१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दोहामा गुन्जियो नेपथ्य

कान्तिपुर संवाददाता

काठमाडौँ — मुस्लिम धर्मावलम्बीको बाहुल्य रहेको देश कतारको दोहामा ‘इद अल अदा’ पर्वको अवसर पारेर नेपालको सांगीतिक ब्यान्ड नेपथ्यले आफ्नो प्रस्तुति दिएको छ । इस्लामहरूको पात्रोअनुसार, अन्तिम महिनाको एघारौं र बाह्रौं दिन बलिदानको रूपमा उक्त पर्वलाई इद कुर्बान भनेरसमेत मनाइने गरिन्छ । 

दोहामा गुन्जियो नेपथ्य

दोहाको ‘एसियन टाउन एम्पिथिएटर’ को मञ्चमा आइतबार साँझदेखि हजारौं दर्शकमाझ नेपथ्यका मुख्य गायक अमृत गुरुङले सांगीतिक कोसेलीको पोको फुकाएका थिए । गाउनुअघि उनले बहुसांस्कृतिक विविधताले संसारलाई नै एउटा रमाइलो गाउँमा परिणत गरेको धारणा राख्दै आउँदै गरेको हिन्दु धर्मावलम्बीको चाड जनैपूर्णिमा र गाईजात्राको पनि स्मरण गरे ।


‘इद मुबारक’ भन्दै गुरुङले ‘भेंडाको उनजस्तो...’ बाट ब्यान्डको प्रस्तुति थालेका थिए । त्यसपछि कन्सर्टमा नेपथ्यका सर्वकालीक हिट गीतहरू ‘छेक्यो छेक्यो...’, ‘शिरफूल शिरैमा...’, ‘लामपाते सुरती...’ जस्ता गीतहरू गाएर दर्शक माहोललाई जुरुक्कै उचाले । त्यसो त गायक गुरुङको प्रस्तुतिमा कतारमा संघर्ष गरिरहेका तन्नेरीहरूलाई उनीहरूका प्रियहरूको सन्देशका रूपमा ‘मै मरिजाऊँला जीवन छोट्टो छ...’ समर्पण गरे ।


केही वर्षअघि तयार पारेको यस गीतलाई नेपथ्यले रोजगारीका निम्ति प्रबासिएका नेपाली कामदारहरूमै समर्पित गर्दै म्युजिक भिडियो तयार पारेको थियो ।


नेपथ्यले त्यसपछि ‘चरी मर्‍यो सिसैको गोलीले...’, ‘जोमसोमे बजारमा...’, ‘जोगले हुन्छ भेट...’, लगायत गीत गाउँदा कतारको दोहास्थित नेपालीहरू गायकलाई साथ दिएर गाउँदै नाचिरहेका देखिन्थे ।


प्रकाशित : श्रावण २९, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?