२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एक्लै भोट माग्दै दलित महिला

जितेन्द्र साह

विराटनगर — बिहानको सात नबज्दै छाता, झोला र मतपत्रको नमूना बोकेर ३५ वर्षीया पवित्रा विश्वकर्मा घरबाट निस्किन्छन् । उनको अघिपछि कोही हुन्न । झट्टै हेर्दा उनी निर्वाचन आयोगले मतदाता शिक्षाकालागि खटाएको प्रतिनिधि जस्तो देखिन्छिन् । तर, पवित्रा दलित कोटामा एमालेको तर्फबाट विराटनगर–८ की वडा सदस्य पदकी उम्मेदवार हुन् ।

एक्लै भोट माग्दै दलित महिला

बाहुन, क्षेत्री, मधेसी र मुस्लिम समुदाय बहुल यो वडामा पवित्राले सादगीकासाथ भोट माग्दै हिंडेको पनि एक महिनाभन्दा बढी भइसक्यो । उनको घरदैलो अभियान एक दिन पनि टुटेको छैन । पवित्रा चुनाव हुनेमा ढुक्क छिन् । ज्वरो र रुँघा खोकी लाग्दा पनि मतदाताकोमा पुगिरहेको उनी बताउँछिन् ।

‘मतदाताले उम्मेदवार हेरेर नै भोट हाल्ने भनिरहेका छन्,’ पवित्रा भन्छिन्,‘यस्तोमा कम्तीमा पनि वडा स्तरमा उम्मेदवार र जनताबीच प्रत्यक्ष संवाद जरुरी छ ।’ हुलमुलमा भन्दा एक्लै जाँदा मतदाताले सहज महसुस गर्दै घरआँगन, चौतारी र चियापसलमा आदरकासाथ बसाएर जिज्ञासा राख्ने गरेको उनी बताउँछिन् ।

यो वडामा दलितभन्दा अन्य जातीको बढी बसोबास रहेपनि भोट माग्न जाँदा आफूले अहिलेसम्म विभेद वा अनादर महसुस नगरेको पवित्रा बताउँछिन् । यहाँको पुरानो वासिन्दा भएकोले सबैतिरबाट सहयोग रहेको उनी बताउँछिन् । ‘अरु बेला पनि केही पर्दा एक अर्कामा हातेमालो भइ रहेकै हुन्छ,’पवित्रा भन्छिन् ।

सम्भवत: यो महानगरमा एक्लै भोट मागि हिंडने उनी कुनै पनि दलको पहिलो उम्मेदवार होलिन् । ‘समूहमा बाँधिएर होहल्ला गर्दै मत माग्नुभन्दा यो शैली ठिक लाग्यो,’ उक्त वडाको अशोक चोकका मतदाता मोहम्मद इस्माइलले भने,‘उम्मेदवारलाई राम्ररी चिनेर मत हाल्न पाउँदा हामीलाई पनि खुशी लाग्छ ।’ लुगा सिउने इस्माइल र उनीजस्ता थुप्रै मतदाताले पवित्राप्रति अदभुत आदर प्रकट गर्दै वडाको घरघरमा पुग्न हौंस्याइरहेको पाइयो ।

दिउँसो प्रचण्ड गर्मी हुने कारणले उनी बिहानको समयमा दैनिक अढाई घण्टा घरघरै डुल्छिन् । ‘मतदाताले दिन्छु त भन्छन् तर दलको उम्मेदवारभन्दा पनि छरछिमेकीको नाताले दिन्छु भनेर भरोसा दिलाउँछन्,’उनी भन्छिन् ।

पवित्रा उच्च राजनीतिक तहसम्म पुग्ने लक्ष्य राखेकी छन् । उनी जनताको मन जितेर सदस्य पदमा अत्यधिक भोट ल्याएर विजयी हुने चाहना राखेकी छन् । ‘मतदाताले बहुमतले जिताएपछि दलले पनि मलाई विश्वास गर्नैपर्छ, जिम्मेवार पदकालागि स्वीकार्नै पर्छ,’पवित्रा भन्छिन्,‘यो त सुरुवात न हो, विस्तारै खुडकिला उक्लिने हो ।’

