रिक्सा चलाएरै भएपनि स्नातकोत्तर पढ्ने धोको

शिल्पा कर्ण

काठमाडौं — रिक्साको पछाडिको नम्बर प्लेटमा लेखिएको छ, ‘अखिल नेपाल रिक्सा चालक मजदुर संघ’। रिक्सा नम्बर ९४ । सम्पर्क नम्बर ९८६१४९४३९५ । यो रिक्सा हो- धादिङका राम तामाङको । केहीदिनअघि दिउँसो ११ बजेतिर बसन्तपुरमा भेट्न बोलाउँदा उनले भने, ‘साहुले फोन गर्‍यो भने अहिले फेरि जानुपर्ने हुनसक्छ। के कुरा गर्ने हो छिट्टो गर्नुस् ।’ भर्खरै रिक्सा निकालेर उनी भेट्न आएका थिए । त्यसैले उनी अलि हतारमा पनि थिए ।

रिक्सा चलाएरै भएपनि स्नातकोत्तर पढ्ने धोको

धादिङ खनियाँबास गाउँपालिका- ५ का तामाङको दैनिकी बिदाको दिन बाहेक यस्तै व्यस्त हुन्छ । व्यस्त नहोस् पनि किन? ३ छोरीका पिता उनको काँधमा परिवार पाल्नुपर्ने जिम्मेवारी छ भने आँखामा स्नातक पुरा गर्ने सपना पनि । बिहान उठेदेखि नै पढाइको सपना र परिवारको खुशीका लागि दिनभरि उनी कडा मेहनत गरिरहन्छन् ।

बिहान साढे ४ बजेदेखि नै रिक्सा चालकहरू सामान ढुवानीको काम गरिरहेका हुन्छन् । तर साढे ६ बजेदेखि कलेज लाग्ने भएकाले तामाङ भने एकाबिहानै मनमैजुबाट प्रदर्शनीमार्गको रत्नराज्यलक्ष्मी क्याम्पसको मानविकी संकायको स्नातक तहको पहिलो वर्षको कक्षामा पुग्छन् । उनले पढ्ने मेजर विषय हो- अंग्रेजी र राजनीतिशास्त्र । क्याम्पस छुट्टि भएपछि होटेलमा खाना खान्छन् उनी।



अनि पुग्छन् विष्णुमति किनार रामघाट । त्यहाँको ग्यारेजबाट रिक्सा निकाल्छन् । र, व्यापारीको फोन आउने बित्तिकै भनेको स्थानमा सामान पुर्‍याउने, ल्याउने गर्छन् । बेलुका ६/७ बजेतिर डेरामा पुग्छन् । डेरामा उनकी श्रीमती छिन्, जुम्ल्याहा छोरीहरू ४ वर्ष भए र कान्छी छोरी तीन महिना पुगिन् । दुई छोरी जीवनज्योती बोर्डिङ स्कुल मनमैजुमा एलकेजीमा पढ्दैछन् ।

परीक्षा नजिकिएकोले ट्युसन पढिरहेका छन् । २६ वर्षीय तामाङले भने, ‘यो बीचमा धेरै दिन पढाइ छोडियो । घरमा पनि पढाइलाई खासै समय दिन नसकेकाले ट्युसन पढिरहेको छु । आर्थिक अवस्थाले भ्याएसम्म स्नातकोत्तरसम्म पढ्नेछु ।’

तामाङले धादिङकै स्कुलबाट प्लस टु पास गरेका हुन् । मेजर अंग्रेजी लिएर २०६९ सालमा प्लस टु पास गरे । ३ दिदी र ३ भाइमा कान्छा उनलाई पढ्ने रहर भएपनि घरको आर्थिक अवस्थाले नभ्याएकाले अगाडि पढ्न सकेनन् । २१ वर्षमा विवाह पनि भयो ।

एक वर्ष गाउँमै ज्यामी काम गरेर गुजारा चलाएका उनी काठमाडौं आएको चार वर्ष लाग्दैछ । आएदेखि नै शारीरिक श्रम गरेरै गुजारा चलाइरहेका छन् । दुई वर्षपहिलेसम्म उनी ठेलागाडा धकेल्थे । पछि आफैंले २४ हजार रुपैयाँ लगानी गरेर सामान बोक्ने रिक्सा तयार पारे ।

‘सुरुमा काठमाडौं आउँदा साहुहरूसँग चिनजान थिएन । नयाँ ठाउँमा काम कसरी गर्ने थाहा थिएन,’ उनले अहिले आएर स्नातक पढ्न थाल्नुको कारणबारे बताए, ‘कमाइ नहुने भएपछि पढाइमा लगाउन सकिनँ । अहिले पढ्न पैसा छ ।’ महिनामा २५/२६ हजारसम्म कमाइ हुन्छ । शरीरले साथ नदिएको बेलामा आम्दानी ह्वात्तै घट्छ । उनको ठेलामा भएको सामानको परिमाण र दुरीले भाडा निर्धारण गर्ने उनी बताउँछन् ।

यो काम छाडेर विदेश जाने इच्छा उनलाई कहिल्यै भएन । ‘विदेशमा गएर पनि शारीरिक मेहनत गर्ने नै हो,’ उनले भने, ‘त्यो पसिना बरु नेपालमै बगाउँला, परिवार र देश छाडेर बाहिर नजाने संकल्प गरेँ ।’ राजनीतिमा रुची राख्ने उनी भर्खरै स्थानीय तहको चुनावमा वडाध्यक्षमा चुनाव लड्न महिनादिन घर बसेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

उनकी श्रीमती कमाइले भ्याएसम्म पढ्न सुझाउँछिन् । कलेजमा पनि उनलाई शारीरिक श्रम गरेको भनेर हेपेको वा नराम्रो बोलेको अनुभव उनीसँग छैन । ‘केहीलाई नराम्रो लाग्यो भने पनि मलाई मेरो कामप्रति कहिल्यै नराम्रो लागेन,’ उनले थपे, ‘आफैंले मेहनत गरेर खानुमा केही लाज छैन ।’

उनीसँगै कलेज पढ्ने साथी कहिलेकाँही काम गरिरहँदा भेट हुन्छन् । जिविका चलाउन कुनै न कुनै पेशा अँगाल्नैपर्छ, र उनलाई आफूले अँगालेको पेशाप्रति कुनै हिनताबोध छैन । शारीरले बढी मेहनत आवश्यक साथ दिन छाडेपछि पेशा परिवर्तन गर्ने मनसाय छ उनको ।

शिक्षासँगसँगै उनले शारीरिक श्रमबाट चल्ने सवारी साधन चालकमाथि ट्राफिक प्रहरीबाट दुर्व्यवहाहार भएको बताउँछन् । कार्यालय समयमा शारीरिक श्रमबाट चल्ने रिक्साहरूले गर्दा नै जाम भएको भन्दै चलाउन दिँदैनन् । दिनहुँ काम गरेर हातमुख जोर्नुपर्ने श्रमिकलाई महानगरको यो नियमले गाह्रो बनाइरहेको उनको भनाइ छ । मजदुरहरूको मर्का राज्यले नबुझेर नियन्त्रण गर्न खोजेकोमा उनको गुनासो छ ।

प्रकाशित : भाद्र ९, २०७४ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?