कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा पाथिभरा मात्रै छ ?

ताप्लेजुङको विशेषता के हुन् भनेर सोध्दा तोङ्वा र सुकुटी भनेर त आयोजकले पनि ख्याल गर्दै उडाउँछन् । तोङवा र सुकुटी बेचेरै संस्कृति जोगिएला त ?

ताप्लेजुङमा जन्मे–हुर्केर काठमाडौंमा गीत गाउन आएँ । तर, गायिका भएर संगीत खोज्नचाहिँ फेरि ताप्लेजुङ नै फर्किनुपरेको छ । फर्किने क्रममा जे देखे जे भोगे, यो भोगाइ अरूको भन्दा भिन्न हुन सक्छ ।

ताप्लेजुङमा पाथिभरा मात्रै छ ?

संगीत भनेको संस्कृति हो, यो संस्कृतिभित्र धेरै कुरा जोडिएका छन् । जस्तो— भाषा, खानपान, पहिरन, नाचगान आदि । भाषा एक समुदायदेखि अर्को समुदायसम्म आफ्नो कुरा पुर्‍याउने माध्यम बनेको छ भने पहिरन मौसमअनुसारको कुरो मात्रै होइन, सांस्कृतिक सेतु पनि हो । खानपान पनि समय र समुदाय अनि ठाउँअनुसार खाँदै जाँदा थपिंदै जाने कुरा हो ।

अहिले यसमा पनि ‘यो मेरो समुदायको, त्यो उसको समुदायको खाना’ भनेर छुटयाउन थालिएको छ । अब चाडबाड र नाचगानहरू प्राय: सँगै जोडिएर आउन थालेको पाइएको छ । मठ–मन्दिर, पूजाआजा, चाडबाड र नाचगान यसरी एकै ठाउँमा आएका छन् । मानिसमा बढ्दै गएको चेतनाले चाडबाड जन्मायो, भगवान्–देवता जन्मायो, धर्म जन्मायो ।

मठ मन्दिर बने, भजन गाउन थालियो, नाचगानबाट एकअर्काको खुसी साटासाट गर्न थालियो । यी सबै चेतनाले हुर्काए–बढाएका बिषय हुन् । तर, आवाज भने यो चेतनाको खोजीभन्दा अघि जन्मिएको हो । संगीत पनि त्यस्तै स्वतस्फूर्त आविष्कार हो । आफ्नो जन्मथलो ताप्लेजुङसँग जोडिएर यो आवाज र संगीत जन्मको कुरा म यहाँ उल्लेख गर्दै छु ।

यसर्थ जुन समुदाय अथवा भेग/क्षेत्र हो, त्यसलाई चिनिने पहिलो र प्राथमिक आधार आवाज हो । हामी आजसम्मै त्यही कुरालाई बेवास्ता गरेर बसेका छौं । आ–आफ्नो समुदाय र क्षेत्रबाट आफ्नो मौलिक आवाज (संगीत) का बारे के सोधीखोजी हुन सकेको छ ? कि यो मनोविनोद र रमाइलोको विषय मात्रै हो । यहाँका कलेज/विश्वविद्यालयमा पढाइ हुने संगीतको शिक्षाबाट नेपाली (मौलिक) संगीतको कुन पाटोलाई फाइदा भएको छ ? सांस्कृतिक संस्थान, संगीत–नाटय प्रज्ञा प्रतिष्ठान, जनजाति प्रतिष्ठान आदि निकायबाट यसतर्फ के–कति काम भए ?

‘ताप्लेजुङमा पाथिभरा मात्र छ,’ जस्तो गरेर मिडियादेखि पर्यटन व्यवसायी सबै प्रचारमा लागेका देखिन्छन् । तर, ताप्लेजुङको अस्तित्व र चिनारी त्यत्ति मात्रै होइन । मुन्धुममा बिजुवा उठाउँदा सुरुमा नै ‘सेमुत्ती मुत्ती फोमा/कोक्मा’ भनेर पुकारिन्छ । त्यही ठाउँलाई युमाले तान बुनेको ‘मुक्कुमलुङमाको शिर’ भनेर पनि सम्बोधन गरिन्छ भने अहिलेचाहिं यहाँनेर बाहिरपट्टि एउटा आधुनिक खालको निकै आकर्षक मूर्ति राखिएको छ र, नामकरण गरिएको छ— पाथिभरा । त्यो शक्तिपीठको पछाडिपट्टि छ— मुक्कुमलुङमाको शिर । त्यहाँ पूजापाठ पनि हुँदैन र, त्यसको आफ्नो (मौलिक) नाम स्थानीयबासीसमेतलाई थाहा छैन । बरु, त्यसको महत्त्वबारे पनि अरू बनिबनाउ कथाहरू जोड्दै सुनाउने गरिएको रहेछ ।

