चिनी वीरगन्ज आयो

साल्ट टेडिङ कर्पोरेसनले यस वर्ष ५० हजार टन चिनी भारतको हल्दियाबाट ल्याउँदै

पर्सा — वीरगन्जमा साल्ट ट्रेडिङ कर्पोरेसनको १० हजार टन चिनी आइपुगेको छ । भारतको हल्दियाको चिनी ४ रेल्वे र्‍याकले सिर्सिया सुख्खा बन्दरगाहमा ल्याएको हो । प्रत्येक रेल्वे र्‍याकले २ हजार ५ सय टन चिनी बोक्छ ।

कर्पोरेसन वीरगन्ज अञ्चल कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार सुक्खा बन्दरगाहमा आएको कुल चिनीमध्ये ३ हजार बोरा मात्र बन्दरगाहमा रहेको र बाँकी वीरगन्ज गोदाममा ल्याइसकिएको छ ।

गोदाममा भण्डारण गरिएकोमध्ये केही चिनी राजधानी, दाङ, पोखरा, नारायणगढमा पठाइसकिएको उनले बताए । उनले भने, ‘जहाँबाट चिनीको माग आउँछ, त्यतातिर धमाधम पठाइरहेका छौं ।’ हल्दियाबाट एक रेल्वे र्‍याक चिनी वीरगन्जका लागि आइरहेको लामिछानेले बताए ।

कर्पोरेसनले यस वर्ष कुल ५० हजार टन चिनी ल्याउन लागेकामा यो पहिलो लटको चिनी हो । भारत पश्चिम बंगालको हल्दियास्थित रेणुका सुगर मिल्सले ग्लोबल टेन्डरबाट कर्पोरेसनलाई चिनी आपूर्तिको ठेक्का पाएको छ । यस वर्षको दसैं, तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गरी कर्पोरेसनले चिनी ल्याएको हो । गत वर्ष कर्पोरेसनले ३२ हजार टन चिनी भारतबाट ल्याएकामा यस वर्षको माग धान्न ५० हजार टन ल्याउन लागिएको हो ।

प्रकाशित : असार २३, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?