उमेर बूढो भया पन मन बूढो छैन

मेनुका ढुंगाना

अछाम — साल बित्या, समय बित्या आउँदैन घुमेरजोस जाँगर छ, रोग छैन, असी भो उमेर जात्रा लाग्दा बलि दिँदा पारि तिमिल्सैनउमेर बूढो भया पन मन त बूढो छैन

वर्षाको समय किसानले रोपाइँ गर्ने, उज्गला (पाखोबारी) मा लगाएको धान, कोदो गोड्ने मौसम हो । पहाडका कुनाकन्दरासम्म बसोबास गर्ने बासिन्दालाई परम्परागत खेतीकिसानीको कामकै भ्याइनभ्याई छ । बालादेखि वृद्धसम्म खेतबारीमै खटिएका हुन्छन् । गीतका भाका हाल्दै ।

गाउँघरका बूढापाकाको जाँगर र उत्साह पनि तन्नेरीभन्दा कम देखिन्न । मंगलसेन नगरपालिका ५ की ८० वर्षीया कल्धरी सुवेदी नातिनातिनाको स्याहार गरेर दिन गुजार्नुपर्ने उमेरमा छोराबुहारीसँगै बिहानैदेखि खेतबारीमै हुन्छिन् । घरमा बसेका बेला खाना पकाएर परिवारलाई सघाउँछिन् । ‘घर भित्र–बाहिरको काम सासू–बुहारी मिलेर मिलिजुली गर्छौं,’ कल्धरीले भनिन्, ‘दिनभर घरमै त्यसै बस्नुपरे मन नै शान्त हुन्न ।’ खाना पचाउनका लागि पनि काम गरिराख्नुपर्ने उनको भनाइ छ । हालसम्म रोगव्याधिले थला पर्नु नपरेको उनले बताइन् । भनिन्, ‘अझै पनि तन्नेरीकै जति काम गर्न सक्छु भन्ने हिम्मत छ ।’

जेठानी, देउरानीहरू कलिलै उमेरका भएकाले उनीहरू ‘बूढी दी’ भनेर जिस्कने गरेका भए पनि सबैले आफूलाई माया गर्ने गरेको कल्धरी बताउँछिन् । गाउँमा हुने देउडा, रत्यौली, रोपारादेखि गोडमेललगायतका साझा काममा सबैले बोलाइदिँदा खुसी मान्ने उनले कुरा गर्दागर्दै देउडा गीतका टुक्का सुनाइरहन्थिन् ।

कल्धरीको विवाह ७ वर्षकै उमेरमा भयो । उनी आफ्नो विवाह भएको समय र अहिलेको समयलाई तुलना गर्दा धेरै फरक पाउँछिन् । ‘त्यति बेला चेलीबेटी पानी छाउ ओर्लेपछि कन्यादान दिन हुँदैन भन्ने चलन थियो । छाउ (महिनावारी) भएर पनि बिहे नगरेकी छोरीलाई मत्तली भन्थे,’ कल्धरीले भनिन्, ‘मलाई आफ्नै बिहे भएको दिन खासै याद छैन । डोलीमा बस्न नजानेर ससुराले काखमा च्यापेर ल्याएको मात्रै सम्झन्छु ।’

अहिलेको विवाह गर्ने चलन र आफ्नो बेलाको विवाह चलनलाई उनले तुलना गरिन्, ‘त्यतिबेला आमाबाबुलाई आफ्ना छोरी ५ वर्ष नाघ्न थालेपछि विवाहको चिन्ता सुरु हुन्थ्यो । अहिलेका छोरीहरू १७/१८ वर्षको उमेरमै बिहे गरेको देख्दा कति छिटो विवाह गर्न हतारिएका हुन् भन्ने लाग्छ ।’ अहिले घरछेउमै रहेको फराकिलो मध्यपहाडी लोकमार्गमा ओहोरदोहोर गरिरहने गाडी देखेर उनी खुसी हुन्छिन् । ‘त्यो बेला गाडी, मोटरका कुरै हुन्थेनन् । तर अहिले आँखै अगाडि बदलिएको जमान देख्न पाइयो ।’

अहिलेको परिवर्तित अवस्था देखेर उनका समकालीन पनि चकित पर्ने गरेका छन् । जन्म, विवाह, मृत्यु र अन्य सामाजिक काम गर्ने शैली फेरिएका छन् । त्यति मात्र होइन, मान्छेका स्वभाव पनि बदलिएको छ । ‘हाम्रो पालामा जन्मदिन भन्ने थाहै थिएन । अहिले त बर्थ डेकै खर्च पनि थुप्रै लाग्छ । बिहेको त कुरै छोडौं ।’

कल्धरीकै छिमेकी ८१ वर्षीया कोकिला ढुंगानाका ५ छोरा र ३ छोरी छन् । उनी जेठा छोराबुहारी, नातिनातिनी बुहारीसँग बस्छिन् । ३ पुस्तासँगै बस्ने घरमा उनको अरूसँग कुरा मिल्दैन । कुरा नमिल्ने अरू केही किचलोका कारणले भने हैन । कोकिला आफू पनि हात खाली बस्दिनन्, घरका परिवारलाई पनि काम गरिरहून् भन्ने उनलाई लाग्छ ।

मेलापातदेखि खेतबारीकोको काममा सक्रिय कोकिला पहिलेको समयभन्दा अहिलेको समय देखेर उत्साहित पनि हुन्छिन्, निराश पनि । ‘यत्रो उमेर भइसक्यो, हामीलाई केही रोग छैन । अहिले त जन्मँदै रोग लिएर आउने र’ैछन्,’ उनले भनिन्, ‘काम नगरी बस्दा उकुसमुकुस हुन्छ । जति काम गर्‍यो त्यति हातखुट्टा हलुका हुन्छन् ।’

उनी सबेरै उठेर खेतबारीमा गएदेखि साँझ अँध्यारो नहुँदासम्म काममै व्यस्त रहन्छिन् । ‘ओखलमा धान कुट्दै, जाँतोमा गहुँ पिसेर गुजारा चलाउनेदेखि मिलमा कुटानीपिसानी हुनेसम्मका सुविधा देखिए,’ कोकिला भन्छिन्, ‘सुविधा मात्रै भएन यसले त मान्छेलाई अल्छी पनि बनायो ।’ आफ्नो उमेरका बूढापाकाहरू आफ्नै बेलाको जस्तो चलन खोज्छौं ।

तर बदलिएको समयमा नातिनातिनाको भाषाअनुसार पनि चल्नै पर्‍यो भनेर चित्त बुझाउँछु ।’ अछामका दुर्गम बस्तीमा सडक पहुँच, गाउँगाउँमा कुटानीपिसानी गर्ने मिलहरू स्थापना हुनुले स्थानीयको दैनिकी सहज भएको छ । ५/७ वर्षको अवधिमा गाउँमा भएको परिवर्तन देखेर बूढापाका खुसी देखिन्छन् । यातायातको सुविधा गाउँसम्मै पुगेपछि शिक्षा, स्वास्थ्य, रोजगारी र यहाँको समग्र जीवनशैली नै बदलिएको छ ।

नेपालसँग सिमाना जोडिएको भारतको तिकुनियाबाट १० दिनको बाटो हिँडेर नुन ल्याएर गुजारा चलाएका यहाँका स्थानीय अहिले घरआँगनबाटै नुन किन्छन् । ‘घामपानी र भोकन्द्रिा सहँदै तिकुनियाबाट नुन ल्याएको सम्झँदा अझै पनि थकित महसुस हुन्छ,’ मंगलसेन ८ का ८२ वर्षीय राप्रसाद खनालले भने, ‘हाम्रो गाउँमागाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होलाभन्ने लागेकै थिएन ।’

लुगा कपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैंसी पाल्ने यहाँका स्थानीयको जीवनशैली थियो । समय बदलिएसँगै धेरैको पेसा पनि परिवर्तन भयो । ‘पन्ध्र किलोसम्म घ्यू बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यसबाट आएको पैसाले नुन किनेर ल्याउँथ्यौं,’ अर्का स्थानीय मानबहादुर भाटले भने, ‘अहिले गाउँमा भैंसी पाल्नेलाई नराम्रो नजरले हेर्छन् । तरमैले एउटा भैंसी अहिलेसम्म पालेकै छु । घाँसपात पनि आफैं गर्छु ।’

प्रकाशित : असार ३१, २०७६ ०८:२८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

ज‌ंगली तरकारी खाँदा दाजुबहिनीको मृत्यु, आमाको अवस्था गम्भीर 

मेनुका ढुंगाना

अछाम — रामाराेशन गाँउपालिकामा ज‌ंगली बनस्पतिकाे तरकारी खाएर दाजु र बहिनीकाे मृत्यु भएकाे छ । आमा गम्भीर बिरामी परेकी छिन् ।

शुक्रबारबिहान निउरो जस्तै देखिने वनस्पति खाएका रामाराेशन गाउँपालिका-५ तल्लाेपाटनका ११ वर्षीय रमेश बोहरा र ५ वर्षीया बहिनी मनिषाको मृत्यु भएकोहाे ।

आमा नरपता बाेहाेराको अवस्था गम्भीरछ । उनलाई बयालपाटा अस्पताल अछामबाट थप उपचारका लागि बाँकेकाे कोहलपुरलगिएकाे छ। 'मनिषाकाे राति एक बजे घरमै ज्यान गयो।रमेशलाईनिकै खतरायुक्त भैसकेपछि अस्पताल पुर्‍याए पनि बचाउन सकिएन,' बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने, '२७ गते निउराे खाएका उनीहरुले२९ गते साँझसम्म पानी समेत खाएनन्। केही पनि नखाँदा जलवियोजन भई मृगौलामा असर परेको देखिन्छ। समयमै उपचार नगर्दा यस्तो अवस्था आयो।'

स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए। उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने , वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए।

प्रकाशित : असार ३०, २०७६ ११:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT