'टाँगा सफारी'

मधु शाही

(बाँके) — ‘टयाक्सी जैसी टाँगामे बैठिए, और रुपैडिया सफारी करिए,’ टाँगावालाले यात्रुलाई लोभलाग्दो शैलीले बोलाउँछन् । अटो र बिजुली रिक्साको बिगबिगी भएको सडकमा यो शैली आकर्षक छ ।

'टाँगा सफारी'

फुर्के डोरीले सजिएको घोडा । काँधमा अडिएको फुलबुट्टे सिट । यात्रु बस्न ‘लग्जरियस’ गद्दा । रहरलाग्दो हुन्छ यहाँको टाँगा सवारी ।


नेपालगन्जबाट सीमावर्ती भारतीय बजार रुपैडिया पुग्ने यात्रुलाई यसरी निम्त्याइन्छ । ई-रिक्साको भीडमा टाँगा चालकले यात्रु तान्ने नौलो उपाय रचेका छन्- टयाक्सीजस्तै टाँगा भन्दै ।


नेपालगन्जको पुरानो सवारी टाँगाले अहिले आधुनिक ई-रिक्सासँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । फुलटेक्रामा बस्ने इस्लाम अलिका तीन पुस्ताले टाँगा चलाएरै बिताए । उमेरले ६५ पुगेका उनी पहिले-पहिले नेपालगन्जमा टाँगाले टयाक्सीकै जस्तो मान्यता पाएको सम्झन्छन् । यहाँका धनी, सभ्य र विशेष व्यक्तिले टाँगा चढ्थे । उतिबेलाको एक्काचाहिँ सार्वजनिक बसजस्तै रहेको इस्लामले बताए । ‘एक्कामे उस टाइम जैसे भी आदमी कोचके रख्ते थे,’ उनले भने, ‘उहिसा सार्वजनिक बसमे होता है ।’


महेन्द्र पुस्तकालय प्रमुख ८१ वर्षे सच्चिदानन्द चौवेका अनुसार नेपालगन्जको कुनै बेलाको यातायातका साधन एक्का र टाँगा मात्रै थिए । बयलगाडाले सामान ढुवानी गर्थे । झन्डै ९५ प्रतिशत मुस्लिम समुदाय सवारी चालकको पेसा अपनाउँथे । तत्कालीन राणा, जमिनदार र विशिष्ट व्यक्तिहरूले यहाँ हुर्काएका घोडामा चढ्दैन थिए । भारतमा दौड प्रतियोगितामा हारेका घोडा बिक्रीमा हुन्थे । ठूला मान्छे त्यही दौडमा पराजित घोडा किनेर ल्याउँथे ।


‘घोडाको पनि आर्थिक हिसाबले वर्गीकरण हुन्थ्यो,’ उनले भने, ‘हेर्दा चिटिक्कको देखिने घोडामा जमिनदारका आँखा पर्थे ।’ घोडा सवारी बाध्यतासँगै चुनौती पनि रहेको उनले बताए । कच्ची बाटो भएकाले टाँगा जतिबेला पनि दुर्घटना हुने सम्भावना हुन्थ्यो । त्यसैले उतिबेला गर्भवतीलाई

टाँगा चढाउन प्रतिबन्ध रहेको चौवेले सुनाए ।


नेपालगन्ज उपमहानगर–७ बस्ने ७९ वर्षे अहमद खाँको पूरै जीवन टाँगा चलाएर बित्यो । भारतबाट दौड हारेको घोडा उनले उतिबेला ५ रुपैयाँमा खरिद गरेर ल्याएको बताए । कालो रंगको भएकाले त्यसको नामकरण ‘कल्लु’ राखिदिएका थिए । ‘दिख्नेमे मोटा तन्दुरुस्त था,’ उनी सम्झन्छन्, ‘उसीसे मेरा ८ परिवारका पेट भरता था ।’


कल्लु बूढो भएर बितेको दुई दशक भयो । अहमद भने परिवारप्रति उसले दिएको योगदान सम्झिरहेका छन् । नेपालगन्जदेखि रुपैडिया पुग्न एक घण्टा लाग्थ्यो । ५० पैसादेखि यात्रु भाडा लिन थालेको बताउँदै आफ्नो पालामा २ रुपैयाँसम्म भाडा वृद्धि भएको उनलाई याद छ । अहिले फाट्टफुट्ट चलाइने टाँगाले २५ रुपैयाँ भाडा शुल्क लिने गरेका छन् ।


समय परिवर्तनसँगै नेपालगन्जको प्राचीन सवारी टाँगा र एक्का संकटमा परेको व्यवसायीहरू बताउँछन् । उनीहरू बाध्यताले आधुनिक सभ्यतामा ढल्किँदै छन् । घोडा बेचेर रिक्सा चलाउनुपर्ने नियति यहाँका टाँगा व्यापारीले भोग्दै आएको स्थानीय व्यापारी बिल्लु अन्सारीले बताए ।


गणेशपुर-४ का २५ वर्षे अब्दुल अन्सारीले पुर्खौली घोडा बेचेर ई(रिक्सा किनेको एक महिना मात्रै पुग्यो । ‘घोडा पाल्न चुनौती थपिँदै छ अहिले,’ उनले भने, ‘सोखमा टाँगा चढ्नेहरू छन् । विकल्प धेरै भएकाले टाँगा रोजाइ घट्दै छ ।’


टाँगा र एक्का नेपालगन्ज समाजको व्यापार मात्रै नभई संस्कृतिसमेत रहेको संस्कृतिविद् ७२ वर्षीय विष्णुकुमार कुमालको बुझाइ छ । यद्यपि, टाँगा, एक्का, वयलगाडाजस्ता पुरानो सवारी साधनलाई संस्कृतिका रूपमा जीवित राख्ने दायित्व स्थानीय तहको रहेको उनले बताए । टाँगा सञ्चालन गर्नेलाई हौसला प्रदान गर्न भत्ता दिने, बेलाबखत टाँगा, गाडा, एक्का प्रदर्शन गर्नेजस्ता गतिविधिले यो परम्परा जीवित हुने उनको तर्क छ ।


संस्कृतिविद् कुमालका अनुसार मानव सभ्यता संस्कृति, पशुपन्छी, जीवजन्तु र प्रकृतिसँग आश्रित छ । पछिल्लो समय आधुनिकीकरणले मानव सभ्यता औजार केन्द्रित भएको उनले बताए । मासु खान मिल्ने जनावर पाल्न थाले र परिवार पाल्ने जनावरको बेवास्ता गर्न थालेकाले पनि टाँगा र एक्काजस्ता सवारीसाधन कथा बन्दै गएको उनको बुझाइ छ । ‘जसको मासु खाइन्छ, त्यसलाई मात्रै पाल्नेतिर रुचि बढ्यो,’ उनले भने, ‘यसले गर्दा सवारी जन्तु उपेक्षित हुन थाले ।’


प्रकाशित : श्रावण १, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?