कोटा ठीक बेठीक !

सुशील पौडेल

काठमाडौँ — नेपाली हलले वर्षको १८० दिन स्वदेशी चलचित्र चलाउनुपर्ने नीति सरकारले ल्याउन लागेको विषयमा चलचित्रकर्मीहरू दुई धारमा बाँडिएका छन् । 


राष्ट्रिय चलचित्र नीति २०७१ अनुसार फिल्मको कोटा निर्धारणसहितको व्यवस्था गर्न विधेयकको मस्यौदा भइरहेको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले हालै चलचित्र विकास बोर्डको स्थापना दिवसमा भने, ‘स्वदेशी फिल्मलाई कम्तीमा एक सय ८० दिन लगाउन कुनै हलले मान्दैनन् भने ताला लगाइदिऊँ । चलाउन नसकेर ताला लगाउने हल बरु हामी नै चलाइदिऊ ।’

यसको विरोधमा उभिएको हलहरूको छाता संगठन चलचित्र संघको प्रतिनिधिमण्डल सरकारसँग वार्तामा छ । चलचित्रकर्मीहरू दोधारमा छन् ।

निर्देशक दीपक रौनियार विदेशी चलचित्र प्रदर्शनलाई कोटा लगाएर नियमन गर्दैमा स्वदेशी उद्यम श्रीवृद्धि नहुने बताउँछन् । विदेशी चलचित्र रोक्नु घातक हुन सक्ने तर्क गर्दै उनी सरकार स्वदेशी फिल्मका लागि बरू सहयोगी बन्न सक्नुपर्ने धारणा राख्छन् । विदेशमा पनि आआफ्नै अनुभव छन् ।

हलिउड फिल्मको प्रभावमा परेको दक्षिण कोरियाले यस्तो कोटा लगायो । चीनले विदेशी फिल्म निर्बाध रूपमा चल्न दिँदैन । रौनियार भने डिजिटल प्लेटफर्ममा फिल्म हेर्ने चलन बढिरहेको समयमा विदेशी फिल्म रोक्न सम्भव नहुने ठान्छन् ।

‘हलमा गएर फिल्म हेर्ने संस्कार विश्वभर घट्दै छ । यस्ता गतिविधिले झन् हलमै नजाने वातावरण बन्न सक्छ । यसको घाटा स्वदेशी फिल्मलाई पनि हुनेछ,’ उनी भन्छन् ।

उनको विचारमा राम्रा फिल्म र कथाका लागि सरकारले आर्थिक रूपमै सहयोगी हात बढाउनु र स्वदेशी फिल्म मात्रै चलाउने हललाई सहुलियत दिनु बेस हुन सक्छ ।

अर्का निर्देशक मीनबहादुर भाम भने कोटा प्रणाली लागू गरेर स्वदेशी फिल्मका लागि मैदान फराकिलो पार्नु राम्रो हुने विचार राख्छन् । ‘कोटा लगाइसकेपछि भइरहेको बजार खाली हुन्छ । त्यो खाली भर्न नेपाली फिल्म र भाषाभाषीका फिल्मलाई प्राथमिकता दिन सकिन्छ,’ उनी भन्छन् । नेपाली फिल्म र फिल्मकर्मीको क्षमता अभिवृद्धि र बजार विस्तारका लागि राज्यका तर्फबाट पहल पनि आवश्यक रहेको भाम दर्साउँछन् ।

‘विदेशी फिल्म यहाँ आयो भनेर हाम्रो टाउको दुख्छ,’ दर्शकको फिल्म हेर्ने चाहना भने रोक्न नसकिने जिकिर गर्दै उनी भन्छन्, ‘हाम्रा फिल्म कति विदेशी बजारमा पुर्‍याउन सक्यौं भन्नेमा पनि त्यत्तिकै चासो राखौँ न ।’

प्रकाशित : असार २७, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्

शताब्दीपछि पुर्खाको देश 

सुशीला तामा‌ङ

काठमाडौँ — झन्डै डेढ शताब्दीअघि तत्कालीन भारतको चटगाउँ (चित्तगंग) हिल्समा ब्रिटिस इस्ट इन्डियाविरुद्ध एउटा विद्रोह भयो । अहिले बंगलादेशमा पर्ने यही थलोमा ६ पुस्ते पुर्ख्यौली इतिहास बोकेर बाँचिरहेका कलाकार मनोजबहादुर गोर्खाका अनुसार उक्त विद्रोहमा नेपालीहरू पनि सामेल थिए ।

