१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रेमपूर्ण परिकार

ल्होछार उल्लास

काठमाडौ — मेनु थिएन । स्टलमा सजाएर राखिएका ताजा र ताता परिकार नै काफी । प्लास्टिकका कुर्सी तान्दै कोही घामतिर त कोही छायातिर बसे । यत्तिकैमा मखमली चोली, छिटको गुन्यू र रातो घलेकमा सजिएकी गुरुङ युवती देखा परिन् र सोधिन्, 'के सेवा गरूँ हजुर ?'

प्रेमपूर्ण परिकार

छोटो कपालमा लामो डोरी बाँधेकी उनी फुर्का हल्लाउँदै ग्राहकहरूलाई मौखिक रूपमा मेनु सुनाउन थालिन् । 'सुकुटीसित तोङबा खानुहुन्छ कि ?' मन्द मुस्कानसहित उनले फेरि सोधिन् । यस्तो मीठो सोधनीको हेक्का नराख्ने को नै पो हुन सक्छ र ?
दृश्य टुँडिखेलमा जारी तमु ल्होछार महोत्सवको हो । नाचगानसहितको खाना महोत्सव समेत भइरहेको यहाँ अहिले भिन्न माहोल देखिन्छ । गुरुङ समुदायको कला र संस्कृतिसँगै खाद्य संस्कारको सुगन्ध भेटिन्छ यहाँ । व्यापार त सबैले गर्छन् तर, मायाले खुवाउँदा खानाको स्वादै बेग्लै । आइतबारदेखि सुरु तीनदिने महोत्सवमा प्रेमपूर्वक परिकार चाख्न आउनेको चहलपहल बढिरहेको छ । दोस्रो दिन सोमबारचाहिँ परिकारसँगै दोहोरी गीतको रमझममा पनि दर्शक झुम्न पाए । वरिपरि एकनासले सजाइएको खानाको स्टल, बीचमा परम्परागत पहिरनमा सजिएका युवायुवतीको नाचघान अनि मञ्चमा कलाकारको दोहोरी । सोमबार मात्रै दोहारीका १५ समूह प्रतियोगितात्मक प्रस्तुतिमा उत्रे । महोत्सवको अन्तिम दिन मंगलबार यीमध्ये उत्कृष्ट समूहले पुरस्कार थाप्ने छ ।
आइतबार र सोमबार भने महोत्सवमा गुरुङ परिकार विशेष आकर्षण बन्यो । अधिकांश स्टलमा गुन्द्रुकको अचार, बटुक, आलुको अचार, बंगुरको मासु, छोइला, माछा फ्राई, सुकुटी, सेल रोटी अनिवार्य जस्तै थिए । जाडोमा प्रोटिन बढी पाइने परिकार शरीरका लागि आवश्यकता पर्ने भएकाले यी खानेकुरालाई सबैले अनिवार्य बनाएको स्टलवालाहरूको दाबी थियो । उनीहरूका अनुसार धेरैले यी मन पराउँछन् पनि । गुरुङ समुदायको परिकार चाख्नकै लागि टुँडिखेलसम्म धाउनेहरू पनि निकै भेटिए ।
पहिरनमा देखिने फ्युजन महोत्सवको अर्को रोचक दृश्य थियो । जिन्स पाइन्ट, बाक्लो ज्याकेट, नेपाली खुकुरी क्रस भएको भादगाउँले टोपी लगाएका तीन युवक गुरुङ संस्कृति झल्कने भाङ्ग्राका साथ देखिए । उनीहरूसंगै आएका दुई युवतीचाहिँ गुन्यूचोली, घलेक र पटुकीमा थिए । दुई/तीन वटा स्टल चाहर्दै उनीहरू केही खोजिरहेझैं थिए । युवतीहरू गुन्द्रुकको अचार खोज्दै थिए, युवकहरू तोङबामा बल गर्दै । पाँच वटा स्टलको छनोटपछि उनीहरूले चित्तबुझ्दो मेनु भेट्टाए । गुन्द्रुक र भटमासमा औंल्याउँदै भनिन्, 'दिदी सेल पनि है ।' युवकहरूले चाहिँ काठले बनेको परम्परागत भाँडोमा तोङबा तान्ने सुर कसे । 'पाँच वर्षदेखि यसरी नै आइरहेका छौं,' गोरखाका विकास निरौलाले भने । सहरका अन्य रेस्टुरेन्टतिर यस्ता खानेकुरा पाए पनि महोत्सवमा विशेष स्वादको लाग्ने उनी बताउँदै थिए ।
यो वर्ष 'त ल्हो' (घोडा वर्ष) बिदाइ गरेर नयाँ वर्षका रूपमा 'ल्हु ल्हो' अर्थात् भेँडा वर्षको स्वागत गरिने आयोजक समितिका अर्थ संयोजक श्रीप्रसाद गुरुङले सुनाए । प्रत्येक वर्षको पुस १५ मा गुरुङ समुदायले तोला ल्होछार पर्छ । यसपछि एक एक महिनाको अन्तरमा क्रमशः तामाङ समुदायको सोनाम ल्होछार र शेर्पा समुदायको ग्याल्बो ल्होछार आउँछ । महोत्सवमा मंगलबार प्रधानमन्त्री सुशील कोइरालासमेत आउने योजना रहेको गुरुङले बताए ।

प्रकाशित : पुस १५, २०७१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?