२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भ्यालेटाइन डे बिशेष: नो इगो

प्रदीप मेन्याङ्बो

धरान — प्रेम दिवस अर्थात् भ्यालेटाइन डे संघारमा छ । हुन त प्रेम सबैको मनमा हुन्छ तर युवायुवतीहरूले चाहिँ आफूले मन पराएको मान्छेलाई मनको कुरा व्यक्त गर्ने अवसरका रूपमा भ्यालेन्टाइन डेलाई लिने गरेका छन् ।

भ्यालेटाइन डे बिशेष: नो इगो

उहिले प्रेम व्यक्त गरिन्न थियो । आँखाले हेरे पुग्थ्यो । समय परिवर्तनसँगै गाउँघरदेखि सहरबजारमा कागज, कापी, कलम पुगेपछि ‘लभ लेटर’ मार्फत प्रेम व्यक्त हुन थाल्यो । पछि फेरि गिफ्टहाउसको रेड रोज कार्डको जमाना आयो । रेड रोज कार्ड अर्थात् रातो गुलाबको फूल दिएर प्रपोज गरेमा विरलै अस्वीकार हुने विश्वास गरिन्थ्यो ।

पछिल्लो समय अब फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल मार्फत सोझै प्रेम प्रस्ताव गर्ने नत्र अगाडि नै उभिएर ‘आई लभ यु’ भन्ने जमाना आएको छ । प्रेम प्रस्ताव गर्न यसको अर्थ, परिभाषा जानिरहन आवश्यक छैन । जसले जसरी बुझे पनि हुन्छ । जस्तो अनुभूति गरेको छ, त्यसरी नै व्याख्या गरे हुन्छ । त्यसैले प्रेमलाई निराकार ठानिन्छ ।

प्रेम दिवसको सन्दर्भमा धरानका केही प्रतिनिधि युवायुवतीले प्रेमबारे आफ्नै अनुभव र परिभाषा सुनाए । स्नातक अध्ययरत रेडियोकर्मी २२ वर्षीया बन्दना राईले प्रेमलाई एकअर्का बीचको आदर, समझदारी, पारदर्शिता, विश्वास र स्नेहको साझा रूप भएको बताइन् ।
उनले भनिन्– ‘इगोले प्रेमलाई एकैछिनमा ध्वस्त हुन्छ भन्ने अनगिन्ती उदाहरण छन् । यसर्थ नि:स्वार्थ प्रेमका लागि युवायुवतीबीच विचार मिल्नुपर्छ । अन्डरस्टान्डिङ नहुँदा मनमुटाव हुन्छ ।’ उनका अनुसार प्रेमलाई बाँधेर पनि राख्न सकिन्न । प्रेम भनेको त्याग पनि हो । जीवनको परीक्षा हो ।
भनिन्छ, संसार नै प्रेममा अडिएको छ । टिनएजमा हुने अधिकांश प्रेमलाई ‘आकर्षण’ मात्र ठान्ने गरिन्छ, वास्तविक प्रेम मानिन्न । पछिल्लो समय सचेत युवायुवतीहरू आर्थिक, बौद्धिक र शारीरिक रूपमा परिपक्व भएपछि गरिएको प्रेम दिगो हुनेमा बढी विश्वास गर्न थालेका छन् । टिनएजर्सले प्रेम दिवसमा आफूले मन पराएको व्यक्तिलाई दिइने उपहार किन्ने पैसा प्राय: आमाबाबुले दिएको पकेट खर्च हो ।

कक्षा १२ अध्ययरत धरानकी टीना चोङबाङ र रश्मि मगरको धारणा समान छ । मिडिया अध्ययनमा रुचि राख्ने टीना र फेसन मोडलिङमा रुचि राख्ने रश्मि प्रेम रमाइलोका लागि मात्र नभएको बताउँछन् । प्रेमलाई निरन्तरता दिनेबारेमा रश्मिको र टीनाको मान्यता छ, उपहार साटासाटले मात्र प्रेम जीवित रहँदैन । आत्माभित्रबाट आउनुपर्छ । बाहिरी देखावटी भयो भने त्यो प्रेम हुन सक्दैन ।

टीना भन्छिन्– ‘पकेट खर्च बचाएर किनेको उपहारले प्रेमको सम्बन्धलाई दीर्घकालसम्म थेग्न सक्दैन । त्यसैले म चाहिँ अहिले नै कुनै केटाको प्रेममा नफसौं भन्ने आफ्नै मान्यता छ । कतिन्जेल बाबाआमाले दिएको पकेट मनीले उपहार किन्ने ?’
धरानको एभरेस्टलाइन बस्ने १८ वर्षीया सरिता प्रेम दिवसका लागि खासै तयारी नगरेको बताउँछिन् । फेसन मोडलिङमा रुचि राख्दै आएकी डल्फिन स्टार फस्ट रनर अप उनले भनिन्, ‘आजकल त हामी जस्ता टिनएजमा प्रेम गर्नु फेसन जस्तै भएको छ । सबैभन्दा छिटो त फेसबुक, इन्स्ट्राग्रामबाट प्रपोज हान्ने धेरै छन् । मलाई त्यसरी प्रपोज आएका थिए ।’

श्याम चोक बस्ने १९ वर्षीया सुष्मा तामाङले पनि प्रेम दिवसलाई साथीभाइ र परिवारसँग बसेर मनाउने तयारी गरिरहेको बताइन् । कोसी क्वीन २०१५ फाइनलिस्ट भएकी उनले भनिन्, ‘प्रेम शब्द सुन्दा नै सुन्दर आकर्षक लाग्छ । आफूले पालेको जनावरलाई त माया लाग्छ । एकआपसको मनलाई जोड्ने माध्यम प्रेम हो जस्तो लाग्छ ।’

सुष्माकी साथी मनकुमारी तामाङ गर्लफेन्ड र ब्वाइफ्रेन्ड बनाउनु, हग गर्नु, किस खानु, शारीरिक सम्पर्क गर्नुलाई मात्र प्रेम सम्झिनु नहुने बताउँछिन् । खोटाङ जिल्लाबाट सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा पूर्वाञ्चल टिमका लागि छनोट भए पनि अचानक बिरामी भएर खेल्न नपाएकी उनले भनिन्– ‘शारीरिक, मानसिक रूपमा परिपक्व पनि भइयो । यसैले यो पटकको प्रेम दिवसलाई महत्त्वपूर्ण बनाउने योजना छ । मन परेको मान्छे फेला परे रेड रोज दिएर प्रपोज हानिन्छ ।’

प्रकाशित : फाल्गुन २, २०७३ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?