‘विपन्न क्षेत्रमा लगानी बढाऊ’

कान्तिपुर संवाददाता

काठमाडौं — विपन्न वर्गमा कर्जा प्रवाह बढाउन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । विपन्न वर्ग क्षेत्रमा प्रवाह गर्नुपर्ने न्यूनतम रकम पनि लगानी नभएको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाले कुल लगानीको कम्तीमा ५ प्रतिशत कर्जा विपन्न क्षेत्रमा प्रवाह गर्नुपर्ने नीतिगत व्यवस्था भए पनि हाल अघिकांशले उक्त सीमा पूरा गरेका छैनन्,’ उनले भने । 

गरिबी निवारण कोषको आगामी रणनीतिमा महिलाहरूको आर्थिक क्षेत्रमा सहभागिता अभिवृद्धिसम्बन्धी कार्यशालामा बोल्दै महराले यस्तो निर्देशन दिएका हुन् । 

‘अहिले बैंकहरूको कर्जा प्रवाह सहर केन्द्रित छ । पछि परेका वर्ग, समुदाय तथा भूगोलमा कर्जा प्रवाहलाई सुदृढ गर्न गरिबी निवारण कोषलगायत अन्य संस्थाले आफ्ना कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउनुपर्छ,’ उनले भने । सबै क्षेत्रमा महिलाहरूको उपस्थिति अभिवृद्धि गर्न राजनीतिक सोचमा परिवर्तन र रूपान्तरण जरुरी भएको उनले बताए । 

कार्यक्रममा गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले समुदायमा आधारित लक्षित कार्यक्रमहरूमार्फत लैंगिक असमानतालाई कोषले सम्बोधन गरिरहेको बताए । नेपाल सरकारले १४ औं योजनामा गरिबीको प्रतिशत २१.६ प्रतिशतबाट १७ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

प्रकाशित : फाल्गुन ४, २०७३ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?