वैजयन्तीमा फरक क्षमता

कान्तिपुर संवाददाता

काठमाडौँ — केही दिनअघि मात्रै हिृवलचेयरसहितको टोलीले कर्णाली प्रदेशका मन्त्रालय अपांगमैत्री नभएको भन्दै कार्यालयका सिँढीहरू गैंती र कोदालोले भत्काउने प्रयास गरे । आन्तरिक मामिला मन्त्रालयको सिँढी भत्काउन थालेपछि प्रहरी र अपांगहरूबीच धकेलाधकेल चल्यो, हिृवलचेयरसहित १७ जना प्रक्राउ परे । उनीहरूको माग थियो– ‘अपांगमैत्री भवन निर्माण गर, हाम्रो अधिकार सुनिश्चित गर ।’ 

कर्णाली प्रदेशमा यस्तो भइरहेको बेला यता राजधानीमा भने रंगकर्मी आशान्त शर्मा उनै अपांगहरूको मनोविज्ञानमाथि नाटक रिहर्सल गरिरहेका थिए । यतिबेला नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नियमित मञ्चन भइरहेको छ । अपांग अधिकार र मनोविज्ञानको वकालत गरिएको नाटक ‘वैजयन्ती’ मा फरक क्षमता राख्नेहरूको कथाव्यथा छ । उनीहरूको मनोकांक्षाको सन्दर्भ छ, प्रेम–आसक्ति छ । अनि अपांग भएकै कारण सन्तानप्रतिको अभिभावकले गर्ने विभेदपूर्ण व्यवहारको क्रूरता छ ।

मञ्चमा उज्यालो छिर्नेबित्तिकै किशोरावस्था पार गर्नै लागेकी एउटी युवती गुडियाजस्तै गुलाबी र सेतो पहिरनमा सजिएको सिंहासनमा देखा पर्छिन् । बच्चा जस्तै देखिने उनको व्यवहारलाई साथ दिँदै चार/पाँच जना पात्रहरू उनकै इसारामा कहिले नाच्ने कहिले खेल्ने गरिरहेका छन् भने ती सबै क्रियाकलापलाई डाक्टरको भेषमा देखिने एकजना पात्रले नियालिरहेको देखिन्छ ।

डाक्टरको भूमिकामा देखिने अनन्तले फरक क्षमता भएकी मैनालाई केन्द्रमा राखेर कथा भन्दै गएपछि नाटकका दृश्यहरू अगाडि बढ्दै जान्छन् ।

‘वैजयन्ती’ मा फरक क्षमता भएको मानिसलाई परिवार र समाजले हेर्ने दृष्टिकोण र समाजले नचिनेको तर उनीहरूभित्र लुकेर बसेको क्षमतालाई देखाउने प्रयास गरिएको छ । लामो समयदेखि फरक क्षमता भएका बालबालिकाहरूसँग सहकार्य गर्दै आएकी सौभाग्य सिंहले नाटकको कथा तयार पारेकी हुन् । अपांग भए पनि परिवारको साथ र हौसला भएमा उनीहरू आफैं सक्षम मात्र होइन, अरुका लागि पनि केही गर्न पनि सक्छन् भन्ने नाटकले देखाउन खोजेको छ । आठ वर्षकै उमेरमा टाइफाइड बिग्रिएर मस्तिष्कमा चोट पुगेपछि अपांग बन्न पुगेकी मैनाको अभिनयलाई दर्शकले बिर्सन सक्दैनन् ।

आमा र बहिनीमाथि नै निर्भर रहेकी उनमा डाक्टर अनन्तको नियमित उपचार र थेरापीपछि सक्षम बन्दै जाँदा देखिएको जीवनप्रतिको भरोसाले नाटकमा सकारात्मक र उज्यालो मनोविज्ञान थपिदिन्छ । अपांग या सबलांग, सन्तान जस्तोसुकै भए पनि मातृवात्सल्य भने एउटै हुनेप्रति पनि नाटकले औंल्याएको छ । बहिनी तारालाई जत्तिकै मैनाको स्याहारसुसार र उनको भविष्यप्रति आमाले गरेको चिन्ताले दर्शकलाई भावुक बनाउँछ ।

