अपूर्व पूर्व

माधव घिमिरे

हंल्का टारजस्तो जमिन । गोरु नारेर सम्याइएको मैदान । राणा शासनका बेला सेनाले कवज गर्ने स्थान इलाम सदरमुकामको ‘ठूलो टुँडिखेल’ । सरकारी औपचारिक कार्यक्रमभन्दा अरू गतिविधि खासै नहुने यस मैदानमा कुनै बेला ‘जनता’ र राणाहरूको ‘सरकारी’ टोलीबीच रात छिप्पिंदासम्म फुटबलको प्रतिस्पर्धा हुन्थ्यो ।

अपूर्व पूर्व

फुटबलप्रति लगाव भएका राणा प्रशासकहरूले सुरु गरेको फुटबल खेलले यस बेलासम्म आइपुग्दा धेरै फड्को मारिसकेको छ ।

त्यतिबेला सरकारी टिम र स्थानीय बासिन्दाको टिमबीचको फुटबल प्रतिस्पर्धाको रोचक प्रसंग छ । खेलको कुनै निश्चित समयावधि थिएन । अहिलेजस्तो ९० मिनेट अनि अतिरिक्त समय गर्दै नयाँ नियमअनुसार खेल हुँदैनथ्यो । फुटबलमा पोख्त इलामेली खेलाडीले खेल सुरु हुनेबित्तिकैदेखि गोल गर्थे । सरकारी टिमले हार्नु हुँदैनथ्यो ऊबेला ! अनि जतिबेलासम्म उनीहरूका खेलाडीले गोल गरेर जित्दैनथे, त्यसबेलासम्म खेल जारी रहन्थ्यो । रात पर्दा पनि खेल रोकिंदैनथ्यो ।

त्यसबेला भारतको कोलकाताबाट ल्याइएका ‘पेट्रोमेक्स’ बालेर राति पनि खेल जारी रहन्थ्यो । राणा टोलीका तर्फबाट गोल भएपछि खेल सकिएको घोषणा हुन्थ्यो । यसो हुन नसकेर खेल ज्यादै लम्बिएपछि ‘जनता’ टिमका खेलाडीले उनीहरूलाई जानीजानी गोल गर्न दिनुपथ्र्यो अनिमात्र खेल सकिन्थ्यो । राणा टिम विजयी बनेपछि त्यसबेलाको पटांगिनीमा लगेर पराजित टिमका खेलाडीलाईसमेत भोजमा सहभागी गराइन्थ्यो ।

यसरी वि.सं. १९९० ताका सुरु भएको फुटबल खेल इलामका लागि पछिल्लो समय एउटा पर्व जत्तिकै बनेको छ । त्यसपछि इलाममा धेरै ठूला प्रतियोगिता हुन थालेका हुन् । तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर सिल्ड, कमल सिल्ड, ज्ञानीराम सिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्म भएको इतिहास छ । पछिल्लो समय माईभ्याली गोल्डकप पूर्वकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ ।

देश–विदेशमा छाउँदै
फुटबलमा मरिहत्ते गर्ने अग्रजहरूकै योगदानका कारण इलामले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा चर्चित प्रतिभाशाली खेलाडी जन्माएको छ । यतिबेलाका चर्चित फुटबलर नवयुग श्रेष्ठ इलामकै हुन् । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ कुनै बेलाका चर्चित स्ट्राइकर हुन् । उनले महेन्द्ररत्न बहुमुखी क्याम्पसको टिमबाट कप्तानी गर्दै धेरै प्रतियोगिता खेलेका थिए । यसैगरी धीरेन्द्र प्रधान, जीवन श्रेष्ठ, मंगेश बस्नेत, सुवास राई, दर्शन भक्तराज, लोकबन्धु गुरुङ, विनोद श्रेष्ठजस्ता प्रतिभाशाली खेलाडी इलामबाटै फुटबलमा दक्ष बनेका हुन् ।

‘राणाहरूको योगदानले फुटबल भित्रिएको इतिहास छ,’ माईभ्याली स्पोर्टिङ क्लबका अध्यक्ष धीरेन चेम्जोङ भन्छन्, ‘अब त फुटबल इलामको एउटा संस्कृति र पर्वकै रूपमा विकसित भइसकेको छ ।’ इलाममा मात्र होइन, नेपाली फुटबलमा पूर्वाञ्चल अग्रपंक्तिमा छ । पूर्वले नेपाली फुटबल धानेको छ भने पनि फरक पर्दैन ।
फरवार्ड भरत खवास मोरङका हुन् भने हाल माल्दिभ्सको क्लबमा आबद्ध गोलकिपर किरण चेम्जोङ र सुजल श्रेष्ठ धनकुटाका । पाँचथरमा ११ जनाले खेल्न मिल्ने मैदान पनि छैन तर यहाँका गणेश लावतीले राष्ट्रिय टिमबाटै खेलिसकेका छन् । अनन्त तामाङ, विशाल राई झापाका हुन् । कीर्तिमानी गोलकर्ता हरि खड्का पनि झापाकै हुन् । दक्षिण एसियाली खेलकुदमा नेपालले जितेका तीनै स्वर्णपदकका हिरो राजुकाजी शाक्य धरानका हुन् ।

विराटनगरको महेन्द्र गोल्डकप र भद्रपुरको त्रिभुवन च्यालेन्ज सिल्डको इतिहास त पञ्चायतको सुरुआतसँगै जोडिएको छ । महेन्द्र गोल्डकप विराट गोल्डकपमा रूपान्तरण भयो भने त्रिभुवन च्यालेन्ज सिल्ड २०६१ यता भएको छैन । तर, हरेक वर्षजस्तो पूर्वमा ठूला प्रतियोगिता थपिएका छन् । पूर्वका हरेकजसो जिल्लामा ठूला प्रतियोगिता आयोजना भइरहेका छन् । झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, उदयपुर, धनकुटालगायत जिल्लामा हुने यस्ता प्रतियोगितामा देशका मुख्य टिम सहभागी हुन्थे । 

चर्चित टिमहरूको सहभागितामा सामान्यतया: दसैंपछि हुने ठूला प्रतियोगिता आयोजनासँगै पूर्वाञ्चल फुटबलमय बन्छ । गाउँ, जिल्ला र क्षेत्रीयस्तरका खेल प्रशस्तै हुन्छन् । गोल्डकपहरू इलामको माईभ्याली, धरानको बूढासुब्बा, विराटनगरको विराट, धनकुटाको सहिद भीमनारायण, पाँचथरको फाल्गुनन्द, उदयपुर गोल्डकप पूर्वका प्रतिष्ठित प्रतियोगितामा पर्छन् । बिर्तामोडमा झापा गोल्डकप गत वर्षदेखि सुरु भएको हो ।

पूर्वमा हुने हरेकजसो फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न चार दशकयता सक्रिय हुँदै आएका दिलीप राईका अनुसार यस क्षेत्रमा फुटबल क्रेज अचम्मलाग्दो छ । ‘यस क्षेत्रमा प्रतिभाशाली खेलाडी त छँदैछन्,’ उनी भन्छन्, ‘प्रतियोगिता आयोजना गर्न सघाउने अनि दर्शकका रूपमा उपस्थित भएर हौस्याउने पनि फुटबल विकासका महत्त्वपूर्ण पक्ष हुन् ।’

पूर्वमा फुटबल लोकप्रिय हुनुमा स्थानीय टोल, वडादेखि गोल्डकपसम्मै नियमित प्रतियोगिता र त्यसमा राखिने आकर्षक पुरस्कार नै हो । विजेताले कम्तीमा १ लाख रुपैयाँ पाउने प्रतियोगिता पूर्वमा वार्षिक दुई दर्जन बढी हुन्छन् । २०७३ मा मोफसलकै सबैभन्दा ठूलो पुरस्कार (विजेतालाई ७ लाख) को प्रतियोगिता झापा गोल्डकप एक सातअघि सकियो ।

यस्ता प्रतियोगिता आयोजनाले स्थनीय खेलाडीलाई प्रतिभा देखाउने अवसर दिएको छ भने मोटो पुरस्कारले व्यावसायिक बन्न सहयोग गरेको छ । खेलाडीले फुटबलकै कमाइले घर बनाउन सक्ने पनि भएका छन् । ‘म्याच फि’ को लोभमा राष्ट्रिय टिमका खेलाडीहरू पनि रातारात खेल्न पूर्व आइपुग्ने गर्छन् । अझ सीमापारि दार्जिलिङ, कस्र्याङ, सिक्किम, सिलिगुडी र असमका प्रतियोगितामा खेलेको कमाइ त लोभलाग्दो हुने गर्छ ।

पुरस्कार र प्रायोजन
सामान्यतया: खेलको विजेता र उपविजेतालाई आकर्षक पुरस्कार दिने चलन छ । तर विराट गोल्डकपमा भने प्रतियोगितामा सहभागी हुने सबै टिमलाई प्रोत्साहन गर्ने प्रयास थालिएको छ । अघिल्लो वर्ष दोस्रो संस्करण सकिएको यो प्रतियोगितामा पराजित हुने सबै टिमलाई पनि प्रोत्साहन स्वरूप नगदको व्यवस्था गरिएको आयोजक समिति अध्यक्ष राजेन्द्र राउतले बताए । उनका अनुसार पहिलो चरणमा हार्ने सबै टिमले ३०–३० हजार, क्वाटरफाइनलमा पराजित हुने टिमलाई ५० हजार र सेमिफाइनलमा पराजित हुने दुवै टिमलाई एक लाख रुपैयाँका दरले प्रोत्साहनस्वरूप रकम दिइएको थियो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल, उत्कृष्ट खेलाडी, टिम म्यानेजर, डिफेन्स, गोलकिपर, मिडफिल्ड, फरवार्ड र फेयर प्ले टिमलाई पनि विशेष पुरस्कारको व्यवस्था स्थानीयदेखि ठूला हरेक प्रतियोगितामा गरिन्छ । 

खेलाडी तथा टिमलाई दिइने विभिन्न पुरस्कारका लागि स्थानीय खेलप्रेमी, समाजसेवी र औद्योगिक प्रतिष्ठानहरूले सहयोग गर्ने गरेका छन् । पूर्वमा हुने प्रतियोगितालाई सघाउन प्रायोजकका रूपमा औद्योगिक प्रतिष्ठानहरू पनि आकर्षित हुन थालेका छन् । धरानको बूढासुब्बालगायत अन्य कतिपय प्रतियोगितामा गोर्खा ब्रुअरीले प्रायोजन गर्दै आएको छ । विराटगरकै उत्पादन रमपम चाउचाउ धेरै प्रतियोगितासँग जोडिएको छ ।

रमपम उत्पादक एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार संस्थाले झापा ११ फुटबल क्लबलाई पनि तीन वर्षका लागि प्रायोजन गरेको छ । टिमका लागि चाहिने सबै सहयोग यो अवधिमा कम्पनीले गर्नेछ । यसबाहेक झापा, विराटनगर, उदयपुर, दुहबी गोल्डकपलगायत प्रतियोगितामा यो कम्पनीले प्रायोजन गर्दै आएको छ । ‘फुटबलमा नेपालको भविष्य उज्ज्वल छ,’ जाजुले भने, ‘त्यसैले खेलाडी र खेल क्षेत्रलाई माथि उकास्न औद्योगिक क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका हुन सक्छ भनेर सघाउँदै आएका छौं ।’ 

औद्योगिक प्रतिष्ठानमात्र होइन फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीले पनि प्रतियोगितामा सघाउँदै आएका छन् । देश–विदेशमा रहेका फुटबल आयोजना हुने स्थानका बासिन्दाले पनि सक्दो सहयोग जुटाउने गरेका छन् । बूढासुब्बा गोल्डकपका लागि हङकङ, बेलायतलगायत देशमा रहेका धरानेहरूले सहयोग जुटाएर पठाउँछन् भने इलामको माईभ्याली गोल्डकपलाई मलेसिया, बेलायतलगायत मुलुकमा रहेका इलामेहरूले सहयोग अभियानै चलाउने गरेका छन् । 

प्रकाशित : चैत्र २७, २०७३ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?