१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नयाँ पुस्ताले सम्झिए योञ्जन

कान्तिपुर संवाददाता

काठमाडौँ — अग्रज संगीतकार एवं गायक गोपाल योञ्जन बाँचेका भए, यतिबेला ७६ वर्षका हुन्थे । उस्तै जोसका साथ गीत गाइरहेका हुन्थे । बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भने उनका गीत नयाँ पुस्ताले गाए ।

नयाँ पुस्ताले सम्झिए योञ्जन

२२ वर्षअघि दिवंगत उनै ‘संगीत सम्राट’ को सम्झना गरे । नाचघरको मिनी हलमा ‘देशले रगत मागे, मलाई बलि चढाऊ...’, ‘हिमालसरी म अग्लिरहेछु...’, ‘बनेको छ पहराले यो छाती मेरो...’ जस्ता गीत गुन्जिरहेको बेला माहोल भावुक बन्यो ।


नाचघरसँगै मधुरीमा नेपाल कलाकेन्द्रले गरेको कार्यक्रमको सुरुमै गायक विपिन घिमिरे र शिला विष्टले ‘हिमालसरी...’ गाएर योञ्जनप्रति श्रद्धासुमन प्रकट गरे । यसपछि कर्म ग्याल्छेनले ‘यति चोखो यति मीठो...’

गाउँदा दर्शकश्रोता भावुक बने ।


गोपाल योञ्जनका गीत रचनामाथि प्रकाश पार्दै नाचघरकै पूर्व महाप्रबन्धक एवं साहित्यकार भूपाल राईले ‘योञ्जनको व्यक्तित्व गायक, संगीतकार र गीतकार गरी त्रिआयामिक भए पनि गीत रचनाको पाटो सधैं ओझेलमा परेको दाबी गरे । ‘उहाँले यति मीठा गीत रचना गर्नुभएको छ कि ती सदाबहार छन्, अर्थपूर्ण छन् र विचारप्रधान छन्,’ राईले भने, ‘तर, स्वर र संगीतले उहाँको गीतकारिता छायामा पर्‍यो ।’


संसारमा स्रष्टाहरू राज्यले र जनताले गरी दुई प्रकारको बन्ने परम्परा रहेको दाबी गर्दै राईले ‘योञ्जन जनताले बनाएको गायक’ रहेको बताए । ‘पञ्चायतको समय दार्जिलिङबाट आउनुभयो, उताबाट आएकाहरू थुप्रै त्यति बेला राजा महेन्द्रको चाकडीतिर लागे, जागिरे भए । तर, उहाँ कहिल्यै पनि सत्ताको चाकडीमा लाग्नुभएन, देशभक्तिपूर्णरूपमा आफ्नै ढंगले लागिरहनुभयो,’ उनले भने, ‘लोकजीवनबाट पनि संगीत तत्त्वको खोजी गर्नुभयो ।’


राईले तामाङ समुदायको संगीत परम्परा र भाषिक चेतनालाई पनि नेपाली आधुनिक संगीतमा मिसाउने काम उनै योञ्जनले गरेको दाबी गरे । पचासको सुरुवाती दशक आफ्ना केही गीतमा संगीत भर्ने गरी योञ्जनसँग संगत बढेको र केही गीतसंगीत गर्दागर्दै टुहुरो बनेको बताउँदै राईले भने, ‘उहाँको व्यक्तित्व लोभलाग्दो थियो, शालीन र भलादमी । तर, देशबाट जति सम्मान पाउनुपर्ने हो त्यो भएन ।’


यसपछि योञ्जनकै गीत प्रस्तुत गरे विनय लामाले । उनले हार्मोनियम फिटदै ‘ए मलाई माया गर्छु भन्नेहरू...’ सुनाएपछि गायिका लक्ष्मी गुरुङले ‘देशले रगत मागे...’ सुनाइन् । इन्दिरा गोले र प्रेम लोप्चनले गाएको तामाङ सेलोमा दर्शक नाच्न तम्सिए । यी दुईको प्रस्तुति जोसिलो थियो ।


नारायण लामाले ‘बनेको छ पहराले यो छाती मेरो...’ गाउँदै गर्दा भने हल पूरै सुनसान बन्यो । योञ्जनकै व्यक्तित्व र कृतित्वमाथि चर्चा गर्दै गायक छत्र गुरुङले शब्दकै कारण योञ्जनका दुईवटा गीत पञ्चायत कालमा प्रतिबन्ध भएको सुनाए । योञ्जनसँगै आत्मीय पलहरू बिताएका गीतकार, अर्थविद् एवं पूर्वराजदूत विश्वम्बर प्याकुरेलले ‘नेपाली आधुनिक संगीतलाई स्वर्णिम बनाउन योञ्जन र नारायणगोपालको योगदान अमूल्य रहेको’ बताए ।


उनले सँगैका यात्राहरूलाई समेटिएर बायोग्राफी नै तयार पारेको सुनाउँदै राज्यका तर्फबाट कालजयी सिर्जना सुरक्षित गर्नुपर्ने धारणा राखे । जनसांस्कृतिक महासंघका संयोजक खगेन्द्र राई र राष्ट्रियसभा सदस्य एवं साहित्यकार खेम नेपालीले पनि योञ्जनको सम्झना गरे ।


नेकपा सम्बद्ध नेपालीले ‘राष्ट्रवादी सांस्कृतिक चेतनाको हिसाबले राजा महेन्द्रको प्रशंसा गर्नुपर्ने’ बताउँदै पञ्चायतकालमा मुलुकबाहिरबाट थुप्रै प्रतिभा बोलाएर नेपाली संगीतलाई बलियो बनाउन सघाएको तर्क गरे । उनको आशय योञ्जनप्रति लक्षित भए पनि योञ्जन भने राजा महेन्द्रले बोलाएर आएका थिएनन् ।


दार्जिलिङमा हिमालयन कला केन्द्र खोलेर नेपाली आधुनिक संगीतलाई मलजल गरिरहेकै बेला योञ्जन एमए पढ्न काठमाडौं आएका थिए । संगीतज्ञ अम्बर गुरुङले आफू दिवंगत हुनुअघि एक अन्तरवार्तामा भनेका छन्, ‘योञ्जन मभन्दा अघि नै पढ्न काठमाडौं आएका थिए, मचाहिँ राजा महेन्द्रले जन्मोत्सवमा बोलाएर आएँ ।’


मधुरिमाले हरेक वर्ष गोपालको जन्मजयन्ती मनाउँदै आएको छ । भारतको दार्जिलिङमा विसं २००० मा जन्मिएका योञ्जनको २०५४ मा निधन भएको थियो । उनले राष्ट्रिय भाव, माया प्रेम, बालबालिका केन्द्रितदेखि खेलकुद विधाका गीत/संगीत सिर्जनासमेत गरेका थिए ।


कालजयी गीतका स्रष्टा योञ्जनको सांगीतिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न हरेक वर्ष कार्यक्रम गर्दै आएको मधुरिमाका अध्यक्ष एवं गायक/संगीतकार प्रदीप बमजनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?