१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ताइन् शुभद्रा

काठमाडौँ — रंगमञ्च र फिल्म क्षेत्रमा जीवनभर सक्रिय अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार बिहान राजधानीको डल्लुस्थित निवासमा निधन भएको छ । केही वर्षदेखि श्वासप्रश्वासको समस्याबाट पीडित अधिकारीका एक छोरा र एक छोरी छन् ।

अस्ताइन् शुभद्रा

२००४ साल भदौ २० मा बुबा बलराम र आमा नूरादेवी कार्कीको कोखबाट जन्म लिएकी शुभद्राले २२ वर्षको उमेरदेखि फिल्म यात्रा थालेकी थिइन् । ‘मनको बाँध’ खेलेपछि उनले ‘चिनो’, ‘कन्यादान’, ‘भाउजू’, वसन्ती’ लगायत चार दर्जन फिल्ममा अभिनय गरेकी थिइन् ।


सांगीतिक परिवारमा जन्मेकी शुभद्राकी आमा गायिका थिइन् । आमालाई गायन सिकाउन आउने उस्ताद बद्रीले नै शुभद्राको बाल चञ्चलतामा कला क्षमता चिने र उनलाई नृत्य सिक्न प्रेरित गरेका थिए । ४/५ महिनामै शुभद्राले नागिन नृत्य सिकेर सबैलाई चकित पारिदिएकी थिइन् ।


उनी आमाको हार्मोनियमको तालमा नाच्दै हुर्केकी थिइन् । पाँच वर्षकी नहुँदै बुबा गुमाएकी शुभद्रा सात वर्षको उमेरमा आमासँगै तीर्थाटनका लागि भारत पुगिन् र आफ्नो नृत्य–कौशललाई थप चिनाउन पाइन् । भारतको एक स्कुलमा उनले नातिकाजीको गीत ‘पहाडमा...’ र ‘राधा ना बोले...’ मा नाचेरै एक सय ५० भारु सम्मान पाएकी थिइन् ।


शुभद्राको जन्म स्वाभाविक थिएन । झन्डै दस वर्षअघि कान्तिपुरसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘यो मरेकै जन्मिछ भनेर कपडाले पोको पारेर फालिएको थियो ।’ भएको के थियो भने, शुभद्रालाई जन्म दिनुअघि नै आमा नूरादेवी बेहोस् भएकी थिइन् । शुभद्रासमेत बेहोसीमै जन्मिएपछि परिवारले ‘मरेकी’ भनेर कुनामा फालेर आमा बचाउन लागेका थिए ।


सानैमा शुभद्राको क्षमता हेरेरै विजय मल्लले नाटक ‘आले आनी’ मा खेलाएका थिए । पछि मल्लले नै अर्को नाटक ‘कोही किन बर्बाद होस्’ मा पनि दोहोर्‍याए । शुभद्राले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ लगायत थुप्रै नाटक, टेलिफिल्म पनि खेलेकी छन् ।


तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा केही समय जागिरसमेत खाएकी शुभद्रा २०२८ देखि २५ वर्षसम्म राष्ट्रिय नाचघरमा जागिरे भइन् । पछिल्लो ‘दशगजा’, ‘मसान’, ‘काठमाडौं’ जस्ता फिल्ममा देखिएपछि अभिनय क्षेत्रमा उनको सक्रियता पातलिएको थियो ।


‘चिनो’ फिल्मका लागि २०५५ मा चरित्र अभिनेत्रीका लागि नेपाल मोसन पिक्चर्स अवार्ड जितेकी शुभद्रालाई गत महिना मात्र चलचित्र विकास बोर्डले २०७३ का लागि दीर्घ साधना सम्मान प्रदान गरेको थियो । बोर्ड अध्यक्ष केशव भट्टराईले नेपाली फिल्म क्षेत्रले ठूलो व्यक्तित्व गुमाएको बताए । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

प्रकाशित : भाद्र १, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?