२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

म्यारिज अफ द इयर

क्रिकेटलाई आफ्नो गर्लफ्रेन्ड भन्ने शरद भेषावकर अभिनेत्री प्रेयसी निशा अधिकारीसँग जीवन–अनुबन्धन गर्दैछन् ।
विनोद पाण्डे

काठमाडौं — राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकर र अभिनेत्री निशा अधिकारीको विवाह अगाडिको सम्बन्धलाई तीन भागमा विभाजन गरेर हेर्न सकिन्छ । पहिलो, उनीहरूको प्रेम सम्बन्धबारे धेरैले सुइँकोसमेत पाएनन् । दोस्रो, सम्बन्ध ‘ओपन सेक्रेट’ रहन पुग्यो । तेस्रो, सबै अचम्मित भए ।

म्यारिज अफ द इयर

उनीहरूको सम्बन्ध खुलमखुला थियो ठीक २ वर्ष अगाडि । निशा त्यति नै बेला अमेरिका लागिन् । धेरैले के अनुमान गरे भने यी दुईको सम्बन्ध टुट्न गयो । सञ्चारमाध्यममा पनि यसैखाले समाचार आए । शरदले केही हदसम्म सोसल मिडियाबाट खण्डन गरे । पत्याउने कम निस्किए । किनभने निशा अमेरिकामै सेटल हुने उद्देश्यका साथ गएकी हुन् भनेर बुझ्नेहरूले नै उनीहरूको सम्बन्धमै शंका गरेका थिए ।

शरद नेपालमा थिए । र, उनी यो सम्बन्धको प्रश्नले घेरिन्थे । तर शरदसँग रेडिमेट उत्तर हुन्थ्यो, ‘क्रिकेट नै मेरो पहिलो गर्लफ्रेन्ड हो ।’ विवाह अगाडि शरदलाई फेरि यही प्रश्न गरियो– ‘क्रिकेट पहिलो गर्लफ्रेन्ड हो, विवाहपछि निशाको स्थान चाहिँ कहाँ हुनेछ ?’ उनले अट्टाहास गर्दै भने, ‘त्यो मोमेन्ट अलिक सेक्युर, प्राइभेट नै राखौं, बाहिर ननिकालौं भनेर हो । क्रिकेट भनेको मेरो जीवनसँग पहिलेदेखि नै जोडिएको विषय हो । मैले जे पनि पाएँ कहीँ नै कहीँ क्रिकेटकै कारण पाएको छु । क्रिकेटले गर्दा नै मलाई सबैले चिन्न लागे । मैले उसलाई भेटेको पनि क्रिकेट इभेन्टबाटै हो । त्यसैले पहिलो क्रेडिट क्रिकेटलाई नै जान्छ ।’

त्यसको मतलब गर्लफ्रेन्डचाहिँ क्रिकेट र श्रीमतीचाहिँ निशा हुन लागेकी हुन् त ? शरद फेरि गलल हाँस्छन् र भन्छन्, ‘क्रिकेट नै मेरो गर्लफ्रेन्ड हो भन्ने एउटा अभिव्यक्ति मात्र हो, यसलाई कसले कसरी म्यानुप्लेट गर्ने हो, त्यसमा भर पर्छ । गर्लफ्रेन्ड त क्रिकेट हुन सक्दैन । तर क्रिकेट मेरो लभ लाइफ हो । क्रिकेट पनि मेरो फस्र्ट लभ हो ।’ शरद मैदान गएपछि क्रिकेटबाहेक अरू केही सोच्दैनन् । उनी आफ्नो रगतमै क्रिकेट भएको मान्छन् । निशाले यो पक्कै बुझेकी होलिन् । त्यसैले आफ्नो स्थान कहाँ हो भनेर निशालाई राम्रोसँग थाहा होला ।
000
क्रिकेट खेलाडी मिलेर २००८ मा प्रो फोट्टी भनेर एउटा क्रिकेट प्रतियोगिता आयोजना गरेका थिए । प्रो फोट्टी अर्थात् एक इनिङ्स ४० ओभरको । शरद इभेन्ट आयोजनामा सक्रिय भएर लागेका थिए । खेलाडी पनि । क्रिकेट त्यतिखेर अहिलेको जस्तो सक्रिय थिएन । वर्षमा एउटा इभेन्टमा धान्नुपर्ने स्थिति थियो । त्यसैमा खेलाडीहरू मिलेर प्रो फोट्टी आयोजना गरेका थिए । निशा यही इभेन्ट्सको प्रमोसनका लागि सेलिब्रिटीका रूपमा निम्त्याइएकी थिइन् ।

शरद र निशाको कनेक्सन यहीं भएको थियो । कमैले मात्र यसको पत्तो पाए । त्यसपछि पनि क्रिकेटका कार्यक्रममा निशा देखिन लागेकी थिइन् । २०१२ पछि नेपाली क्रिकेटले ठूलो फड्को मार्‍यो । डिभिजन ४, ३ जित्दै विश्वकप छनोटमा पुग्यो । ट्वान्टी–२० विश्वकपमै पुगेर इतिहास रच्यो । शरद लेखेको नेपाली क्रिकेटको जर्सी लगाएर निशा शरदलाई लिन एयरपोर्टमै पुग्न थालिन् । अब भने शरद र निशाको सम्बन्ध खुलमखुला हुन पुग्यो । निशाको फेसबुक स्टाटसमा शरद लेखिहाल्थे, ‘फिलिङ लभ’ ।
000
अब के चाहियो ? निशा नेसनल क्रिकेट एकेडेमीको ब्रान्ड एम्बासडर नै बनिन् । शरद पनि निशाले खेलेको फिल्मका प्रिमियरमा देखिन् थाले । २००५ को मिस इन्टरनेसनल नेपाल निशा मोडल र भिजे पनि हुन् । २००९ मा मिसन पैसाबाट फिल्ममा हात हालेकी थिइन् । अर्को वर्ष आएको उनी अभिनीत फिल्म फस्र्ट लभले राम्रै बजार लिएको थियो । शरद नेपाली क्रिकेटको ब्याटिङमा आधार स्तम्भ हुन् । पछिल्लो समय उनी फिनिसरका रूपमा चिनिएका छन् । कठिन खेलहरूमा नेपालले अन्तिम समयमा आएर खेल जित्दा शरदले फिनिसरको रोल खेल्थे । विशेष गरी २०१३ को ट्वान्टी–२० विश्वकप छनोटमा उनी यो भूमिकामा निकै जमेका थिए । जतिखेर उनीहरूको रोमान्स चर्चामा थियो ।

धेरैले के मान्छन् भने नटआउट खेलेर आफूलाई फिनिसरका रूपमा चिनाएका शरदलाई निशाले बोल्ड गरेकी छिन् । अर्को पाटोबाट हेर्ने हो भने शरदको ब्याटले निशालाई लठ्याई छाड्यो । यसलाई जसरी बुझे पनि एउटा के हो भने यसलाई ‘म्यारिज अफ द इयर’ मान्दा पनि फरक नपर्ला । क्रिकेट र फिल्मका यति ठूलो सेलिब्रिटी लगनगाँठो गाँस्दै छन् । पहिलो पटक क्रिकेट र फिल्मको सम्बन्ध जोडिएको छ ।

भारतमा क्रिकेट र फिल्म सधैं एकअर्कामा आकर्षित भएको देखिन्छ । यो भारतको संस्कार नै जस्तै छ । मोहम्मद अजहरुद्दिन–संगीता विजलानी, रवि शास्त्री–अमृता सिंह, मोहसिन खान (पाकिस्तानी क्रिकेटर)–रिना रोयको लभ अफेयर निकै चर्चित थियो । सौरभ गांगुली–नगमा पनि प्रेमकै कारण चर्चाको उत्कर्षमा रहे । भारतका वर्तमान कप्तान विराट कोहलीको नायिका अनुष्का शर्मासँगको अफेयरले बलिउड र भारतीय क्रिकेटलाई तानेको छ । विराटको सफलता र असफलता तथा भारतको जित–हारमै विराट र अनुष्काको प्रसंग तानिन्छ ।

प्रेमको चर्चा उत्कर्षमा रहँदा शरद र निशाले एक इन्डोरसमेन्ट गरेका थिए । यी दुईलाई एउटा कम्पनीले विज्ञापनमा खेलाएको थियो । नेपालले २०१५ को जनवरीमा विश्व क्रिकेट लिग डिभिजन २ खेल्दा त्यो विज्ञापन सार्वजनिक हुने बताइएको थियो । तर सौन्दर्य क्रिमको विज्ञापन बीचमै कता हरायो । त्यो विज्ञापन अहिले पो एक्कासि सार्वजनिक भएछ, दुवै चकित परेका छन् । एउटा सुखद संयोग नै मानौं यसलाई ।

प्रकाशित : असार १६, २०७४ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?