विभेदविरुद्ध ‘थारूगिरी’

ठाकुरसिंह थारू

(बर्दिया) — व्यावसायिक रूपमा बनाइएका थारू फिल्मले लगानी उठाउन नसकिरहेका बेला केही युवा भने नयाँ फिल्म ‘थारूगिरी’ निमार्णमा जुटेका छन् । थारू समुदायविरुद्ध भएको विभेदको वकालत गर्ने बताइएको फिल्मको हालै पोस्टर सार्वजनिक गरिएको छ ।


यस्तो प्रकृतिको फिल्म नयाँ भने हैन । निलम्वित सांसद रेशम चौधरीले साठीको सुरुवाती दशकमै थारू समुदायमाथि भएको विभेद उजागर गर्दै फिल्म ‘कमैया’ रिलिज गरेका थिए । स्वदेशमै लगानी नउठेपछि उक्त फिल्म अंग्रेजी भाषामा बनाई विदेशमा पनि च्यारिटी गरिएको थियो ।

‘थारूगिरी’ को कथा भने बाँके कोहलपुरकै गायक विश्वसागर परियारले लेखेका हुन् । गाउँमा बस्ने थारूमाथि कसरी विभेदपूर्ण व्यवहार गरिन्छ भन्ने फिल्ममा देखाइएको उनले बताए । अति विभेद भएपछि सहन नसकेर सर्वसाधारणको नेतृत्व गर्दै बडघर (गाउँको अगुवा) स्वयंले गरेको विद्रोहसमेत फिल्ममा रहेको उनले बताए । ‘यसमा उत्पीडन छ । पीडा छ अनि विद्रोह छ,’
उनले भने ।

‘थारुगिरी’ को मुख्य अभिनेता–अभिनेत्रीमा सन्दीप बीसी र सुनिता चौधरी छन् । प्रवीन बस्नेत र समीर राईको पनि अभिनय रहेको निर्देशक केशव चालिसेले बताए । विवश थारूको गीत रहेको फिल्म आउने दसैंमा रिलिज हुने उनले बताए । तीन दशकदेखि आदिवासी थारू भाषामा व्यावसायिक फिल्म निर्माण हुन थालेको हो । २०४६ मा पहिलो पटक रामलाल र पर्शुराम चौधरीले ‘करम’ (भाग्य) नामक फिल्म बनाएका थिए । यो वर्ष मात्रै ‘भुरभुरा रहर’ र ‘लवा जुनी’ प्रदर्शनमा आएका थिए ।

प्रकाशित : असार १९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीबाट हुड्केली

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीले सुदूरपश्चिमको ऐतिहासिक किस्सा समेटेर नाटक लेखेका थिए, ‘सुनकेशरी मैया’ । ६ वर्षअघि मण्डला थिएटरले मञ्चन गरेको यो नाटकमा सुदूरपश्चिमकै एक पात्रले अनौठो प्रकृतिको बाजा ‘हुड्के’ बजाउँदै कथावाचन गरेका थिए, नाचेका थिए ।

त्यही हुड्के बोकेर नाटक टोलीसँग उक्त पात्र पनि बंगालदेशसम्म पुगे । ढाकास्थित शिल्पकला एकेडेमीमा हीरा बिजुली नेपालीले हुड्के बजाउँदै नाटकको कथा भन्दै गर्दा बंगालादेशी दर्शक मक्ख परेका थिए । उनै हीरा यति बेला काठमाडौं आइपुगेका छन्, त्यही हुड्के बाजा लिएर ।

आधा दशक यता कर्णाली आर्ट सेन्टर खोलेर सुदूरपश्चिममै व्यस्त उनी कहिले नाटक लिएर आउँछन्, कहिले कर्णालीको संस्कृति बोकेर । केही महिनाको अन्तरमै कर्णाली कथा समेटेर दुईवटा नाटक उनले राजधानीमा देखाउन भ्याइसके । केही अघि मात्रै राष्ट्रिय नाटक महोत्सवमा कर्णालीको एउटा मिथकीय कथामा नाटक ‘पम्पाफूल’ पस्केका उनी यति बेला सहरमा हुड्के बाजा र यो बजाएर नाचिने ‘हुड्केली नृत्य’ बारे सिकाइरहेका छन् । ‘यो बाजा कर्णालीको चिनारीजस्तै हो,’ बुधबार अनामनगरस्थित एस्थेटिक डान्स स्टुडियोमा ‘हुड्केली कार्याशाला’ क्रममा भेटिएका उनले भने, ‘हुड्के बजाउँदै कथा या सन्देश भन्ने परम्परा अझै पनि छ कर्णालीमा ।’

टाउकोमा सेतो फेटा, रातो ध्वजा अनि झाँक्रीले लगाउने जामाजस्तै सेतो पहिरन । कम्मरमा पटुका, छातीमा क्रस माला अनि हातमा डमरुजस्तै हुड्के । खस भाषामा गीत गाउँदै कर्णाली कथा व्यथा सुनाउँदै गर्दा हीराको अनुहार एकतमास बनेको थियो । त्यो किन भने लोक जीवनको प्रतीकका रूपमा रहेको यो बाजा नयाँ पुस्तामा भने खासै सिपसहित हस्तान्तरण हुन सकेको छैन । कर्णालीको लोक परम्परा र संस्कृतिलाई नयाँ ढंगले बाहिर ल्याउने ध्येयसहित मुगुमा नाटकघर खोल्ने योजना बोकेर हिँडेका यिनी हुड्केली नृत्य भने अरूजस्तो गाह्रो नभएको बताउँछन् ।
उनका अनुसार हुड्केली नाचमा पनि विविधता पाइन्छ । खुसी र दु:ख दुवैमा यसको प्रयोग गरिन्छ । विजयोत्सव, जात्रा, मेला या अन्य रमाइलो सांस्कृतिक उत्सवहरूमा बजाइने हुड्केको संगीतको ताल पनि फरक हुन्छ । ‘खुसीको बेला यसको ताल तीव्र हुन्छ, ध्वनि उमंगमय सुनिन्छ,’ उनले भने, ‘मृत्यु संस्कार या शोकमा त्यो ताल विस्तारै धीमा भएर जान्छ, जसका करण करुणाभावको अनुभूति पैदा हुन्छ ।’ उनका अनुसार बाजाको तालसँगै खस भाषामै गाइने गीतमार्फत व्यक्ति हुने कथा पनि जीवनदेखि मरणसम्म आधारित हुन्छ ।

एस्थेटिक डान्स स्टुडियोले बिहीबारदेखि गर्ने नेपाल नृत्योत्सवअन्तर्गत उनले बुधबार तीनदिने हुड्केली कार्यशाला सकाएका छन् । उनको कार्यशालामा आधा दर्जनभन्दा बढी कलाकार सामेल थिए । कार्यशालामा उनले हुड्केको सामान्य परिचयदेखि नृत्य, संगीतको ताल, कथा वाचन शैली, नृत्यमा प्रयोग गरिने भेषभूषा र कर्णाली क्षेत्रमा यसको महत्त्वको बारे प्रकाश पनि पारे । स्टेपहरूसहित हुड्केलीको नाच्न पनि अगुवाइ गरे । ‘यहाँ त स्टेज प्रस्तुति या नाटकको रूपमा आयो,’ उनले भने, ‘हुड्केली संगीत, हुर्को र नृत्यको संयोजनसहित हुने यो नृत्य कर्णालीमा चाहिँ संस्कृतिकै रूपमा स्थापित छ । मनोरञ्जनको यो निकै महत्त्वपूर्ण पाटो हो ।’

नेपालीका अनुसार हुड्केली नृत्य उत्सवहरूमा रातभरि पनि हुड्के बजाउँदै रमाइलो गरिन्छ । यसमा विशेष गरी हेर्ने दर्शकका लागि पट्यार नलागोस् भन्ने उद्देश्यले नै राखिन्छ । कथा सुन्दै जाँदा सुन्नेलाई दिक्क नलागोस् भनेर नै बीचबीचमा हुड्केको तालमा नृत्य गरिने परम्परा बसेको हो । ‘नृत्यकै क्रममा प्रेमकथा, कर्णाली पीडा, लोककथा, परिवेश र रहनसहन लगायतको पक्षहरू आउँछन्,’ उनले भने । उनका अनुसार हुड्केली नृत्य क्रममा गाइने गीत (आँगो)मा परम्पराका कथा, युद्धुसँगै मायाप्रेम त उहिलेदेखि नै चलेकै थियो, रोचक के भने पहिल्लो समय चुनाव जित्दा पनि हुड्के भन्दै नाच्ने चलन बसेको छ ।

संस्कृति जोगाउनकै लागि भन्दै देउसीभैलोमा समेत हुड्के नृत्य प्रयोग गर्दै आएको छ केही समूहले । यति हुँदा हुँदै पनि नीतिगत रूपमा यसको संरक्षणतिर राज्यको कुनै पनि निकायको ध्यान जान सकेको छैन । दलित समुदायको मानिसमा परिचित यस संस्कृतिलाई उनीहरूले मात्रै निरन्तरता दिइरहेको छ, तर यसको व्यवसायीकरण र प्रवर्द्धन हुन नसकेको हीराको गुनासो छ ।

प्रकाशित : असार १९, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्