कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रा : कंकाल सम्याएर उभिएको विकास

मैले रुवान्डाको जातीय द्वन्द्वको प्रश्न गर्दा अयुव थोरै मुस्कुराए । अनि सचेत बनाउँदै भने, ‘भुलेर पनि स्थानीय व्यक्तिसँग जातीय द्वन्द्वका कुरा नसोध्नुहोला ।’
जीवा लामिछाने

६ अप्रिल १९९४ को साँझ । रुवान्डाका राष्ट्रपति जुभेनाल हाबियारिमाना र बुरुन्डीका राष्ट्रपति सिप्रियों एन्टारियामिरासहित एक दर्जन विशिस्ट यात्रु बोकेको जहाज किगाली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै थियो । त्यही बेला जहाजमा रकेट लाउन्चर प्रहार गरियो । दुई देशका राष्ट्रपतिलगायत उच्च नेतृत्वलाई लक्षित गर्दै जमिनबाट हानिएको उक्त रकेट लाउन्चरका कारण ठूलो विस्फोट भयो र जहाज ढुन्मुनिँदै विमानस्थल नजिकै रहेको राष्ट्रपतिको घरछेउमै बज्रियो । जहाजमा रहेका दुई देशका राष्ट्रपतिसहित सबैको दु:खद अवसान हुन पुग्यो ।

यात्रा : कंकाल सम्याएर उभिएको विकास

यो खबर संसारभरि आगो सल्केसरी फैलियो । जुन गतिमा राष्ट्रपतिहरू मारिएको खबर फैलिँदै थियो, त्यही गतिमा रुवान्डाली सेना सडकमा आए र राष्ट्रपति हत्याको योजना बुन्नेलाई खोज्ने निहुँमा अन्धाधुन्ध गोली बर्साउन थाले । पहिलो निसानामा परिन्, महिला प्रधानमन्त्री अगाथा युलिंगियिमाना । प्रधानमन्त्रीको हत्यासँगै उनका दस जना बेल्जियन सुरक्षागार्ड बर्बरतापूवर्क मारिए । एकै रातको अन्तरमा एउटा देशका राष्ट्रपति र प्रधानमन्त्री मारिएका खबर सञ्चारमाध्यममा आउन नपाउँदै राजधानी किगाली सहरमा त्यही रात करिब हजार व्यक्तिलाई गोली र हँसिया आकारको धारिलो फलामे हतियार प्रहार गरी हत्या गरियो । सयौं महिलामाथि बलात्कार सुरु भयो ।

त्यो भयानक रातपछि बिहान सूर्य उदय भए पनि रुवान्डामा सत्य उदय हुन सकेन । बरु उज्यालो हुँदै गर्दा हुतु जातिले तुत्सी जातिलाई देख्नासाथ खेदी–खेदी मार्न थाले । जसले उनीहरूको बचाउ गर्छ, त्यस्ता नरमपन्थीलाई आफ्नै जातिहरूले हत्या गर्न बाँकी राखेनन् । यस्तो बेला पत्रकारहरू सत्य समाचार सम्प्रेषण गर्नुको साटो राष्ट्रिय रेडियोबाट अरू जातिको हत्या गर्न उक्साउने समाचार प्रसारण गर्न थाले । अर्का जातिका मानिसको हत्या गर्नु जायज ठहर्‍याउने खालका खबर सम्प्रेषण हुन थालेपछि जातीय द्वन्द्व उत्कर्षमा पुग्यो । देशका रक्षक सेना र प्रहरीहरू नै व्यक्ति हत्यामा उत्रिए । त्यसमाथि वर्षौंदेखि तयार भएका सशस्त्र समूहहरूको बर्बरता बढ्न थाल्यो । मानिसमा दानवीकरण यति बढेर गयो कि सय दिनभित्र झन्डै १० लाख मानिस मारिए । करिब २० लाख मानिस शरणार्थीका रूपमा छिमेकी देशमा शरण लिन पुगे । ७ लाख अपांग भए । पूरै देश श्मशानघाटझैं प्रतीत हुन थाल्यो । झन्डै सय दिनको बीभत्स नरसंहारपछि वर्तमान राष्ट्रपति पल कगामेले नेतृत्व गरेको रुवान्डा प्याट्रियोटिक फ्रन्टले नागरिकहरूको सहानुभूति पाउँदै युद्धमा विजय हासिल गर्‍यो ।

...

इतिहास, राजनीति र भूगोल मेरा रुचिका विषय हुन् । मस्कोमा व्यवसायमा आवद्ध रहँदा संसारभरिका सचेत नागरिकले थाहा पाएझैं यी खबर मेरा कानमा पनि ठोक्किएका थिए । त्यो एउटा यस्तो जातीय द्वन्द्व थियो, जसले हिटलरले गरेको मानव हत्यालाई समेत बिर्साइदिन्छ कि भन्ने भान परिरहेको थियो । यही कारण २२ वर्षयता रुवान्डाका कुनै समाचार मेरो कानमा पर्नेबित्तिकै मेरो अचेतन मन ती दारुण समाचारका कारण सचेत भइहाल्थ्यो । के कारणले संसार हल्लाउने त्यो जातीय द्वन्द्व भयो, अहिले त्यो देशको अवस्था कस्तो होला भन्ने जान्न हुटहुटी लागिरहन्थ्यो । बेला–बेलामा रुवान्डाले अकल्पनीय प्रगति गर्न थालेको समाचार आउँदा मैले यस देशलाई पनि मेरो भावी यात्राको गन्तव्य सूचीमा राखेको थिएँ ।

‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैं २०१६ डिसेम्बरमा गैरआवासीय नेपाली संघ अफ्रिकाको दोस्रो क्षेत्रीय बैठक तान्जानियाको दार–ए सलाम सहरमा हुने निश्चित भयो । मेरो मनमस्तिष्कमा जातीय द्वन्द्वको घाउ र समाचारमा आइरहेको रुवान्डाको प्रगति हेर्ने इच्छालाई यो बैठकले नजिक ल्याइदियो । तान्जानिया बैठकमा भाग लिनका लागि निम्तो आउनेबित्तिकै मैले रुवान्डा यात्राको तयारी सुरु गरिहालें । तान्जानियामा हुने कार्यक्रममा पुग्नुअघि नै २२ डिसेम्बर २०१६ मा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तसँग म रुवान्डा उत्रिसकेको थिएँ ।

राजधानी किगाली उत्रिसकेपछि मैले सबैभन्दा पहिलो र पटक–पटक सोधेका प्रश्न थिए, ‘अहिले रुवान्डामा जातीय सद्भाव कस्तो छ ? को हुन् तुत्सी अनि को हुन् हुतु ? एक सय दिनमा दस लाख मानिसको हत्या कसरी सम्भव भयो ? हत्याका योजनाकारहरूलाई कारबाही भयो कि भएन ?

हामीलाई किगाली विमानस्थलमा स्वागत गर्न आएका थिए, त्यहींको रेडिसन ब्ल्यु होटलको व्यवस्थापन विभागमा कार्यरत अयुव अली । वीरगन्ज निवासी अयुवजी रुवान्डामा सेवा क्षेत्रमा माथिल्लो पदमा पुग्ने नेपाली हुन् । विमानस्थलबाट होटलसम्म पुग्दा मैले रुवान्डाको जातीय द्वन्द्वको प्रश्न गर्दा सुरुमा यिनै कर्मवीर अयुव थोरै मुस्कुराए । त्यसपछि सचेत बनाउँदै भने, ‘भुलेर पनि स्थानीय व्यक्तिसँग जातीय द्वन्द्वका कुरा नसोध्नुहोला । अब यहाँ जातीयताको घाउमा खाटो बस्न थालेको छ । उनीहरू यो घाउलाई मल्हमपट्टी लगाएर बसेका छन्, चाँडोभन्दा चाँडो निको पार्न चाहन्छन्, कोट्याउनु हुन्न ।’

अयुवजीको सल्लाहलाई मैले शिरोधार्य गरें । तैपनि मलाई सहरभरि उस्तै देखिने कालो वर्णका मानिसहरूमध्ये को तुत्सी र को हुतु जातिका हुन् भनेर चिन्ने औडाहा भइरह्यो । मेरै आग्रहमा अयुवले तुत्सी र हुतु जातिका मानिस चिनाइदिए । तुत्सीहरू लामो नाक, अग्ला र पातलो कद र अलिकम श्यामवर्णका हुँदा रहेछन् । हुतु जातिको नाक अलि मोटो, कद अलि होचो तर बलियोजस्तो देखिँदो रहेछ ।

शताब्दीयौंदेखि मिलीजुली एउटै भूमिमा बसेका यी दुई जातिबीच सय वर्षअघिसम्म कुनै समस्या थिएन । उनीहरू एउटै भाषा बोल्थे । स्थानीय रूपमा जुन व्यक्तिले प्रभाव पार्न सक्यो, उसैको शासन चल्थ्यो । त्यसलाई हाम्रोतिर मुखिया प्रथाजस्तै मान्न सकिन्थ्यो । दुवै जातिहरू पञ्च–भलाद्मीको कुरा मानेर आफ्नो जीवन चलाउँथे । बहुसंख्यक तुत्सीहरू पशुपालनमा आश्रित रहन्थे भने हुतु जाति खेतीपातीमा । पशुपालन मुख्य आय भएका कारण जोसँग बढी पशु छन्, उसलाई समाजमा अलि धनी व्यक्ति मानिन्थ्यो । यही कारण पशुपालन गर्ने तुत्सी समाजमा धनी मानिन्थे । तुत्सीको जनसंख्या १५ प्रतिशत र हुतुको ८४ प्रतिशतभन्दा बढी थियो । समाजमा बहुसंख्यकले अल्पसंख्यकमाथि शासन गर्ने लोकतान्त्रिक प्रचलन सुरु भइसकेको थिएन । यही कारण पशुपालन गर्ने तुत्सी केही शक्तिशाली थिए र त्यसलाई समाजले स्वीकार गरेको थियो । त्यही किसिमको आचारसंहिता कायम भएको रहेछ ।
जसै अफ्रिकामा पश्चिमाहरूको चासो बढ्यो, उनीहरूलाई विभाजित गरेर त्यहाँ शासन गर्न थालियो । यही विभाजन नै पछि गएर जातीय विद्वेषको कारण बनेको रहेछ । पहिले जर्मनहरूले रुवान्डालाई उपनिवेश बनाएका रहेछन् । तर प्रथम विश्वयुद्धमा जर्मनीको हार भएपछि बेल्जियनहरू उनीहरूमाथि शासन गर्न आइपुगे । सन् १९२६ पछि तुत्सीहरूलाई विश्वासमा लिएर उनीहरूमार्फत रुवान्डामा शासन गर्न थालेका रहेछन् । पहिलेदेखि नै तुलनात्मक रूपमा सम्पन्न मानिने तुत्सीहरूले पश्चिमाहरूको संगतपछि शिक्षामा राम्रो प्रगति गर्न थाले । सत्ताको नजिक भएका कारण स्वाभाविक रूपमै उनीहरूको व्यापार र उब्जाउ भूमिमा अधिकार बढ्दै गयो । त्यही शासनकालमा सरकारी परिचयपत्रमा हुतु र तुत्सी जातिका भनेर उल्लेख गर्न थालियो । यसको विरोधमा सन् १९५७ मा हुतु समुदायका बौद्धिक व्यक्तिहरू एकजुट भएर तुत्सीविरुद्ध संघर्ष गर्न एउटा घोषणापत्र बनाए । यो घोषणापत्र तयार पार्न पश्चिमा देशका तथाकथित बौद्धिक व्यक्तिहरूको सहयोग थियो भन्ने गरिन्छ, जसरी पश्चिमाहरूले केही स्वार्थीहरूलाई पक्षपोषण गरेर अहिले हामीकहाँ सामाजिक सद्भाव खल्बल्याएका छन् । हुतु जातिहरू संघठित भएर संघर्ष गर्न थालेपछि तुत्सीहरू भागेर छिमेकी देशको शरणमा पुगेर विदेशबाटै हुतु जातिविरुद्ध सशस्त्र संघर्षको तयारी गर्न थालेछन् । यसरी देशभित्र हुतु र बाहिर तुत्सीजातिहरूले आन्तरिक संगठन बलियो बनाउन थालेका रहेछन् ।

खासमा बेल्जियनहरूले जनताको ध्यान अर्कोतिर मोड्न जातीय रूपमा विभाजन गरेर एकअर्कामा लडाउने उपक्रम सुरु गरेका थिए । पछि यो संघर्ष उनीहरूकै विरुद्ध खनियो र रुवान्डा स्वतन्त्र भयो । रुवान्डा स्वतन्त्र भएसँगै हुतुहरूले जातीय नारामा आधारित भएर निर्वाचन लडे र बहुसंख्यक भएका कारण स्पष्ट बहुमत प्राप्त गरे । हिजो अल्पसंख्यक रूपमा जुन अधिकार तुत्सीहरूले प्रयोग गरेका थिए, अब त्यो हुतुहरूले प्रयोग गर्न थाले । तुत्सीहरूका सम्पूर्ण अधिकार खोसेर हुतुलाई दिन थालियो । यसले प्रजातन्त्रमा पनि जातीय विभाजन स्पष्ट गर्‍यो । अधिकारबाट वञ्चित गरिएका तुत्सीहरूले शासकहरूमाथि सशस्त्र संघर्ष सुरु गरे । देशलाई द्वन्द्वबाट बाहिर निस्किन नदिने समूहहरू सायद शक्तिशाली भइसकेका थिए ।
...
एउटा यात्रुका रूपमा एयरपोर्टबाट होटलसम्म आइपुग्दा नै मलाई रुवान्डले काँचुली फेरिसकेको आभास भइसकेको थियो । सहरमा कार ट्याक्सीभन्दा मोटरसाइकल ट्याक्सी बढी देखिए । यसको अर्थ हो, पर्यटकहरू लामो ट्राफिक जाममा नफसून् र कार किन्न नसक्नेले समेत सरल रूपमा रोजगारी पाऊन् । हरियो भेस्ट लगाएका लाइसन्स प्राप्त ड्राइभरहरू चाँडोभन्दा चाँडो निश्चित स्थानमा मोटरसाइकलमै यात्रुलाई पुर्‍याउन खटिएका देखिन्थे । मूल्यका हकमा भने केही बार्गेनिङ गर्नुपर्छ भन्ने सुनियो ।
सहरतिर मोटरसाइकल ट्याक्सी र गाउँतिर साइकल ट्याक्सी चल्दा रहेछन् । मोटरसाइकल ट्याक्सी तुलनात्मक रूपमा निकै सस्तो मानिदो रहेछ । ड्राइभरहरू ग्राहकहरूका लागि भनेर एउटा अतिरिक्त हेल्मेट झुन्ड्याएर हिँड्दा रहेछन् । ग्राहक फेला पर्नासाथ त्यो हेल्मेट लाइदिएर कुदाइहाल्दा रहेछन् । ठाउँअनुसार विकासको यो नमुना मलाई रमाइलो लाग्यो । विशेष प्रकारको लुगा लगाएका लाइसेन्स प्राप्त ड्राइभरले मात्रै यस्ता ट्याक्सी कुदाउन पाउने व्यवस्था सरकारले नै गरेको रहेछ ।
भोलिपल्ट हाम्रो रुवान्डाको वास्तविक यात्रा सुरु भयो । अयुव अलीले आफूले चिनेको एक जना इम्यानुएल नामको ड्राइभर हामीलाई मिलाइदिएका थिए । उनी युगान्डाबाट रोजगारीको सिलसिलामा बीस वर्षअघि रुवान्डा आएका रहेछन् । यिनै इम्यानुएलले प्रेमपूर्वक दिउँसो ‘अकागेरो राष्ट्रिय निकुञ्ज’ र गाउँतिर घुमाएर ठूलो गुन लगाइदिए ।

गाउँतिर पसेपछि भने मलाई अयुवले गाउँ पनि हेर्नुहोला भनेर किन कर गरे भन्ने बुझ्न कठिन भएन । वास्तवमा उनी जातीय द्वन्द्व बिर्सिएर कसरी रुवान्डेलीहरू विकासतिर लागेका छन् भन्ने उदाहरण दिन चाहन्थे । सहर विकसित त थियो नै, गाउँ पनि कम थिएन । गाउँभित्रका राजमार्ग पनि लोभलाग्दा र सफा थिए । घरहरू एकनासका देखिन्थे । यी गाउँ घुमिरहँदा मलाई रुसका गाउँको याद आइरहेको थियो । अँध्यारो महादेश भनेर हामीले पढेको रुवान्डाले गाउँमा समेत विकास पुर्‍याइसकेको रहेछ । गाउँको माटो ज्यादै मलिलो देखिन्थ्यो । त्यहाँ केरा, चिया र कफी खेती प्रमुख कृषिजन्य उत्पादन रहेछन् । गाउँ–गाउँसम्म शिक्षा, स्वास्थ्य, बिजुली, खानेपानीको सुविधा राज्यले उपलब्ध गराइदिएको रहेछ ।

गाउँ देखाउँदै ड्राइभरले हामीलाई रुवान्डाको राष्ट्रिय निकुञ्ज पुर्‍याए । बिहान १० बजेदेखि ४ बजेसम्म हामीले राष्ट्रिय निकुञ्जभित्रका जनावर हेर्दै बितायौं । गएको वर्ष म र श्रीमती संसारकै प्रसिद्ध मानिने केन्याको मसाइमारा राष्ट्रिय निकुञ्ज पुगेका थियौं । अफ्रिकी राष्ट्र भएकाले यहाँ पनि जनावरको त्यत्तिकै ठुलो साम्राज्य होला भन्ने मैले अनुमान गरेको थिएँ । तर त्यो अनुमान सही भएन । मसाइमाराको तुलनामा यहाँ जनावरहरू निकै कम थिए । यद्यपि जंगली हात्ती, मृग, बनेल, जेब्रा, जिराफ, गोही, हिप्पोका बथान भने निकै देखियो । जंगलमा घुमिरहँदा झिंगाजस्तै देखिने फट्याङ्ग्राले टोकेर हामीलाई निकै हैरान पारे । यी फट्याङ्ग्राले हामीलाई टोके पनि ड्राइभरलाई टोकिरहेका थिएनन् । जे होस्, हाम्रा लागि यो सफारी रमाइलो भयो । तैपनि जंगल सफारीका लागि तान्जानिया र केन्याको तुलनामा रुवान्डामा निकै कम पर्यटकहरू जाँदा रहेछन । सायद मलाई जस्तै आम पर्यटकलाई रुवान्डा जनावरका लागि भन्दा पनि जातीय द्वन्द्व सहेको देश हो भन्ने लागेको हुनुपर्छ ।

भोलिपल्ट किगाली जेनोसाइड मेमोरियल घुम्ने हाम्रो योजना थियो । यो त्यही ठाउँ हो, जहाँ सन् १९९४ को सय दिने नर संहारको सम्झनालाई संग्रहालयमा ज्युँदो इतिहास बनाउने प्रयास गरिएको छ । यो स्थानमा पुर्‍याउने र घुमाउने जिम्मा अयुव अली आफैंले लिएका थिए । त्यस दिन उनको छुट्टी रहेछ । जसै हामी त्यो संग्रहालयभित्र प्रवेश गर्‍यौं, हामी द्रविभूत भयौं । यो संग्रहालय हेरेपछि द्रवित् नहुने मानिस विरलै होलान् । त्यहाँ व्यक्तिहत्या गर्न प्रयोग भएका हतियार, जातीयतासम्बन्धी दस्तावेज र जातीयतालाई बुझ्न नसक्दा हुने नोक्सानी सबै कुरा एकै स्थानमा राखिएको छ । फर्कंदै गर्दा अयुवले आफूले जानेको जानकारी दिन पछि परेनन् । उनका अनुसार अन्तर्राष्ट्रिय अदालत खडा गरेर जातीय द्वन्द्व भड्काउने सबैजसोले जेल सजाय भोगिरहेका छन् ।
...
यति ठूलो द्वन्द्वमा फसेको मुलुकले गएको एक दशकमा अद्भुत रूपमा विकास गरेको छ । सहरभरि नै सुरक्षाको चुस्त व्यवस्थापन देखिन्छ । जुनसुकै कार्यालय वा मेला बजार जाँदा सुरक्षा जाँच गरेर मात्रै जान पाइन्छ । किगाली अन्तर्राष्ट्रिय एयरपोर्टमा तीनपटकसम्म सेक्युरिटी चेक गरेपछि मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न पाइयो । अफ्रिकी मुलुकमा भ्रष्टाचार छैन भन्दा पत्याउन मुस्किल पर्छ । हामीलाई घुमाउने ड्राइभरले अबेरसम्म हामीलाई राष्ट्रिय निकुञ्ज घुमाइदिएका थिए । फर्किंदा विलम्ब भयो । गाडीको गति निर्देश गरिएभन्दा केही बढी हुँदा उनलाई ट्राफिक प्रहरीले करिब ६० डलर जरिवाना गर्‍यो । ड्राइभरले चुपचाप जरिवाना स्वीकार गरेको देखेर मलाई अचम्म लागेर उनलाई घूस दिएर मिलाएको भए कम जरिवाना पथ्र्यो कि भनेर कुरा चोर्न खोजें । त्यसको जवाफमा उनले जे भने त्यो शब्दले नै त्यहाँ भ्रष्टाचार करिब–करिब शून्य छ भन्ने अन्दाज गर्न सकिन्थ्यो । मेरो कुरामा ड्राइभरले जिब्रो टोक्दै भनेका थिए, ‘सीधै जेल जानुपथ्र्यो ।’

सन् २००७ देखि प्लास्टिक ब्याग उपयोगमा रुवान्डाले पूर्ण प्रतिबन्ध लगाएको रहेछ । राजधानी सहर किगालीको कुनामा कतै प्लास्टिक ब्याग वा टुक्राटाक्री केही देखियो भने फोटो खिचांैला भन्ने मेरो प्रयास निरर्थक रह्यो । कतिसम्म भने साथमा प्लास्टिकको ब्याग लिएर आएको भए सो ब्याग प्लेनमै छाड्नका लागि एयर होस्टेसले जहाज अवतरण गर्नुअघि यात्रुहरूलाई आग्रह गरेकी थिइन् । मैले आफूसँग रहेको एउटा प्लास्टिकको झोला एयरहोस्टेजलाई बुझाएको थिएँ । त्यही कारण मलाई सहरमा प्लास्टिकको झोला खोजेरै छाड्ने भूत सवार भएको थियो । तर मेरो जिद्दी रुवान्डाको चुस्त प्रशासनका अघि फेल खायो । तीन दिन घुम्दा पनि मैले बाटामा प्लास्टिकका कुनै सामग्री फेला पार्न सकिनँ । एउटा राजनेताले चाह्यो भने देश परिवर्तन गर्न सक्छ भन्ने उदाहरण मेरा लागि यो नै काफी थियो । महिलाअधिकारका हिसाबले यो देश अग्रपंक्तिमा पर्दो रहेछ । रुवान्डाको संसद्मा ६४ प्रतिशत महिलाले प्रतिनिधित्व गर्छन् † विश्वभरिमा महिलाहरूले संसद्मा बाहुल्य जमाएको एकमात्र संसद् हो रुवान्डेली संसद् ।

...

यो देशले इन्टरनेटमा चामत्कारिक प्रगति गरेको रहेछ । सार्वजनिक यतायात, अस्पताल, ट्याक्सी पार्क, सपिङ मल तथा रेस्टुरेन्ट जताततै नि:शुल्क इन्टरनेट सेवा उपलब्ध छ । कोरियन टेलिकमको सहकार्य सरकारले राज्यका ९५ प्रतिशत जनतालाई ४ जी सेवा उपलब्ध गराएको रहेछ ।

त्यहाँ ९० प्रतिशत जनताले नि:शुल्क प्रारम्भिक स्वास्थ्य सेवा उपभोग गर्छन् । स्वास्थ्य बिमाका कारण यो सम्भव भएको हो । ९० प्रतिशतभन्दा बढी बालबालिका विद्यालय जान्छन् । महिनाको अन्तिम शनिबार राष्ट्रपतिलगायत प्रत्येक नागरिकले आफ्नो समुदायमा नि:शुल्क सरसफाइ तथा निर्माण अभियानमा सरिक हुनुपर्छ । यो अभियानका कारण देशभरि कैयौं अस्पताल, स्कुल, सामुदायिक भवन बनेका छन् । सरसफाइ अभियानको समाचार छापिँदैन बरु कतै फोहोर देखियो भने पत्रकारका लागि त्यो मसला बन्दो रहेछ । अफ्रिकी महादेशमा सबैभन्दा बढी जनघनत्व भएको देश भए पनि त्यहाँको सरसफाइ मेरा लागि आश्चर्यको कुरा बन्न पुग्यो । एक करोड बीस लाख जनसंख्याको फोहोरमैलाको व्यस्थापन राम्रोसँग गरिएको छ । राजधानी सहर किगालीमा मात्रै १२ लाख मानिस बसोबास गर्छन् । यिनीहरूले फ्याँकेको फाहोर कसरी व्यवस्थापन हुन्छ भन्ने कुरा मेरा लागि निकै चासोको विषय थियो तर समय अभावले त्यसको जानकारी लिन सकिएन ।

सरसफाइ मात्र होइन, रुवान्डा सबैभन्दा लगानीमैत्री वातावरण भएको देश पनि मानिदो रहेछ । रुवान्डामा लगानी गर्न चाहने कुनै पनि विदेशी नागरिकले ४८ घण्टाभित्रै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरीव्यवसाय सुरु गर्न सक्छन् । जब कि विदेशी लगानीका लागि स्वर्ग मानिने धेरै देशहरूमा समेत प्रक्रिया पूरा गर्न कम्तीमा एक साता लाग्ने गरेको म आफैंले देखे भोगेको छु । यही लगानीमैत्री वातावरणकै कारण सायद होला चौधरी ग्रुपको लगानीमा राजधानी किगालीमा एउटा पाँचतारे होटल सञ्चालनमा आएको छ । द्वन्द्वकालमा हजारौं तुत्सी शरणार्थीको ज्यान बचाएको ‘होटल रुवान्डा’ को ठीकअगाडि रहेको यो विशाल होटल संरचनामा एक जना नेपालीको लगानी रहेको छ भन्ने थाहा पाउँदा हामी हर्षविभोर हुन पुग्यौं ।

त्यहाँका जनतामा जवाफदेहिता ठूलो रहेछ । हरेकले आफ्नो काम समयमा सक्ने, अर्काले के गर्‍यो भन्दा आफूले के गर्न सकें, त्यसको जवाफ आफैं खोज्नुपर्छ भन्ने नारा दिइएको रहेछ । यही नाराकै कारण हरेक व्यक्तिले आफ्नो काम समयमा राम्ररी गर्न सकेका रहेछन् । युद्धका डोबहरूलाई बिर्सेर एकनासले सबै जना देश विकासमा लागेका छन् । मानिसहरू अहिले ती कहालीलाग्दा दिनहरू सम्झिन पनि चाहँदैनन् । वर्तमान राष्ट्रपति पल कगामेले सबै जात–जाति, धर्म र सम्प्रदायका मानिसहरूलाई मिलाएर राखेका छन् ।

रुवान्डा यात्रा सुरु गर्नुअघि मेरो मनमा जातीय द्वन्द्वले आक्रान्त भएको र दसौँ लाख मानिस जातीयताको नाममा मारिएको देशमा जाँदैछु भन्ने अनौठो भाव उत्पन्न भएको थियो । फर्किंदा एउटा सम्पन्न र सुसंस्कृत देशबाट फर्किएको अनुभूति मैले पाइरहेको थिएँ । त्यति मात्र होइन, एउटा शासकले चाह्यो भने द्वन्द्वमा फसेको मुलुकलाई कसरी विकासको मार्गमा परिवर्तन गर्न सक्छ भन्ने तथ्य आँखामा झल्झल्ती आइरहेको थियो ।

हुन त, विकास हुनुअघि त्यो देशको इतिहास रक्तरञ्जित अवस्थाबाट गुज्रिनु्पर्छ भन्ने होइन, तर यो देशले गरेको अहिलेको विकास र जनतामा आएको परिवर्तन हेर्दा भने सन्तोष गर्नुपर्ने देखिन्छ । चीनलाई विकासको मार्गमा ल्याउने नेताको रूपमा देङ सियाओ पिङ, सिंगापुरमा ली क्वान यु, मलेसियामा महाथिर मोहम्मदको नाम लिने गरिन्छ । मैले जसरी रुवान्डाको विगत बुझें र वर्तमानलाई नियालें, देश विकासको सूत्रमा नेपालीले उति नसुनेका तर वर्तमानमा रुवान्डालाई अद्भुत प्रगतितर्फ लगेका पल कगामेको नाम पनि यस पंक्तिमा मलाई जोड्न मन लाग्यो ।

सँगै अर्को सत्य पनि उत्तिकै छ, त्यहाँका जनता विगतका पीडा बिर्सेर देश सजाउन लागेका पल कगामेको धोएको रक्तरञ्जित हातलाई समाएर ‘हिजो जे भए पनि हामी तिमी सँगसँगै छौ’ भनेर भरोसा दिइरहेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७४ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?