ट्याक्सी दुनियाँ

अखण्ड भण्डारी

बिहान झिसमिसेमा कुश्मा बजारको सडक सुनसान थियो । हामी निकै हतारमा थियौं । ट्याक्सीको खोजीमा चोकतिर पाइला छिटो–छिटो चालिरहेका थियौं । बाक्लो तुँवालोलाई मन्द हेडलाइटले चिर्दै परबाट सेतो कार हामीतिरै आयो । भाग्यवश ट्याक्सी नै रहेछ ।

ट्याक्सी दुनियाँ

‘नौ डाँडा जानुहुन्छ भाइ ?’ टीकाजीले सोधे ।
‘जान हुन्छ’, हँसिला चालकले सुरुमै ठट्टा गरे ।
‘कति लिने ?’
‘दुई हजार ।’
‘बढ्ता भो नि, पन्ध्र सय गरौं न ।’
उनले ट्याक्सी टुइँक्क मोडे । किनारा लगाए । हामी गएर ढोका तान्यौं । खुलेन । उनले ढोका होइन, सिसा मात्र खोले । हामीसँग नबोली मोबाइल थिचे ।
‘भेना, दुई जना छ, नौ डाँडा लैजाऊँ ?’
‘कति दिने भन्छ ?’ ह्यान्ड्स फ्री गरेको नभए पनि उनको मोबाइलमा उताबाट बोलेको टड्कारै सुनिन्थ्यो ।
‘पन्ध्र सय,’ उनले भने ।
‘चोकमा पोखरासम्म जाने अर्को एक जना पायो भने हालेर लैजा,’ उताबाट उत्तर आयो, ‘नभए जा । फर्किंदा उता मान्छे पाउँछ ।’
बल्ल उनले ढोका खुल्ने बनाइदिए ।
चोकमा लाम लागेका ट्याक्सी थिए । त्यहीं बार्गेनिङ गर्दै उभिइरहेका एक यात्रुछेउ रोकेर उनले भने, ‘पोखरा जाने हो ? एक सिट खाली छ ।’
ती व्यक्ति आएर चालक छेउको खाली सिटमा बसिगए । ती यात्रुले मोलतोल गर्दै गरेको ट्याक्सीका चालक भने रिसले आगो हुँदै ढोकामा आए ।
‘नरिसाऊ सोल्टी, हतार छ, टिपेर गएँ है’, उनले मुस्कानसहित फकाए । उत्तर आइनसक्दै हुइँकिइसके ।
पर्वतको पर्वते बाटो, मध्यम गतिमा गाडी गुडिरहेको थियो । धरतीमा क्रमश: उज्यालो बढ्दै थियो । सिसा टप्प लाउँदा पनि बाहिरको चिसोले मुटुसम्म धक्का दिइरहेको थियो ।
‘ट्याक्सी भेनाको हो भाइ ?’ मैले मौनता तोडें ।
‘हो सर’ उनले भने ।
‘भेनालाई एक जना थपें भन्दैनौ होला है ?’ मैले जिस्क्याएँ ।
‘त्यस्तो बेइमान छैन सर म,’ उनले मुन्टो पछाडि फर्काए ।
‘यो गाडी लिएर संसारै घुमियो नि,’ उनले प्रसंग बदले, ‘अस्ति भर्खरै गोरखपुर (भारत) रिजर्ब गएँ ।’
‘गोरखपुर गएको कति पैसा लिन्छौ ?’
‘त्यो त भेनाले लियो,’ उनले भने, ‘मलाई जा भन्यो, गएँ ।’
‘भेनाले तिमीलाई चाहिँ तलब दिन्छन् ?’
‘दिंदैन सर ।’
‘अनि फोगटमा कुदाउँछौं गाडी ?’
‘बैंकमा हालिदिन्छ नि ।’
‘मेरो एउटा ट्याक्सी चालक साथी छ,’ अनि, उनी भन्नुभन्दा पहिल्यै गाडी बत्याउने गरी हाँस्न थाले ।
‘भन न, पछि हाँस्नु,’ मैले भनें, ‘अगाडि बाटो पनि हेर ।’
‘ऊ भन्छ— ड्राइभरर्स लाइफ इज गुड लाइफ एभ्री टर्निङ एभ्री वाइफ,’ उनले भने, ‘कस्तो बदमास ?’
‘तिमी पनि त्यस्तै हौ कि क्या हो ?’
‘मा कसम सर, मलाई त यस्तो कुरा मनै पर्दैन,’ उनले खित्का छाड्न रोकेनन्, ‘साला त्यो त एक नम्बरको फटाहा नै हो ।’
‘एक दिन मेरो ट्याक्सीमा,’ उनी हौसिएर एउटा घटना सुनाउन थाले, ‘दुई जना आए, एउटा केटा, एउटा केटी ।’
‘अनि ?’
‘बेनी जाऔं भने । बूढाबूढीजस्तो लाग्यो । उनीहरू पछाडि बसे ।’
‘अनि के भयो ?’
‘उनीहरू चल्न, जिस्किन र मनपरी गर्न थाले । मेरा आँखा मिररबाट त्यतै पर्थे । कतै ट्राफिक देख्न पाए अगाडि ठ्याक्कै रोकेर देखाइदिन मन थियो । त्यति लामो बाटोमा त्यही दिनचाहिँ एक जना पनि पुलिस भेटिएन ।’
उनी भन्दै गए, ‘बेनी पुगेर उत्रिए । त्यहीं नजिकै मेरो छेमाको पसल थियो । म त्यहीं चिया खाएर बसें । उनीहरू पनि त्यतै आए । एक छिनमा त झगडा पो गर्न थाले । केटाले तेरो बूढालाई फोन गरिदिऊँ भन्दै धम्क्याउन थाल्यो । फर्किएर कुश्मा नै जा भन्दै लछारपछार गर्दै थियो ।’
‘कसैले पैसा नदिई ठगेको छैन तिमीलाई ?’ मैले प्रसंग बदलें ।
‘साँच्चै भनूँ ?’ उनले अड्को राखे ।
‘झूटो भन्छौ भनेर म सोध्छु र ?’
‘हाहाहाहाहा,’ पहिलो उत्तर त हाँसेरै टारे ।
‘ब्याड लक सर’, अनि जोडे, ‘आजसम्म त्यस्तो कोही परेको छैन । मलाई त परोस्जस्तो लाग्छ । हामीजस्तालाई ठग्नेलाई ठूलाले उसरी नै ठगिदिन्छन् । मलाई त टेन्सनै छैन ।’
‘बेलुका यसो चिरिप्प त पार्छौ होला नि ?’ मैले फरक प्रश्न सोधें ।
‘छ्या–छ्या–छ्या,’ उनले भने, ‘मलाई रक्सीको गन्धै मन पर्दैन ।’
त्यसमा पनि उनले एउटा घटनै सुनाए, ‘बुटवल छेउ । हाइवेको पसलमा एकपल्ट पानी खान मागें । भरि गिलास दिए । ठुस्स गनायो । कलको पानी यस्तै होला भनेर स्वाट्टै खाएँ । मलाई त फनन्नै घुमायो नि ।’
‘के गरेको यो भनेर सोधेको त, सबै गाडीवालाले यसलाई पानी भनेरै माग्छन् पो भन्छ,’ उनी फेरि हाँसे, ‘त्यहीं ओछ्यान मागेर चार घण्टा सुतें । बल्ल हिंड्न सकें ।’
उनका कथा सुन्दासुन्दै नौडाँडा आइपुगियो ।
‘तिम्रो नाम के हो भाइ ?’ झर्दाझर्दै मैले सोधें ।
‘सरिफ अन्सारी ।’
‘धेरै गफ गरें,’ पैसा समाउँदै अप्ठ्यारो मानेजस्तो पनि गरे, ‘मनमा पापचाहिँ छैन है सर मेरो ।’
०००

भोलिपल्ट पोखराबाट काठमाडौं उड्नु थियो । बिहान ९:२० को टिकट थियो । हल्लन चोकमा मलाई ट्याक्सी चढाउन उनै टीकाजी गए । किनारामा लस्करै ट्याक्सी थिए । सबैभन्दा अगाडिको चालकले हात तान्दै सोधे, ‘दाइ कहाँ जाने ।’
‘एयरपोर्ट’, टीकाजीले भने ।
‘बस्नुहोस्’, उनले ढोका खोलिदिए ।
‘कति लिने ?’
‘तीन सय ।’
‘मिटरमा नजाने ?’ मैले सोधें ।
‘पोखरामा पनि मिटरमा गएर पोसाउँछ र ?’ उनले अलि बाउँठे उत्तर दिए ।
‘यहाँ पालोअनुसार जानुपर्छ दाइ’, त्यतिन्जेल मलाई तीन जना चालकले घेरिसकेका थिए ।
‘कुनको पालो हो त अहिले ?’ मैले सोधें ।
जसले पनि आफ्नै ट्याक्सीतिर देखाउँथ्यो ।
‘तपाईंचाहिँ कतिमा लाने ?’ अर्कालाई सोधें ।
‘जुनमा गए पनि पैसा त उही हो,’ सबैले भने, ‘तीन सय ।’
तीन सय तिर्नुभन्दा पनि सबैभन्दा महाभारत परेको कुरो थियो, कुन ट्याक्सीमा जानु ? एउटामा गए बाँकीले कुट्लान्जत्तिकै वातावरण थियो ।
त्यही बेला परबाट अर्को ट्याक्सी आयो । अघि बढेर टीकाजीले हात देखाए । रोकियो ।
‘एयरपोर्ट कतिमा लाने ?’ उनले सोधे ।
‘दुई सय पचास,’ चालकले भने ।
म त्यसमै चढें ।
सबै चालकले त्यो ट्याक्सी घेरे, ‘तँ भाउ बिगार्ने ?’
‘कसले राखिदिएको भाउ हो ? सरकारले हो ?’ ती चालक पनि कड्किए, ‘जति पायो त्यति पैसा मागेर भाउ भन्ने ?’
उनीहरू रोक्न खोज्दै थिए, उनले किचौंलाझै गरेर हुइँक्याइहाले ।
‘फटाहाहरू जे पायो त्यही गर्छन् । ग्राहकलाई मीठो बोलीले कन्भिन्स गरेर लानु छैन । घेरेर राख्छन्’, ट्याक्सी चलाउँदै उनी एक्लै बर्बराइरहेका थिए, ‘टुरिस्टलाई ठग्न पल्किएर नेपालीलाई पनि ठग्न खोजेका ।’
‘टुरिस्ट भनेको बिरालोले बाटो काटेजस्ता हुन्, चट्ट काट्छन्, हराउँछन् । नेपाली भनेका सधैं भेट हुन्छन् । राम्रो वचन गर्‍यो भने फेरि–फेरि उसैलाई खोज्छन्,’ उनको एकालाप रोकिएन, ‘रेट भन्छन्, केको रेट ? मिटरमा जानु हो भने सय रुपैयाँ उठ्दैन । दुई सय पचास पनि धेर हो । खुसी पारेर पो लिनुपर्‍यो नि ।’
विमानस्थल पुगुन्जेल उनी बोले, म चुप रहें ।
०००

यो यात्रामा ट्याक्सी संयोग रोचकै रह्यो । सुरुमा काठमाडौंबाट पोखरा उड्ने ‘एयरपोर्ट टाइम’ हुन लाग्दा म ठिमी चौकमै थिएँ । कोटेश्वरको सम्भावित जाम छिचोल्नु थियो । बेलामा पुग्न सक्ने/नसक्ने अन्योल थियो ।
शंखधरचोकको डिलमुनि लस्करै ट्याक्सी थिए । सबै चालक एकै ठाउँ गफ चुटिरहेका थिए । मलाई देख्नासाथ सोधे, ‘कहाँ जाने ?’
‘एयरपोर्ट,’ मैले भनें ।
‘अहँ, नजाने,’ सबैले एकै मुखले भने ।
ट्याक्सी नभई पुग्ने उपाय नै थिएन । मसँग आग्रह गर्नुको विकल्प रहेन ।
‘जति माग्नुहुन्छ, दिन्छु,’ मैले भनें, ‘एक जना जो भए पनि जाऊँ न ।’
उनीहरूले अलि पछाडिको ट्याक्सी देखाइदिए ।
‘कहाँ जाने ?’ उही प्रश्न आयो ।
‘एयरपोर्ट,’ उत्तर सुन्नासाथ सिसा लगाउँदै नबोली उनी अघि बढे ।
अचम्म लाग्यो, ‘एयरपोर्ट’ जान किन मान्दैनन् ? काठमाडौंका ट्याक्सीमा प्रहरीले मिटर अनिवार्य गरेको छ भन्ने मैले सुनेको थिएँ । मलाई मिटरमा पैसा तिर्न होइन, अब त जति तिरेर भए पनि बेलामा पुग्न बढ्ता जरुरी थियो ।
‘मिटरमा सोच्नुभयो होला, पर्दैन,’ मैले अर्कालाई आग्रह गरें, ‘जति लिनुहुन्छ, दिन्छु ।’
उनले माथिदेखि तलसम्म हेरे । अनि, इन्कार गरे, ‘मेरो अन्तै जानु छ ।’ सायद तिनीहरूले मलाई प्रहरी वा कुनै अधिकारी ठाने, जसले विमानस्थल जाने नाममा अनुसन्धान गरिरहेको छ । वा, उनीहरू अन्य केही कारणले विमानस्थल जान मान्दैनन् ।
समय गुडिरहेको थियो, ट्याक्सी गुडाउनै सकिएन ।
झन्डै १५ मिनेट फोगटमा गइसक्यो । एकपछि अर्कालाई बिन्ती गर्दै गएँ । भाग्यवश, निकै नियालेपछि एक चालकले भने, ‘पाँच सय लाग्छ ।’
‘जाऊँ,’ म त यति खुसी भएँ, मानौं अति दुर्लभ कुरा भेट्टाएँ ।
‘ट्याक्सी आफ्नै हो, भाइ ?’ बाटोकटनी सोधिदिएँ ।
‘साहुको ।’
‘दिनको कति तिर्नुपर्छ ?’
‘हजार ।’
‘त्यत्रो तिर्नुभन्दा आफैं किन्नु नि ।’
‘अब विचार गर्दै छु सर,’ उनले भने, ‘भूकम्पपीडितका नाममा आउने ट्याक्सी अब हामीले किन्ने त हो ।’
‘हँ ?’ कुरो सुन्दा अचम्म लाग्यो । सरकारले भूकम्पपीडितका लागि १ हजार ५ सयवटा ट्याक्सी नम्बर गोला प्रथाबाट दिँदै छ । केही महिनाअघि यसको आवेदन माग्दा करिब १ लाख ५० हजार (सय गुणा) बढीले फारम भरेर बुझाएका थिए । यही चैतभित्र भाग्यशाली छान्ने सरकारले भनेको थियो, चुनावका कारण भर्खरै जेठमा सारेको छ ।
‘त्यो ट्याक्सी अब हामीले त किन्न हो,’ उनले दोहोर्‍याए ।
‘भाग्यले परेको ट्याक्सी कसले बेच्छ होला र ?’
‘के कुरा गर्नुभएको ? सबैजसोले बेच्ने नै हुन् ।’
‘किन ?’
‘सरकारले नम्बर दिने हो, ट्याक्सी दिने होइन । ट्याक्सी किन्ने पैसा भूकम्पपीडितसँग कहाँबाट होस् ? बैंकबाट निकाल्नु हो भने आधा आफैं हाल्नुपर्ने नियम आइसक्यो । बरु नम्बरै बेच्छन्, अलिकति पैसा लिन्छन्, घर बनाउँछन् ।’
‘कतिमा पाइन्छ त नम्बर ?’
‘५–६ लाखसम्म त मै हाल्छु । तर अहिल्यै यसमा बिचौलिया कीरासरि भइसके । जसलाई पर्छ, तिनले ३–४ लाखभन्दा धेरै नपाउलान् । बिचौलियाले झ्याप्पै खाइदिन्छन् ।’
‘तिमी त बिचौलिया होइन नि ?’
‘होइन सर, मलाई त्यो त मनै पर्दैन । बिचौलिया भएर मान्छे विदेश पठाएको भए अहिलेसम्म करोडपति भइसक्थें । यसरी ट्याक्सी हल्लाएर बस्नुपथ्र्यो र ?’
ट्याक्सी कोटेश्वरको जाममा फस्यो । ‘एयरपोर्टबाट फर्किंदा प्यासेन्जर पाउँछौ होला नि ?’ मैले अर्कै प्रसंगको प्रश्न गरें ।
‘कहाँ पाउनु सर,’ उनले भने, ‘देख्नुहुन्न तानातान ? एउटा टुरिस्ट देख्यो भने चारतिरबाट चारै हात–खुट्टा तान्छन् । पुलिस चुप लागेर हेरिरहन्छ ।’
‘तिमीचाहिँ कान तान्छौ कि ?’ मैले ठट्टा गरें ।
‘हाहाहाहा...,’ उनी दिल खोलेर हाँसे, ‘म त बरु आफ्नै कान समाउँछु, त्यस्तो गर्दिनँ । बेइज्जत ।’
‘अनि कसरी कमाउँछौ त ?’
‘हजुरहरूजस्ता प्यासेन्जर पाए खुसी पार्‍यो, टिप्स आउँछ,’ उनी त ख्यालख्यालमा चिप्लो पो घस्न थाले, ‘दुई–तीन टिप गर्न पाए पुगिहाल्छ । गति छाड्नै पर्दैन ।’
विमानस्थल पुग्दा जहाजको उड्न लेखिएको समय भइसकेको थियो ।
‘सर,’ हतारिएर झर्दै गर्दा उनले भने, ‘लामो जाममा पर्‍यो । ५० रुपैयाँ थपिदिनुभएन भने त घाटै लाग्छ ।’
बोल्ने फुर्सदै थिएन । मागेजति थमाएर दौडिएँ । भित्र बोर्डिङ पास दिन बन्द भइसकेको रहेछ । उडान समय नजिकिइरहेको थियो । जहाज कम्पनीका कर्मचारीलाई आग्रह गरेपछि धन्न मिलाइदिए । छुट्टै भ्यानमा राखेर जहाजसम्म पुर्‍याइदिए ।
र त सरिफजस्ता सरिफ चालकसँग भेट्न जुर्‍यो ।

प्रकाशित : वैशाख २, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?