको अन्त्यको सुरुवात महिलाबाट नै गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको बताइन् ।


लोककला प्रदर्शनीमा यादवसँगै ८२ कलाकारको चित्रकला देख्न सकिन्छ । चित्रका विभिन्न विषय र विशेषता छन् । किरात कलामा किरात समुदायको आस्था र विश्वास झल्किएको देख्न सकिन्छ ।


नेवारी कलामा कुमारी, गणेशलगायत देवीदेवताका चित्र, थारू कलामा थारू जीवनशैली देखाइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नक्सालस्थित प्रदर्शनी कक्षमा काठमाडौं, सप्तरी र भारदहमा आयोजित कार्यशालाबाट छानिएका चित्र राखिएका छन् । तीमध्ये धेरै मिथिला कला छन् । नेवारी, थारू र किरात कला पनि प्रदर्शनीमा छन् ।


प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाको सुरुवात नै लोककलाबाट भएको भन्दै त्यसलाई संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्ने बताए । उनले केही समुदाय र जातिको कलाको विकासले मात्रै सबै लोककलाको विकास नहुने जिकिर गरे ।


‘यहाँ मिथिला, नेवारी, किरात र थारू कला प्रदर्शनीमा राखिएका छन्, राम्रो काम हो, तर यत्ति मात्रै पर्याप्त हुँदैन,’ प्रदर्शनीमा मिथिलादेवीलाई प्रश्न गर्दै कुलपति कर्माचार्यले भने, ‘तामाङ कला खोइ ? अन्य जातजातिका कला खोइ ? आगामी दिनमा समेट्ने प्रयास गर्नुहोस् ।’ यादवले आउने कार्यक्रममा कमजोरी सुधार गर्दै जाने वचनबद्धता जनाइन् ।

प्रकाशित : असार १७, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?