भान्छाबाट एकै पटक राजनीतिमा प्रवेश गरेकी उनी उम्मेदवारको रुपमा मतदाता समक्ष पुग्दा गर्व एवं खुशी लाग्ने गरेको बताउँछिन् । ‘कुनै स्वार्थकालागि राजनीतिमा लागेको होइन, आरक्षित कोटाबाट उठ्ने मौका पाएको छु,’पवित्रा भन्छिन्,‘आफूजस्तै दिदीबहिनीलाई अघि बढाउन र सेवा गर्ने मौका पाउनलाई दौडधुप गर्दैछु ।’

पवित्राले मतदाता समक्ष पनि यही प्रतिवद्धता व्यक्त गर्छिन् । ‘कुनै लालचमा नभएर गरिब दु:खीको सेवा गर्न मन लागेर चुनावमा उठेकी हुँ,’उनी भन्छिन्,‘सबै जना महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष ताक्छन्, मलाई भने सानो पदबाट सुरुवात गर्न मन लाग्यो ।’

उनी बिहान चार बजे नै उठी घरधन्दा सकेर मतदाताकोमा पुग्छिन् । जान्ने बुझ्ने भइसकेका हुनाले बच्चाबुच्ची आफै खाना खाएर विद्यालयतिर लाग्छन् । उनको पती ४० वर्षीय इन्द्र विश्वकर्मा झन्डै १९ वर्षको दुबई बसोबासपछि स्वदेश फर्केका हुन् ।

यो लामो अवधिमा दुई वर्षको फरकमा मात्र दुई महिनाकालागि उनको श्रीमान आउने गर्थे । श्रीमानले पठाउने कमाईको जोहो गरेर पवित्राले एक्लैले यो वडामा १० धुर जग्ग्गा किनिन् र दुई तल्ले घर बनाइन् । आफ्नै बलबुतामा छोराछोरीलाई हुर्काइन् । यसले उनीभित्रको आत्मविश्वासलाई बढायो । छोराछोरीले आफूबाटै बुबा र आमाको माया पाएको हुनाले उनीहरुसँग मित्रजस्तै सबै कुरा साझेदारी गर्ने गरेको पवित्रा बताउँछिन् ।

रोचक के छ भने उनी घरको चौघेरा नाँघेर पार्टी राजनीतिमा आएको धेरै भएको छैन । ‘परिवारकालागि गाँस, बास र कपासको बन्दोबस्ती गरेपछि दुई वर्षअघि समाजमा केही गरेर देखाउँ भन्ने चाहना जाग्यो,’उनी भन्छिन् । मोरंगकै जाँतेमा पुर्खौली घर भएका श्रीमानका परिवारजन र पथरीमा रहेका उनको माइतीजन पहिलादेखि एमालेसँग आवद्ध थिए ।

‘परिवारकै सदस्यबाट मेरो चाहना बारे एमालेले थाहा पायो, पार्टीका सदस्यहरु घरमै आएर मलाई अगाडी बढाउन भरोसा दिलाएर मनाए,’पवित्रा भन्छिन् । सधैंकालागि स्वदेश फर्केका श्रीमानले आन्तरिक रुपले समर्थन गरिरहेको उनी बताउँछिन् । ‘उहाँबाट मलाई कुनै खाले रोकटोक छैन,’पवित्रा भन्छिन्,‘तर लामो समय देस वाहिर बस्नु भएको हुनाले यहाँको रहनसहन र राजनीति राम्ररी नबुझेकाले खुलेर बाहिर आउन हिचकिचाउनु हुन्छ ।’

प्रकाशित : असार ४, २०७४ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?