कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वारेन बफेटलाई बिल गेट्सको पत्र जसले जोकोहीलाई आशावादी बनाउँछ

कान्तिपुर संवाददाता

काठमाडौं — विश्वका सबैभन्दा धनाढ्य बिल गेट्सको फाउण्डेशनलाई अर्का धनाढ्य वारेन बफेटले १२ डिसेम्बर २०१६ मा एक पत्र लेख्दै आफूले दिएको पैसाले के प्रभाव पर्‍यो भनी जिज्ञासा राखेका थिए । २००६ मा वारेन बफेटले बिल र मेलिन्डा गेट्सले सञ्चालन गरेको फाउण्डेशनलाई ३० मिलियन डलर दान गरेका थिए ।

वारेन बफेटलाई बिल गेट्सको पत्र जसले जोकोहीलाई आशावादी बनाउँछ

यसको जवाफ बिल गेट्स र पत्नी मेलिन्डा २०१७ को फेब्रुअरी १४ मा दिए । यो दिन भ्यालेन्टाइन डे (प्रेम दिवस) थियो । दुईले आफ्ना प्रिय मित्र बफेटलाई उनले दिएको रकम के कामको लागि खर्च भयो र त्यसले के प्रभाव पर्‍यो भनेर बुझाएका छन् । उक्त पत्रको अनुवादित र सम्पादित अंश यस्तो छ : 

प्रिय वारेन, 
तिमीले एक वर्षअघि दिएको उपहारले हामी निशब्द भएका थियौं । त्यो कुनै पनि व्यक्तिले केही चिजको लागि कसैलाई दिएको सबैभन्दा ठूलो उपहार थियो र हामीलाई थाहा थियो, हामीले तिमीलाई तिम्रो लगानीको उच्च प्रतिफल दिनुपर्छ ।

यो पत्रमा हामी तिमीसँग केही महत्वपूर्ण प्रभावहरु बाँड्न चाहन्छौं । र, अहिले विश्वको स्वास्थ्य अवस्थामा केन्द्रित रहेर यो पत्र सुरु गर्न चाहन्छौं–किनकी त्यो नै हाम्रो समाजसेवाको पहिलो कदम थियो र यो नै हामीले काम गरेको क्षेत्र हो । 

हामीसँग तिमीलाई देखाउन बिक्री र नाफाको हिसाबकिताब छैन् । तर, केही यस्ता नम्बरहरु छन् जसलाई हेरेर हामी निर्देशित हुन्छौं र आफ्नो कामको मूल्यांकन गछौं । 

अब, सबैभन्दा महत्वपूर्ण नम्बरबाट सुरु गरौं । 

हाम्रो प्रिय नम्बर
मेलिन्डा :
हरेक सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले अघिल्लो वर्ष मृत्यु भएका ५ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या सार्वजनिक गर्ने गर्छ । हरेक वर्ष त्यस्ता नम्बरले मेरो मुटु छिया पार्छ र आशा पनि छर्छ । हरेक वर्ष धेरै बालबालिकाको मृत्यु पनि हुन्छ र झन् धेरै बालबालिका बाँच्छन् पनि । 
 

बिल : हरेक वर्षको हिसाब गर्ने हो भने, गत २५ वर्षमा ५ वर्षमुनीका १ सय २२ मिलियन बालबालिकाको ज्यान बचाइएको छ । यी त्यस्ता बालबालिका हुन् जो सन् १९९० कै मृत्युदर कायम भएको भए बाँच्ने थिएनन् ।  

मेलिन्डा : बालबालिकाको जीवन बचाउनु आफैंमा एक उपलब्धी हो र यसको अर्को फाइदा पनि छ । यदि अभिभावकलाई आफ्नो सन्तान बाँच्छन् भन्ने विश्वास भयो भने र उनीहरुको परिवार नियोजनमा पहुँच भयो भने उनीहरुले कतिवटा बच्चा पाउने भन्ने निक्र्यौल गर्नसक्छन् । 
 

बिल : जब एक आमाले कति बच्चा जन्माउने भन्ने निक्र्यौल गर्न सक्छिन् तब उनका बच्चाहरु स्वस्थ र पोषित हुन्छन् । उनीहरुको मानसिक क्षमतासमेत उच्च हुन्छ र अभिभावकले आफ्नो बच्चाको स्वास्थ्य र शिक्षामा लगानी गर्न बढी समय र रकमसमेत पाउँछन् । यसरी नै हो परिवार र देश गरिबीबाट माथि उठ्ने । 

सबैभन्दा राम्रो काम खोप

मेलिन्डा : अहिले विश्वका ८६ प्रतिशत बालबालिकाले खोप पाएका छन् । यो संख्या यसअघिका कुनै पनि बेलाको भन्दा धेरै हो । र, धनी र गरिब देशका बालबालिकाले पाउने खोपको सुविधाको खाडल अहिले सबैभन्दा थोरै छ । बालबालिकाको जीवन बचाउने काममा प्राप्त उपलब्धीबारे यो तथ्यांकले धेरै कुरा बोल्छ । ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको मृत्यु हुने सबैभन्दा ठूलो कारण खोपको अभाव हो । 

घट्दा शिशू मृत्युदर
बिल :
शिशूको लागि जीवनको पहिलो दिन खतरापूर्ण हुन्छ र हरेक वर्ष २५ लाख शिशूको मृत्यु पहिलो महिनामै हुन्छ । विश्वले अन्य क्षेत्रमा गरेको प्रगतिजति यो क्षेत्रमा हुन सकेको छैन् । कूल बाल मृत्युदरको ४५ प्रतिशत शिशू मृत्युदरले ओगटेको छ जुन सन् १९९० मा ४० प्रतिशत थियो ।  

मेलिन्डा : तर, केही अति गरिब देशहरुले स्तनपानमा जोड दिएर र शिशू जन्माउनको लागि तालिमप्राप्त स्वास्थ्य कार्यकर्ता खटाएर यो अवस्थामा सुधार ल्याउँदैछन् । हामीले अफ्रिकामा स्थापना गरेको स्वास्थ्य केन्द्रहरुले अहिले पोष्टमार्टम समेत गर्छन् जसका कारण चिकित्सकहरुले नवजात शिशूको मृत्युको कारण थाहा पाउन सक्छन् ।

कुपोषणको अन्त्य
मेलिन्डा :
कुपोषणका कारण बालबालिकालाई रोग लाग्ने र मृत्यु हुने सम्भावना उच्च हुन्छ । कुपोषणले बालबालिकाको बृद्धि र मानसिक बृद्धिमा असर पुर्‍याउँछ । 

बिल : कुपोषणले पृथ्वीको धेरै मानवीय सम्भावनाहरु भत्काएको छ । हामीले पोषणको अनुसन्धान गर्ने र पोषक तत्व पत्ता लगाएर गरिब देशका बालबालिकाको खानामा पुर्‍याउनको लागि अनुसन्धान गरिरहेका छौं । जब अनुसन्धानबाट नयाँ तथ्यहरु पत्ता लाग्छन् तब हुने पोषण प्राप्त बालबालिकाको संख्यामा बृद्धि हुनेछ र उनीहरुको प्रभावले विश्व परिवर्तन हुनेछ । 

परिवार नियोजनको शक्ति
मेलिन्डा :
विकासोन्मुख विश्वमा ३ सय मिलियन महिलाहरुको मात्रै आधुनिक गर्भनिरोधक साधनमा पहुँच छ । यो संख्या अहिलेसम्मकै उच्च हो तर यहाँ अझैं २२५ मिलियन महिलाहरु छन् जो जो परिवार आधुनिक गर्भनिरोधक उपयोग गर्न चाहन्छन् तर सक्दैनन् । यो निकै दु:खदायी छ । गर्भनिरोधकले जीवन बचाउँछ र गरिबी घटाउँछ । जब विकासोन्मुख देशका महिलाहरुले जन्मान्तरमा कम्तिमा तीन वर्ष कायम गर्छन् तब उनीहरुको बच्चा कम्तिमा एक वर्ष बाँच्ने सम्भावना दुई गुणा ज्यादा हुन्छ । जब महिलाहरुले जन्मान्तर राख्न सक्छन् तब उनीहरुले आफ्नो शैक्षिक स्तर उकास्ते, आम्दानी बढाउने र स्वस्थ बच्चा पाउने सम्भावना बढ्छ ।

गरिबी लैङ्गिक छ 
बिल :
गरिबी लैंङ्गिक छ । समाज जति बढी भयो, महिलाले त्यति कम अधिकार पाउँछन् । महिलाहरु घर बाहिर निस्कने, अरुसँग बोल्ने, पैसा कमाउने कुरा पनि पुरुषको निर्णयको आधारमा हुन्छ । गरिब समाजमा पुरुषको दबदबा अत्याधिक छ । 

मेलिन्डा : जब समाज समृद्ध हुँदै जान्छ तब महिलाको हैसियत पनि बृद्धि हुँदै जान्छ । तर, अहिले गरिब समाजाम महिलाहरुले शक्ति कसरी पाउँछन् ? वास्तवमा महिलाहरुले यस्ता शक्ति अन्य महिलाहरुबाट पाउँछन् । भारतमा मात्रै ७५ मिलियन महिलाहरु स्वनिर्भर समूहमा आवद्ध छन् । 

पहिलेभन्दा धेरै आशावादी
बिल :
भर्खरै मात्र गरिएको एक सर्वेक्षणका अनुसार १ प्रतिशत मानिसलाई मात्रै विश्वबाट आधा गरिबी हटेको तथ्य थाहा थियो, बाँकी ९९ प्रतिशतलाई यो तथ्यबारे जानकारी थिएन । उक्त सर्वेक्षण मानिसको ज्ञान परीक्षण मात्रै थिएन, मानिसको आशाको परीक्षण पनि थियो तर विश्वले राम्रो अंक पाएन् । 

मेलिन्डा : आशा भनेको सबै राम्रो हुन्छ भन्ने विश्वास गर्नु मात्रै होइन्, बरु हामीले राम्रो बनाउन सक्छौं भन्ने विश्वास गर्नु हो । र, धेरै पक्षबाट हामीले विश्वलाई राम्रो बनाउँदैछौं–विश्वव्यापी गरिबी घट्दो छ, बालमृत्युदर कम हुँदै गएको छ, साक्षरता प्रतिशत बढ्दो छ र विश्वभरका महिला तथा अल्पसंख्यकहरु अघि बढ्दैछन् । 

बिल : वारेन, हामी पहिलेभन्दा धेरै आशावादी छौं भन्दा तिमीलाई  आश्चर्य नलाग्ला ।

यहाँ केही अंकहरु छन् जुन उद्देश्यले हामीलाईसधैं अघि बढ्न प्रेरित गर्छ । 
–जिरो मलेरिया
–जिरो एचआईभी
–जिरो टिबी

पोलियो जिरो नजिक पुगिरहेको छ । सन् १९८८ मा हरेक वर्ष विश्वभर ३ लाख ५० हजार बढी पोलियो रोगी देखिने गरेको थियो । तर, गत वर्ष यो संख्या ३७ मात्र थियो । 

पेलियो चाँडै नै इतिहास बन्नेछ । हाम्रै जीवनकालमा मलेरिया अन्त्य हुनेछ । एड्सको कारण कसैले मर्नुपर्ने छैन् । थोरै मानिसलाई मात्रै टिबी हुनेछ । सबैतिरका बालबालिका राम्ररी पोषित हुनेछन् । र, विकासोन्मुख मुलुकमा हुने बाल मृत्युदर दुर्लभ हुनेछ जस्तो विकसित देशमा छ । 

यसको लागि हामी ठ्याक्कै मिति तोक्न त सक्दैनौं तर हामी एउटा कुरामा निश्चिन्त छौं : भविष्यले निराशावादीलाई आश्चर्यमा पार्नेछ । 

हामीलाई विश्वास गरेकामा धन्यवाद, वारेन । हामी तिमीलाई निराश पार्ने छैनौं । 

–बिल र मेलिन्डा

 

प्रकाशित : फाल्गुन २९, २०७३ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?