कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्बी मैंचा, वन्डरफुल कान्छी

सुशीला तामा‌ङ

काठमाडौँ — नेपालीसँगै विदेशी दर्शकको भीड । हेर्नभन्दा छुन आतुर लाग्ने भित्ताभरि झुन्ड्याइएका डिजिटल प्रिन्टका क्यानभासहरू । झट्ट हेर्दा मनोरञ्जनसँग जोडिए पनि नेपाली सांस्कृतिक सम्पदाको चिनारी दिने ‘बार्बी मैंचा’, ‘हक चा’, ‘वन्डरफुल कान्छी’ शीर्षकका कलाकृतिहरूमा विदेशी पर्यटकका आँखा पनि टक्क अडिन्छन् । 

बार्बी मैंचा, वन्डरफुल कान्छी

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा शुक्रबारदेखि सन्नी शाक्यको ‘टोयग्राफी’ शीर्षकको कला प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा ५३ वटा डिजिटल प्रिन्टका क्यानभासहरूमा काल्पनिक पात्रहरूमार्फत नेपालको सांस्कृतिक एवं प्राकृतिक सम्पदासँगै सामाजिक रहनसहन, नेपाली महिलाको चिनारी, पर्यटकीय स्थललगायतका विषयवस्तु प्रस्तुत गरिएका छन् ।


युट्युबमा चर्चित सुपरम्यान, बार्बी गर्ल, हक, वन्डरफुल लेडी, स्पाइडरम्यानजस्ता पात्रहरूको डिजिटल फोटोहरूलाई नै नेपाली चरित्र मिसाएर शाक्यले क्यानभासमा उतारेका छन् । बार्बी गर्ल र हकलाई नेवारी संस्कृतिअनुसार बोलाइने नाम ‘बार्बी मैंचा’ र ‘हक चा’ का रुपमा निकै सुन्दर रूपमा प्रस्तुत गरिएको छ । नेवार समुदायअनुसारको भेषभूषामा सजिएर खर्पन बोकेको हक र कम्मरमा पानी बोकिरहेकी बार्बीको आकृति निकै अर्थपूर्ण लाग्छ ।


हातमा नेपाल लेखिएको खुकुरी बोकेर उभिएको वन्डरफुल लेडीलाई ‘वन्डरफुल कान्छी’ नामदिएर चित्रकार शाक्यले नेपाली महिलाहरूमा घरधन्दा मात्र नभएर युद्ध लड्ने बहादुरीपन पनि छ भन्ने देखाउन खोजेका छन् । यी र यस्तै पात्रहरूमार्फत नेपालीहरूको चाड दसैंलाई समेत उनले प्रस्तुत गरेका छन् । प्रत्येक अन्तर्राष्ट्रिय पात्रका खेलौनाहरूको फोटोको पृष्ठभूमिमा पशुपति, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्र देखिन्छन् भने तिनीहरूले बोक्ने साधनहरू नेपाली पहिचान झल्काउने किसिमका छन् ।


अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसम्मका डिजिटल फोटोलाई पृष्ठभूमिमा नेपालको गुठी विधेयक र माइतीघर मण्डलासँग जोडेर देखाइएको छ । त्यस्तै भूकम्पपछि क्षतिग्रस्त रानी पोखरी, गुठी विधेयकका लागि उत्रेका मसाल जुलुस, माइतीघरमा जुटेको विशाल मानवसागर, सिंहदरबार, त्रिभुवन विश्वविद्यालय र पोखराको फेवातालमाथि काल्पनिक पात्रहरूमार्फत अहिलेको तत्कालीन समस्या र अवस्था दर्साइएको छ ।


अन्तर्राष्ट्रिय पात्रमार्फत नेपालीपनको कथा भन्न यस्तो कलाकृति सिर्जना गरिएको शाक्यले बताए । ‘कार्टुनका चर्चित पात्रहरू समावेश भएकाले एकातिर यी कलाले मनोरञ्जन दिन्छ भने अर्कोतिर विदेशी पर्यटकले नेपालको संस्कृति र सम्पदाहरूबारे सजिलै थाहा पाउँछन्,’ उनी भन्छन्, ‘पहिलो सिरिज भएकोले यसमा धेरैवटा थिम छन् । संस्कृतिको एउटै पक्षलाई मात्र समेट्ने सिरिजमा काम गरिरहेको छु ।’


खासमा उनी मूर्तिकार हुन् । केही समयअघि इन्स्टाग्राममा एउटा जोडी खेलौनाको फोटो राख्दा धेरै प्रतिक्रिया आएपछि त्यसकै प्रभावले ‘टोयग्राफी’ सिरिज विकास भएको उनले सुनाए । प्रदर्शनी अवलोकनका लागि आएका पाटनका केविन महर्जन र श्रव्य शाक्यले कलाकृतिहरू एकदमै नौलो रहेको अनुभव सुनाए ।

प्रकाशित : असार ३१, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?