आमाका अवतार

नजन्माएका सन्तानका लागि आफ्नो सम्पूर्ण जीवन अनाथालयमा

काठमाडौं — कोही शिशु कोठाभित्र आफ्नै तालमा भुइँमा थिरिँदै/घिस्रँदै खेलिरहेका थिए । कोही अलिक पर काठको डाँडीमा खोल नभएका डसनामाथि सुतिरहेका थिए, मस्तले ।

कोहीचाहिँ यताउता घुमिरहेका सहयोगीका काखमा मुस्कुराइरेका देखिन्थे । यहाँ डेढ दर्जन दूधे बालबालिका थिए । हुर्केकाहरू भने पढ्न विद्यालय गएका रहेछन् ।
'भूकम्पले उता हामी बस्दै आएको भवन भत्काएपछि सबै यता आयौँ, यस्ता काखे केटाकेटी छन्,' चाक्लो र उज्यालो चेहरा भएकी, निधारमा टलक्कै देखिने टीका लगाएकी एउटी महिलाले अघिल्लो साताको एक अपराह्न हामीलाई सुनाइन्, 'यो त अर्कै अफिस हो, हाम्रा बच्चा अहिले यहीँ छन्, घर बनेपछि सार्ने कुरा छ ।' काठमाडौँ, नक्सालदेखि मालीगाउँ जाने बाटोमा रहेको शिक्षाका लागि खाद्य कार्यक्रमको परियोजना भवन परिसर पुग्दा लालाबालाबारे चिन्ता दर्शाउने ती महिला, बाल मन्दिरकी आमा सानुमाइली तामाङ, ५२, रहिछिन् ।
गफिँदै जाँदा पो थाहा भयो, सानुमाइलीले नेपाल बाल संगठनको छत्रछायाँमा रहने अनाथ बालबालिका स्याहार्न थालेको ३५ वर्ष भइसकेछ । तत्कालीन रानी रत्नको अवधारणा र संरक्षकत्वमा ०२१ सालमा स्थापना भएको नेपाल बाल संगठन पञ्चायतभर एउटा चर्चित र शक्तिशाली संस्था थियो । दरबारको चकचकीकै बेला, साढे तीन दशकपहिला सानुमाइली सिन्धुपाल्चोक, सीपापोखरेबाट यहाँ आएकी थिइन्, १६ वर्षको उमेरमा ।
चञ्चल र चपल वयमा स–साना बालबालिका रेखदेख गर्न बाल मन्दिर छिरेकी उनले यतिका वर्षसम्म यहाँ विभिन्न पृष्ठभूमिबाट आएका बालबालिकालाई स्नेह बाँडिन् । उनीहरूको दिसापिसाव सोहोरिन्, खाना खुवाइन्, कपडा लगाइदिन् र नुहाइधुवाइ गरिदिइन् । त्यति मात्र होइन, कहिलेकाहीँ बालबालिका निरन्तर रोइरहँदा फुल्याउन नसकेर उनी आफँै रोइन् र उनीहरू मुस्कुराउँदा सधैँ मुस्कुराइरहिन् । अथवा भनौँ, बालबालिकाकै लागि आमाका रूपमा दिनरात खटिन् । 'अहिले त आफ्नो वरपर बालबच्चा देखिएन भने त जीवन नै एक्लो लाग्छ,' लजालु तर हँसमुद्राकी सानुमाइलीले काखमा डेढ वर्षकी बालिका लिँदै भनिन्, 'यिनीहरूको असाध्यै माया लाग्छ । बाल मन्दिर छाडेर जान मन लाग्दैन ।'
हुन पनि कतिसम्म भएछ भने ०३८ सालमा बाल मन्दिर छिरेकी सानुमाइली ०६८ सालमै सेवानिवृत्त भएकी रहिछन् । बाल संगठन प्रशासनले उनका लागि सेवानिवृत्तको कागजात ठिक्क पारेछ । तर, जुन दिन उनी स्थायी जागिरबाट घर फर्कने दिन थियो, त्यो दिन उनका खुट्टा लोलाए । कतै डेग चल्न मानेनन् । मन उडेर विरक्तियो । कहीँ कतै जान मन लागेन । घरतिर पनि जानु नै त्यस्तो के थियो र ? घरजम भएको भए, आफ्नै सन्तान भएका भए अलग अवस्था बन्थ्यो होला । तर, त्यस्तो पनि थिएन । त्यसैले त्यो दिन प्रशासन प्रमुखको अघिल्तिर टेबलमा रहेको कागजात हेरेर उनी धेरै बेरसम्म चुपचाप बसिरहिन् । र, अन्त्यमा भनिन् ‘म त काम छाड्दिनँ ।’ यत्तिका वर्षसम्म जीवनका अरू सबै स्वप्निल, जैविक र सम्बन्धका बाटाहरू थुनेर अनाथकै सेवामा खटेपछि उनको दिल त पूरै यही बाल मन्दिरमा खाबोझैँ गाडिएछ । त्यसैले उनले फेरि करारमा नियुक्ति लिइन् र कामलाई निरन्तरता दिइन् । 'के गर्नु त हो यो उमेरमा अब ?' सानुमाइली यत्ति मात्र बोलिन् र बोल्दा लागेको चौगुना समय आकाशतिर आँखा नचाउँदै टोलाइरहिन् ।
सिंगो जीवन बाल मन्दिरलाई
सानुमाइलीसँग भलाकुसारी भइरहँदा उनीनजिकै थिइन्, धादिङ छत्रेदेउरालीबाट काठमाडौँ आएर बाल मन्दिर छिरेकी आमाकी अवतार ठूली तामाङ, ५० । उनलाई बाल मन्दिरका बालबालिकाले मात्र होइन, सबै सहकर्मीले ठूल्दिदी भन्दा रहेछन् । 'मेरो पनि कुरा त्यस्तै त हो,' भन्दाभन्दै उनले सुनाइन्, 'हामीले स्याहारेका बच्चा त अहिले ठूला भए, आफ्नो खुट्टामा उभिए, सम्झँदा रमाइलो लाग्छ ।'
ठूलीले आफ्नो हातले सेवा दिन थालेको २८ वर्ष भइसकेछ । बाल मन्दिरले अविवाहित र आफ्ना सन्तान नहुनेलाई ‘आमा’को कामका लागि प्राथमिकतामा राख्छ । तर, ठूली तामाङका भने गाउँमा श्रीमान् रहेछन्, उतै बसेर खेतीकिसान गर्ने । बिहे भएको पनि तीन दशकभन्दा बढी भइसकेछ । 'श्रीमान्को आफ्नै संसार छ उता,' गाउँमा भएको घरजमबारे उनी धेरै खुल्न चाहिनन्, 'तर, मेरा पनि आफ्ना सन्तान छैनन्, जे हुन् यिनै हुन् । यही बाल मन्दिरकै हुन् ।' उनलाई उतै गाउँका एक जना बाजे पर्नेले बाल मन्दिरमा काम मिलाइदिँदा यहाँ झन्डै दुई सय बालबालिका थिए । बालबालिकालाई एक, दुई, तीन गर्दै नम्बर नामकरण गरिएका ब्लकमा राखेर हेरचाह गर्नुपथ्र्याे । ती सबै ब्लकमा कोही न कोही आमा हुन्थे ।
त्यतिबेला १५ जना आमाले सेवाशुश्रूषा गर्थे, यहाँका बाललालिकालाई । कोही खुरुरु दौडेर स्कुल जान सक्ने, कोही तोते बोल्ने र कोही कोही भर्खर जन्मेका । उनलाई यहाँ आएपछि मात्र थाहा भयो, यहाँ त भवितव्य या दुर्घटनामा बाबुआमा बितेका असहाय बालबालिका ल्याइने रहेछन् । अस्पतालमा सुत्केरी भएर आमा भागेपछि अलपत्र परेका शिशु पनि ल्याइने रहेछन् । आमाले छाडेर हिँडेका अति गरिब परिवारका टुहुराटुहुरी त झन् आउने भइहाले । 'यस्तो थाहा पाएपछि बच्चाहरूप्रति अझै बढी माया लाग्न थाल्यो । जन्मेपछि बाँच्ने अधिकार सबैमा हुन्छ,' हत्केलाले निधार पुछ्दै ठूली तामाङले सुनाइन्, 'हाम्रो हातमा बच्चा पर्नेबित्तिकै, यो त मेरै हो भन्ने लाग्ने रहेछ ।'
आमाको सेवाले सम्बन्ध नजोड्ने कुरै भएन, आत्मीय सम्बन्ध । स्वाभाविक रूपमा आफ्नो कर्तव्यमा लाग्दा खोकिलामा झुन्डिने यस्ता बालबालिका कहिलेसम्म आफूसँग रहने भन्ने कुराको निक्र्याेल भने स्वयं आमाको काबुमा हुँदैन । बच्चा केही महिना, केही वर्ष या दशकसम्म पनि आफूसँग रहन सक्छ । बाल मन्दिरले यस्ता बालबालिकालाई धर्म–सन्तानका रूपमा अरूलाई सुम्पन पनि सक्छ । जुन दिन आफूले हुर्काएको बच्चा अरूको काखमा पुग्छ, त्यो दिन भने आमाहरूलाई साह्रै नरमाइलो लाग्छ ।
'सँगै सुतायो, निदायो कि निदाएन भनेर हेर्‍यो, खायो कि खाएन, हाँस्यो कि हाँसेन भनेर विचार गर्‍यो तर कुनै दिन त गइहाल्छ' ओखलढुंगा, निसुंकेबाट काठमाडौँ छिरेर २४ वर्षदेखि निरन्तर बाल मन्दिरका बालबालिकासँग रहेकी दुर्गा तामाङ, ५१, को मुहार अँध्यारो भयो, 'आफूले सम्हालेको बच्चा जाँदा धेरै दिनसम्म उसैको अनुहार आँखावरिपरि घुम्छ ।' आमाहरूलाई यो पनि थाहा छ कि बालबालिका सधैँ यहाँ राखेर सम्भव पनि छैन । ऊजस्तै यहाँ अरू पनि आउँछन् । राख्ने ठाउँ चाहियो, उसको लालनपालन र अध्ययनका लागि लगानी चाहियो । त्यसैले बाल मन्दिरले उनीहरूको सुरक्षित बहिर्गमनको उपाय तय गरेको हो । 'यही भनेर चित्त बुझाइन्छ हजुर,' दुर्गाले फिस्स हाँस्दै आफूले लगाएको चस्मा मिलाइन्, 'यहाँबाट हुर्केकाले राम्रो गरेको सुन्दा, ठूला मान्छे भएको सुन्दा कताकता मन भरिएर आउँछ । जिन्दगी भनेकै सेवा रहेछ ।'
हुन पनि बाल मन्दिरले अहिलेसम्म हजारौँ बालबालिकालाई आश्रय दिइसकेको छ । अनौपचािरक तथ्यांक अनुसार यहीँ शरण लिएका १५ हजार बालबालिका विदेशमा मात्र धर्म–सन्तानका रूपमा छन् । यहाँका आमाहरूले सुमसुम्याएका यस्ता बालबालिका देशविदेशका विभिन्न क्षेत्रमा आ–आफ्नो संषर्ष गरिरहेका छन् । सफल व्यवसायी, राष्ट्रिय खेलाडी र उपल्लो तहका सरकारी कर्मचारी र विद्यालयका शिक्षकदेखि विदेशमा गएर ख्याति कमाएका नामीगिनामी हस्ती कुनै बेला यही बाल मन्दिर परिसरमा छुनुमुनु गर्थे । यिनै आमासँग लुकामारी खेल्थे । यिनीहरूसँगै झगडा गर्थे या खुसी हुन्थे ।
'बाल मन्दिरका आमाहरू सम्झँदा बोल्ने केही शब्द नै छैन,' बाल मन्दिरमै धेरै वर्ष बसेकी र अहिले कोरियोग्राफर बनेर आफ्नो जीवन निर्वाह गरिरहकी अञ्जु श्रेष्ठ, २९, भन्छिन् 'हामी बेलाबेला आमाहरू भेट्न बाल मन्दिर पुग्छौँ । दु:खसुखका कुराकानी गछौँ । आमा भनेका आमै हुन् ।' अञ्जुले भनेजस्तै आश्रित बालबालिकालाई दु:ख पर्दा सबैभन्दा बढी पीडाले त आमाहरूलाई पोल्दो रहेछ । जस्तो : व्यवस्थापकीय कमजोरी र बजेट अभावका कारण परारको वर्ष बाल मन्दिरमा बालबालिकाले खाने लिटो र दूध पनि भएन । आमाहरू छटपटिए, हारगुहार गरे र मिडियामा खबर चुहाए । पछि बल्ल समस्या समाधान भो । लिटो र दूध मिलेपछि बालबालिकासँगै आमाहरू पनि खुसी भए ।
एसओसएसका आमा
विशिष्ट र कठिन परिस्थितिका शिशुहरूको उद्धार गरी सेवादान गर्ने संस्था बाल मन्दिर मात्र होइन, अरू पनि छन् । भलै, उनीहरूका सेवा र सुविधाका पृष्ठभूमि र प्रकृति भने फरक होलान् । अघिल्लो साताको अर्को दिन हामी भक्तपुर सानोठिमीमा विशाल क्षेत्रफलमा फैलिएको एसओएस बालग्राम पुग्यौँ । त्यहाँ छिर्नेबित्तिकै देखियो, विद्यालय भवन, विद्यालय वरपर कार्यालय र निवासका लागि चाइनिज इँटा र टायलले बनेका व्यवस्थित शैलीका मझौला घरहरू तथा चौरमा उभिएका रूख–बुट्यानहरू । एउटा भवनदेखि अर्को भवनसम्म पुग्न बनाइएको सफा र सिनित्त परेको बाटो नाप्दै परिसरको उपल्लो भागमा पुग्दा वर्षौंसम्म बालबालिकाको सेवा गरेर निवृत्त भएका आमाहरू भेटिए ।
'बुढेसकाल लाग्यो, काम गर्न सकिँदैन, कुरा गर्‍यो, बस्यो,' ‘रिटायर्ड’ आमाहरूका लागि बनाइएका तीनवटा लहरै घरमध्ये दक्षिणतिरको पिँढीमा भेटिएकी सूर्या केसी, ७७, ले हाँस्दै भनिन् 'आमा बन्नु भनेको बच्चाहरूलाई सिकाउनु मात्र होइन, उनीहरूबाट सिक्नु पनि रहेछ । यही कुरा सिक्दासिक्दै आफँै अहिले बच्चाजस्तो भइयो ।'
ओरालो झरेको घामजस्तै बनेकी सूर्या केसी ४० वर्ष पहिला बालग्रामको पहिलो छिमलकी आमा हुन् । जन्मे–हुर्केको काठमाडौँ विशालनगरमा हो । बिहे पनि भयो तर पतिको देहान्त भयो । पतिको मृत्युपछि उनलाई परिवारमा सहज भएन । दु:ख र पीडाको चेपबाट हिँड्दाहिँड्दै सूर्याले बालग्राममा काम पाइन् । 'हामी धेरैको पारिवारिक पृष्ठभूमि त्यस्तै छ,' उनीसँगै कुराकानी गर्दा त्यहाँ आइपुगेका उनकै समकालीन शारदा गुरुङ, ७०, र विमला आचार्य, ७९, लाई देखाउँदै सूर्याले भनिन् 'बालग्राम सुरु हुने बेलाको भएकाले पनि हामीलाई बढी जिम्मेवारी थियो ।'
हुन पनि ०२८ सालमा यहाँ भवनहरू बन्दै गर्दा उनीहरूको छिमल तालिममा व्यस्त थियो । उनीहरू कहिले बाल मन्दिरमा होम साइन्स पढ्न पुग्थे भने कहिले रेडक्रसमा प्राथमिक उपचार । थापाथलीको प्रसूति गृहमा पनि उनीहरूका लागि बालबालिका सुसार गर्ने वैज्ञानिक तरिका सिकाइएको थियो । विदेशी समाजसेवीको अवधारणा र पैसा भएकाले पनि होला, एसओएस बालग्राम पहिल्यैदेखि अलिक व्यवस्थित रहेछ । बालबालिकाको खानपान, स्वास्थ्य र व्यवहार ख्याल गर्नका लागि आमाहरू पनि दक्ष हुनुपर्छ भन्ने मान्यता उनीहरूमा देखियो । त्यतिबेला नै हरेक आमाका भागका नौदेखि १२ जना बालबालिका पर्थे । विभिन्न उमेर समूहका बालबालिकालाई व्यवस्थापन गर्नु, रेखदेख गर्नु र अध्ययन, अध्यापन गराउनु उनीहरूको दायित्व थियो ।
त्यसो त अहिले पनि बालग्राममा यही तरिका रहेछ । 'बच्चाहरूलाई सबैभन्दा ठूलो खुराक माया हो,' बालग्रामको एउटा सानो घर सम्हाल्दा सम्हाल्दै अप्रत्याशित रूपमा बिरामी परेकी शारदा गुरुङले शरीर तन्काइन्, 'हामीले कहिल्यै उनीहरूलाई मायाको कमी हुन दिएनौँ ।' शारदा बिरामी पर्दा उनैले बालग्राममा हुर्काएका सन्तानले अस्पताल लगेछन् र सन्चो नहुन्जेल कुरुवा बसेछन् । 'पहिला पहिला उनीहरू बिरामी हुँदा अस्पतालमा मलाई देखेनन् भने रोएको रोयै गर्थे,' उनले पुराना र नयाँ दिन जोडिन् 'अहिले म बिरामी हुँदा उनीहरूले सेवा गरे ।'
सुख–दु:खको सम्बन्ध
थेरैलाई लाग्दो हो, बालघरहरूमा हुर्केका सन्तान र आमाको सम्बन्ध अलिक कृत्रिम हुन्छ कि भन्ने । तर, आमाहरू भने यस्तो कुरा स्वीकार्न तयार छैनन् । सूर्यासँग अनुभव रहेछ, उनले हुर्काएका सन्तानले उनलाई अमेरिका लगे र घुमाए । उनै सन्तानले बेलाबेला फोन गर्छन्, सन्चोबिसन्चो सोध्छन् र आवश्यकता परेको सहयोग गर्छन् । दु:ख त के रहेछ भने, उनीहरूले जति सन्तान हुर्काए, ती उनीहरूसँग छैनन् । कोही विदेशमा छन् भने कोही बालग्रामबाहिर घरजम गरेर टाढिएका छन् ।
'चाडबाडमा भेटघाट हुन्छ, रमाइलो हुन्छ, त्यो अलग कुरा हो,' विमलाले मलिन चेहरा बनाइन्, 'उनीहरूलाई संस्कार पनि दिनुपर्छ भनेर जे सिकाएका थियौँ, उनीहरूले अहिले पनि त्यही गरिरहेका छन् । तर, आफ्नै भविष्य सम्झँदा भने कता रुन मन लाग्छ ।' आमाहरूका कुरा सुन्दा लाग्छ, उनीहरूको माइतीसँगको सम्बन्ध केवल औपचारिकतामा मात्र सीमित छ । धेरैका घरमा बाआमा छैनन्, छन् भने भाइबुहारी र भतिजा–भतिजी छन्, जसको आफ्नै दुनियाँ छ । बालग्राम छाडेर बुढेसकालमा पुख्र्यौली परिवारमा जाँदा घाँडो र अपमानित हुने सम्भावनालाई मध्यनजर गर्दै बालग्रामले उनीहरूलाई यहीँ बस्ने व्यवस्था मिलाएको रहेछ । 'मर्दा–पर्दा त भाइबुहारी र आफन्तको घरमा गइन्छ तर बस्ने गरी त कसरी कसरी जानु खै ?' शारदाले पिलपिल गरिन्, 'मरे पनि बाँचे पनि यहीँ हो ।'
अनुभव र अनुभूतिसँग जोडिएर महसुस हुने व्यक्तिगत दु:ख, सुख र सन्त्रास आफ्ना ठाउँमा छन् तर आमा भनेको केवल सम्बन्धको नाम होइन, असीम ममताको संवाहक हो । कर्तव्य, सभ्यता, संस्कार र सबै प्रकारका मूल्य सिक्ने–सिकाउने प्रक्रियाको नाम पनि आमा हो । त्यसैले होला, मातृ वात्सल्यका बारे संसार चकित छ । साहित्य, कला, दर्शनदेखि व्यक्तिगत स्वभाव र आचरणका कडीमा समेत आमाको प्रभावबारे सोधखोज हुन्छ । स्वाभाविक र स्वतन्त्र रूपमा सोच्दा आमा महिमा अपरम्पार लाग्छ तर विशेष र फरक परिस्थितिमा पसिना बगाइरहेका अनाथालयका आमाहरूको भूमिका र योगदान अरूमा भन्दा अतुलनीय सेवामा जोख्नु न्यायपूर्ण हुन्छ । आमा अवतारका यी प्रतिनिधि उनीहरूका सन्तानका लागि वरदान र समाजका लागि प्रेरणा हुन् ।

सानुमाइली तामाङ, ५२
३५ वर्षअघिदेखि बाल मन्दिरमा बालबालिकासँग रमाइरहेकी सानुमाइलीलाई सेवा छोडेर घर फर्कन मन छैन ।
ठूली तामाङ, ५०
