कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संस्कृतिमा अंकुश

सुजित महत

काठमाडौ — झिलिमिली बत्ती, देउसी/भैलो र आतिसबाजी मुख्य आकर्षण हुन् । तिनैलाई निरुत्साहित सरकार लागिपरेको छ । विद्युत् प्राधिकरणले 'उत्सव बत्ती'का साथै बढी बिजुली खपत हुने कुनै उपकरण नचलाउन उर्दी गरेको छ ।

 संस्कृतिमा अंकुश
सुरुमा ७ बजेपछि देउसी/भैलो खेल्न निषेध गरेको गृह मन्त्रालयले विरोधपछि थप २ घन्टाको छुट दियो । आतिसबाजीका सामग्री त जफतै भइरहेका छन् ।
'पर्व मनाउने तौरतरिका परिवर्तन हुँदै गएको अवस्थामा सरकार पनि समाजअनुरूप परिवर्तन हुनुपर्ने हो,' मानवशास्त्री सुरेश ढकालले भने, 'तर पुरानै ढर्रा छ, उन्मुक्त भएर उत्सव मनाउने कार्यमा राज्य नै भाँजो हाल्न खोज्छ ।'
विद्युत् प्राधिकरणले तिहारभरि उत्सव बत्तीमात्र होइन पि|mज, राइसकुकर, आइरन, एसीलगायत प्रयोग नगर्न भन्दै गरे कारबाहीको चेतावनी समेत दिएको छ । 'तिहारको शुभअवसरमा प्राधिकरणको प्रणालीबाट पसल, मल, घर, सडक लगायतमा उत्सव बत्ती लगायत उच्च विद्युत खपत हुने उपकरणहरू -पि|mज, राइसकुकर, आइरन, एसी आदि) ५ देखि ८ गतेसम्म ५ देखि १० बजेसम्म प्रयोग नगर्न यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको छ, 'अन्यथा ती उपभोक्ताहरूको विद्युत् सम्पर्क विच्छेद हुनेसमेत जानकारी गराइन्छ । यस कार्यमा सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा गरिएको छ ।'
ऊर्जा संकटका कारण तिहारजस्तो पर्वमा बिजुली खपत कम गर्न अनुरोध गर्नु स्वभाविक हो । 'तर यसरी उर्दी जारी गरेको सुहाएन,' समाज विश्लेषक सञ्जीव पोखरेलले भने, 'पैसा तिरेको बिजुली प्रयोग गरिस् भने लाइन काट्छु भन्नु त दादागिरी भयो ।' त्यसको सट्टा नागरिकलाई मैनबत्ती/पालालगायतका परम्परागत बत्ती प्रयोगका लागि प्रोत्साहित गर्नुपर्ने ढकालले बताए ।
देउसी भैलोको सवालमा पनि राज्यले निरीहता प्रकट गरेको विश्लेषकहरूले बताए । गृहले ७ बजेपछि -पछि ९ बजेसम्म छुट दिइएको) देउसी/भैलो खेल्न रोक लगायो । 'रातको समयमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउन सक्ने हुदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम बेलुकी ७ बजेसम्म मात्र गर्न अनुरोध छ,' गृहको सूचनामा भनिएको थियो । सरकार सांस्कृतिक संवेदनशीलता बुझ्नै नखोजी हामीले भनेपछि मान्नैपर्छ भन्ने तरिकाले पेस भएको पोखरेलले बताए । 'शान्ति सुव्यवस्था कायम गर्नु सरकारको जिम्मेवारी हो,' उनी थप्छन्, 'तर यो उर्दी जारी गरेर पाइने हैन, जनताको विश्वास जित्नुपर्छ । सरकार जनतासँग कसरी संवाद गर्ने भन्ने कुरामा पुरै लापरवाह देखियो ।'
प्रहरी प्रधान कार्यालयसम्बद्ध स्रोतअनुसार गृहले देउसी/भैलोले शान्ति सुरक्षामा दिनसक्ने चुनौतीबारे कुनै सल्लाह गरेकै छैन । '७ बजेपछि खेल्न नपाउने भन्दा पनि सोधिएको थिएन,' स्रोतले भन्यो, '९ बजेसम्म छुटमा पनि सोधिएन ।' यसरी नागरिकको पर्व मनाउने अधिकार कुण्ठित गर्दा प्रहरी झन् अलोकपि्रय हुने अधिकारीहरूको मत छ ।
गृह प्रवक्ता यादव कोइरालाले जनताकै अनुरोधमा देउसी/भैलो ७ बजेपछि नखेल्न भनिएको जिकिर गरे । उनका अनुसार काठमाडौंका स्थायी बासिन्दाको तर्फबाट राति देउसी/भैलो खेल्दा बाधा पुग्ने, मदिरा सेवन गरी हुलहुज्जत हुने गुनासो आएपछि उक्त सूचना जारी गरिएको थियो । 'तर तिहार चाँडै परेको र ७ बजे उज्यालै हुने भएकाले केही छुट दिन अनुरोध आएकाले ९ बजेसम्म दिइयो,' उनले भने । मानवशास्त्री ढकालको विचारमा वर्षमा एकचोटि खेलिने देउसी/भैलोमा पावन्दी नै अनुचित हो । 'कसैले देउसी/भैलो खेल्ने क्रममा हुलहुज्जत, अधिक मदिरा सेवन गरे पक्राउ गरी कारबाही गर्ने अधिकार छँदै छ,' उनले थपे, 'अनि त्यस्तालाई दण्डित गर्ने कि सबैलाई सांस्कृतिक गतिविधि गर्न रोक लगाउने ?'
यस्तै, गृहले तिहार र छठमा आतिसबाजी नगर्न सचेत गराउँदै गरे कारबाही गर्ने भनेको छ । 'यस्ता पदार्थको प्रयोगबाट जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्नजाने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुन सक्ने भएकाले विस्फोटक पदार्थ्ाको आयात-निर्यात, बिक्री-वितरण, परिवहन तथा प्रयोग नगर्न तथा आफ्ना बालबच्चालाई यस्ता प्रज्ज्वलनशील पदार्थ प्रयोग गर्न नदिन अनुरोध छ,' सूचनाको बेहोरा छ ।
महानगरीय प्रहरी आयुक्त विज्ञानराज शर्माले आतिसबाजी सामग्रीको ओसारपसार, प्रयोगमा कडाइ गरिएको जनाएका छन् । जेसुकै फेला परे पनि जफत गर्ने आदेश दिइएको छ । मानवशास्त्री सुरेश ढकालले आतिसबाजीको चलन विश्वव्यापी भइसकेको र यहाँ पनि संस्कृतिकै रूपमा स्थापित भइसकेकाले सरकारले त्यसलाई स्विकार्नुपर्ने बताए । बरु यसको प्रयोग नियमनमा ध्यान दिन सुझाए । शर्माले प्रहरी आदेश कार्यान्वयन गर्ने निकाय भएकाले आदेशको औचित्य हेर्ने काम सरकारकै भएको बताए ।



प्रकाशित : कार्तिक ७, २०७१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?