कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लमजुङमा स्मार्ट फिल्म सिटी

आश गुरुङ

(लमजुङ) — करिब ७ वर्षमा निर्माण सक्ने गरी लमजुङमा स्मार्ट फिल्म सिटी बन्ने भएको छ । तीन महिनापछि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि सम्भाव्यता अध्ययन सुरु हुने छ । एक वर्षमा डीपीआर सकेर भौतिक संरचना निर्माण थाल्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

लमजुङमा स्मार्ट फिल्म सिटी

पूर्वाधार निर्माण सुरु भएको ५ वर्षमा संरचना तयार गरिने र थप २ वर्षमा संरचना निर्माणकार्य पूरा हुनेगरी योजना अघि बढाइएको छ ।


बेंसीसहर नगरपालिकाको गाउँसहर, पुरानकोट, बाख्रेजगत, शीतलेश्वारालगायत क्षेत्रमा फिल्म सिटी बनाउने गरी बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष एवं चलचित्र निर्माता संघ अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रारिम्भक अनुमान ५ अर्ब ९० करोड रुपैयाँमा बन्ने भनिएको फिल्म सिटीमा इटालियन कम्पनीको ८० र नेपाली कम्पनीको २० प्रतिशत लगानी रहने बताइएको छ ।


५ हजार रोपनीमा निर्माण गर्ने लक्ष्य लिइएको उक्त स्मार्ट फिल्म सिटीमा स्वदेशी तथा विदेशी जुनसुकै खालका फिल्म सुटिङ गर्न सकिने छ । बेंसीसहर नगरपालिकाका ३, ४, ५ र ९ वडामा पर्ने सार्वजनिक जग्गालाई भाडामा लिएर अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी निर्माण हुने छ ।


निर्माण सम्पन्न भए यो विश्वकै अग्लो स्थानमा रहेको स्मार्ट फिल्म सिटी हुने परियोजना संयोजक राजेशकुमार पुरीले बताए । करिब २ हजार १ सय मिटरदेखि २ हजार ९ सय मिटरको उचाईमा उक्त फिल्म सिटी बन्नेछ । सुविधा सम्पन्न फिल्म सिटी निर्माणसँगै अन्तर्राष्ट्रियस्तरको प्रविधियुक्त फिल्म छायांकन गर्न सकिने र सम्पादनसमेत गर्न सकिने बताइएको छ । उक्त फिल्म सिटीमा प्रसिद्ध सहरका मिनिचर (हुबहु देखिने नमुना संरचना) निर्माण गर्ने लक्ष्य लिइएको स्काई इन्टरटेनमेन्टका अधिकारीले बताए । पहिलो चरणमा १२ वटा फिल्मको इन्डोर, आउटडोर सुटिङ गर्न सकिने क्षमताको बन्ने छ ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले स्मार्ट फिल्म सिटी नेपाली फिल्म क्षेत्रकै लागि ‘कोसेढुंगा’ सावित हुने भन्दै यसका लागि सरकारको सहयोग हर्दम रहने बताए । फिल्म सिटीभित्र तारेहोटल, फिल्म एकेडेमी, केबुलकार, अर्गानिक फार्म, विभिन्न खेलकुद मैदान, देश तथा विदेशका मौलिक पहिचान बोकेका भौतिक संरचना नमुनाका रूपमा निर्माण गर्ने योजनामा रहेको उनले सुनाए । फिल्म सिटीमा उच्चस्तरको प्रविधि प्रयोग गरी फिल्म छायांकन तथा स्टुडियो बनाइने उनले बताए ।


अधिकारीका अनुसार पश्चिमदेखि पूर्वसम्म हिमशृंखला देखिने उक्त ठाउँमा गल्फ, बन्जिजम्प, प्याराग्लाइडिङ र स्विमिङ पुलसमेत बन्ने छन् । ‘नेपालमा अत्याधुनिक प्रविधिको छायांकन स्थल नहुँदा बर्सेनि लाखौं, करोडौं रुपैयाँ बिदेसिने गरेको छ,’ उनले भने, ‘यहाँ फिल्म सिटी निर्माण भएपछि अन्य मुलुकले हामीलाई लाखौं, करोडौं तिर्ने छन् ।’ २ कम्पनीबीच एसिया क्षेत्रको व्यवस्थापन नेपाली कम्पनीले र अन्य मुलुकको व्यवस्थापन इटालियन कम्पनीले गर्नेसमेत सहमति भएको छ ।


वर्ल्ड एरिया होल्डिङ एसआरएल इटालीका अध्यक्ष फ्रान्सिस्कोले प्रकृतिले वरदानस्वरूप दिएको नेपालमा फिल्म सिटी बन्नु नेपालीका लागि सौभाग्यको कुरा भएको बताए । उनले नेपाल आफ्नो दोस्रो घर बन्न लागेकोमा खुसी व्यक्त गरे । बेंसीसहर नगरप्रमुख अर्यालका अनुसार फिल्म सिटी निर्माण हुने ठाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लु, बौद्ध, हर्कपिक, हिमालचुलीलगायत १४ हिमाल देखिन्छन् ।


शाह वंशीयको उद्गमस्थल लमजुङ दरबार पनि नजिकै रहेको उनले बताए । बेंसीसहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले फिल्म सिटीले राष्ट्रका लागि मात्रै नभई संसारमा नेपालको गौरव बढाउने विश्वास व्यक्त गरिन् । नगर परिषद्ले फिल्म सिटी बनाउन अनुमति दिइसकेको र सबैखाले प्रक्रियामा नगरपालिकाको सकरात्मक सहयोग हुने उनले जनाइन् ।


प्रकाशित : असार २०, २०७६ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?