कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'गृहमन्त्रीज्यू, मलाई जलाउनेहरू कहिले समातिन्छन् ?’

रिहानाले लेखिन्

बाँके — दाइजो नल्याएको रिसमा आफ्नै पतिद्वारा आगो लगाइएकी रिहाना शेष ढपालीले न्यायका लागि गृहमन्त्री वामदेव गौतम गुहारेकी छन् । पति फरिद ९ महिनायता फरार छन् ।

'गृहमन्त्रीज्यू, मलाई जलाउनेहरू कहिले समातिन्छन् ?’

'मलाई जलाएर मार्न खोज्ने कहिले पक्राउ पर्ने हुन् ? मलाई न्याय दिनुस्,' सामान्य साक्षर रिहानाले कागजको टुक्रामा लेखेर घरै पुगेका मानव अधिकारीकर्मीलाई भनिन्, 'मेरो यो आग्रह गृहमन्त्रीसमक्ष पुर्‍याइदिनुहोला ।'
मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै लक्ष्मणपुर, मियापुरवाका फरिद शेषले गत चैत ३ गते मट्टीतेल छर्केर रिहानालाई आगो लगाएका थिए । उनी त्यतिबेला ८ महिनाकी गर्भवती थिइन् ।
घटनापछि उनले मृत बच्चा जन्माएकी थिइन् । हाल उनी हिरमिनिया ८ मा बुबाआमासँग बसेकी छन् । पति फरिद र परिवार उतिखेरै भारततिर भागेका हुन्् ।
रिहानाले न्यायसँगै अध्ययनको चाहना राखेकी छन् । 'उनले -रिहाना) हामीसँग पढ्ने इच्छा राखेकी छन् । त्यसका लागि पनि सहयोग अपेक्षा उनले गरेकी छन्,' राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, नेपालगन्जका प्रमुख मुरारी खरेलले भने, 'उनको पत्र सरकारसमक्ष पुर्‍याउने प्रयास गर्छौं ।'
रिहानाका दुवै खुट्टा र शरीरका विभिन्न भाग जलेका थिए । हात र शरीरका घाउमा यतिबेला मासु पलाउँदै गएको छ । बायाँ खुट्टा कमै चल्छ । विभिन्न व्यक्ति र संस्थाले गरिरहेको सहयोगले उनको उपचार सम्भव भएको हो । अझै पनि बेलाबेला अस्पताल गइरहनुपर्छ ।
आफैंले जलाएपछि फरिदले रिहानालाई भारतको बहराइचस्थित अस्पतालमा पुर्‍याएका थिए । छोरीको अवस्था बुझ्न बाबु समिम घरमै पुगेपछि घटना सार्वजनिक भएको थियो । 'छोरीको जीवन बर्बाद गर्नेलाई कारबाही हुनैपर्छ,' आमा नसिरुल भन्छिन् । यसैबीच रिहानालाई सहयोगस्वरूप अग्नि हिंसापीडित नेपाल संस्थाले ५ वटा बाख्रा दिएको छ ।

प्रकाशित : पुस ११, २०७१ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?