कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

रोजाइमा टर्की–अस्ट्रिच

काठमाडौं — टर्की–अस्ट्रिच पाल्ने सोच तपाईंमा पलायो भने यसको फार्म एकचोटि हेर्नुस् । विज्ञसँग राम्रोसँग परामर्श लिनुस् । अब टर्की र अस्ट्रिच पाल्न तयार हुनुस् । जग्गाको कागजपत्र जुटाउनुस् । त्यसपछि गाविस वा नगरपालिकाबाट सिफारिस लिनुस् ।

रोजाइमा टर्की–अस्ट्रिच

प्रालि बनाउने भए कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराउनुस् । होइन भने घरेलु र पशुसेवा कार्यालयमा दर्ता गरेर व्यवसाय गर्न अघि बढ्नुस् । दर्ताका लागि नागरिकताको प्रमाणपत्र, फोटो र व्यवसायको संक्षिप्त विवरण पनि साथमा बुझाउनुस् । दर्ता गर्दा न्यूनतम शुल्क लाग्छ ।

खोर कस्तो बनाउने
राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला चितवन भरतपुरका पशु चिकित्सक विजय श्रेष्ठका अनुसार टर्कीलाई २५ डिग्रीसम्मको तापक्रम चाहिन्छ । त्यसैले कुखुराकोजस्तै खोर बनाउनुपर्छ । भुइँमा भुस राखे झनै राम्रो हुन्छ । खोरबिनै सामान्य सोखका रूपमा समेत घरमा पाल्न सकिन्छ । तर, अस्ट्रिचलाई भने खोरको आवश्यकता पर्दैन । खुला आकाशमुनि बस्न सक्छ । ३५ डिग्री सेल्सियस तापक्रममा बस्न रुचाउँछ । ५० डिग्रीदेखि शून्य डिग्री सेल्सियस तापक्रममा समेत यो बस्न सक्छ । नेपालको हिमालदेखि पहाड र तराईका सबैजसो क्षेत्रमा यसलाई पाल्न सकिन्छ ।

आहारा
कुखुरालाई जस्तै टर्कीलाई पनि दाना खुवाउन सकिन्छ । सुरुमा एल वान र एल टु दाना खुवाउनुपर्छ । अण्डा पार्न थालेपछि एल थ्री दाना खुवाउनुपर्छ । यो दाना लेयर्स कुखुरालाई खुवाउने दाना हो । यसले घाँस खान्छ । त्यही भएर घाँस पाल्ने ठाउँ आवश्यक पर्छ । बढी फाइबर चाहिने भएकाले नरम घाँस खुवाउन जरुरी हुन्छ । तर, अस्ट्रिचको आहारा टर्कीको भन्दा फरक छ । यसको प्रमुख आहारा कोसेबाली हो । लेघुम जातको घाँस यसले धेरै रुचाउँछ । यसलाई २० प्रतिशत अन्न र पानी खुवाउनुपर्छ ।

रोगको खतरा
पशु चिकित्सकका अनुसार टर्की पाल्नका लागि चितवन आसपास र यस्तै हावापानी उपयुक्त हो । पशु चिकित्सक विजय श्रेष्ठका अनुसार यसलाई एकदम लाग्ने रोग भनेको ‘हिस्टोमोनियसिस’ हो । त्यसैले मेट्रो निडाजोल खुवाउनुपर्छ । ‘सीआरडी’ ‘सीसीआरडी’ ‘पास्चुरेलोसिस’ रोगले पनि सताउँछ । यसलाई घ्यारघ्यार गर्ने, टाउको सुन्निने बढी हुन्छ । त्यही भएर एन्टिबायोटिक एजीथ्रोमाइसिन मुखबाट दिन सकिन्छ । रोगले ग्रस्त भए एमिकासिन इन्जेक्सन दिन सकिन्छ । जुकाको औषधि एक/डेढ महिना अवधिमा खुवाउनुपर्छ । त्यस्तै आईबी प्लस लासोटा भ्याक्सिन पनि एक/डेढ महिनाभित्र दिनुपर्छ । अस्ट्रिचमा भने भाइरल र ब्याक्टेरियल रोगको समस्या हुने गरेको छ । त्यही भएर अस्ट्रिचलाई बाह्य चराचुरुंगीसँग सम्पर्क हुन दिनु हुँदैन । यसको बासस्थान वर्षको एकचोटि डोजर लगाएर सफा गर्नुपर्छ ।

चल्ला कहाँ पाइन्छ ?
टर्कीपालनमा चल्ला पाउन समस्या छैन । २८ दिनमा अण्डाबाट चल्ला निस्कन्छ । मिनी ह्याचरीबाट चल्ला निकाल्न सकिन्छ । अहिले चितवन, बाराका टर्की फार्ममा चल्ला पाइन्छ । अन्य ठाउँमा पनि फाट्टफुट्ट चल्ला पाइन्छ । देशका विभिन्न ठाउँमा आयोजना गरिने मेला महोत्सवमा समेत यसको चल्ला राखिएको हुन्छ । अस्ट्रिचको चल्ला अस्ट्रिच नेपाल प्रालिले समेत बेच्न थालेको छ । व्यवसाय गर्न चाहनेले विदेशबाट आयात गर्नु पर्दैन । रूपन्देहीबाटै किन्न सकिन्छ ।

बजारको अवस्था
चितवनमा टर्की पाल्नेको संख्या बढ्दो छ । खैरहनीमा व्यावसायिक रूपमा पाल्दै आएका नवलपरासी गैंडाकोटका किरण कँडेल क्रिसमसका बेला उपहारका रुपमा दिइने भएकाले माग धेरै हुने बताउँछन् । अहिलेको मुख्य बजार पोखरा हो । होटल बढी भएको ठाउँमा खपत बढी हुन्छ । टर्कीको मासु खसी र राँगाको भन्दा स्वस्थकर हुने चिकित्सक बताउँछन् । ह्वाइट मासु हुने भएकाले फ्याट हुँदैन । एउटा टर्की १० देखि १५ केजीसम्मको हुन्छ । जिउँदोमा प्रतिकेजी ८ सय पर्छ । अस्ट्रिचको मासु विश्व बजारमा प्रतिकिलो झन्डै ६ हजार ५ सय रुपैयाँ छ । नेपालमा भने हाड भएको मासु प्रतिकिलो ८ सय ९० रुपैयाँमा पाइन्छ । हाड नभएको १ हजार ४ सय ९० रुपैयाँमा बिक्री हुन्छ । रूपन्देहीसहित काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, नेपालगन्ज, विराटनगर, धनगढी सहितका मुख्य सहर र तिनको आसपासमा अस्ट्रिचको मासु पाइन्छ । भिटामिन र ओमेगा तत्त्व प्रचुर मात्रामा पाइने भएकाले स्वस्थकर मानिन्छ ।

हेरचाह
टर्की किसान कँडेलका अनुसार यो लोकल कुखुराजस्तै हो । एक महिनासम्म यसलाई चिसोबाट जोगाउनुपर्छ । न्यानोमा राख्नुपर्छ । यो बेला चल्ला लगेमा बचाउन समस्या हुन्छ । ठूलो भएपछि समस्या हुँदैन । यसले ८० प्रतिशत घाँस र २० प्रतिशत दाना खान्छ । दुबो र बर्सिम घाँस खुवाउने गरिएको छ । यसलाई खुला रूपमा चराउन पनि सकिन्छ । अस्ट्रिचलाई भने कम्पाउन्डिङ (तार घेरा) गरेर राखिन्छ । यसलाई बाहिर लगेर डुलाउनु पर्दैन ।
एउटा परिपक्व अस्ट्रिच १ सय २० किलोसम्म तौल र ८ फिटसम्म अग्लो हुने भएकाले ठूलो क्षेत्र चाहिन्छ । अस्ट्रिचको भाले ३ र पोथी २ वर्षमा वयष्क हुन्छ । वयष्कमा २ सय ५० किलोसम्म तौल हुन्छ । उचाइ ८ फिटसम्म हुन्छ । अस्ट्रिचको आयु ८० वर्षसम्म हुन्छ । ९ देखि १४ महिनामै यो एक क्विन्टल तौलको हुन्छ । ५० वर्षसम्म राम्रो उत्पादन दिन सक्ने एउटा पोथी अस्ट्रिचले एक सिजनमा १ सय २५ वटासम्म अण्डा दिन सक्छ । ४५ वर्षमा एउटा पोथीले ५ हजार २ सयसम्म अण्डा दिन्छ । प्वाँख फेसनदार कपडा बनाउन र सफाइको सामग्री बनाउन प्रयोग गरिन्छ । छाला जुत्ता, पेटी सफासेट, गाडीलगायतको कभर बनाउन र अण्डा तथा बोसो उच्चस्तरका क्रिम, लोसन र औषधि बनाउन प्रयोग हुन्छ । अस्ट्रिचको अण्डाको खोल पनि सजावटका सामग्री बनाउन प्रयोग गरिन्छ ।

बिमा र सरकारी अनुदान
यो व्यवसायका लागि बिमाको व्यवस्था छ । तर, थोरैको संंख्यामा मात्र टर्की पाल्ने किसान छन् । कमैले मात्र बिमा गरेका छन् । सरकारी अनुदान भने छैन । बैंकले ६ प्रतिशतसम्ममा कृषि ऋण दिने गरेका छन् । बिमा गर्दा प्रिमियममा ७५ प्रतिशत सरकारले २५ प्रतिशत आफूले व्यहोर्नुपर्छ । किसानले ९० प्रतिशतसम्म क्षति रकम पाउँछन् । आम्दानीको आधारमा कर तिर्नुपर्छ ।


“पहिले दु:ख, अहिले सुख”

- सीपी शर्मा, अस्ट्रिचपालक

बागलुङमा जन्मिएँ । बुटवलमा हुर्कें । व्यवस्थापन संकायको पढाइपछि केही वर्ष बुटवलमा ट्याक्टर व्यवसाय गरें । यसपछि वैदेशिक रोजगारीमा गएँ । वैदेशिक रोजगारीकै क्रममा अस्ट्रिच र त्यसको फाइदा देखेर यसको व्यावसायिक पालनतर्फ आकर्षित भएँ । अस्ट्रिच पाल्ने सोच आएपछि ४ वर्ष यसको अध्ययन, नेपालको वातावरण र बजार सम्भाव्यता अध्ययनमै बिताएँ । धेरैले जोखिम हुने भनेर सुझाए । कतिले खिसीट्युरी पनि गरे । हिम्मत हारिनँ । आफ्नो लक्ष्यमा पुग्न प्रयास गरिरहें ।
सुरुवातमा केही चुनौती सामना गर्न सके यसबाट लाभ हुन्छ भन्ने मलाई थाहा थियो । त्यसैले म जेजस्तो परे पनि आत्तिएको छैन । ०६५ देखि अस्ट्रिचपालन सुरु गरें । अस्ट्रेलियाबाट आएर एकाएक अस्ट्रिच चरा पाल्ने भन्दा सुरुवातमा कसैले पत्याएन । लामो प्रयासमा जनतन श्रीमतीलाई मनाएँ । यसपछि अस्ट्रिच नेपाल प्रालिका नाममा फर्म दर्ता गरें । अस्ट्रेलियाबाट १ हजार ५ सय अण्डा र केही अस्ट्रिच ल्याएँ । रुपन्देहीको गंगोलियामा २० बिघा क्षेत्रफलमा जग्गा व्यवस्थापन गरेर अस्ट्रिचपालन थालेँ, जुन देशकै पहिलो र एक मात्र अस्ट्रिच फर्म हो ।
अस्ट्रिचको व्यावसायिक पालन र अनुसन्धान गर्ने उद्देश्यले खोलिएको फार्ममा सुरुवातमै करिब ३० करोड रुपैयाँ लगानी भयो । त्यसमा आफन्त चितवनका तिलकराज कँडेलको परिवारले करिब दस प्रतिशत लगानी गरेर सहकार्य गरेँ । जग्गा बढाउनुपर्ने, उपकरण किन्नुपर्ने भएकाले लगानी बढाउनुपर्ने भयो । त्यसपछि साथीले हात झिक्नुभयो । लामो समय एक्लै परें । अहिले भने थोरै लगानीमा भए पनि बुटवलका नवराज श्रेष्ठले साथ दिएका छन् ।
विदेशी बजारलाई लक्षित गरी खुलेको फार्म अहिले दाङसम्म फैलिएको छ । करिब ८ हजार अस्ट्रिच पालेका छौं । त्यसमा साना ४ हजार छन् । मासुका लागि तयार भएका १ हजार छन् । अण्डा उत्पादनका लागि राखिएका एक हजार माउ छन् । योबाहेक ८ सय अस्ट्रिच कन्ट्रयाक्ट फार्मिङमार्फत किसानले पालेका छन् । सुरुमा खोलिएको गंगोलियाको फार्ममा अण्डाबाट चल्ला बनाउने तथा हुर्काउने गरिन्छ । दाङको बेलझुण्डीमा माउ छन् । रुपन्देहीको सूर्यपूरामा ठूला तथा बिक्रीका लागि अस्ट्रिच राखिएको छ । तीनवटै फर्ममा गरी १ अर्ब ७० करोड लगानी पुगेको छ । विदेशबाट चल्ला आयात गर्दा लगानी धेरै लागेको थियो ।
अहिले फर्ममा चल्ला उत्पादन हुन्छ । केही सस्तो र कम जोखिमपूर्ण बनेको छ । फार्ममा एक चिकित्सकसहित १ सय ३७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । करिब १ हजार २ सय घरपरिवारले अप्रत्यक्ष रोजगारी पाएका छन् । दानामा मात्रै दैनिक ५ लाख खर्च छ । आम्दानीको चरणमा भने अझै पुगेको छैन । फर्ममा अहिले करिब ४ सय किलो मासु उत्पादन हुन्छ । यसमध्ये एक सय किलो रूपन्देहीमा खपत छ । बाँकी काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, नेपालगन्ज, विराटनगर, धनगढीलगायत सहरमा जान्छ । देशभरका सबै भाटभटेनी पसलमा अस्ट्रिचको मासु पाइन्छ । २ वर्षदेखि अस्ट्रिचको मासु बजारमा ल्याउँदा स्वाद चखाउँदै बेच्दै गरिएको थियो । अहिले भने त्यस्तो समस्या छैन ।
(कुराकानीमा आधारित)

“टर्कीले व्यवसायी बनायो”
- किरण कँडेल, किसान

घर नवलपरासीको गैंडाकोट भए पनि चितवनको खैरहनी नगरपालिका २ स्थित चैनपुरमा व्यावसायिक रूपमा टर्की पालेको छु । १० वटा चल्लाबाट यो व्यवसाय सुरु गरेको हो । अहिले अण्डा दिने ५ सय माउ, १ सय ५० भाले र ३ हजार चल्ला छन् । दैनिक चल्ला २ सय देखि ३ सय वटासम्म बिक्री हुन्छ । ०६९ सालमा कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा तात्रीबास पशु विकास फर्म तथा कृषि अनुसन्धान केद्रका रूपमा दर्ता गरी ०७० माघबाट यसको पालन सुरु गरिएको हो ।
पहिला चल्ला पाउन समस्या थियो । पोखरा, हेटौंडालगायतका सहरबाट चल्ला ल्याएको थिएँ । अहिले चल्लाको समस्या छैन । देशको जुन ठाउँबाट आए पनि सहज रूपमा चल्ला उपलब्ध गराउँछु । १० महिनामा एउटा टर्की १६ देखि १८ किलोसम्मको हुन्छ । पोखरा र काठमाडौंका ठूला होटलमा यसको माग बढी छ । यसको बारेमा थाहा पाउने थोरै छन् । उनीहरूलाई टर्कीका बारे अझै बुझाउन सकिएको छैन । यसको पालनमा समस्या छैन । उपयोगिता धेरै छ । मासु स्वाथ्यका दृष्टिकोणले उपयुक्त हुन्छ । चल्ला लगेर पाल्नेको संख्या बढ्दै गएको छ । टर्कीले ८ महिनामा अण्डा पार्न सुरु गर्छ । अण्डा पनि बिक्री हुन्छ । टर्कीको चल्ला ५ सय रुपैयाँ प्रतिगोटा बिक्री गर्छु । मेरो लगानी ३५ लाख नाघ्यो । फर्मको नाममा २२ कठ्ठा जग्गा छ । अहिले भौतिक संरचना तयार नभएकाले जग्गा भाडामा लिएर पालिएको छ । छुट्टाछुट्टै ठाउँमा खोर बनाइएको छ । खोर भएको ४ कठ्ठा जग्गाको मासिक भाडा मात्र २७ हजार बुझाउँछु।
टर्की कराउँदैन । शान्तसँग बस्छ । फर्मको नाममा रहेको जग्गामा घाँस लगाएको छु । ३ जनालाई रोजगारी दिएको छु । फर्म दर्ता गरेर सुरुमा बँदेल पाल्ने सोच थियो । बँदेल पाल्न सरकारबाट अनुमति पाउन सकिनँ । केही नयाँ व्यवसाय गरौं भनेर टर्कीपालन सुरु गरेको हुँ । आज टर्कीले व्यवसायीका रूपमा चिनाएको छ । फर्म हेर्न र टर्कीपालनबारे बुझ्न टाढादेखि सर्वसाधारण आउने गरेका छन् ।
(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ६, २०७३ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?