कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'अशुभ साइत' खोज्दै मध्यरातमा पहिलो प्रतिनिधिसभाको बैठक

सन्दर्भ : संसदको पहिलो बैठक
हरिबहादुर थापा

काठमाडौं — ‘दरबारले प्रतिनिधिसभाको पहिलो बैठक किन मध्यरातमै रोज्यो ?’ दरबारले आजभन्दा ५८ वर्षअघि प्रतिनिधिसभाको पहिलो बैठक मध्यरातमा आह्वान गरेर ‘बिचित्र रुप’ प्रदर्शन गरेको थियो ।

त्यो घटना अहिले धेरैको सम्झनामा छैन । निरंकुश राणा शासनपछिको पहिलो जननिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठक मध्यरातमा बोलाइएको थियो– ‘अशुभ– साइत’ खोज्दै । त्यतिखेर राजनीतिक असहमति या झगडाका

'अशुभ साइत' खोज्दै मध्यरातमा पहिलो प्रतिनिधिसभाको बैठक

‘दरबारले प्रतिनिधिसभाको पहिलो बैठक किन मध्यरातमै रोज्यो ?’ दरबारले आजभन्दा ५८ वर्षअघि प्रतिनिधिसभाको पहिलो बैठक मध्यरातमा आह्वान गरेर ‘बिचित्र रुप’ प्रदर्शन गरेको थियो ।

त्यो घटना अहिले धेरैको सम्झनामा छैन । निरंकुश राणा शासनपछिको पहिलो जननिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठक मध्यरातमा बोलाइएको थियो– ‘अशुभ– साइत’ खोज्दै । त्यतिखेर राजनीतिक असहमति या झगडाका

कारण मध्यरातमा पुगेको होइन । दरबारले ११ दिनअगावै पहिलो प्रतिनिधिसभाको बैठक आह्वान गरेको थियो – समय रातको ११:४५ बजे उल्लेख गर्दै । बैठक शुरु हुँदा ठीक १२ बजेको थियो ।

२०१६ असार ४ मा दरबारबाट जारी सूचनामा भनिएको थियो, ‘प्रतिनिधिसभाको पहिलो बैठक २०१६ असार १६ गते रोज ३ (मंगलबार) का दिन ११.४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिएको छ ।’
संसदीय रेकर्ड उतारिएको पहिलो पानामा उल्लेखित वाक्य छ– ‘आषाढ १६, २०१६, मध्यरात्रिमा प्रतिनिधिसभाका सबै सदस्य एकत्रित भएपछि सचिवद्वारा श्री ५ महाराजाधिराजका प्रमुख सचिवबाट प्राप्त निम्न लिखित पत्र

प्रतिनिधिसभाका समक्षा पढेर सुनाइयो । गिरिप्रसाद बुढाथोकीलाई प्रतिनिधिसभको काम चालु गर्न कार्यकारी अध्यक्ष मनोनित गरिबक्सेका छौं ।’ त्यो पत्रमा राजाका प्रमुख सचिव हंशमान सिंह उल्लेख भएको छ ।

प्रतिनिधिसभाको त्यो पहिलो बैठक सम्झना गर्न संसदीय पक्षधरहरु असार–१६ लाई ‘संसद दिवस’का रुपमा मनाउने गर्छन् ।

‘किन मध्यरात रोजियो ?’
जनप्रतिनिधिहरुले मध्यरातमा बैठक बोलाउनुको कारण खोजेनन् । उनीहरु दरबारले बोलाएकै समयमा लुरुलुरु संसद प्रवेश गरेका थिए । पहिलो बैठक केवल औपचारिक थियो । त्यसमा नेताहरु कसैले बोलेनन् । संसदका

सचिवले जेष्ठ सदस्य गिरिप्रसाद बुढाथोकीलाई सपथ खुवाएका थिए । त्यसपछि बुढाथोकीले ‘श्री ५ महाराजाधिराजप्रति कृतज्ञता प्रकट गर्दै अध्यक्षता गर्नुभएको’ उल्लेख छ ।

संसदभित्रै लामो समय काम गरेकाहरुले समेत ‘मध्यरात’मा प्रतिनिधिसभाको पहिलो बैठक भएको घटना याद गरेका छैनन् । त्यस्तो विचित्रको समय रोजिएकोमा उनीहरु बरु आफैं छक्क पर्छन् ।

दरबारले ‘साइत’बेगर ठूला निर्णय नलिने परम्परा थियो जुन राजतन्त्रको अन्त्य हुँदासम्मै कायम रह्यो । संसदीय पद्धतिका हकमा भने दरबारले अनौठो ‘काल–बेला’ खोजेको देखिन्छ– खरो मानिने मंगलबारदेखि मध्यरातको

समयसम्म । उसले प्रजातान्त्रिक पद्धतिलाई धरापमा पार्ने रणनीतिसहित ‘अशुभ साइत’ खोजेको देखिन्छ । संसदीय पद्धतिविरुद्ध दरबार प्रारम्भबाटै ‘कपटपूर्ण’ खेलमा मग्न थियो । त्यसैले जनप्रतिनिधिहरूलाई दु:ख दिन

उसले मध्यरात रोजेको थियो ।

संसदमा सुरक्षित रेकर्ड अनुसार, त्यसपछि कार्यकारी अध्यक्षको आदेशानुसार सदस्यहरुलाई शपथ ग्रहण गराइएको थियो । पहिलो बैठकमा १ सय ६ मध्ये १ सय ५ सदस्य उपस्थित थिए, कतिपय कांग्रेस नेताहरु दुई ठाउँमा

विजयी भएका थिए । त्यसपछि सचिवद्वारा ‘प्रतिनिधिसभाको सभामुख निर्वाचन आषाढ १८ मा गर्नु भन्ने हुकुम भएको’ उल्लेख छ । बैठक राति २:१० मा सकिएको थियो । सभामुख निर्वाचनका निम्ति दुई दिन पछि भएको दोस्रो

बैठक दिउसो ३ बजेका निम्ति बोलाइएको थियो ।

त्यसो त, राजदरबार सहज निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न र प्रतिनिधिसभाको बैठक बोलाउन पनि उत्सुक थिएन । २०१५ को पहिलो आमनिर्वाचनपछि ४६ दिनसम्म दरबारले न नयाँ सरकार निर्माण गर्न बोलायो,

न प्रतिनिधिसभाको बैठक नै । निर्वाचित प्रतिनिधिको मनोबल खस्काउने नीतिस्वरुप उसले आलटाल गरिरह्यो ।

प्रतिनिधिसभाको पहिलो बैठकका साक्षी विश्वबन्धु थापा बैठक बोलाउनुको समय मध्यरातमा पारिएपनि त्यसलाई त्यतिखेर कुनै ‘महत्व’ नदिएको बताउँछन् । २०१५ को आमनिर्वाचनमा निर्वाचन क्षेत्र–५५, बहादुरफाँट

दरौलीबाट निर्वाचित भएका थापा त्यतिबेला कांग्रेसका मुख्यसचेतक थिए । ‘दरबारबाटै मध्यरातका निम्ति बैठक आह्वान भएको हो, हाम्रा कारणले होइन । पहिलो बैठक खराब बेलामा पारौं भन्ने उसको नियत हुनसक्छ’ ८८

वर्षीय थापा भन्छन्, ‘तर हामीले नाईं या हुँदैन भनेनौं । अझ त्यतिबेला त्यसलाई त्यति महत्व पनि दिइएन ।’

त्यतिखेर काठमाडौंमा घना बस्ती थिएन । सिंहदरबारका वरिपरि स्याल कराउने फाँट थिए । रातको समय सिंहदरबार पुग्नु र घर फर्किनु सजिलो थिएन । ट्याक्सीको चलन त थिएन भने सांसदहरुसँग गाडी हुने कुरै भएन ।

उनकै सम्झना अनुसार, त्यतिबेला राधजानीमा सवारी साधन पाउनु निकै गाह्रो थियो । एकाध हुनेखाने बाहेक सबैले पैदल नै हिंड्नुपर्थ्यो । त्यो पहिलो बैठकमा खास एजेण्डा पनि थिएनन्– मध्यरातमा बैठक डाक्नुको जायज

कारण थिएन । सांसदहरुको सपथ र सभामुखको चुनावको मिति घोषणामा मात्रै सीमित थियो– पहिलो बैठक ।

अझ दरबारले पहिलो बैठकमा सुनाउने सन्देश पठाउन पनि निकै ढिलाई गरेको थियो । थापा भन्छन्– ‘जब कांग्रेसले संसदीय दलको चुनामा विश्वेश्वरप्रसाद कोइराला चुन्यो, त्यसपछि स्वीकृती दिन राजा महेन्द्रले निकै ढिलाई

गरे । दरबारले जालझेल पारामा कांग्रेसभित्र खेल्न सकिन्छ भनी सरकार निर्माण र प्रतिनिधिसभाको बैठक बोलाउन ढिलाई गरेको हो । राजाले वीपी कोइराला प्रधानमन्त्री भए आफू नाम मात्रको राजामा सीमित हुन्छु भन्ने

अनुमान लगाएका थिए । उनमा नाम मात्रको राजा हुने इच्छा थिएन । महेन्द्रलाई वीपी भन्दा सुवर्ण शमशेर नै चाहिएको थियो । महेन्द्र आफूले भनेको मान्ने व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्नेमा थिए ।’

२०१७ पुस १ पछिका महेन्द्रका हरेक भाषण संसदीय व्यवस्था विरोधी हुन्थे । महेन्द्र प्रारम्भबाटै संसदमाथि क्रमिक रुपमा आक्रमण गर्न थालेका थिए, २०१७ पुस १ त उस्कर्ष हो । महेन्द्रले संसदीय लोकतान्त्रिक दर्शनलाई

आयातित कोरा सिद्धान्त भएको आरोप खुबै लगाएका थिए । पञ्चायतको सूत्रपातसँगै महेन्द्रका अभिव्यक्ति थियो– ‘जनताबाट चुनिएको सरकारको स्थापना भएर पनि साधारण जनताले शासनमा आफूलाई सम्मिलित भएको

अनुभव गर्न सकेनन् । देशको निम्ति संसदीय व्यवस्थाको मूलभूत अनुपयुक्तताले यस्तो स्थिति उत्पन्न हुन गयो, जसले गर्दा हामीबाट २०१७ पुस १ गतेको कदम उठाइसक्सनुपर्‍यो । हामीले भोग्नुपर्ने भोगिसक्यौं, अब हामीलाई

दलगत राजनीति र आपसी तानातानी चाहिंदैन । छोटो मनोवृत्तिको नतिजा पाइसक्यौं, चिनिसक्यौं, अब हामीलाई कुनै ढोंग गर्नुपर्दैन ।’

पञ्चायती कालखण्डभरि संसदीय व्यवस्थाविरोधी माहौल बनाउन कुनै कसरत बाँकी राखिएन– पाठ्यपुस्तकदेखि शासकहरुको भाषणसम्म । यतिखेरको राजनीतिमा हावी भएकाहरु पञ्चायती शासकले निर्माण गरेको ‘संसदीय

व्यवस्थाका अवगुण र असफलता’ फेहरिस्त अध्ययन मात्रै गरेनन्, त्यसैमा परीक्षा समेत दिएका हुन् । त्यो ‘स्कूलिङ’ कारण ‘संसद’ शब्द सुन्न नचाहनेको संख्या पनि हामी कहाँ उल्लेख्य छ ।

दुई तिहाई बहुमतसहित कांग्रेस संसदमा पुगेपछि महेन्द्रमा त्रास छाएको थियो । उनी प्रारम्भमै कांग्रेस विरोधीहरुको जमात बढाउने खेलमा लागिसकेका थिए । त्यसको पहिलो उदाहरण हो– कांग्रेसका चर्का विरोधीहरुलाई

महासभामा मनोनित गर्नु । वीपी कोइरालासँगै चुनाव लडेका र हार बेहोरेका दिलबहादुर श्रेष्ठ मनोनित सूचीमा परे । कांग्रेस नेताहरुसँग प्रतिस्पर्धामा पराजित भएका सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, मुक्तिनाथ शर्मा,

चन्द्रमान थकाली, पशुपति घोष, छिरिङ तेन्जिङ लामा महासभा सदस्य भए । कांग्रेस विरोधी नेतामा परिचित भरतमणि शर्मा, बालचन्द्र शर्मा, लक्ष्मणजंगबहादुर सिंह राजाको रोजाईमा परे ।

निर्वाचनमा पराजितहरु राजालाई उकास्ने खेलमा थिए । चुनावमा ‘लज्जाजनक पराजय’ भोगेकाहरुमा पलाएको राजनीतिक आकांक्षा पूर्ति गर्नुथियो– तिनलाई जसरी पनि संसदीय पद्धतिलाई बदनाम गर्नु । महासभा सदस्य

मनोनयनसँगै कांग्रेस र दरबारबीच शंकाको वातावरण भित्रभित्रै सल्किसेको थियो । उतिबेला कांग्रेस मुख्य सचेतक रहेका थापाले दरबारियाको खुलेर विरोध मात्र गरेनन्, लेखै छपाएका थिए । वीपी कोइरालाका अत्यन्त निकट

रहेका थापाले त्यतिबेला लेखेका थिए– ‘यो मनोनित दृश्यले दरबारमा कांग्रेसविरोधी तत्व बलियो भएको देखाउँछ ।’ उनको यो लेखसँगै दरबार झन् असन्तुष्ट बन्यो । कांग्रेस नेताहरुले चित्त बुझाउन सकेनन् । कांग्रेसको बैठकले

निर्णय लियो– ‘पार्टी हितको निम्ति उचित भएपनि यस समयको निमित्त अनावश्यक ।’

जसले वीपीलाई गाली गर्छ, उसैलाई उचाल्ने नीति महेन्द्रमा भएको थापा स्मरण गर्छन् । उनी भन्छन्– ‘राजा महेन्द्र वीपीलाई जसरी पनि होच्याउन चाहन्थे । तर त्यसमा आफैं सिधैं नपर्ने र विरोधीहरु खोजीखोजी अघि बढाउने

काम गर्थे । दरबारियाहरुको बानी हो– कसैलाई गाली गर्न मन लाग्यो भने अरुमार्फत् नै गाली गराउँथे, आफूलाई भलाद्मी देखाउँदै ।’

ठूला राजनीतिक निर्णय पूर्व ‘साइत’ हेर्ने दरबारको चलन २०५९ असोज १८ का दिन पनि प्रदर्शन भयो । शेरबहादुर देउवाको निर्वाचित सरकार विघटन गर्दाका बखत पनि दरबारले ‘साइत’ हेरेको थियो । तत्कालीन सैन्य

सचिव विवेककुमार शाहका अनुसार, ज्योतिषीहरूले ग्रह, नक्षत्र सबै हेरेर राति १० बजेपछि शाही घोषणा गर्नु उपयुक्त हुन्छ भन्ने सुझाव दिएका थिए । अझ मसिनो गरी हेर्दा १० बजेर ४५ मिनेटको साइत निस्कियो । देउवालाई

‘असक्षम प्रधानमन्त्री’को आरोप लगाइएको थियो, किनभने उनले चुनावको मिति एक वर्ष पर सारेका थिए । यसरी ‘असक्षम’ शब्द राखी शाही घोषणा तयार भयो । राति १०:४५ को साइतमा शाही घोषणामार्फत प्रधानमन्त्री

देउवालाई पदमुक्त गरी मन्त्रिपरिषद् समेत विघटन भयो ।

जसरी प्रतिनिधिसभाको पहिलो ‘अशुभ–साइत’ खोजेर प्रारम्भ गरिएको थियो, त्यसरी २०५९ जेठ ८ को मध्यरातमा ‘शुभ–साइत’ हेरेर प्रतिनिधिसभा समाप्त पारिएको थियो । कांग्रेसभित्रको गुटगत राजनीतिको फाइदा उठाउँदै

तत्कालीन राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रतिनिधिसभा विघटनको सिफारिश गर्न उक्साएका थिए । उनै सैन्य सचिव शाहको ‘मैले देखेको दरबार’ पुस्तकमा उल्लेख भए अनुसार, ‘प्रतिनिधिसभा विघटनको घोषणा गर्न

प्रधानमन्त्रीको सिफारिस पत्र समेत दरबारमै लेखियो । राति नै प्रधानमन्त्री कार्यालयबाट छाप समेत मगाइयो । सिफारिस पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरपछि सरकारबाट राति ११ बजे प्रतिनिधिसभा विघटन गरिबक्स्यो ।

प्रतिनिधिसभा विघटनको शुभ साइतका लागि दरबारका राजज्योतिषीसँग समेत सल्लाह भएको थियो । ज्योतिषीको सल्लाह अनुसार पनि प्रतिनिधिसभा विघटनको घोषणा राति ११ बजे गर्नुपरेको हो ।’

तीस वर्षे पञ्चायती कालखण्डपछिका तीन पटक निर्वाचित प्रतिनिधिसभाले कहिल्यै आफ्नो आयु पूरा गर्न पाएन । लोकतन्त्रकालमा भने आयु दोब्बर पार्दा पनि जिम्मेवारी पूरा नगरीकन विघटन हुने खेल भित्रिएको छ । त्यसैको

परिणतिस्वरुप २०६९ जेठ १४ को मध्यरातमै संविधानसभा तथा व्यवस्थापिका–संसद विघटन हुन पुग्यो– निर्वाचित जनप्रतिनिधिहरुलाई फाल्तु जोकरमा रुपान्तरित गर्दै । त्यतिखेर दरबार थिएन । तर दृश्य/अदृश्य शक्तिकेन्द्रको

उक्साहटमा तमाम काम भयो । हामीकहाँ कालखण्ड, पात्र र प्रवृत्ति लिपिबद्ध नहुँदा मध्यरातका दृश्यहरु दोहोरिने क्रम निरन्तर चलिरहेको छ । राजतन्त्र रहँदा दरबारले आफू अनुकूल वातावरण सिर्जना गर्न जनप्रतिनिधिमूलक

संस्थाको हैसियत समाप्त पार्ने प्रपञ्च रच्थयो । राजतन्त्रको अवसानपछि आफू अनुकूल नलाग्ने वित्तिकै अनेक शक्तिकेन्द्रहरू षडयन्त्रको तानाबुना बुन्न समय र स्रोत खर्चन कुनै कसर बाँकी राख्दैनन् । लोकतन्त्रकालमा पनि

हाम्रा जनप्रतिनिधिमूलक संस्थालाई चक्रब्यूहमा पारिने गरेको छ, र त्यो पनि कुनै शुभ वा अशुभ साइत नखोजीकनै ।

प्रकाशित : श्रावण १६, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?