ताप्लेजुङकै नाङ्खोल्याङमा अर्को एक ऐतिहासिक थलो छ— केसाप्लुङ । यसको पनि धार्मिक–ऐतिहासिक महत्त्व छ । सबै हिमाली र पहाडी क्षेत्रको खोलानाला मिसिंदै गंगामा पुगेपछि त्यही गंगाजल बन्छ, हिन्दु धर्मको अत्यन्तै पवित्र तत्त्व । गंगासम्म पुग्दा राम्रा–नराम्रा सबै कुरा बहँदै गएको हुन्छ, तैपनि त्यो पवित्र मानिन्छ । त्यसको मूल हो— तमोरखोला । ‘इम्बिरी याङ्थाङवा’ बाट ‘तावामा’ (पानी उम्रने) भयो । तावामाबाट ताम्वर हुँदै अहिले तमोर खोला भयो । वरिपरि हिमशृंखलाहरूको मनमोहक दृश्यसंँगै बीचमा मानव, चराचुरुंगी, गाईको उत्पत्ति र गायनको सुरुआत गरेको किंवदन्तीको ठाउँ हो यो, बाजागाजाको उत्पत्तिस्थल पनि यही हो ।

ताप्लेजुङमै मानव सृष्टि भएको भनेर मानिएको ठाउँ ‘काई लुङथुङ’ नामले चिनिन्छ । यो लेलेप गाविसमा छ । स्थानीयले यो ढुंगालाई ‘हल्लिने ढुंगा’ भन्ने गरेका छन् । यो ढुंगालाई एक जनाले एक्लै पनि हल्लाउन सकिने भएकाले यसलाई हल्लिने ढुंगा भनिएको रहेछ । यो सँगैको अर्को ढुंगामा मुन्धुमअनुसार तेत्लारा लाहादङनाले सृष्टिक्रममा टेकेको भनिएको देब्रे खुट्टाको पाइला पनि छ । यसलाई चैं स्थानीयले ‘लिम्बुनी पाइला’ भन्ने रहेछन् ।

त्यस्तै ‘तागेरा फुक्को’ भित्र यस्ता धेरै आकृति छन् जो संसारका विश्वविख्यात कलाकारले बनाएको पेन्टिङ अथवा कँुदेको कलाभन्दा विछट्टै मौलिक र आकर्षक छ । यो हरेक चित्रहरूको आफ्नै विशेषता छ । नेपाल तथा भारतभरि जति पनि मानिएका र विश्वास गरिएका शक्तिपीठहरू छन्— त्योभन्दा धेरै अभूतपूर्व त्यस्ता ठाउँहरू तमोरखोला आसपास एकै ठाउँमा पाइन्छ ।

जीवनदेखि मृत्युसम्मका मानव सभ्यताको मूलभूत कुरा मुन्धुममा पाइन्छन् भने त्यसको प्रमाणस्वरूप त्यहाँको ढुंगा, माटो, चट्टान, रूखपात अझै उभिएका छन् । हाम्रै ठाउँमा भएका त्यस्ता ऐतिहासिक, धार्मिक स्थलहरूको प्रचार–प्रसार नभएको हो कि ? अथवा, स्थानीय तवरबाट केही सरोकार नजुटेर हो कि ? यही कारण केन्द्रमुखी पद्धतिको राज्यले थाहा पाउन नसकेको हो कि ?

यस्ता पवित्र स्थलहरूलाई संरक्षण र प्रचारप्रसार गरेर राष्ट्रिय सम्पदा सूचीमा राख्न पाए संसारभरिका संस्कृतिका शोधकर्तादेखि, तिर्थालुसम्म भित्र्याउन सकिन्छ । धेरै हिँड्न नपर्ने गाडीको बाटोबाट ओर्लिएपछि यी सबै ऐतिहासिक ठाउँहरूको दर्शन गर्न छोटो समयमा सकिने गरी बाटोको रुट मिलाउन र यसको सही प्रचार गर्न सके सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखिन्छ ।

विदेशी पर्यटक नेपाल घुम्न आउँदा गोरो छाला देख्नेबित्तिकै स्वर्गबाट भगवान्को अर्को रूप अवतरण गरेझैं सम्झिएर एकोहोरिएर सर्वस्व छाड्ने मनस्थितिमाझ आफ्नो मौलिकता कहाँ छ ? केही विदेशी नेपाल आएर ‘यहाँको स्थानीय भाका सुनाउ त’ भन्दा सगर्व आफ्नो धुन, रागरागिनी सुनाउँदै दंग परेर आतिथ्य गर्ने हामीहरू नै हौं । त्यसबापत हातमा ५ सय, १ हजार रुपैयाँ पर्‍यो भने हामी दंगै हुन्छौं । हाम्रो धुन (टयुन) लगेर त्यसलाई साउन्ड–कन्भर्ट गर्दै कुनै पराइले आफ्नो बनाइरहेको हुन्छ । कहाँ छ, हाम्रो कपी राइट ? कहाँ छ पेटेन्ट राइट ?

अनौठो यो छ कि हामी अर्काको देशमा गएर मरीमरी काम गर्छौं । अनि, हामीचैं विदेशी अनुसन्धाता र खोजकर्ताले हामीकहाँ आएर केही गरिदिउन् भनेर आस गर्छौं । प्रचार–प्रसारका लागि र देखाउनैका लागि केही डकुमेन्ट्री बनाइन्छ । महोत्सव हुन्छ । भाषण–गोष्ठी पनि चल्छ । तर, त्यो सबै सदरमुकाम केन्द्रित हुन्छ । 

यो वर्ष सुकेटार विमानस्थलतिर यस्तै सांस्कृतिक झाँकी देखाउने र काठमाडौंका केही ट्रयाक–कलाकार लगेर गीत सुनाउने काम धुमधामसँग भयो । ताप्लेजुङका विशेषता के हुन् भनेर सोध्दा तोङ्वा र सुकुटी भनेर त आयोजकले पनि ख्याल गर्दै उडाउँछन् । तोङवा र सुकुटी बेचेरै संस्कृति जोगिएला त ? सदरमुकाममै महोत्सव गरे पनि भित्री लुकेका र ऐतिहासिक थातथलोको तस्बिरसम्म मात्रै देखाउन सके पनि ठूलै काम गरेको ठहर्ने थियो ।

जिल्लामा राजनीतिक पार्टीका कार्यकर्ताहरू एकअर्काको मुख ताक्नैमा व्यस्त हुने रहेछन् । संरक्षक समितिमा पनि राजनीतिक भागबन्डा खोज्ने रहेछन् । आफ्नो ठाउँको प्रचार, संरक्षण र संवद्र्धन कञ्चनजंघा संरक्षण (केक्याप) अन्तर्गत गर्दा पनि हुने थियो । यो केक्याप पनि कञ्चनजंघा/कुम्भकर्ण हिमाल वा केही जीवजन्तु र फूल–वनस्पतिकै सेरोफेरोमै हराइरहेको पाउन सकिन्छ । जुन ठाउँको ‘मुन्धुम’ गौरवलाई कसैले याद नगरी बाहिरी आवरणलाई मात्र प्रचार गरिएको छ, यसबारेमा के भन्न सकिन्छ र ?

ताप्लेजुङको पानीका मूलहरू, तालतलैया र ढुंगा–ओडारको कथा मुन्धुमले मात्रै भन्छ । तर, पर्यटन भनेको हिमाल मात्रै हो कि झैं पर्यटन बोर्ड बसेको भान स्पष्ट हुन्छ— ताप्लेजुङ पुग्दा । अहिले त सडकको बाटो छिरुवानीसम्म जान्छ, ओलाङचुङगोलासम्म जोडिने काम धमाधम हुँदै छ । सडक बाटो खन्दा कहाँबाट लैजाने, के–कति कुरा खन्ने अथवा के नभत्काउने भन्ने सामान्य विवेकसम्म पनि ठेकेदार–प्राविधिकले राखेका रहेनछन् ।

छिरुवानीमा यसपालि गाडीको बाटो खन्ने क्रममा स्थानीय ऐतिहासिक थलोहरू खन्ने–भत्काउने तयारी भइरहेको थाहा पाएर स्थानीय र बाहिरबाट आएका जानकारले यसको विरोध गरेपछि बाटो घुमाउने निर्णय भएको थियो । अब यो बहुआयामिक समस्या र सरोकारलाई सुनिदिने कसले ? 

झुमा लिम्बू

प्रकाशित : माघ २२, २०७३ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?