कुरीतिविरुद्ध ‘मैनदानी’

सुशीला तामा‌ङ

काठमाडौँ — भनिन्छ, कुनै पनि सिर्जना कोरेपछि स्रष्टाको निजी धारणा मर्छ र त्यसको व्याख्या व्यक्तिअनुसार फरकफरक हुन पुग्छ । ग्यालरीमा प्रदर्शनरत चित्रप्रतिको धारणा पारखीअनुसार फरकफरक हुन सक्छ । एउटा कविताको समालोचना दृष्टिकोणअनुसार भिन्नाभिन्नै हुन सक्छन् । यस्तै बहुल चिन्तन पद्धतिको वकालत गर्दै राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘मैनदानी’ मञ्चन भइरहेको छ । 

प्रख्यात रूसी साहित्यकार एन्टोन चेखबको छोटो कथा ‘द वर्क अफ एन आर्ट’ बाट प्रभावित ‘मैनदानी’ एकजना कलाकारको सिर्जनाप्रति फरक पृष्ठभूमिका मानिसले राख्ने फरक धारणामा आधारित मात्रै छैन, तिनै फरक धारणामार्फत समसामयिक सामाजिक प्रवृृत्ति र चिन्तनप्रति व्यंग्यसमेत गरिएको छ । सिक्का इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको नाटकमा मानिसको कलाप्रतिको भिन्नभिन्न विश्लेषण र त्यसको प्रभाव पनि देखाइएको छ । समाजमा विविधता छ । हाम्रो सोच र दृष्टिकोण एक अर्कामा एकदमै फरक छ । हामीलाई राम्रो लागिरहेको वस्तु अर्कोलाई नराम्रो लाग्न सक्छ । डाक्टर हुँदै वकिल, गायकसम्म पुगेर पुन: डाक्टरकै हातमा मैनदानी आइपुग्दासम्मको दृश्यलाई नाटकले भावुकतासँगै रोचक बनाएर प्रस्तुत गरेको छ ।

केशव नामक एक पात्रको घरमा मूल्यवान् सम्पत्तिको नाममा केही हुन्न । डाक्टरले आमाको उपचार नि:शुल्क गरेबापत बदलामा दिने ऊसँग अरु केही नभएपछि उपहार स्वरूप उनले घरकै मूल्यवान् मैनदानी दिन्छ । त्यो उपहार राख्ने हिम्मत कसैको हुन्न । उपहारै स्वरूप र्‍यापर जोजोसम्म पुग्दा त्यसले निम्त्याएको समस्यालाई नाटकले प्रतीकात्मक रुपमा अर्थ्याएको छ ।

नाटकमा क्यान्भासमा रमाएका कलाकारहरूको पारिवारिक जीवनदेखि संगीतमा शिखर चुमेका कलाकारहरूको जीवनको यथार्थतालाई पर्दामा उतार्ने कोसिस गरिएको छ । कुनै पनि व्यक्तिलाई चर्चामा पुर्‍याउनेदेखि धराशायी बनाउनसम्म मिडियाले खेलिरहेको भूमिकालाई पनि नाटकले व्यंग्यात्मक रुपमा उठाएको छ । एउटा कलाको रुपमा जोजोले सजाएर राखेको मैनदानीलाई मिडियाले यौनसँग दाँजेर स्क्यान्डल बनाइदिन्छ र उसको करिअरमाथि खेलबाड गर्छ । अहिले गुणात्मकभन्दा पनि संख्यात्मक रूपमा आइरहेका मिडियाहरू र विषयवस्तुप्रति उनीहरूको संवेदनशीलताप्रति नाटकले प्रश्न उठाउँछ । पत्रकारिताको न्यूनतम मूल्य र मान्यताको ज्ञान नभए पनि प्रविधिको सहजताका कारण धमाधम खुलिरहेको न्यु मिडिया र युट्युब च्यानलहरूका लागि नाटक एक पाठ सावित हुने छ ।

कलाकारको सिर्जनामाथि जसको जस्तो धारणा भए पनि त्यसको मौलिक पहिचान र महत्त्व नमेटिने नाटकका परिकल्पनाकार तथा निर्देशक संयोग गुरागार्इं बताउँछन् । उनको यही भावका कारण नाटकमा हस्तान्तरणकै क्रममा मैनदानी पुन: केशवकै हातमा पुगेर डाक्टरलाई दिइन्छ । जोजो पात्रलाई विद्रोही बनाएर आम मानिसलाई समाजसँग लड्न नाटकले प्रेरणा दिएको छ । समाजका लागि व्यक्तिले आफूलाई परिवर्तन गर्नुभन्दा समाजको धार नै परिवर्तन गर्न लाग्नुपर्ने सन्देश छ नाटकमा ।

साउन ५ गतेसम्म मञ्चन हुने नाटकमा अंकित खडका, सागर खाती, देविन चौधरी, रिजन परियार, आयान खडका, जेनी सुनुवार, निकिता आचार्य, इंगिहोपो कोइँच सुनुवार, मिलन कार्की, देविशा लामिछाने, विकास पन्तलगायतले अभिनय गरेका छन् ।

प्रकाशित : असार १८, २०७६ ०८:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बेथितिको कथा–“विकास भर्सेस निकास”

सुशीला तामा‌ङ

काठमाडौँ — सरकार यतिबेला ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा छ । विकासको नाममा हरेक क्षेत्रमा बेथिति र विसंगतिले कसरी जरा गाडेको छ ? मुलुकको पहिचान र मौलिकतालाई बिर्सेर आधुनिक विकासका नाममा के कस्ता उन्नति र निकास खोजिरहेका छौं ?

पसिना र श्रमको कसरी अवमूल्यन भइरहेको छ र चाकडी संस्कृति कुन हदसम्म मौलाउँदै गइरहेको छ ? यी सबै प्रश्नको एकमुष्ट जवाफ दिन्छ नाटक ‘विकास भर्सेस निकास’ ले ।

सर्वनाम थिएटरमा नियमित मञ्चन भइरहेको नाटकले डाक्टर एसडी नामक पात्रमार्फत मुलुकमा विद्यमान शिक्षा, स्वास्थ्य, धर्म–संस्कृति लगायतका क्षेत्रमा व्याप्त बेथितिलाई उजागर गरेको छ । शक्तिको पहुँच भएन भने क्षमता मात्रैले पनि केही हुँदैन भन्ने सन्दर्भ डाक्टर एसडीको भूमिकामार्फत पुष्टि हुँदै जान्छ । आफ्नै मुलुकमा केही गर्न खोज्दा कतै पनि उनले उचित ठाउँ भेट्टाउन सक्दैनन् । ऊनी यस्तो सशक्त पात्र हुन्, जसले योग्यता भए पनि देशमा कुण्ठित भएर बसेका हजारौं युवाहरूको प्रतिनिधित्व गर्छ ।

भौतिक विकासतिर मुलुक जतिसुकै लम्के पनि मानिसको सोच र स्वास्थ्य अवस्था अति नै नाजुक भएर गएको पक्षलाई पनि नाटकले सबल रूपमा प्रस्तुत गरेको छ । कामभन्दा पनि नाम र पदको पछिपछि मानिस कसरी दौडिरहेका छन् भन्ने प्रश्न नाटकले उठाउँछ । नेपाली समाज र राजनीतिको यथार्ततालाई चित्रण गर्न खोज्ने क्रममा नाटक तयार भएको निर्देशक तथा लेखक रामबाबु रेग्मीको भनाइ छ ।

राजधानीको रत्नपार्कमा घुम्दा भेटिएका चरित्र, विषयवस्तु र गोरखाका विभिन्न थलोमा सडक नाटक गर्दाको अनुभवबाट यो नयाँ नाटक जन्मिएको उनले बताए ।

आखिर यो देश कसको ? आधुनिक विकासका नमुनाहरू कसका लागि ? नाटकले अर्को गम्भीर प्रश्न गर्छ । जस्तो कि सहरमा ठूलाठूला भवन र महल छन् । बाटो हिँड्ने बटुवाका लागि भने चाहेको बेला शौच गर्ने एउटा शौचालय पनि छैन । पिउने पानी त धेरै परको कुरा । उता शौच गर्न पाँच रुपैयाँ खर्च गर्नुकोसट्टा भट्टीमा गएर मदिरा सेवन गर्ने निम्न
वर्गीय चरित्रका आफ्नै कथा व्यथा छन् । रक्सीको गिलास हुँदै मृगौलाको रोगसम्मकोयात्रा हाम्रै समाजभित्र भेटिने पात्रहरूकै कथाजस्तो लाग्छ ।

निर्देशक रेग्मीका अनुसार ‘हामी जता हावा चलेको छ, त्यतैतिर लम्किरहेका छौं ।’ जसकारण ‘हाम्रो भनेर गर्व गर्ने मौलिकताहरू मास्सिदै गएका छन् ।’ खानेकुरा, गीत संगीत, जीवनशैलीदेखि विकासका परियोजनाहरूले नेपालीपन र मनलाई खासै प्रवर्द्धन गर्न सकिरहेको छैन । विदेशमा लामो समय बसेर आफ्नै मुलुकको कुनै एक विकास
परियोजनामा लगानी गर्छु भनेर आएका एनआरएन पात्र एसडी अन्तिममा शौचालय उद्घाटन गर्न पुग्छन् ।

मुलुकमा भइरहेको विकासको मोडलप्रति यो ठूलो व्यंग्य हो । रंगकला गोर्खाको प्रस्तुतिमा रहेको नाटकमा एसडीको भूमिकामा दीपक आचार्य छन् । मिलन गरुङ, विक्रम माझी, गौरव सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, प्रकाश कट्टेल, अमृता श्रेष्ठ, सुरज केसी, शशांक उप्रती, वीरेन्द्र मुखिया, अजय रेग्मी, प्रियना आचार्य, प्रेम अर्याललगायतको अभिनय रहेको नाटक यही असार २८ गतेसम्म नियमित मञ्चन हुने छ ।

प्रकाशित : असार १७, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT