बहसमा प्राविधिक शिक्षा

नगेन्द्र अधिकारी

काभ्रे– शिक्षा ऐनअनुसार कक्षा १ देखि १२ सम्म विद्यालय तह हो । कक्षा १–८ लाई आधारभूत र ९–१२ माध्यमिक तह कायम गरिएको छ । माध्यमिक तहलाई साधारण र प्राविधिक गरी दुई धारमा बाँडिएको छ । प्राविधिक शिक्षालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा यतिखेर काभ्रेको धुलिखेलमा राष्ट्रिय व्यावसायिक योग्यता प्रारुपबारे कार्यशाला भइरहेको छ ।

कार्यशालामा एसिया प्यासिफिक क्षेत्रका १६ मुलुकका उच्च अधिकारी र विशेषज्ञहरू सहभागी छन् । तिनीहरूका अनुभव र सुझावका आधारमा नेपालको राष्ट्रिय व्यावसायिक योग्यता निर्धारण संरचना (एनभीक्युएफ) विकास गरिनेछ । विज्ञले कार्यपत्रमार्फत आफ्नो मुलुकमा प्राविधिक तथा व्यावसायिक शिक्षामा भए/गरेका अनुभव आदानप्रदान गरिरहेका छन् । प्रस्तुत छ, बहसको उपादेयताबारे सहभागी केही विज्ञसित गरिएको कुराकानीको सम्पादित अंश : 

विदेशी सुझाव मनन गर्छौं 
 डा. रामहरि लामिछाने
महानिर्देशक, कोलम्बो प्लान स्टाफ कलेज, फिलिपिन्स

राष्ट्रिय योग्यता प्रारुप कस्तो बनाउने भन्नेबारे अहिले हामी छलफल गरिरहेका छौँ । २० देशमा कस्तो खालको प्रणाली छ भन्ने कुरामा नै छलफल केन्द्रित छ । अधिकांश देशमा १ देखि ८ तहको संरचना रहेको पायौँ । स्कटल्यान्डमा भने १२ तहसम्मको प्राविधिक शिक्षा रहेछ । संरचना करिब करिब मिल्दो छ । हुबहु कसैको संरचना अनुसरण गर्ने नभई त्यहाँको अनुभवको आधारमा हाम्रो सन्दर्भ, परिवेश सुहाउँदो प्रणालीलाई हाम्रो ढाँचामा ढाल्ने हो । हामीले अहिले गरेको मस्यौदामा पनि ८ तह हुने उल्लेख छ । तहका सन्दर्भमा हाम्रो पनि अरू देशसँग समानता छ । तहअनुसारको दक्षता हासिल गर्न ज्ञान, सीप र क्षमताबारे जानकारी लिएर नेपालको ढाँचालाई परिमार्जन गर्छौँ । यो कार्यशाला निकै उपलब्धिमूलक भएको छ । हामीले तयार गरेको मस्यौदामा साधारण शिक्षाबाट प्राविधिक शिक्षामा जान पाउने र प्राविधिक शिक्षाबाट साधारण शिक्षामा जान पाउने प्रस्ताव गरेका छौँ । समकक्षता निर्धारण गर्ने व्यवस्था गरेका छौँ, जसले जुन विषय पढे पनि योग्यता निर्धारण संरचनाले एकै खालको प्रमाणपत्र दिन सक्नेछ ।


अन्तर्राष्ट्रिय श्रमको सम्भावना खोल्छ 
 रिनातो एम सोरोलिया
कार्लोस हिलादो मेमोरियल स्टेट कलेज, फिलिपिन्स

नेपालको राष्ट्रिय योग्यता प्रारुपबारे छलफल गर्न यहाँ आउन पाउँदा खुसी लागेको छ । फिलिपिन्स र नेपालले एकै प्रकारको तहको अभ्यास गरिरहेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा भने हामी अघि बढिसकेका छौँ । नेपालले पनि स्विस सरकारको सहयोगमा यो क्षेत्रमा काम गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ । यसले नेपालको व्यावसायिक तथा प्राविधिक शिक्षालाई अघि बढाउन मद्दत गर्छ । भविष्यमा निकै अवसरहरू जुटाउनका लागि यो एकदमै सान्दर्भिक कार्यक्रम हो । स्थानीय उद्योगहरूको विकास, कामदारको व्यवस्था र अन्तर्राष्ट्रिय श्रमको सम्भावना पनि यसले खोल्छ । कोलम्बो प्लानले नेपालमा आयोजना गरेको यो कार्यक्रमले नेपालबारे जान्ने अवसर मिलेको छ । हाम्रो देशमा ८ तहको संरचना छ । हामीले दक्षिणपूर्वी एसियाली मुलुकसँग मिल्ने खालको प्रारुप निर्धारण गरेका छौँ । जसको कारण हाम्रा जनशक्तिले जुनसुकै मुलुकमा सजिलै काम पाउन सकून् भन्ने हो । 

फड्को मार्ने अवसर
 खेम लकाई
प्रमुख, ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी

यो कार्यशाला नेपालको व्यावसायिक तथा प्राविधिक शिक्षा क्षेत्रलाई अघि बढाउने सुनौलो अवसर हो । विशेषज्ञले अन्तर्राष्ट्रिय अभ्यासबारे पर्याप्त सुझावहरू दिएका छन् । विकसित देशमा प्राविधिक शिक्षा अनिवार्यजस्तै छ । नेपालको सन्दर्भमा युवाका भविष्य निर्धारण गर्ने प्राविधिक शिक्षाले नै हो । विज्ञकै भनाइमा आर्थिक विकासको क्षेत्रमा चमत्कार देखाउन सकिनेछ । सरकारले प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिनु आजको आवश्यकता हो । यसो हुन सके अबको दस वर्षमा प्राविधिक शिक्षाले फड्को मार्नेछ । 

लागू गर्न तयार छौं
 
रमेशकुमार बखती
कार्यवाहक सदस्यसचिव, सीटीईभीटी

राष्ट्रिय सीप परीक्षण समितिमार्फत हामीले सीप परीक्षण गर्दै आएका थियौँ । तर त्यसबाट वितरण गरेका प्रमाणपत्रले नेपालमै मान्यता पाउन समस्या छ । लोक सेवा आयोग, उद्योग आदिमा पनि एक खालका अन्योल छ । त्यसकै लागि एउटा राष्ट्रिय योग्यता प्रारुप तयार गर्न लागेका हौँ । एसिया प्यासिफिक क्षेत्रमा भएको अभ्यासबारे जानकारी लियौं । सीपका साथसाथै प्रमाणपत्रको मान्यताका लागि पनि आवश्यक छ भन्ने बुझाइका आधारमा पनि यो कार्यक्रम गरिएको हो । यसो हुँदा साधारण शिक्षा र प्राविधिक शिक्षाबाट एक अर्कोमा जान सकिने आधार तय हुन्छ । साधारण शिक्षाले रोजगारी पाइएन, अब प्राविधिक शिक्षा लिएर व्यावसायिक बन्ने आवश्यकता महसुस भएको सन्दर्भमा एउटा प्रारुप तयार पारेर हामी त्यसलाई लागू गर्न तयार छौँ । हामीले ८ तहको प्रस्ताव गरेका छौँ । यसलाई सरोकार निकायहरूसँग छलफल गरेर अन्तिम रूप दिनेछौँ । सन् २०१९ मा प्रारुप तयार भएर २०२५ मा ऐन ल्याएर प्राधिकरणको रूपमा विकास गरिनेछ । 


अधिकार सम्पन्न प्राधिकरण
 जगत् एस
सीप विकास तथा व्यावसायिक तालिम मन्त्रालय, श्रीलंका 

श्रीलंकाको सन्दर्भमा यसको लामो इतिहास छैन । यो प्रणाली सुरु गर्न लामो समय लाग्यो । मेरो देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा आयोगले यो सञ्चालन गर्छ । आयोगमार्फत संस्था दर्ता, योजना निर्माण, नीति निर्माणलगायतका काम हुन्छ । निश्चित मापदण्डका आधारमा मात्रै प्रमाणपत्र दिइन्छ । त्यसपछि मात्रै त्यस्ता तालिम सञ्चालन गर्न पाइन्छ । नेपाल पनि प्रारुप विकास गर्ने चरणमा छ । मेरो सुझाव के हो भनेर नेपालले यसका लागि धेरै निकाय नबनाईकन एउटा अधिकार सम्पन्न प्राधिकरण बनाउनुपर्छ । दर्ता, नीति निर्माण, अनुगमनलगायतका काम एउटै निकायबाट हुनुपर्छ । अन्यथा समस्या आउन सक्छ । श्रीलंका पनि ८ तहको संरचना छ । संरचना प्रमुख कुरा हैन, प्राधिकरणलाई सरकारले निर्देशन गर्नुपर्छ । 


देशअनुसारको प्रारुप 
 
डा. ज्यानेट ब्राउन
स्कटल्यान्ड

विगत १५ वर्षदेखि हाम्रोमा राष्ट्रिय योग्यता प्रारुप छ । व्यवसायी, सरकार, विद्यार्थीलाई समेत कसरी ज्ञान, सीप हासिल गर्ने, रोजगारलगायतका विषयमा जानकारी पाउन यो निकै उपयोगी छ । यसको स्कटल्यान्डमा पाएको ज्ञान र सीपलाई अरू देशसँग तुलना गर्छ । नेपालको यो चाहना हुन सक्छ कि आफूले प्राप्त गरेको ज्ञान र सीप विभिन्न उद्योग र अरू राष्ट्रमा समेत उपयोगी हुनुपर्छ । स्कटल्यान्डमा हामी १२ तहको संरचनाको अभ्यास गरिरहेका छौँ । नेपालको सन्दर्भमा त्यो फरक हुन सक्छ । नेपालले प्रस्ताव गरेको ८ तह उपयुक्त हुन सक्छ । त्यो देशको आवश्कताअनुसार निर्धारण हुने कुरा हो । 


कार्यान्वयनमा जानुपर्छ
 वाल्टर हन
प्राविधिक तथा व्यावसायिक तालिम विशेषज्ञ, स्विटजरल्यान्ड

सम्बोधन हुनुपर्ने धेरै खालका विषयवस्तु छन् । पहिलो कुरा निजी क्षेत्रलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रको समग्र विकासका लागि बढी संलग्न गराइनुपर्छ । तालिमका विषयवस्तु निर्धारण गर्न निजी क्षेत्रको भूमिका हुनुपर्छ । गुणस्तर निर्धारण लगायतका कुराहरू सरकारी निकायबाट हुनुपर्छ । नेपालले ८ तहको संरचनाको खाका तयार पारेकाले अब त्यसको कार्यान्वयनमा जानुपर्छ । नेपाल सुहाउँदो प्रारुपको अनुसरण अरुबाट गर्नुपर्छ । 
 

प्रकाशित : फाल्गुन २७, २०७३ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

क्राउड अर्थात् बाह्रौं खेलाडी

'जब टिम नेपाल घरेलु मैदानमा खेल्छ, नेपाली क्रिकेट फ्यानहरु जबर्जस्त ओइरिन्छन् । त्यस्तोमा प्रेसर खप्न निकै हम्मे पर्छ भ्रमणकारीलाई'
विनोद पाण्डे

नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट म्याच हुँदा घरेलु टोलीको शक्ति १२ औं खेलाडीमा हुन्छ । त्यो १२ औं खेलाडी भनेको ‘क्राउड’ अर्थात् दर्शक हो । ठूलो संख्यामा आउने दर्शकका दबाबलाई विदेशी टोलीले झेल्न सक्दैनन् । दर्शकको साथ पाउँदा नेपाली टिम पनि एक अतिरिक्त खेलाडी पाएर खेले जस्तै जोसिन्छ ।

केन्या यस्तो टोली हुन सक्छ जसलाई त्रिवि क्रिकेट मैदानमा नेपाली दर्शक सामुन्ने खेल्दा ठूलो दबाब नहुन सक्छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलका लागि केन्या यतिबेला काठमाडौंमा छ । नेपाल र केन्याबीच शनिबार र सोमबार च्याम्पियनसिपका दुई खेल हुनेछन् । अंक तालिकामा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छन् । च्याम्पियनसिप विश्वकप छनोटको आधार हो । शीर्ष चार स्थानमा रहने राष्ट्रले विश्वकप छनोटमा सोझै प्रवेशपाउने छ ।

विगतको प्रदर्शनको आधारमा हेर्ने हो भने नेपाल आएका राष्ट्रहरूमा केन्या सबैभन्दा माथिल्लो स्तरको टोली हो । केन्याले पाँच पटक विश्वकपमा सहभागिता जनाउने क्रममा ठूलो मात्रामा दर्शकहरू उपस्थित हुने भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजमा गएर खेलेको छ । वेस्ट इन्डिजमाथि १९९६ को विश्वकपमा अप्रत्याशित विजय हात पार्दा केन्याले भारतको पुनामा दर्शकको ठूलो साथ पाएको थियो । अफ्रिकी भूमिमा २००३ मा केन्याले विश्वकपको सेमिफाइनल पुग्दै इतिहास नै रचेको थियो ।

पछिल्ला वर्षमा केन्याको प्रदर्शन खस्केको छ । तर नेपालभन्दा केन्या धेरै बलियो टोली हो । २०१५ को जनवरीमा नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याले नेपाललाई दुई पटक पराजित गरेको थियो । केन्यासँगको पराजयपछि नेपाल शीर्ष दुई स्थानमा रहन असफल भएपछि अन्तरमहादेशीय कप चार दिवसीय प्रतियोगिता खेल्न चुकेको थियो । नेपालसँगको विजयले चाहिँ केन्यालाई डिभिजन ३ मा झर्नबाट रोकेको थियो ।

घरेलु मैदानमा खेल्दा नेपालको प्रदर्शन जब्बर हुुन्छ । त्यसमा एक प्रमुख कारण घरेलु दर्शकको ठूलो समर्थन । कीर्तिपुर मैदानमा नेपालको खेल हुँदा झन्डै १० देखि १५ हजार दर्शक आउँछन् । त्यसमा सबैको मुखबाट आउने शब्द भनेको ‘नेपाल, नेपाल, नेपाल’ नै हो । यसले घरेलु टिमका खेलाडीलाई जोस्याउँछ नै, विदेशी टोलीको एकाग्रतासमेत भंग गर्छ । अर्को तथ्य के हो भने एसोसिएट राष्ट्रका धेरै स्थानमा अन्तर्राष्ट्रिय म्याच पनि खाली मैदान र रंगशालामा हुने गर्छ । दर्शक नै हुँदैनन् । केन्या एसोसिएट राष्ट्रमा सबैभन्दा पाको टोली हो र विश्वकपहरू नियमित खेल्दा केन्यालाई ठूलो दर्शकका अगाडि खेलेको अनुभव छ ।

‘गुन्जयमान नेपाली दर्शकका अगाडि खेल्न सजिलो नहुने हामीलाई थाहा छ, त्यसलाई हामी रोक्ने प्रयास गर्नेछौं,’ गत वर्ष च्याम्पियनसिपकै खेलका लागि आएपछि नामिबियाका डी ठाकुरले भनेका थिए । तर नामिबियाको टोलीले नेपाली दर्शकलाई रोक्न सकेन । दुवै खेल जितेर नेपालले च्याम्पियनसिपमा पहिलो पटक अंक बटुल्यो । ‘खचाखच दर्शकसामु नेपालमा खेल्दा गज्जब महसुस भयो । नेपाल र नेपाली दर्शकले यसमा गर्व गर्न सक्छन् । एसोसिएट क्रिकेटका लागि यो अविश्वसनीय हो,’ नेपाली दर्शकका अगाडि खेल्न पाउँदा हारमा दंग थिए नामिबियाका कप्तान स्टेफन बार्ड । उनलाई नेदरल्यान्ड्सलगायत अन्य एसोसिएट देशका खेलाडीले त्यो माहोलमा खेल्न पाएकोमा बधाई दिइरहेका थिए ।