त्यतिबेला बृहत् नेपाल निर्माणको अभियानको क्रममा केही नेपाली त्यहाँ पुगेका थिए । ‘त्यसपछि हाम्रो बाउबाजे उतै बसेका रहेछन्,’ बुधबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा प्रस्तुति दिनुअघि गायक मनोजले भने, ‘एक सय पचास वर्षपछि पुर्खाको भूमि आइपुगेको छु ।’

यतिका वर्षपछि यो भूमिमा उनी खाली हात आएका छैनन् । नेपाली गीत, संगीत, साहित्य, इतिहासलाई बोकेर परिवारलाई समेत पुर्खाको माटो चिनाउन ल्याएका छन् । सांस्कृतिक संस्थान र सिस्नुपानी नेपाल–बंगला सोसाइटीले गरेको मैत्री सांस्कृतिक कार्यक्रममा उनी र उनीसँगै आएका सुर निकेतन संगीत विद्यालयका कलाकारले बंगलादेशी र नेपाली गीतसंगीतको प्रस्तुति दिँदै गर्दा माहोल भावुक बनेको थियो ।

नेपाली ढाका टोपीमा सजिएर नेपालीभाषामै मनोजले पुख्यौली संस्कृति र माटोप्रतिको माया दर्साए । उनकै अगुवाइमा बंगलादेशबाट आएका करिब एक दर्जन कलाकारले बंगलादेशी लयमा नेपाली राष्ट्रिय गानको प्रस्तुति पनि दिए ।

यसपछि उनले नारायण गोपालको ‘तिम्रा जस्तो मुटु...’, देखि पछिल्लो समय चर्चित श्याम कार्कीको गीत ‘तिम्रो मायाले बाँधेर राख...’ जस्ता नेपाली गीत गाए । उनले नै अनुवाद गरेका नेपाली गीतहरूलाई बंगाली भाषामा अन्य कलाकारहरूले प्रस्तुत दिए भने सिस्नुपानी नेपालका तर्फबाट लक्ष्मण गाम्नागेले ‘मेरा बा’ शीर्षकको कवितामा सम्बन्धकै कुरा गरे ।

मनोजसँगै आएका उनकी छोरी तनुश्री माझीले नृत्य गरिन् भने अनामिका डे र पण्डित स्वर्णमय चक्रवर्तीको शास्त्रीय संगीत प्रस्तुति निकै लोभलाग्दो थियो । ‘नागरिकको हिसाबले बंगलादेशको भए पनि पुस्तौंदेखि पुर्खाहरूले जोगाएको नेपाली संस्कृति र पहिचानलाई निरन्तरता दिन लागि परेका छौं,’ मनोजले भावुक हुँदै भने ।

उनले बंगलादेशमै ‘दसैं–तिहार मनाउनेदेखि देउसीभैलो खेल्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । ‘आफ्ना सन्तानलाई पनि नेपाली भाषा र संस्कार सिकाउँदै आएका छौं,’ उनले भने, ‘वर्षौंदेखि भिन्न देशमा छौं, तर मनमा भने नेपालकै माया लागि रहन्छ ।’ पुर्खाको देश हेर्ने उनको चाहनालाई हास्य कलाकार मनोज गजुरेलले पूरा गरिदिएका हुन् । सामाजिक सञ्जालकै माध्यमबाट मनोजबहादुर गोर्खालाई सम्पर्क गरी काठमाडौंसम्म ल्याएको गजुरेलले बताए ।

‘देशबाट शताब्दी अगाडिदेखि परदेसिएको नेपालीलाई पुर्खाको देशमा ल्याउन पाउँदा एकदमै खुसी छु,’ गजुरेलले भने । कार्यक्रममा संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संघीय मामिला तथा प्रशासन मन्त्री लालबाबु पण्डितलगायतले बंगलादेशीमा रहेका गोर्खालीहरूको इतिहास समेटेर मनोज स्वयंले लेखेको पुस्तक ‘हिस्ट्री अफ गोर्खाजअफ चित्तगंग हिल्सट्राक्ट्स’ को लोकार्पण पनि गरे । शताब्दी पुरुष जोशीले चितगंगबाट पितृको भूमिलाई सम्झेर आएका सबैप्रति आभार व्यक्त गरे ।

‘संगीतको कुनै भाषा र भूमि हुँदैन,’ उनले भने । कार्यक्रममा संस्थानकै तर्फबाट नेपाली कलाकारहरूले धिमे, सखिया, सेलोलगायत नेपाली लोकनृत्य देखाइएको थियो भने हास्य कलाकार मनोज गजुरेल र एउटै खुट्टाका सहाराले नाच्ने रोमा न्यौपानेको प्रस्तुति पनि रहेको थियो । कलामार्फत दुई देशको जोड्ने उद्देश्यले
कार्यक्रम गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

प्रकाशित : असार २७, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्