कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आत्माको खोजी

सुशील पौडेल

काठमाडौँ — अँध्यारो मञ्चमा प्रकाश छिरेसँगै एकाएक चहलपहल बाक्लिन्छ । मञ्चको देब्रे कुनामा कुर्सीमा बसेरै एक डाक्टरले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । प्रहरीहरू केरकारमा व्यस्त छन् । दायाँतर्फ डाक्टरका सहयोगी बर्बराइरहेका छन्, ‘मलाई डाक्टर हरिहर सिग्देलको आत्मासँग कुरा गर्न दिनुहोस् । 

आत्माको खोजी

यदि यसो हुन सक्यो भने डाक्टर सिग्देलको जिन्दगीभरको खोजले सार्थकता पाउने छ ।’ सहायक डाक्टर अतुल चौलागार्इंका यस्ता भनाइ प्रहरीका लागि अनौठो र हास्यास्पद शिवाय केही लाग्दैन । तैपनि नाटक ‘मीमांसा’ भने दर्शकमाझ पुगेरै छाड्छ, ‘के आत्मा हुन्छ ?’ प्रश्नसहित ।


शंकर लामिछाने लिखित कथा ‘आत्माको मीमांसा’ मा आधारित रही प्रवीण खतिवडाले आफ्नो निर्देशनमा नाटक ‘मीमांसा’ तयार पारेका हुन् । शुक्रबारदेखि साउन ३२ सम्म अनामनगरस्थित मण्डला थिएटरमा चल्ने उक्त नाटकको बिहीबार प्रिमियर मञ्चन गरिएको हो । नाटकमा डा. सिग्देलको भूमिकामा रंगकर्मी सुनील पोखरेल अभिनीत छन् भने सहायक डा. चौलागाईंको भूमिकामा राजकुमार पुडासैनी रहेका छन् ।


डा. सिग्देल एउटा नवीन खोजमा छन्, जो मरिसकेका विद्वान्हरूको आत्मालाई सम्मोहन गरी जीवित व्यक्तिमा ल्याउन सके धेरै रहस्य पत्ता लाग्ने र युगलाई ठूलो देन हुने ठान्छन् । एक दृश्यमा उनी भन्छन्, ‘न्युटन, आइन्स्टाइनलाई आत्माका माध्यमबाट सोध्न पाए, कार्ल मार्क्स वा एरिस्टोटललाई अहिलेका बारेमा बुझ्न पाए ? अथवा, नेपालकै पत्ता नलागेका घटनाहरूजस्तै दरबार हत्याकाण्ड, ३३ किलो सुन, निर्मला काण्डका बारेमा पीडित वा मृतककै मुखबाट बुझ्न पाए ?’ जिज्ञासाले डा. सिग्देललाई यतिसम्म उत्साहित गर्छ कि उनी आफैं मृत भर्ई सहायक डा. चौलागार्इंसँग आत्मालाप गर्ने बाटोमा लाग्छन् ।


उनी आत्माको संसारमा आफैं घुसेर विभिन्न आत्मासँग रहस्यमयी घटनाको गाँठो फुकाई आफ्ना सहायक डाक्टरलाई भन्न चाहन्छन् । यसका लागि डाक्टर सिग्देलले आफूलाई सोध्ने केही प्रश्न र सम्मोहन गरी आत्मा बोलाउने तौरतरिका सहायक डाक्टरलाई सिकाएर आत्महत्या गर्छन् ।


के डाक्टर सिग्देलले गरेको आत्महत्याले अचम्म किसिमको सत्यको खोजी होला ? वा सिद्ध गर्न सक्लान् डाक्टर चौलागाईं ? या दर्शकलाई नै घटनाको साक्षी बनाएका प्रहरीले घटनालाई प्रयोगको रूपमा लिन तयार होलान् ? वा सहायक डाक्टरलाई हत्याको अभियोगमा पक्राउ गर्लान् ?


नाटकले केही प्रश्नको जवाफ दिँदै र केही प्रश्न उब्जाउँदै रोचक मोड लिँदै सवा एक घण्टा दर्शकलाई नाटकबाट विकेन्द्रित हुन दिँदैन । थोरै पात्र, थोरै दृश्य र कम संवादका कारण दर्शकले नाटक हेर्दा धैर्य भने कायम राख्नुपर्ने हुन्छ ।


त्यसो त प्रकाश र संगीतले भने नाटकका दृश्यलाई थप रसिला बनाउन उल्लेख्य भूमिका खेलेका छन् । प्रकाश परिकल्पना सुनील पोखरेल, राजकुमार पुडासैनी, प्रवीण खतिवडा र उमेश तामाङको समूहले नै परिकल्पना गरेको हो भने संगीतमा निर्देशक प्रवीणले उत्सव बुढाथोकीको साथ पाएका छन् ।


नाटकको नेपथ्यमा आत्माको भूमिकामा निशा शर्मा पनि रहेकी छन् भने प्रहरीको भूमिकामा विजय बराल, घनश्याम जोशी, सुरज तमु, अर्जुन शिवाकोटी, मौसम खडका, आलोक थामी, सुमित तामाङ र वृद्धको भूमिकामा राज न्यौपाने रहेका छन् ।


निर्देशक खतिवडाले नै कथालाई नाट्य रूपान्तरण गरेको ‘मीमांसा’ लाई आरोहण गुरुकुलले प्रस्तुत गरेको हो । खतिवडाले लामिछानेको लेखाइ प्रभाव आफूमा अथाह रहेको जानकारी दिँदै आफूलाई उनका रचना सधैं आत्मीय लाग्ने उल्लेख गरेका छन् ।


लामिछानेले आफूलाई लेखक नमानेझैं आफूलाई पनि निर्देशकका रूपमा चिनाउन उचित नलाग्ने निर्देशक खतिवडाले जिकिर गर्छन् । कुमार नगरकोटी भने खतिवडाको समूहले लामिछानेको प्रेतलाई मण्डलाको मञ्चमा ल्याएर चिनाउनु सुखद आश्चर्यले भरिएको ब्रेकिङ न्युज भएको टिप्पणी गर्दै भनेका छन्, ‘लामिछाने ४० वर्षको शीतनिद्राबाट ब्युँझिएका छन् ।


यसपटक रंगमञ्चमा लामिछानेको शाब्दिक चिहान खन्ने ‘ग्रेभ डिगर’ मिस्टर खतिवडा र उनको टिमलाई साधुवाद ।’

प्रकाशित : श्रावण १०, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?