नेपाल र केन्या च्याम्पियनसिपको यस्तो स्थितिमा छन् जसका कारण खेल अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुई वर्षअघि नामिबियामा डिभिजन २ मा ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध नटआउट ९१ रन बनाएका थिए । त्यो समयमा ज्ञानेन्द्रको त्यो स्कोर लिस्ट ‘ए’ मा नेपाली खेलाडीको उच्च स्कोर थियो । ज्ञानेन्द्रको प्रयासमा नेपालले १ सय ९४ रन बनायो । तर केन्याले ३५ ओभरमै खेल आफ्नो पार्‍यो । २०१३ को ट्वान्टी–२० विश्वकप छनोटमा केन्याले १ सय ८३ रनको लक्ष्य दियो । अन्तिम ओभरमा नेपाललाई जितका निम्ति २० रन चाहिन्थ्यो । शरद भेषावकरले ३ छक्का प्रहार गरेपछि नेपालले २ बल अगाडि नै लक्ष्य पूरा गर्‍यो । ट्वान्टी–२० मा नेपालले अहिलेसम्म ‘चेज’ गरेको यो सबैभन्दा ठूलो लक्ष्य हो ।

शरद र ज्ञानेन्द्र अहिले नेपाली टोलीको प्रमुख आशा हुन् । विशेष गरी कप्तान पारस खड्का पूर्ण रूपमा फिट नभएको अवस्थामा अनुभवी यी दुई खेलाडीमा नेपालको ब्याटिङ आशा टिकेको छ । ज्ञानेन्द्रले सुनिल धमलासँग मिलेर नेपालको ब्याटिङ ओपनिङ गर्नेछन् । घरेलु क्रिकेटमा बलियो प्रभाव जमाउँदै आएका सुनिलले नेसनल टिमबाट ‘डेब्यु’ गर्ने लगभग निश्चित छ । ज्ञानेन्द्रले दिल्लीमा नेपालले खेलेको तीन अभ्यास खेलमा दुईमा राम्रो प्रदर्शन गरेका थिए ।

सागर पुन र विनोद भण्डारीले मिडल अर्डर सम्हाल्ने छन् । सागरले पछिल्लो समय परिपक्व प्रदर्शन दिँदै आएका छन् । विनोद ‘गेम चेन्जर’ हुन् । उनी ठूलो सटका लागि माहिर छन् । नामिबियाविरुद्धको दोस्रो खेलमा उनले तीन छक्का प्रहार गर्दै ४० रन बनाई खेलको नक्सा परिवर्तन गरेका थिए । डेढ वर्षपछि महबुब आलम राष्ट्रिय टोलीमा फर्किएका छन् । नेपाल टिममा फर्किन कति गाह्रो छ भन्ने आफ्नो खेल जीवनको उत्तरार्धमा आइपुगेका महबुबलाई जति सायदै अरूलाई थाहा होला । यी भेट्रानले टिममा स्थान पाउन आरिफ शेख र दीपेन्द्रसिंह ऐरीसँग प्रतिस्पर्धा गर्दैछन् । युवा आरिफले पनि २ वर्षपछि ‘कमब्याक’ गर्दैछन् राष्ट्रिय टोलीमा । दीपेन्द्र पहिलो पटक परेका हुन् ।

सोमपाल कामी एक्लो फास्ट बलरका रूपमा खेल्न सक्छन् । स्पिन नेपाल सधैंको हतियार हो । केन्याजस्तो ठूलो टिमसँग खेल्दा शक्ति गौचन, वसन्त रेग्मी र सन्दीप लामिछानेसामु पनि चुनौती धेरै हुनेछ । विशेष गरी केन्याले स्पिन राम्रोसँग खेल्ने गरेको तथ्यसँग नेपाल परिचित छ ।
च्याम्पियनसिपमा शरदको ब्याट अझै खुलेको छ । नामिबियाविरुद्ध पछिल्लो पटक घरेलु मैदानमा भएको दुवै खेलमा शरदले नटआउट अर्धशतक बनाएका थिए । नामिबियासँगको नेपालमा भएको अन्तिम खेल अहिले पनि झलझली सम्झँदै शरद भन्छन्, ‘कीर्तिपुर मैदानमा भित्रबाट जति खेल हेरिरहेका थिए, त्यति नै बाहिर पनि थिए । त्यस्तो दृश्य हेर्दा सबैको एउटै लक्ष्य देखिन्थ्यो, जुन अहिले हाम्रो देशमा छैन ।’

प्रकाशित : फाल्गुन २७, २०७३ १०:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT