खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित

चन्द्रशेखर अधिकारी

काठमाडौं — दक्षिण कोरियाका नवनिर्वाचित १९ औं राष्ट्रपति मुन जेए–इन ‘खुशी’ र ‘शान्ति’को खोजीमा नेपाल आइरहने ब्यक्ति हुन् । बुद्धको जन्मस्थलले भन्दा पनि उनलाई नेपालीको बुद्धभाव, मिलनसार र हिमालीले यता तानिएका थिए । उनी नेपाल आउँदा ठूला तारे होटलभन्दा पनि सामान्य ‘होम–स्टे’ तथा गाँउका ‘होस्टेल’ मा गएर बस्न रुचाउथे । उनीनेपालको सुन्दरतालाई नियाल्दै पदयात्रामा निस्कन्थे । बेलाबेलामा नेपालको राजनीतिक विषयमा पनि जिज्ञासु हुन्थे ।

खुशी र शान्तिका लागि नेपाल आइरहने व्यक्ति कोरियामा राष्ट्रपति निर्वाचित

उत्तर कोरियाली शरणार्थीका सन्तति मुन उत्तर कोरियालाई दवावमा राख्दै वार्ताबाट समाधान खोज्ने मध्यमार्गी पक्षधर शान्तिको खोजीकै लागि भन्दै पदयात्राका लागि नेपाल आउने गरेको पनि उनीसँगै पदयात्रामा सहभागि हुने गरेका नेपालीले कान्तिपुरसँग भने । भुकम्पपछि बढि प्रभावित लामटाङ यात्रामा उनले पदयात्रा सँगै भुकम्प पछिको अवस्था हेर्न र आफ्नो तर्फबाट सहयोग गर्न गत बर्षको मे पहिलो साता उनी नेपाल आएका हुन् ।

त्यसको चार बर्षअघि पनि उनी नेपाल आएका थिए । उनले यहाँको दुतावासले जानकारी पाउने गरि नै दुई पटक नेपाल आएको भएपनि जानकारी दिनु पर्ने हैसियत वेगर पनि उनी नेपाल आउने गरेको कूटनीतिक स्रोतले बतायो । उनको प्रत्येक भ्रमण कम्तिमा दुई साताको हुने गरेको थियो । दक्षिण कोरियाली क्षेत्रबाट अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परिचालन प्रति असन्तुष्ट मुन सन् १९७० को दशकमा तत्कालिन सैनिक साशक पार्क चुङ ही विरुद्ध प्रदर्शन गर्दा जेल सजाय भोगेका ब्यक्ति हुन् । जेल यात्रापछि दक्षिण कोरियाको विशेष सुरक्षा बलमा काम गरेका बेला उनी मानव अधिकारको वकालतमा निकै सक्रिय बने । त्यति बेलैदेखि उनी शान्तिको खोजीमा हिड्ने गरेका हुन् ।

त्यही पहललाई अहिले उनले कोरियाली प्रायद्वीपको शान्तिमा समर्पण रहेको उल्लेख गरेका छन् । मुनले विगत १० वर्षदेखि सोल र डीसीले उत्तर कोरियामाथि लिएको नीतिमा नै परिवर्तन आउन सक्ने विश्लेशकहरुको धारणा सार्वजनिक भएको छ । नेपालको आन्तरिक द्वन्द्वको सफल अवतरणबाट निकै प्रभावित मुनले द्वन्द्व होइन शान्तिको पहल नै अवको विश्वको अवधारण हुनुपर्ने बताउँदै आएका छन् । सायद यसैले होला उनी यहाँको शान्ति प्रक्रिया र राजनीतिमा विशेष रुचि राख्दै भ्रमणको समयमा जिज्ञासु बन्ने गरेको उनलाई पदयात्रामा सहयोग गर्ने भक्तराम लामिछानेले गत बर्षको उनीसँगको पदयात्रा स्मरण गर्दै कान्तिपुरसँग भने, ‘कुराकानीले राजनीतिज्ञ हुन भन्ने थाहा हुन्थ्यो । तर, यो स्तरमा उनको ख्याती दक्षिण कोरियामा छ भन्ने हामीलाई पनि आंकलन थिएन ।’

उत्तर कोरियालाई प्रतिबन्ध बढाउँदै लगेको अवस्थामा वार्ताबाट समाधान गर्नुपर्छ, सधै एक्ल्याएर समाधान हुँदैन भन्ने मध्यमार्गी धारका उनको विजयले कोरियाली प्रायद्वीपको राजनीतिमा समेत परिवर्तन आउने आंकलन गर्न थालिएको छ । मध्य वामपन्थी डेमोक्रेटिक पार्टीका मुन सन् २०१२ को निर्वाचनमा पार्क गुन हेसँग पराजित भएका थिए । उनले आफूलाई पार्कको भ्रष्टाचार प्रकरणको समयबाट देशलाई सुशासनमा ढाल्दै न्यायको बाटफमा लैजाने बाचा गरेका छन् ।

नेपालमा भुकम्प गएको जानकारी पाएपछि निकै अशान्त देखिएको बताउदै उनी भुकम्प गएको बार्षिकीमा नेपाल आएका थिए । भुकम्पको समयमा उनी कोरियामा कार्यरत नेपालीलाई घर जान र त्यहाँबाट सहयोग जुटाउने ब्यवस्था मिलाउन सक्रिय रहेका थिए । उनले नेपाली दूतावासमा सहयोग पुर्‍याउन समेत पहल गरेको दूतावास अधिकारीहरुले जनाएका छन् । उनले नुवाकोट हुँदै बढि प्रभावित लामटाङ क्षेत्रको पदयात्रा गर्ने क्रममा नुवाकोटको एक विद्यालयमा श्रमदान गरे । ‘आरुखर्क माध्यामिक विद्यालय, नुवाकोटमा कामदारसंगै आफैले इट्टा बोकेर विद्यालय पुर्ननिर्माणमा सहभागि भए । त्यसको लागि एक लाख सहयोग समेत गरे,’ उनका सहयोगी गाइड लामिछानेले भने, ‘विद्यालयको लागि एक लाख बढिको शैक्षिक सामाग्रि र विज्ञान उपकरण उपलब्ध गराए ।’ त्यसअलवा उनले बालगृह भ्रमण गर्दै बालबालिकाको अवस्था बारे जानकारी लिएका थिए ।

उनी नेपाल आएको र भुकम्प प्रभावित क्षेत्र घुमेको विषय काठमाडौं स्थित कोरियाली दूतावासले पनि पुष्टि गरेको छ । दूतावास स्रोतले भन्यो, ‘उहाँ पहिले पनि आउनु भएको थियो । पछिल्लो भ्रमणमा हामीले जानकारी पाएपछि भेटघाट गरे पनि उनले यो मेरो नीजि भ्रमण हो भनेपछि सुरक्षाको लागि सरकारलाई खवर गर्ने बाहेक अन्य काम भएन ।’ उनी नुवाकोटबाट रसुवा स्याप्रुवेसी हुँदै लामटाङ भ्याली पुगेका थिए ।

‘निकै साधारण ब्यक्तिको रुपमा उनलाई मैले पाएँ । स्थानीयसंग निकै घुलमिल भएर काम गर्नसमेत सक्ने रहेछन,’ लामिछानले तत्कालिन अवस्था स्मरण गरे । कोरियाबाट फर्केर नेपाल आएपछि आरम्भ गरेको उनको ट्राभल एण्ड ट्रेकमार्फत नै उनी हिमाली क्षेत्रको पदयात्रामा गएका थिए । उनी लामटाङ पुग्दा भुकम्पले ध्वस्त उक्त क्षेत्रमा कुनै सुधार आएको थिएन । तर, उनले त्यहाँ ट्रेकिङ् गरे । ‘त्यो क्षेत्रको बाटोमा ढुंगा पन्छाउदै उनी हिमाली क्षेत्रको भ्रमण गरे,’ लामिछानेले सम्झिए, ‘यस्ता ब्यक्ति अहिले त्यहाँको राष्ट्रपति भन्दा पत्यार समेत लागि रहेको छैन ।’ नेपालको पदयात्रामा दुई सहयोगीसहित आएका थिए । त्यसपछि उनी काठमाडौं फर्के जानुअघि उनको श्रीमती पनि काठमाडौं आएर यतैबाट भुटान गएको लामिछानेले बताए ।

उनी प्रजातान्त्रिक दलबाट ४१ प्रतिशत मत ल्याएर राष्ट्रपति चुनिएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वीले २४ दशमलव ३ प्रतिशत मत ल्याए । यद्यपी, राष्ट्रपतिमा १२ जना प्रतिस्पर्धी थिए । मुन यसअघि २०१२ को राष्ट्रपति निर्वाचनमा भने पराजित भएका थिए । मुन आप्रवासी कामदारको समस्याप्रति उदार नीति लिने कोरियाली उच्च नेता हुन् । नेपालीहरु कार्यरत कोरियामा उनको समयमा थप सहज र कोटा बढ्न सक्ने अधिकारीहरु बताउँछन् । नेपालीप्रति उनको सकारात्मक भाव मात्रै होइन ठुलो विश्वास रहेको समेत लामिछानेले बताए । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले मुनको विजयप्रति बधाई र सफल कार्यकालको शुभकामना समेत दिइसहेका छन् ।

तस्बिरहरु: सौजन्य/भक्तराम लामिछाने ।

प्रकाशित : वैशाख २७, २०७४ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?