नेपाली मन, नेपालीपन

बौचा व मैचाकाे लाेकप्रियता
शिव मुखिया

काठमाडौ — बौचा व मैचा । झट्ट हेर्दा थाहा हुन्छ, टिपिकल नेवारी चरित्र हुन् यी । विभिन्न भावभङ्गीमा प्रस्तुत यी चरित्रले तन्नेरीलाई कसो नलोभ्याउँला ? असनका बुकेस महर्जनलाई सायद यस्तै लाग्यो । त्यसैले त उनले बौचा व मैचाको सजीव चित्र उतारे र फेसबुकमा अपलोड गरे ।

नेपाली मन, नेपालीपन
नेवारी रहनसहन, जात्रा, वेशभूषाको प्रतिनिधित्व गर्ने बौचा व मैचालाई 'लाइक' गर्नेको संख्या अनपेक्षित ढंगले बढ्यो । धेरैले सुझाए, 'यो क्यारेक्टरलाई टिसर्टमा उतार ।' बुकेसले त्यसै गरे । अन्ततः दौरा, सुरुवाल, पटुका, भादगाउँले ढाका टोपीमा बौचा र हाकुपटासीमा सजिएकी मैचा टिसर्टमा पदार्पण भए ।

यतिबेला अग्रभागमा 'बौचा व मैचा' अंकित टिसर्ट सगर्व लगाएर हिँड्ने तन्नेरी जमात् बढ्दो छ । 'टिपिकल नेपाली देखिने' पहिरनको खोजीमा रहेका फेसनवेल पुस्ताले यसको माग ह्वात्तै बढाएको छ । बुकेस भन्छन्, 'फेसन बजारमा यसले छुट्टै ट्रेन्ड सुरु गरेको छ ।'

बौचा व मैचा थिममा दुई दर्जन बढी डिजाइनको टिसर्ट बजारमा उपलब्ध छन् । यसले इन्द्रजात्रा, बिस्केट, होली, मच्छिन्द्रनाथजस्ता पर्वहरूको प्रतिनिधित्व गर्छन् । कटन प्रिन्टमा उतारिएको टिसर्ट सरदर ४ सय ५० रुपैयाँमा किन्न पाइन्छ ।

अहिले विन्टर कलेक्सनले फेसन बजारलाई उत्कर्षमा पुर्‍याएको छ । न्यानो, बाक्लो, पूरा शरीर ढाक्ने, डार्क कलरको पहिरन सर्वत्र छाएको छ । लङ कोट, बुट, मफलर र उलन टोपीमा 'कोरियन लुक्स' पस्कन लालयित तन्नेरीका लागि राम्रो बहाना भएको छ, विन्टर । फेसन विज्ञहरू भन्छन्, 'समय अनुकूल ड्रेसअपले फेसनेवल देखाउँछ ।' यद्यपि सदाबहार फेसनको छुट्टै पाटो छ । छुट्टै बजार छ । छुट्टै क्रेज छ । त्यसले न जाडो भन्छ, न गर्मी । जुनसुकै सिजनमा पनि एकनासको रफ्तार लिइरहन्छ । बुकेसकै भाषामा भन्ने हो भने, यस्ता पहिरनसँग तन्नेरीको 'भावनात्मक अट्याचमेन्ट' छ ।

'आई लभ नेपाल', 'बुद्ध वाज बर्न इन नेपाल' अंकित टिसर्ट रुचाउनको पछाडि पनि तन्नेरीको यही मनोविज्ञानले काम गरेको छ । एरिका जोशी भन्छिन्, 'यस्तो टिसर्ट लगाएर हिँड्दा बेग्लै फिल हुन्छ, गर्व लाग्छ ।' हात्तीवनस्थित लिटल एन्जल्स कलेजबाट विज्ञानमा प्लस टु गरिरहेकी उनी 'अकेजनल्ली टिपिकल नेपाली पहिरनमा' ठाँटिन रुचाउँछिन् ।

पृथक् देखिने सोचले पनि एक थरी तन्नेरी यस्ता पहिरनको खोजीमा दौडने गरेको पाइन्छ । 'झट्ट ध्यान खिच्छ,' विद्याइका कोइराला भन्छिन्, 'भीडमा अरूभन्दा बेग्लै देखिन्छ ।' आफूले लगाएको पहिरन दोस्रो व्यक्तिसँग ठ्याक्कै मिल्यो भने 'बोर लाग्ने' उनी बताउँछिन् । हुन पनि पहिरन छनोट गर्दा धेरैले सतर्कता अपनाउने गर्छन्, आफ्नो पहिरन अरूसँग नजुधोस् भनेर ।

भीडमा पृथक् देखिन चाहनेका निम्ति राम्रो विकल्प हुन सक्छ, फलानो लुगा । हास्यरसयुक्त स्केच उतारिएको 'फलानो लुगा' ले सहजै अरूको ध्यान तान्ने सामथ्र्य राख्छ । नेपाली समाजमा दोस्रो व्यक्तिलाई जनाउन प्रयोग गरिने शब्द हो- फलानो । त्यसैले यसमा 'नेपालीपन' को रङ पनि पोतिएको छ ।

कार्टुनिस्ट राजेश केसीले 'फलानो' ब्रान्डमा विभिन्न बान्कीका चरित्र उतारेका हुन् । रोचक कार्टुनका साथै माया-प्रेम, संस्कृति-विकृति, सम्पदा र सांकेतिक चित्रले 'फलानो लुगा' लाई पृथक् मात्र बनाएको छैन, आकर्षक पनि छ । त्यसैले त 'फलानो लुगा' ले विदेशमा समेत आफ्नो पकड जमाउँदै गएको छ ।

एकल सन्तानको अवधारणाले माइला, साइँला, काइँला, अन्तरे, जन्तरेजस्ता शब्दावलीहरू प्रयोगविहीन हुँदै गएका छन् । जन्मान्तरको आधारमा परिवारको सदस्यलाई श्रेणीबद्ध जनाउने यी शब्द फेसन बजारमा प्रवेश गरेको छ, टिसर्टमार्फत । अहिले बजारमा 'माइला-माइली' नाम अंकिट टिसर्टले व्यापकता पाएको छ । यही ब्रान्डलाई प्रवर्द्धन गरिरहेका असनस्थित टिसर्ट नेपालका इन्द्रमान महर्जन भन्छन्, 'टिपिकल भएकाले युवाहरूलाई यसले सजिलै टच गर्छ ।'

तामाङ समुदायमा प्रचलित 'च्याङ्बा-मैच्याङ' पनि टिसर्टमा उतारिएको छ । च्याङ्बा-मैच्याङ चित्र अंकित टिसर्टले विशेषतः उच्च पहाडी भेगका तन्नेरीलाई लोभ्याएको छ । यसका परिकल्पनाकार बुकेस भन्छन्, 'जोमसोम, लुक्लामा यो टिसर्टको डिमान्ड उच्च छ ।'

फेसन बजारमा जुजु प्रिन्ट्सको हिस्सा पनि कम छैन । उसले नेपाली कला संस्कृति झल्कने चित्र अंकित टिसर्ट बजारमा उतारेको छ, डेढ वर्ष अघिदेखि । प्राचीन मठ-मन्दिर, चाडपर्व झल्कने जुजु प्रिन्ट्सका पहिरनले तन्नेरीलाई सजिलै आकषिर्त गर्न सक्छ । जुजु प्रिन्ट्सले आफ्नो पहिरनलाई वेबसाइटमार्फत पनि प्रवर्द्धन गरिरहेको छ ।

नेपालीपन झल्कने 'आर्टिस्टिक डिजाइन' मा उत्पादित टिसर्ट तन्नेरीले निकै रुचाएको ब्रान्ड म्यानेजर सनिभ सुब्बा बताउँछन् । 'योङ जेनेरेसनलाई लक्षित गरेर निकालिएको हो,' उनले थपे, 'राम्रो रेस्पोन्स आएको छ ।' इनहाउस डिजाइनरले तयार गरेका ९० भन्दा बढी चित्र अंकित टिसर्ट जुजु ब्रान्डमा उपलब्ध छन् ।

टिसर्टमा नेपालीपन झल्काएर हिँड्ने तन्नेरी जमात् बढ्दो छ । यसले एकातिर मौलिक नेपाली कला, संस्कृति, सम्पदाको उजागर गरिरहेको छ भने अर्कोतिर युवाहरूको भावना मुखरित पनि गरिरहेको छ । उनीहरूका निम्ति यो एउटा अभिव्यक्तिको माध्यमसमेत भएको जुजु प्रिन्ट्सका सनिभ बताउँछन् । यस्ता पहिरनले 'तन्नेरीहरूको अव्यक्त भावना उजागर गरिरहेको' उनको भनाइ छ ।

प्रकाशित : पुस १०, २०७१ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?