कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रकोपविरुद्ध भित्तेकला

अमृता अनमोल

बुटवल — प्राकृतिक प्रकोप हटाउन सकिन्न तर सावधानी अपनायो भने घटाउन सकिन्छ । यही वास्तविकतालाई रूपन्देहीका कलाकर्मीले भित्ते कलामा उतारेका छन् । कमर्सियल आर्टिस्ट संघले तिलोत्तमा–१५ को कोटिहवामा प्राकृतिक विपत्तिविरुद्ध भित्तेकला शिविर नै गर्‍यो ।

प्रकोपविरुद्ध भित्तेकला

शिविरमा जिल्लाका १३ युवा कलाकार सहभागी भए । उनीहरूले तिलोत्तमा चोकको पूर्वपट्टिको हाटबजार र वडा कार्यालय परिसरका भित्तामा लस्करै १५ तस्बिर उतारे । त्यसमा धेरैले प्राकृतिक प्रकोप आउनाको कारण खोतले । केहीले भित्ते कलामार्फत् प्रकोप घटाउने उपाय सुझाए । प्रकोपले पुर्‍याएको क्षतिलाई पनि भित्तामा उतारिएका छन् ।


चित्रकार विक्रम तरामु मगर गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक गाउँमा केन्द्रित रहे । उनले ठूलो लुम्पेकको चित्र बनाए र चित्रबाटै पहिरो आउनाको कारण देखाए । ‘कालीगण्डकी नदीको माथिल्लो भागमा रहेको यस गाउँमा पछिल्लो समय बस्ती विकास बढेको छ । घरैपिच्छे सडक खनिएका छन् । भएका वनजंगल मासिएका छन्,’ उनले चित्रमा देखाए, ‘कमजोर पत्रे चट्टान रहेको गाउँ धेरै खोतलिँदा अहिले पहिरो खस्यो ।’ अब प्रकोप आउन नदिन पहिरो खसेको र बचेको ठाउँलाई हरियाली पानुपर्ने उनको सन्देश छ । तरामु ठूलो लुम्पेककै स्थायी बासिन्दा हुन् । पहिरोले उनका २ नातेदार गुमेका छन् । छिमेकीको बिचल्ली भएको छ ।

प्रकृति र मान्छे एकअर्काका पूरक मानिन्छन् तर पछिल्लो समय मान्छेले प्रकृतिमाथि अन्याय गरेको बताइन्छ । अर्थात् प्राकृतिक सम्पत्ति विनाश गरेको छ । यही भाव व्यक्त गरे चित्रकार राजु खडकाले । उनले नेपालको नक्सामा रुखको हाँगा बनाएका छन् । त्यसमार्फत हरियो वन नेपालको धन कसरी मासिँदै छ भन्ने देखाएका छन् ।


वनजंगल फँडानी हुँदा पहिरो खसेका, भूक्षय भएका, बाढी आएका र मान्छे विपद्मा परेका दृश्य उनका चित्रमा छन् । ‘प्राकृतिक सम्पत्ति मासे विपत्ति आउँछ । मान्छे प्रकृतिमाथि जाइलाग्दा प्रकृति पनि मान्छेमाथि आइलाग्छ भन्ने देखाउन खोजेको हुँ,’ उनले भने, ‘सटीक शिक्षा भनेर धेरैले यी चित्र मन पराउनुभएको छ ।’


चित्रकार सुमित्रा रानाले प्रकृति र मान्छेको सम्बन्ध देखाएकी छन् । प्रकृतिको संरक्षण गरे मात्र मानव जातिको अस्तित्व बचाउन सकिने उनका चित्रमा वर्णन छन् । सुदर्शन पन्थ, अन्कित गुप्ता, डोलबहादुर आले, कुलदीप थापा, सन्तोष गुरुङ र सन्तोष न्यौपानेले प्रकोपले बिचल्ली ल्याएका चित्र कोरेका छन् ।


जिया थापा, राजु खड्का, हरि थापा, अमर क्षत्री र रिंकी नेपालीले प्राकृतिक विपत्ति आउन नदिन अपनाउनुपर्ने सावधानीबारे चित्र उतारेका छन् । दिनभर भित्ते कला कोरेका उनीहरूले साँझ परेपछि सडकमा नेपालको चित्र बनाए । चित्रमा मैनबत्ती बालेर विपत्तिमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?