घरपरिवारको सबै बोझ थामेर पनि मैनाको हेरविचारमा आमाले कुनै कमी हुन दिन्नन् । बुबाको व्यवहार भने केही रुखो देखाइन्छ । यस्तो प्रवृत्तिमार्फत नाटकले भावुकता र संवेदनाको सवालमा पुरुषभन्दा महिला बढी नरम हुन्छ भन्ने पुष्टि गर्न खोजेको जस्तो भान हुन्छ ।

बुबाले अपांग मैना र उसको बहिनीप्रति गरेको भेदभावपूर्ण व्यवहारमार्फत नाटकमा एउटा विभेदपूर्ण मानसिकको पुरुष मनोविज्ञान पस्किएको छ । यतिसम्म कि अपांग छोरीलाई बोझको रूपमा लिन्छन् । कहिले जुस त कहिले दूधमा अनेकौं वस्तुहरू मिसाएर मार्न खोज्छन् । उता मामा इन्द्रले अपांग देखेर उनीमाथि गर्न खोजेको यौनशोषणको पाटो पनि डरलाग्दो लाग्छ । नाटक हेर्दै जाँदा हाम्रै वरिपरि दिनहुँ भइरहेका यथार्थ घटनाहरूको साक्षी बसेकोझैं अनुभूत हुन्छ ।

मानिसभित्रको द्वैत चरित्रलाई पनि नाटकले प्रस्ट पार्न खोजेको छ । सधैं छिछि: र दुरदुर गर्ने बुबाले चुनावका बेलामा भोट माग्नकै लागि छोरी मैनाप्रति चिन्ता गरेको जस्तो ढोंग रच्छन् । यस्ता पात्र र प्रवृत्ति पनि हाम्रै समाजबाट टिपिएको जस्तो लाग्छ । नाटकको अर्को सन्देश छ– अपांगहरूमा पनि सामान्य मान्छेमा जस्तै इच्छा–आकांक्षा हुन्छन् । जस्तो कि मैनाले डाक्टरलाई मन पराउँछिन् र उनैसँग विवाह गर्ने सपना देख्छिन् ।

उनको स्वास्थ्यलाई ख्याल गर्दै मनोवैज्ञानिक भरोसा दिन डाक्टरले पनि सकारात्मक भएको जस्तो देखाउँछन् तर डाक्टरले भित्री रूपमा भने उनकी बहिनी तारालाई मन पराउँछन् । ‘हामी अपांगलाई उसको अन्तरहृदयबाट हेरिरहेकै हुँदैनौं, खाली बाहिरी आवरणबाट मात्रै देख्छौं,’ निर्देशक आशान्त शर्माले भने, ‘उनीहरूभित्रको आकांक्षा र मनोवेग त अरू मान्छेजस्तै हुन्छन् नि ।’ करिब एक वर्षअघि सहरी निम्न मध्यमवर्गीय युवाहरूको कथालाई समेटेर ‘एलआईजी पिक्निक’ नाटक निर्देशन गरेका शर्माले यसपटक पनि सामाजिक विषयवस्तुलाई नै रोजेका छन् ।

नाटकमा उनले सरल तर अर्थपूर्ण रूपमा कथा भन्न खोजेका छन् । पछिल्लो समय फिल्ममा समेत जम्न थालेका शर्माले ‘फरक क्षमता भएका महिलाहरूको खास परिचय र पहिचान देखाउन खोज्नु नाटकको प्रमुख उद्देश्य’ रहेको बताए । नाटकमा सबलांगभन्दा पनि अपांगहरूको मन र विचार पवित्र हुन्छ भन्ने पनि देखाउन खोजिएको छ । बाहिरी रूपमा राम्री देखेर तारालाई विवाह गरेका अनन्तले अन्तत: सम्बन्धविच्छेद भएपछि आफ्नै पाउँमा पसल थापेर आत्मनिर्भर भएकी मैनालाई सम्झन्छन् ।

मानिसले भित्रीभन्दा पनि बाहिर सौन्दर्य हेरेर बनाएको सम्बन्ध दिगो नहुने पक्षलाई नाटकले गहन रूपमा प्रस्तुत गरेको छ । तारा र अनन्तको पारिवारिक किचलोलाई व्यस्त बन्दै गइरहेको आधुनिक जीवनशैलीसित पनि जोडिएको छ नाटकमा । पतिपत्नी दुवैजना रोजगारतिर लागेपछि तिनीहरूको व्यस्तताले एकअर्काको भावनाहरू आदानप्रदान गर्ने समय नहुँदा सिर्जिएको समस्याकै कारण मतभेद हुन्छ र सम्बन्ध टुंगिन्छ । यस हिसाबले नाटकले कामकाजी मध्यमवर्गीय बाध्यता पनि समेटिएको छ ।

एक अर्काको अस्तित्वप्रतिको सम्मानको वकालत नाटकको वैचारिक पक्ष हो । यसलाई प्रस्तुत गर्न भने नाटकले नाटकीय नै दृश्य निर्माण गरेको छ । अपांग भन्दै मैनालाई देखिनसहने खड्गप्रसादपछि आफैं दुर्घटनामा परेर कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा पुग्छन् र उनको साहरा हिृवलचियर बन्नपुग्छ ।

नाटकमा घटनाकै लागि यस्तो गरिएको जस्तो लागे पनि कुनै समय आफूले घृणा गरेको अवस्थाबाट स्वयं आफैं गुज्रिनुपर्‍यो भने कस्तो पीडा हुन्छ ? भन्ने अर्थलाई बलियो बनाउन खोजिएको छ । नाटकमा संवाद नै छ, ‘मान्छेले म बलियो छु भनेर अरूलाई कमजोर ठानी भ्रमको खेती गरिरहेको छ ।’

नाटकमा प्रकाश परिकल्पना जीवन बराल, परिचालन निर्मल साउद, संगीत किसन श्रेष्ठ, मञ्च परिकल्पना निर्देशक शर्मा र छिरिङ शेर्पाको रहेको छ । साउन २७ गतेसम्म मञ्चन हुने नाटकमा मञ्जु श्रेष्ठ, सुदीपजंग कार्की, सौभाग्य सिंह (शोभा), चाँदनी शाह, विजय नेपाल, सञ्जु कार्की, हेमन तण्डुकारको अभिनय रहेको छ ।


प्रकाशित : श्रावण १९, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

अभिनयमा आमाहरु

पर्वत पोर्तेल

(चारपाने, झापा) — उमेरले मैया सिटौला ‘डाँडापारिकी घाम’ भइसकेकी छन् । तर, उनी ७२ वर्षे उमेरमा पनि तन्नेरी जोसका साथ रंगमञ्चमा सक्रिय छिन् । दर्जनौं नाटक गरिसकेकी झापा बिर्तामोडकी मैयालाई जीवन नै एक रंगमञ्चजस्तो लाग्छ । विगतमा क्षितिज नाट्य समूहमा सक्रिय उनी यतिबेला आर्ट स्टुडियोले प्रदर्शन गरिरहेको नाटक ‘रूवा’ की सक्रिय कलाकार हुन् । 

मैयाजस्तै ७ पाका महिलाहरू यतिबेला झापाको चारपानेमा नाटक गरिरहेका छन् । सबैलाई रंगमञ्चमा भने शान्तादेवी पौडेलले जोडेकी हुन् । शान्ता स्कुले जीवनमा नाटक खेल्थिन् । स्कुल लगत्तै बिहे भयो । नाटक खेल्ने इच्छा अधुरै थियो । अहिले छोराछोरी हुर्किएर लाखापाखा लागे । घरमा एक्लो ज्यान छ । एक्लै घरमा थन्किएर बस्न यिनको मनले मानेन । युवा रंगकर्मी प्रकाश दाहालसँगको भेटले यिनी पुन: रंगमञ्चमा फर्किइन् । ‘नाटक खेल्ने सानैदेखिको धोको बल्ल पूरा हुँदै छ,’ शान्ताले उत्साहित भावमा सुनाइन् ।

शान्ताले आफूजस्तै स्थानीय महिलाहरूको खोजीमा लागिन् । धेरै महिला भेटिए । तर, नाटक खेल्न इच्छुकचाहिँ निकै कम । आर्ट स्टुडियोले गत वैशाखदेखि ३ महिना लामो कार्यशाला आयोजना गर्‍यो । शान्ताले जुटाएका महिलाहरू वर्कसपमा सक्रिय सहभागी भए । तीन महिनासम्म अभिनय, नृत्य र रंगमञ्चका अनेकन कुरा सिके । ‘नाटकले मलाई चै औषधिको काम गर्‍यो,’ ५४ वर्षीया मुना उप्रेतीले भनिन्, ‘एक्लै बस्दा डिप्रेसनजस्तो भएको थियो, अहिले एक्लोपन हुन छाडिसक्यो ।’

३३ वर्षीया मनीषा सिटौला एक निजी विद्यालयमा पढाउँदै थिइन् । जागिर छाडेर पूर्णरूपमा नाटकमा सक्रिय भएकी छन् अहिले । ‘नाटक खेल्दा आत्मसन्तुष्टि मिल्यो,’ मनीषाले अनुभव साटिन् । ५१ वर्षीया मेनुका घिमिरे पनि दर्जनबढी संघसंस्थाको जिम्मेवारीमा थिइन् । अहिले सबै छाडेर नाटकमै सक्रिय बनेकी छन् ।

४४ वर्षीया कमला संग्रौलाको त नाटक प्रशिक्षणमा आएपछि सुगर नै जाती भएछ । नाटकमा गरिने विभिन्न प्रकारका व्यायामले आफूलाई वर्षौं पुरानो रोग निको भएकोमा उनी बढी खुसी देखिन्छिन् । भनिन्, ‘अब यही क्षेत्रमा निरन्तरता दिने योजना छ ।’

गोमा विमली पनि जीवनका ५७ औं वसन्तमा दौडिरहेकी छन् । अबको जीवन नाटकमै समर्पित गर्ने प्रण गरेकी उनले भनिन्, ‘खास जीवन त नाटकमा बाँच्न पाइने रहेछ ।’ पतिले छाडेपछि डेढ दशकदेखि एक्लै बस्दै आएकी गोमाले सुनाइन्, ‘नाटकलाई नै जीवन सुम्पिसकें मैले त ।’

युवा रंगकर्मी चे शंकरले करिब ३ महिना उनीहरूलाई कार्यशालमा सिकाए । सबैका कथा सुने । सहभागीकै अलग–अलग कथा टिपोट गरेर उनले ‘रूवा’ नाटक लेखे । रंगकर्मी प्रकाश दाहालले निर्देशन गरे ।

दाहालका अनुसार नाटकमा पूर्वोत्तर भारतबाट लखेटिएर पुर्ख्यौली देश नेपाल आएकाहरूको पीडा समेटिएको छ नाटकमा । पञ्चायती शासन कालमा बर्बरता छ । वैदेशिक रोजगारीका नाममा खाडी तथा इजरायल पुगेका नेपाली महिलाले भोग्ने प्रताडनले मनै चसक्क पार्छ । बिर्तामोडको चारपानेमा साउन १५ देखि मञ्चल सुरु गरिएको नाटक २१ गतेसम्म चल्ने छ ।

प्रकाशित : श्रावण १९, २०७६ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT