कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पलेँटी कस्न हङकङदेखि

काठमाडौँ — साउन महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ मा संगीतकार विक्रम गुरुङ प्रस्तुत हुने भएका छन् । हङकङ बस्दै आएका गुरुङ ‘पलेँटी’ का लागि काठमाडौं झरिसकेका छन् । 

पलेँटी कस्न हङकङदेखि

मूल थलो पोखराको तामाङगी गाउँ भएका गुरुङको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । स्कुले शिक्षा भने उनले पोखरै आएर पूरा गरेका थिए । सानैदेखि संगीतमा जिज्ञासु गुरुङ यति बेला भने ‘पलेँटी’ को सांगीतिक बसाइको तयारीमा जुटेका छन् । २०३३ सालदेखि गायक अरुण थापाको संगतले उनलाई पनि सांगीतिक क्षेत्रमा अघि बढाएको थियो ।


‘अरुणसँगको भेटपछि पोखरेली युवा सांस्कृतिक परिवार नै खोलेर कार्यक्रम गर्न थाल्यौं,’ उनले भने, ‘त्यसका निम्ति नेपाली गीत बनाउनुपर्छ भन्ने सोच आयो र मैले पनि अरुणसँगै बसेर संगीत सिर्जना गर्न थालेँ ।’ गुरुङको संगीतमा अरुणले तीन गीत गाएका छन् । ‘भुलुँ भुलुँ लाग्यो मलाई...’, ‘आँखाको निद खोसी लाने...’ र ‘कतै टाढा तिमीबाट भुलें भने...’ यी तीनै गीत चर्चित भए । उच्च शिक्षाका लागि गुरुङ राजधानी आएपछि भने पोखरेली अरुणसँगको सहकार्य टुटेको उनी सुनाउँछन् ।


‘अरुणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाडौंमै रेकर्ड गर्ने तयारी पनि भयो,’ गुरुङ पुराना कुरा सम्झँदै भन्छन्, ‘म्युजिक ट्र्याक पनि बने तर अरुण हराइरहेको बेला थियो त्यो । अरुणको स्वास्थ्य खस्किसकेको थियो । उनको मनले गाउन खोजे पनि शरीरले साथ दिन सकेन । ती ट्र्याक त्यत्तिकै थन्किए ।’


आगामी शुक्रबार, शनिबार र आइतबार तिनै क्षणको सम्झना गर्दै गुरुङले गीत प्रस्तुत गर्ने भएका छन् । आफ्ना धेरैजसो गीत उनी आफैं गाउने तयारीमा छन् । महिला गायनतर्फ भने गुरुङलाई मीना निरौलाले साथ दिने छिन् ।


‘पलेँटीमार्फत विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु मेरा लागि एउटा नयाँ सांगीतिक रचनाको अध्ययन गर्नुजस्तै हो । उहाँले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सधैं आकर्षित छु,’ पलेँटी संयोजक आभासले भने ।


पलेँटीमा गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर आभासले अन्तरसंवाद पनि गर्ने भएका छन् । कालिकास्थानस्थित ‘आर’ शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारश, बाँसुरीमा बलराम समाल र बेस गिटारमा अम्बर गुरुङ ‘पोखरेली’ ले साथ दिने छन् ।

प्रकाशित : श्रावण ७, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?