कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

समावेशी रोपाइँ जात्रा

काठमाडौँ — धिमे र भुस्याको ताल पछ्याउँदै रोपारहरू सडकमा निस्के । उनीहरूको हातमा धानको हरियो बीउ लहलह देखिन्छ । अघिअघि बाउसेहरू कोदाली बोकेर आली सम्याएझैं नाटक गर्न थाले । त्यसपछि रोपारहरू सडकमै धान रोप्न थाले ।

समावेशी रोपाइँ जात्रा

शनिबार सिमसिम पानी पर्दै गर्दा राजधानीको बौद्ध चैत्य परिसरमा यस्तो रोचक दृश्य देखियो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धबासीले मनाउँदै आएको ‘रोपाइँ’ जात्राको अर्को रोचक दृश्य त के भने, जात्रामा नेवार र तामाङ समुदायको सरोवरी थिए । नेवार समुदायबाटै सुरु भएको मानिने यो जात्रा बौद्धमा भने तामाङ समुदायले पनि साथ दिँदै आएको छ ।


‘वर्षौंदेखिको परम्परा हो यो,’ बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामाले भने, ‘प्रताप मल्लको पालामा सुरु भएको यो जात्रा बौद्धमा सबैजना मिलेर मनाउँछन् । एकअर्काको संस्कृतिको सम्मान गर्ने यो निकै राम्रो समावेशी अभ्यास हो ।’


उनका अनुसार बौद्धमा तामाङ समुदायको पर्वमा पनि नेवार समुदायको साथ सहयोग रहँदै आएको छ । यसपटक भने खास्ती नेवाः पुचःको पहलमा भक्तपुर र कीर्तिपुरबाट लठ्ठी बजाउँदै प्रस्तुत गरिने ‘घिन्ताङघिसी’ नाच टोली पनि निम्त्याइएका थिए ।


उनीहरूले धिमेको तालमा ‘घिन्ताङघिसी’ प्रस्तुत गर्दा चैत्य आसपास र बाहिर सडकमा जात्रालुहरूको भीड बढेर हिँडडुल गर्न मुस्किल परेको थियो । मान्छे नै गोरु बन्दै हलो–जुवा नारेर सडकमा निस्किँदाको दृश्य जति रोचक थियो, ढ्यांग्रो बजाउँदै तामाङ बोन्बो नाच्दा पनि उत्तिकै रौनक थपिएको थियो ।


चैत्य परिसरमा जात्रालु केटा र केटी समूहमा विभाजित भएर तामाङ फाफरे व्हाई (गीत) मार्फत् दोहोरी खेलेका थिए । उनीहरूले गाएको सेलो दोहोरी हेर्न मानिस छाता ओडेरै जम्मा भएका थिए । बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्त लामाका अनुसार दिवंगत परिवार सदस्यहरूको आत्मशान्तिका लागि सुरु भएको यो जात्रामा हास्य र व्यंग्य रस पनि उत्तिकै मिस्सिएर आउँछ ।


भीडमा अनेक हास्य मुकुण्डोधारी मान्छेहरूले बेलाबेला छक्याउने र तर्साउने जस्ता गतिविधि गरेर पनि जात्रालाई रमाइलो पारेका थिए । हरेक वर्ष समितिले जात्रालाई प्रभावकारी बनाउन व्यवस्थापन समिति नै बनाएर काम गर्दै आएको छ । यसपटक पनि विभिन्न सांस्कृतिक प्रस्तुतिलाई हौस्याउन समितिले चैत्य परिसरभित्रै प्रतिस्पर्धात्मक कार्यक्रम गरियो । विजेता समूहलाई सभासद कृष्ण राईले पुरस्कार हस्तान्तरण गरे ।


बौद्ध क्षेत्र पर्यटकीय र सांस्कृतिक हिसाबले धनी रहेको दाबी गर्दै समितिका अध्यक्ष चन्द्रमान लामाले हरेक पर्वलाई प्रोत्साहन गर्न समितिले काम गर्दै आएको बताए । ‘यसपटक युवाहरूको सहभागिता झन् बढेको देखिन्छ,’ उनले भने, ‘पम्परागत र सांस्कृतिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता अवसरले ठूलो भूमिका खेल्छ ।’

प्रकाशित : भाद्र १, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?