हनी सिंहको गीतमा आपत्ति

एजेन्सी

भारतीय र्‍याप संगीतमा ‘यो यो हनी सिंह’ ले परिचित हनी सिंहको पछिल्लो गीत ‘मखना’ ले यतिबेला उनलाई तनावमा पारेको छ । गीतमा प्रयुक्त केही शब्द आपत्तिजनक रहेको भन्दै पन्जाब राज्य महिला आयोगले उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरेको छ ।

आयोगकी अध्यक्ष मनीषा गुलाटीले भनेकी छन्, ‘अरू देशका जनता ‘हरे राम हरे कृष्ण’ भन्दै भजन गाउँछन्, जब कि हनी सिंह गीतमै बलात्कारीजस्ता शब्द प्रयोग गर्छन् र कहिले महिलाहरूको अस्मितामाथि नै प्रश्नचिहृन खडा गर्ने शब्द गाउँछन् । यदि उनले यस्ता शब्द रचना प्रयोग गर्न रोक्दैनन् भने बरु उनी यस्ता कुराहरू स्वीकार्य हुने जुनकुनै विदेशी भूमिमा जाऊन् ।’ महिला आयोगले जाहेरी दिँदै गीतमा अश्लीलता पस्केको आरोप लगाउँदै हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको छ ।

‘त्यो गीत यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र भिडियो पनि आपत्तिजनक छ,’ आयोगकी अध्यक्ष गुलाटीले भनेकी छन्, ‘त्यसैले पनि हामीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै पुलिसलाई गायक र उक्त गीत बजारमा ल्याउने कम्पनीविरुद्ध कारबाहीका लागि जाहेरी दर्ता गराएका हौं । हामी यस्तो गीतमा रोक लगाइयोस् भन्ने चाहन्छौं र सेन्सर बोर्डले पनि यस्ता सामग्रीमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भन्ने ठान्छौं । र, महिलालाई होच्याउने र आपत्तिजनक, अश्लील शब्दको प्रयोग भविष्यमा हुन नदिन आवश्यक कदम पनि चालियोस् भन्ने महिला आयोग चाहन्छ ।’ हनी सिंहले उक्त गीत ‘टी सिरिज’ मार्फत बजारमा ल्याएका हुन् ।

त्यसो त ‘मखना’ मार्फत सांगीतिक क्षेत्रमा ‘कमब्याक’ जनाएका हनी सिंहलाई उनका फ्यानले भने गीतलाई रुचाइदिएका छन् । गीत गतवर्षको डिसेम्बरमा रिलिज गरिएको थियो । पछिल्लो समय लागू पदार्थको कुलतमा फसेका उनले पहिलोपटक गीत असफलताको पीडा पनि सामना गर्नुपरेको थियो । यसले उनी डिप्रेसनमा जानुका साथै पुनः सांगीतिक क्षेत्रमा फर्कन संघर्ष गरिरहेका बेला ‘मखना’ को सफलताले राहत दिएको थियो । तर, त्यो राहत पनि महिला आयोगको प्रहरीमा जाहेरी पछि धेरै समय कायम रहेन ।

प्रकाशित : असार २५, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

‘किताब पढाउने कसरी ?’

भारतमा नेपाली साहित्य
मनोज बोगटी

दार्जिलिङ — भर्खरै लोकसभा चुनावमा ६ हजार मत पाएका भारत दार्जिलिङस्थित जनआन्दोलन पार्टीका नेता हर्कबहादुर छेत्री एक बुक क्याफेमा ‘किन पढिँदैन किताब ?’ शीर्षकको संवादमा गफिन आइपुगे । उनकै दलका ब्युरो सदस्य अनमोल प्रसाद पनि साथै थिए । त्यही संवादमा सहभागी थिए पाठक राजेन्द्र ढकाल ।

नेपालको प्रकाशन संस्था सांग्रिला बुक्सले केहीअघि कालेबुङमा भारतीय संस्करण सुरु गर्दै ‘बुक क्याफे’ को उद्घाटन गरेको थियो । यही मेसो पारेर अघिल्ला पुस्ताका सर्जक पाठकबीच आयोजित संवादमा राजनीति र लेखनबारे बहस चलेको हो । पछिल्लो समय दार्जिलिङको राजनीतिक गतिविधिमा सक्रिय क्षेत्रीको अर्को छवि लेखकको पनि छ । छेत्री सुरुमा नै आफ्नो बचाउमा उत्रिए । ‘म राम्रै लेखक थिएँ, राजनीतिमा लागेर पो बिग्रिएँ,’ भने, ‘तर म अझै पनि लेखक नै हुँ । अब राजनीति कम साहित्यधेर जिउने उमेरतिर आइसके । रोगमुक्त बनिसकेँ ।’

दार्जिलिङलगायत भारतका नेपाली भाषी क्षेत्रमा पठन संस्कृति मरणासन्न अवस्थामा रहेको छेत्रीले स्विकारे । ‘यताका नेपाली लेखकहरूको किताब नपढ्नुको कारण पाठकले खोजेको गम्भीरता नपाएरै हो,’ उनको अडान स्पष्ट थियो, ‘भारतीय नेपाली लेखकहरू पहिले त विषय छनोटमा नै चुक्छन् । त्यसपछि शैलीमा । किताब कसरी रुचिकर बनाउने भन्ने हेक्का धेरैजसो लेखकमा छैनन् । यद्यपि, नयाँ लेखकहरूप्रति भने भरोसा बढेर गएको उनको दाबी थियो ।

‘लेखकले रुचिकर नलेखेकै कारण पाठक भागेका हुन्,’ उनले आरोप लाए, ‘पढ्नयोग्य किताब औंलामा गन्न सक्ने छन् ।’ त्यसैमा थप्दै अनमोल प्रसादले भने, ‘नयाँ पुस्ताको अंग्रेजी मोहले पनि नेपाली पुस्तक पढ्ने जमात घटेको हो ।’ यसको पनि उनीसित छुट्टै अनुभव रहेछ । प्रेम पोद्दारसित मिलेर अनमोल प्रसादहरूले इन्द्रबहादुर राईका कथाहरू अनुवाद गरेर ‘गोर्खा इमाजिन्स’ भन्ने पुस्तक निकालेका थिए । अनमोलले सुनाए, ‘एक पाठकले भटेरै भने, इन्द्रबहादुर राईमाथि गौरव राखेको धेरै भयो, तर तपाईंहरूले अनुवाद गरिदिनुभएकैले मात्र पहिलोपल्ट पढ्न पाएँ ।’

अनमोल प्रसाद फिस्स हाँसे र फेरि थपे, ‘ती पाठक नेपाली नै थिए, जसले अंग्रेजीमा आएपछि मात्र इन्द्रबहादुर राईलाई पढे ।’ अनमोललाई ती पाठक अंग्रेजी मोहमा फसेका र नेपाली भाषादेखि टाडा हुँदै गरेका नयाँ पुस्ताका प्रतिनिधि पात्र लाग्छ । ‘अबका प्रकाशन संस्थाले नेपालीलाई अरू भाषा र अरू भाषालाई नेपालीमा अनुवाद गरिएको पुस्तक प्रकाशित गर्नै पर्ने चुनौती छ,’ उनले फेरि जोडे ।

राजेन्द्र ढकालअनुसार आजका पुस्ताका पहिलो छनोट अंग्रेजी पुस्तक नै हो । यद्यपि, नेपाली भाषाका पाठक पनि कम नरहेको उनको जिकिर थियो । ‘पाठकमैत्री भाषामा आजकै समाज र जीवन प्रतिविम्बित हुने पुस्तक आयो भने नयाँ पुस्ताले पढ्छ,’ उनले भने, ‘आजका पुस्ताले किताबमा आफ्नो अनुहार पाउनुपर्‍यो । अहिलेसम्मका किताबहरूमा
पुरानै समय र सरोकार रहेकोले पनि नयाँ पुस्ता किताबप्रति आकर्षित नभएका हुन् ।’

हर्कबहादुर छेत्रीको तर्क भने लेखकीय कमजोरीले नै पाठकलाई नेपाली साहित्यप्रति मोहभङ्गतिर आकर्षित गरेको भन्ने छ । यद्यपि, धेरै भारतीय नेपाली लेखकहरूका कृति उनीहरूको लेखकीय प्रतिबद्धता, भाषा र शैलीको कारण पनि अमर रहेको उनले तर्क गरे ।

‘अबका लेखकले गम्भीर विषयतिर पाठकलाई आकर्षित गर्ने भाषाको पनि निर्माण गर्नुपर्‍यो,’ उनले भने, ‘नेपालका लेखक र अंग्रेजीका लेखकहरूबाट पनि यो कुरा पर्याप्त सिक्न सकिन्छ ।’ बहसपछि यसै वर्ष साहित्य अकादमी युवा पुरस्कार पाएका युवा कवि कर्ण विरहलाई सांग्रिला बुक्सले सम्मान गरेको थियो भने कवि सुधीर छेत्री, विशाल नाल्बो, राकेश क्रान्तिकारी र रवि रोदनले कविता सुनाएका थिए ।

प्रकाशित : असार २५, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्