१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एसईई दिँदै ६९ वर्षीय वृद्ध

प्रतिक्षा काफ्ले

स्याङ्जा — पहिलो पटक सुरु भएको एसईई परीक्षामा स्याङ्जामा ६९ वर्षीय वृद्ध पनि सहभागी भएका छन् । यहाँको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ वर्षीय दुर्गे कामी सिद्धार्थ माविमा एसईईको परीक्षा दिन पुगे ।

एसईई दिँदै ६९ वर्षीय वृद्ध

पहिलो दिन अंग्रेजीको परीक्षा रहेकाले पनि उनी कमजोर हुने विषय हो अंग्रेजी भन्दै परीक्षा हल पुगे । अभिभावकको उमेरको व्यक्ति परीक्षा हल पुग्दा अन्य परीक्षार्थीहरु कोही नाती नातिना लिएर आएको भनेर त्यति वास्ता गरेनन् । लुरु लुरु आफ्नो सिम्बल नम्बर हेरेर परीक्षा हलमा प्रवेश गरेका उनको साथमा कलम र स्केल थियो ।

बुढेसकालमा साहारा कोही नभई विरक्त लागेपछि आफूलाई व्यस्त राख्नको लागि आफ्ना नातिनातीना सरहका विद्यार्थीसँग विद्यालय जाने गरेपछि पहिलो पटक एसईईमा सहभागी बनेका उनले कक्षा तीन देखी नियमित बढ्दै आएका थिए ।

उमेरले नेटो काटिसकेता पनि घर परिवार र समाजबाट कुनै किसिमको साहारा नपाएपछि समय विताउने माध्यमको रुपमा पढाई रोजेको उनी स्वयं बताउँछन् । फेदीखोला-३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातीनाकाका हजुरवुवा बनिसकेका छन भने दुर्गेकी श्रीमती १५ वर्ष पहिले नै बितेकी हुन् ।

सुरुमा कक्षा ३ मा खहरे प्राविमा भर्ना भई पढ्न सुरु गरेका उनले कक्षा ६ देखि काला भैरव उच्च माविमा निरन्तर पढेपछि अहिले एसईई परीक्षा दिएका हुन । स्कुले पोसाक टाई, पेटी, सर्ट, पाइन्ट र काला जुत्ता टल्काएर बालबच्चा झै परीक्षा दिन आएका उनी एसईई परीक्षा उर्तीण भई क्याम्पस पढ्ने रहर सुनाए ।

लामा लामा फुलेका दारी र ढाका टोपीबाट आफ्नो पहिचान बनाएका उनले छोरा बुहारी र सम्पूर्ण परिवारबाट नै उपेक्षित भएपछि अध्ययनमा लागेको बताउदै एसईई पास भएसँग जागिर खाने रहर भएको बताए ।

‘जिउने साहारा नमिलेपछि अध्ययनलाई नै जिउने माध्यमको रुपमा अंगाल्न पुगेको हुँ,’ उनले भने, ‘समय बिताउन र विरक्तिएको मन बुझाउनको लागि पुन एक पटक बालबालिका सहर जिउने आशा जाग्यो ।’

पढाईमा उमेर, जातजाति, धर्म, महिला, पुरुष हुँदैन भन्ने भाव समाजमा फैलाउनको लागि समेत बुढेसकालमा भएपनि पढेर देखाउनु उनको लक्ष्य थियो । उनले शिक्षाले जिउने आधार सिकाएको र आफ्नो जीवनशैलीमा पूर्ण रुपमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै शिक्षा विनाको मानिस साँच्ची नै 'अन्धो' हुने अनुभव सुनाए ।

अरु विद्यार्थीहरुको तुलनामा आफ्नो उमेर बढी भएपनि अध्यनको लागि शिक्षक तथा नातिनातिना सरहका आफ्नै सहपाठी विद्यार्थीहरुबाट ठूलो प्रेरणा मिलेको उनको भनाइ छ । ‘कक्षामा अन्य विद्यार्थीहरुलाई नातीनातीना सरहको व्यवहार गरे । उनीहरुबाट पनि भरपुर माया र प्रेरणा मिल्यो । आशा छ परीक्षामा पनि सहयोग गर्नुहुन्छ,’ उनले भने । उनले सुरुसुरुमा विद्यालय आउँदा जति हतोत्साहित भए तर परीक्षाको बेलामा त्यति मनोबल बढेको बताए । दिनमा उकालो ओरालो गरेर दैनिक ३ घण्टा विद्यालय आवतजावतमा गरेको फल मिठो हुने आशातित बनेका छन् । अन्य विषयको तुलनामा गणित विषय गाह्रो लाग्ने र लेखाई क्षमता पनि कमजोर भएकाले गणीतको परीक्षा बिग्रिने चिन्ता रहेको उनले बताए ।

प्रकाशित : चैत्र ३, २०७३ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?