कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुरानो प्रविधि, पुरानै समय

सुशीला तामा‌ङ

काठमाडौँ — प्रविधिको विकाससँगै समाजले द्रूत गतिमा कोल्टे फेरिसक्यो । कतिपय हिजो देखिएका कुराहरू आज हराइसके । बिराना भइसके । काठमाडौं उपत्यका नै २००७ सालतिर कस्तो थियो होला ? त्यति धेरै टाढा पनि किन ?

पुरानो प्रविधि, पुरानै समय

बहुदल आएपछिको राजधानीकै सामाजिक अवस्था के थियो ? अहिलेको पुस्ताका लागि त्यही नै नौलो भइसकेको छ । यदाकदा राजनैतिक परिवर्तनका साक्षी बनेका तस्बिरबाहेक कलासंस्कृति र जनजीवन झल्काउन सक्ने तस्बिर अहिले बिरलै देखिन्छन् ।

यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विरलै देखिने यस्ता दृश्यहरूसित रमाउन सकिन्छ । ‘लाइफ इन एनालग’ शीर्षकमा जारी तस्बिर प्रदर्शनीमा ४४ जना फोटोग्राफर एवं चित्रकार ९० भन्दा बढी तस्बिर राखिएका छन् । ग्यालरीमा राखिएका उक्त तस्बिरहरूले २००७ सालदेखि अहिलेसम्मको इतिहासलाई चित्रण गरेका छन् । यस अवधिमा नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिकलगायत पक्षहरूलाई एनालग प्रविधिबाट खिचिएका तस्बिरहरूमार्फत प्रस्तुत गरिएको छ ।


तिनताक क्यामेरा अहिलेको जस्तो सर्वसुलभ थिएनन् । डिजिटल प्रविधिको विकाससँगै फोटो खिच्ने र भण्डारण गर्ने दुवै काम सहज बने । अहिले हातहातमा रहेका मोबाइल क्यामेरा जडित छन् । मन लागे जति फोटो खिच्न र सुरक्षित राख्नु सर्वसाधारणको बशमा छ । तर एनालगको जमानाको कुरै अर्को थियो । एउटा रिलले मुस्किलले ३५/३६ स्न्याप खिच्थ्यो भने नेगेटिभलाई प्रशोधन गरेर फोटो तयार पार्नु अर्को झन्झट हुन्थ्यो । धुलाइएका फोटाहरू पनि सुरक्षित राख्नु अर्को मुस्किलकै काम हुने गर्थ्यो ।


२० औं शताब्दीको अन्त्यतिर डिजिटल प्रविधि भित्रिएसँगै विकसित क्यामेराहरू बजारमा आए । अझ मोबाइलमै गुणस्तरीय क्यामेरा जडान भई आउन थालेपछि त फोटोग्राफीमा क्रान्ति नै भएको छ । जसले गर्दा एनालग प्रविधि यतिबेला शून्यप्रायः भएको छ । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भने तिनै पुरानो प्रविधि एनालगबाट खिचिएका ऐतिहासिक फोटाहरूलाई प्रदर्शनीमा राखेर जीवन्त बनाइएको छ ।


२००७ सालमा बखतबहादुर चित्रकारले खिचेका बस्ती, मानिस र मोटरगाडी देखिने उपत्यकासँगै त्यसताकको घण्टाघर चिनाउने फोटोसहित २०४१ तिर लिइएको फाँटैफाँटै देखिने बौद्ध स्तूप र २०१९ देखि २०२३ सालभित्र खिचिएको सुन्धाराको फोटोमा त्यसताकको काठमाडौं झल्किएको छ । प्रदर्शनीमा राखिएका फोटोमा देखिने फाँटैफाँटैको बीचमा रहेको उपत्यकाले अहिलेको सहरीकरणसँगै साँघुरिएको काठमाडौंलाई जिस्काइरहेझैं लाग्छ ।


अहिले नाम मात्रको सुन्धारा त्यसताका नुहाउने र कपडा धुनेको पँधेरो थियो भन्ने कुरा प्रदर्शनीमा राखिएका एनालग फोटोले बताइरहँदा दर्शक उदेक मानेर हेरिरहन्छन् । फाट्टफुट्ट गाडीहरू गुड्ने त्यसताकका राजधानीका फराकिलो लाग्ने ती सडक छोटो समयमै कसरी दैनिक ट्राफिक जाम थेग्ने व्यस्त सडक बने भन्ने तुलनात्मक अध्ययन नगरी प्रदर्शनी अवलोकनकर्तालाई धरै छैन ।


त्यस्तैगरी, २०४३ तिर मीन बज्राचार्यले खिचेको फोटोमा सहरको डबलीतिर ग्रामीण भेगका महिलाहरू दाउराको भारी बिसाएर बसिरहेको फोटोले गाउँबाट दाउरा बोकेर ल्याई सहरतिर बेची जीविकोपार्जन गर्ने आम मानिसको दैनिकीलाई उजागर गरिदिएको छ ।


पुरानो प्रविधिको महत्त्व र त्यतिबेला विकास भएका फोटोहरूका माध्यमबाट हाम्रो पुरानो नेपाल देखाउन नै प्रदर्शनी गरिएको फोटोग्राफर अभिषेक शाहले बताए । ‘एनालग प्रविधिमा तयार भएका फोटोहरू यहाँ छन्,’उनले भने, ‘हालसालै बनेको एनालग फोटोबाट यो प्रविधि अझै जीवितै छ भन्ने देखाउनु प्रदर्शनीको अर्को उद्देश्य हो ।’


शाहले एनालग प्रविधिले फोटोग्राफरलाई कामप्रति एकदमै सचेत र सजक बनाउने भएकोले फोटोहरू पनि सृजनशील हुने गरेको बताउँछन् । ‘एनालग पनि फोटोग्राफीको एउटा आर्ट फर्म हो । यसलाई हराउन दिनुहुन्न’ उनले भने ।


प्रदर्शनीमा कुनै मिति उल्लेख नभएका ‘चित्रकार फ्यामिली अर्काइभ’ अन्तर्गत रहेका महिला तथा पुरुषहरूको श्यामश्वेत फोटाहरूले निकै पुरानो समयको चित्रण गर्छ । त्यस्तै २०२७ मा तीर्थराज राईले खिचेको कुनै पारिवारिक उत्सव र घोडा चढ्न लागेको फोटोहरूले पनि पुरानो जीवन पद्धति र संस्कारलाई झल्काउँछ । प्रदर्शनी अवलोकन गर्दै सोलुखुम्बुका चक्र कार्कीले यी फोटाहरूले वास्तविक नेपालको चित्र दिइरहेको बताए । उनले भने, ‘यसबाट नेपाल कस्तो थियो र अहिले कस्तो छ भनेर तुलानात्मक रूपमा बुझ्न सकिन्छ ।’


नेवारी संस्कृतिमा रहेको खर्पन संस्कृति, विभिन्न पर्वहरूमा नाचिने लाखे नाच, काठमाडौं उपत्यकाको पुरानो घरहरूका तस्बिरहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित : श्रावण २८, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?