धादिङ छत्रे देउरालीबाट २८ वर्षअघि बाल मन्दिर आएकी ठूलीदिदीलाई आफ्नो परिवारको भन्दा यहाँका बालबालिकाको माया लाग्ने रहेछ ।
दुर्गा तामाङ, ५१
बालबालिकासँगै उनीहरूको हेरचाह गर्ने आमाहरूको बाँकी जीवनबारे बाल मन्दिरले सोचिदिए राम्रो हुने ठान्छिन् तामाङ ।
सूर्या केसी, ७७
काठमाडौँको विशालनगरमा जन्मे हुर्केकी केसी अहिले भक्तपुर सानोठिमीको एसओएस बालग्राम परिसरमा निवृत्त जीवन बिताइरहेकी छन् ।
शारदा गुरुङ, ७०
सिन्धुपाल्चोक बुंगाथली पुख्र्यौली घर भएकी र एसओए बालग्राममा ३० वर्ष सेवा गरेकी गुरुङ बालबालिकाका लागि सबैभन्दा महत्त्वपूर्ण खुराक माया भएको ठान्छिन् ।
विमला आचार्य, ७९
३० वर्षभन्दा बढी अनाथ बालबालिकासँग बिताएकी काठमाडौँकी आचार्यलाई बाँकी जीवन पनि हाँसीखुसी बिताउन पाइयोस् भन्ने लाग्छ ।
 

प्रकाशित : श्रावण २६, २०७२ १४:३५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मालीमा भएको आतंकवादी आक्रमणमा नेपाली पाइलट मारिए

नयाँ दिल्ली — पश्चिम अफ्रिकी मुलुक मालीको सेभारे सहरमा रहेको राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत पाइलट राजु भण्डारी बन्दुकधारीको आक्रमणमा मारिएका छन् ।


गत शुक्रबार बिहान मालीको राजधानी बामाकोबाट ६ सय २० किलोमिटर दूरीमा रहेको सहर सेभारेस्थित बाइब्लोज होटलमा बसिरहेका बेला पाइलट भण्डारीसहितको शान्ति मिसन टोलीमाथि आक्रमण सुरु भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । रोयर्टसका अनुसार पछिल्ला बर्षमा इस्लामिक अतिवादी समूहको बर्चस्व बढ्दै गएको सेभारेस्थित होटलमा भएको बन्दुकधारीको हमलाबाट दुईजना युक्रेनियन, एकजना नेपाली, एकजना दक्षिण अफ्रिकी र एक मालियन चालकको निधन भएको थियो ।
होटलमा रहेका राष्ट्रसंघीय कर्मचारीलाई सुरुमा बन्धक बनाइएको र लगातार २४ घण्टाको भिडन्तमा शनिबार बिहान मृतकबारे जानकारी आएको एजेन्सीमा उल्लेख छ । एएफपीका अनुसार मालीमा हालै जन्मिएको मकिना लिबरेसन फ्रन्ट नामको इस्लामिक अतिवादी समूहको यो हमलामा भूमिका रहेको प्रमाणित भएको छ ।
गैर आवासीय नेपाली संघ, अफ्रिकी क्षेत्रका संयोजक हिक्मत थापाले मृतक भण्डारीका अमेरिकामा रहेका आफन्तसँग कुराकानी गरेर यो घटनाबारे आफूले पुष्टी पाएको जानकारी दिए । ‘मृतकका अमेरिकाबासी आफन्त श्रीराम सुवेदीले दिएको जानकारीमा माली मिसनमा आउनुअघि भण्डारी श्री एयरलाइन्स अन्तर्गत लाइबेरियामा कार्यरत थिए,’ थापाले फोनमा भने । रसियामा पाइलट–कोर्स गरेका भण्डारीका बारे थप जानकारी लिन मालिस्थित राष्ट्रसंघीय मिसन ‘मिनुस्मा’ सँग पत्राचार भइरहेको थापाले बताए ।
 

प्रकाशित : श्रावण २६, २०७२ १४:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT