१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उन्मुक्त जीवन

समाज
दुर्गालाल केसी

पश्चिम तराईमा प्रचलित कमैया, कमलरी प्रथा लामो संघर्षपछि कानुनी रूपमा अन्त्य भयो । व्यावहारिक रूपमा हट्न भने धेरै समय लाग्यो ।

उन्मुक्त जीवन

सरकारले कमैया मुक्ति घोषणा गरेको साउन २ मा १७ वर्ष र कमलरी मुक्त गरेको असार १३ मा चार वर्ष पुगेको छ । अझै पनि लुकीछिपी कमैया, कमलरी राख्ने क्रम जारी छ । कतिले मुक्त भएपछि पनि जीवनको लय भेट्टाएका छैनन् । तर कति यस्ता परिवार छन् जसको जीवनस्तरमा ठूलो परिवर्तन आएको छ । उनीहरूले उदाहरणीय जीवन बिताएका छन् ।

हिजो एक छाक खाना र एकसरो कपडाका लागि जमिन्दारको मुख ताक्नुपर्ने कमैया परिवारहरू आज आत्मनिर्भर भएका छन् । हिजो मालिकका जग्गा अधिया कमाउन पाइने लोभमा कमलरी पठाएका छोरीलाई आज समाजका विभिन्न क्षेत्रमा स्थापित गर्न सफल भएका छन् । कतिपय कमलरी आफैंले मिहिनेत गरेर परिवारको जीवनस्तर बदलिदिएका छन् । केहीले मुक्तिपछि समाजले नपत्याउने गरी स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । केही सरकारी सेवामा स्थायी जागिरे भएका छन् । केही प्रहरी र सेनामा भर्ना भएका छन् भने कोही स्टाफ नर्स बनेका छन् । केही नेतृत्व तहमा स्थापित भएर राष्ट्रिय राजनीतिमासमेत चिनिएका छन् । केही अन्तर्राष्ट्रिय तहसम्म नेपालको प्रतिनिधित्व गर्न सक्षम भएका छन् । अधिकांशले सहकारी खोलेर आयमूलक काममा हात हालेका छन् । यी केही उदाहरणले जीवन बदल्न सकिँदोरहेछ भन्ने सन्देश दिएको छ ।

१८ वर्ष कमलरी बसेकी घोराही उपमहानगरपालिका–४ डाँडागाउँ दाङकी शान्ता चौधरी सभासद हुँदै एमालेको वैकल्पिक केन्द्रीय सदस्यसमेत भएकी छन् । बर्दियाका मुक्त कमैया सुन्दर थारू र कैलालीकी मुक्त कमलरी सुकदैया चौधरी माओवादी केन्द्रबाट सभासद भए । 

शान्ता त ‘सेलिब्रिटी’ जत्तिकै छिन् । सञ्चार माध्यममा उनका अन्तर्वार्ता र जीवनकथाले स्थान पाइरहेका छन् । उनले बाल्यकालमा कहिलै विद्यालय टेक्न पाइनन् । सभासद भइसकेपछि ३५ वर्षमा उनले पहिलोपटक ८ कक्षा भर्ना भएर औपचारिक अध्ययन थालेकी हुन् । औपचारिक अध्ययन थाल्नुअघि नै उनले ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक लेखिसकेकी थिइन् । कमलरी बस्दा भोगेका सबै पीडालाई उनले पुस्तकमा उतारेकी छन् । ‘सभासद हुँदा शिक्षा नभएका कारण धेरै कठिनाइ भोग्नुपर्‍यो । अपमान सहनुपर्‍यो । औंठाछाप सभासदको उपमा पाइयो,’ उनले भनिन्, ‘कतिले त औंठाछाप सभासदको समितिमा बस्दैनौं भनी आपत्तिसमेत जनाए ।’ संसद्को प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा पत्रकारले निर्णय पढेर सुनाइदिन अनुरोध गर्थे तर उनी पढेर सुनाउन सक्दिनथिन् ।

हरेक दिन शिक्षाबिनाको जीवन कठिन भएको महसुस भएपछि उनले सभासद हुँदै अक्षर लेख्ने प्रयास गरिन् । दिनहुँ अभ्यास गरेपछि उनी लेख्न सक्ने भइन् । ‘अरूले किताव बोकेको, पत्रिका पढेको देख्दा आफूले पनि पढ्न पाए हुन्थ्योजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अनि कोठामै एक जना बहिनी राखेर ६ महिनासम्म अक्षर लेख्न र पढ्न सिकें ।’

कैलालीको जानकी गाउँपालिका–९ बक्लहवाकी सुकदैया पनि सभासद भएपछि पार्टी राजनीतिमा सक्रिय हुँदै माओवादी केन्द्रको राज्य समिति सदस्य भइन् । अहिले नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य छिन् । साह्रै कष्टकर जीवन बिताएकी उनलाई अहिलेको जीवन दोस्रो जुनीजस्तो लाग्छ । जीवनमा नसोचेको परिवर्तन आएकोमा उनी खुसी छन् । 

शान्ता, सुकदैया र सुन्दर राज्यको नीति निर्माण तहमै पुगेका अगुवा हुन् । अन्य मुक्त कमलरीले पनि उनीहरूको बाटो पछ्याउँदै विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेका छन् । 

***
दाङको गढवा–७ मानपुरकी उर्मिला चौधरी अन्तर्राष्ट्रिय चर्चाकी पात्र बनेकी छन् । कमलरीका हरेक आन्दोलनमा अगुवाइ गरेकी उनले विभिन्न देशबाट पुरस्कारसमेत पाएकी छन् । ६ वर्षमा कमलरी भएर काठमाडांै गएकी उर्मिलाले १८ वर्ष हुँदा मात्रै दासतापूर्ण जीवनबाट मुक्ति पाएकी थिइन् । कमलरी जीवनबाट मुक्ति पाएपछि उनी एकैपटक पाँच कक्षामा भर्ना भइन् । पढ्न थाल्दा उनका हातमा कापी किताब मात्रै थिएनन् गाउँ जगाउने साहस र आवाज पनि थियो । ‘पढाइ र कमलरी मुक्ति अभियान एकैपटक थालें,’ उर्मिला भन्छिन्, ‘मजस्ता पढ्ने उमेरका बालबालिका कमलरी बस्न नपरोस् भनेर साँझ–बिहान गाउँगाउँमा चेतना फैलाउने काम गरें ।’

उर्मिला पटक–पटक कमलरी आन्दोलनको नेतृत्व गर्दै सिंहदरवार, राष्ट्रपति भवन र सडकमा उत्रिएकी छन् । अमेरिका, नर्वे, जर्मन र स्विजरल्यान्ड गएर कमलरीको पक्षमा वकालत गरेकी छन् । उनको बारेमा डकुमेन्ट्री बनेको छ, जर्मन भाषामा एक पुस्तक नै प्रकाशित भएको छ । उनी पुस्तकको विमोचन गर्न सन् २०११ मा जर्मनी पुगिन् । सन् २०१२ मा अमेरिकास्थित टाइट फाउन्डेसनले ‘विमेन ह्याभ टु विङ्स अवार्ड’ का साथ ५ लाख पुरस्कार दियो । उक्त रकम उनले मञ्चमा छु्ट्टै कोष बनाएर कमलरी सशक्तिकरणका लागि लगानी गरेकी छन् । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा २०१२ अक्टोबर ११ मा उनी ‘ग्लोबल गर्ल एम्ब्यासेडर’ भएर अमेरिकाको न्युयोर्क पुगिन् । बेलायत सरकारले प्रदान गर्ने ‘यूएन युथ करेज फर एजुकेसन अवार्ड २०१३’ पनि उनले प्राप्त गरिन् । सन् २०१७ मा जर्मनीको प्रसिद्ध अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पाएकी छन् ।
***

दाङको लमही–८ सतबरियाकी विष्णु चौधरी अर्की एक उदाहरणीय पात्र हुन् । कमलरी मुक्त भएलगत्तै स्थानीय राप्ती मावि उचानिम्बुमा पाँच कक्षा भर्ना भएकी विष्णु परीक्षामा प्रथम भइन् । त्यसपछि विद्यालयका शिक्षकहरूले नै उनको घरमा गएर निरन्तर पढ्न पठाउन बुवालाई आग्रह गरे । ‘सुरुमा बुवाले कमलरी नगए जमिनदारले खेत अँधिया लगाउन दिंदैनन् भन्नुहुन्थ्यो पछि अँधिया नपाए पनि विद्यालय पठाउने प्रण गर्नुभयो,’ उनले भनिन्, ‘सुरुका दिनमा खेतमा काम गर्न जाँदा पनि किताव लुकाई–लुकाई पढें ।’ ५ देखि १२ कक्षासम्म प्रथम श्रेणीमै उत्तीर्ण भएकी विष्णुले अंग्रेजी विषयमा बीएड उत्तीर्ण गरिन् । २४ वर्षीया विष्णु अहिले काठमाडौंमा कानुनमा स्नातक पढिरहेकी छन् । 

विद्यालय पढ्दा उनले आफ्नै शिक्षकका घरमा राखिएका कमलरीको उद्धार गरिन् । कमलरी प्रथाविरुद्ध सशक्त उभिइन् । जसका कारण उनलाई विद्यालयबाट निकालिदिने धम्कीसमेत आयो । १२ कक्षा पढ्दा उनले अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सबै नेपाली बालिकाको प्रतिनिधित्व गर्दै स्पेनमा गएर नेपाली बालिकाको अवस्थाबारे भाषण गरेकी थिइन् । 
***

घरमा राम्ररी खान–लाउन नपुगिरहेको बेला बुवाले सपना देखाइदिए, ठूलो सहरमा गएपछि मीठो खान, राम्रो लाउन र राम्रो स्कुलमा पढ्न पाइन्छ । दाङको गढवा गाउँपालिका–५, धर्मापुर गाउँमा तीन कक्षा पढिरहेकी आठ वर्षीया सुनीता चौधरीलाई बुवाको सपनासँगै दौडन त्यति गाह्रो भएन । घरसम्मै लिन पुगेका मालिकको पछिपछि लागेर घोराही बजारतिर प्रवेश गर्दा उनको मन चंगा थियो । मनमनै सोचिरहेकी थिइन्— आहा, अब नयाँ लुगा लगाउने, मीठा–मीठा खानेकुरा खाने अनि सहरको राम्रो स्कुलमा पढ्ने ।

नयाँ घरका नयाँ दिनहरू बित्दै गए तर उनका रहरले कतै ठाउँ पाएनन् । न मीठो खाना, न राम्रो कपडा न राम्रो स्कुल । बिहान अँध्यारैमा उठेकी सुनीता राति अबेरसम्म पनि काममै हुन्थिन् । मालिकको घरमा २८ जनाको परिवार थियो । कपडा धुने, भाँडा माझ्ने र घरको सफाइ गर्ने कामले उनका हातखुट्टा पाके । घरबाट बाहिर निस्कन पाइनन् । सहरको रमझममा रमाउने सपना बुनेर घर छोडेकी सुनीताले घोराही बजार पनि घुम्न पाइनन् । 

ती सुनीता अहिले मुक्त कमलरी विकास मञ्चको केन्द्रीय अध्यक्ष भएर पश्चिम तराईका पाँचै जिल्लाको नेतृत्व गर्दै कमलरी आन्दोलनलाई अघि बढाइरहेकी छन् । मुक्त भएका कमलरीको शिक्षा, रोजगार र सहुलियत परिचयपत्रका लागि उनी निरन्तर लडिरहेकी छन् । अब मञ्चको आफ्नै जग्गामा घर बनाएर आफ्नै घरमा बसेर काम गर्ने सपना छ उनको । यसका लागि घोराहीको चौघेरामा जग्गा पनि किनिसकेकी छन् ।
***

वर्षभरि काम गरेर एक जोडा कपडा पाउने भजनी नगरपालिका–८ बहादुरपुर कैलालीकी २२ वर्षीया अनीता चौधरी अहिले मासिक २५ हजार तलब बुझ्छिन् । अनमी भएर सरकारी स्थायी जागिर खाएपछि उनको जीवनको रौनक बदलिएको छ । उनी अहिले सरकारी पोसाक लगाएर दिनहुँ गाउँबाट प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुर पुग्छिन् र बिरामीहरूको सेवा गर्छिन् । चार कक्षा पढ्दापढ्दै आमा मीनादेवीको मृत्यु भएपछि अनीता तीन वर्ष गाउँमै र दुई वर्ष टीकापुरमा कमलरी बसेकी थिइन् । 
***

मालिकको घरमा जुठा भाँडा माझेर बाल्यकाल बिताएकी गढवा गाउँपालिका–४ पर्सा दाङकी २५ वर्षीया अरुणा चौधरी अहिले नेपाल प्रहरी बनेर सेवा गरिरहेकी छन् । कम्ब्याट पोसाकमा सजिएर सडकमा ड्युटी गर्न निस्कँदा उनी आफैंलाई अचम्म लाग्छ, घरपरिवार पनि दंग छन् । दाङको घोराही उपमहानगरपालिका–१० वसन्तापुरकी विमला चौधरी पनि नेपाल प्रहरीमा छन् । १० वर्षको हुँदा उनी बाआमा छाडेर जमिनदारको घरमा काम गर्न गएकी थिइन् । तीन वर्ष गाउँ र तीन वर्ष बुटवलमा कमलरी बसेपछि २०६५ फागुनमा उनको उद्धार गरियो । उद्धारपछि विद्यालय गएकी विमला १० कक्षा पढ्दा मुक्त कमलरीको केन्द्रीय अध्यक्ष भएकी थिइन् ।
***

२०६६ सालसम्म बिजुलीको तार र वल्ब छुन पनि डराउने जोशीपुर गाउँपालिका–६ लोक्री कैलालीकी रिनाकुमारी चौधरी अहिले यही विषयमा पढाउने शिक्षिका भएकी छन् । कुनै बेला कमलरीका रूपमा मालिकको घरमा दबिएर बसेकी रिना अहिले धनगढीस्थित हाइड्रो इलेक्ट्रिक टेक्निकल एन्ड एजुकेसन कलेजमा शिक्षिका छन् ।

अर्की मुक्त कमलरी वसन्ती चौधरी अंग्रेजी विषयमा एमएड अध्ययन गर्दै छन् । क्याम्पसको अध्ययनसँगै संघ/संस्थाको सहयोगमा १५ महिने इलेक्ट्रिकल सब–ओभरसियर पढिन् । त्यही प्राविधिक शिक्षाका कारण उनले अहिले नेपाल विद्युत् प्राधिकरणको फोरम्यानमा नाम निकालेकी छन् । कैलालीको अत्तरिया क्षेत्रमा काम गर्ने गरी उनी स्थायी जागिरे भएकी छन् । अब उनी पढाइलाई पूरा गर्दै जागिरे जीवन अघि बढाउने योजनामा छिन् ।
***

घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरकी सरस्वती चौधरी पनि जनसंख्या विषयमा एमएड पढ्दै छिन् । ‘सानोमा पढ्न खोज्दा मालिकका छोरीहरू गिज्याउँथे । मेरा च्यातिएका कपडा देखेर हाँस्थे,’ उनले भनिन्, ‘म रुँदैरुँदै बस्थें । जीउ पाल्न कमलरी बसेकाले केही बोल्न सक्ने कुरा हुँदैनथ्यो ।’ उनले रातिराति पढेर राम्रो प्रगति गरिन् । मालिककै घरमा बसेर सात कक्षासम्म पढिन् । त्यसपछि पढाइमा बाधा पुग्ने भएपछि कमलरी छोड्नि । अहिले उनी पढ्दै नायफ संस्थाको परियोजना सहायक भएर दाङमा मुक्त कमलरीको सहकारी क्षेत्र हेरिरहेकी छन् ।

घोडाघोडी–१२ खोपा, कैलालीकी २५ वर्षीया फूलमती चौधरीले ‘जानकी प्रशिक्षण केन्द्र’ खोलेकी छन् । उनले २ सय ७६ जनालाई सिलाइकटाइ सिकाइसकेकी छन् । दैनिक ३० जना प्रशिक्षार्थी हुन्छन् । कहिलेकाहीं ५० जनासम्मलाई सिकाएकी छन् । सिकेबापत एक जनाले मासिक ८ सय रुपैयाँ तिर्छन् । २०६९ सालमा दुइटा मेसिन किनेर सुरु गरेको सिलाइ व्यवसाय अहिले १० वटा मेसिनसाथ प्रशिक्षण केन्द्र बनेको छ । मुक्त कमलरीको ज्योति कृपष सहकारी संस्थाबाट १ लाख रुपैयाँ ऋण लिएर उनले व्यवसाय थालेकी थिइन् । उनले अहिले ऋण तिरिसकेर पनि उक्त सहकारीको अध्यक्ष नै भएकी छन् । ७८ जना सदस्य रहेको सहकारीलाई पनि नेतृत्व दिंदै उनले सिलाइ व्यवसायलाई विकास गरिरहेकी छन् । पहिले कमलरीका रूपमा अपहेलित भएकी फूलमती अहिले सबैकी गुरु भएकी छन् । ‘पहिले त जिन्दगी अर्काको घरमा कमलरी बसेरै बित्छजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले त गाउँ समाजमा पनि मलाई आदर सम्मान गर्छन् ।’
***

बारबर्दिया–१० धधवार बर्दियाकी २५ वर्षीया निशा चौधरीले नास्ता पसलबाट दैनिक २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म आम्दानी गर्छिन् । १० वर्षको हुँदा नेपालगन्जमा कमलरी गएकी निशा आठ वर्षसम्म त्यहीं विभिन्न मालिकका घरमा बसिन् । बर्दियाको राजापुर नगरपालिका–११, टेडिया गाउँकी दीपाकुमारी थारू आठ वर्षको उमेरमा गाउँमै कमलरी बस्न गइन् । पाँच वर्षपछि उनी नेपालगन्ज डेढ वर्ष, बुटवल दुई वर्ष र काठमाडौं दुई वर्ष कमलरी बसिन् । माघी पर्व आउँदा उनी घर सम्झेर रुन्थिन् तर घर जान पाउँदिनथिन् । कमलरी मुक्ति अभियान चलिरहेका बेला २०६५ सालमा उनी उद्धार भइन् । मालिकको घरबाट निस्कदा उनलाई जेलबाट निस्केझैं भयो । उनले केही समय पढे पनि निरन्तरता दिन सकिनन् अनि २२ हजारको ठेला किनेर पानीपुरी बेच्न थालिन् । त्यसअघि राजापुर बजारमा पानीपुरी बेच्ने कोही थिएन ।

‘सुरुमा ठेलामा पानीपुरी बेच्दै हिँड्न लाज लाग्यो । पछि एकै दिनमा ५ हजार रुपैयाँसम्मको बिक्री हुन थालेपछि लाज हट्दै गयो,’ दीपाले भनिन्, ‘ग्राहक बढी भएपछि एक्लै काम गर्न गाह्रो भयो । श्रीमान्/श्रीमती मिलेर काम गर्‍यौं ।’ ८ हजार रुपैयाँले २०७३ साउनमा सुरु गरेको ठेलाको व्यापार पुसमा पुग्दा ७२ हजारको भयो । त्यसपछि उनीहरूले बजारमा मासिक १ हजार ५ सय रुपैयाँको कोठा भाडामा लिएर होटल सुरु गरे । अहिले दैनिक ४ हजार ५ सय रुपैयाँसम्मको बिक्री हुन्छ । यसबाट दैनिक १ हजार ८ सय बढी फाइदा हुने गरेको श्रीमान् रामप्रसादले बताए । ‘कोठा भाडा त एकै दिनको कमाइले तिरिन्छ,’ उनले भने, ‘यसले हामीलाई झनै उत्साहित बनाएको छ ।’ अहिले दीपाले मासिक ३० हजार बढी कमाइ गरिरहेकी छन् । 
***

पश्चिम तराईमा ८ सय ७८ मुक्त कमलरी आफ्नै सहकारी र घुम्ती कोषबाट ऋण लिएर विभिन्न व्यवसायमा संलग्न छन् । मुक्त कमलरीले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा ४२ वटा सहकारी र १५ वटा बचत समूह सञ्चालन गरेका छन् । दाङमा ८, बाँके ६, बर्दिया ९, कैलाली १२ र कञ्चनपुरमा ७ सहकारी छन् । यसमा ९ हजार ३ सय ९२ सदस्य छन् । पाँच जिल्लामा गरी सहकारीको कुल पुँजी ३ करोड ४२ लाख ६६ हजार १९ रुपैयाँ छ । मुक्त कमलरी आफैंले जम्मा गरेको २ करोड ७९ लाख ९३ हजार ८ सय ७ रुपैयाँ छ भने नेपाल युथ फाउन्डेसनले घुम्ती कोषका लागि सहयोग गरेको ६३ लाख रुपैयाँ छ । हालसम्म १ हजार ९ सय २३ सदस्यको २ करोड ९३ लाख ८१ हजार ७४ रुपैयाँ ऋण लगानी भएको छ ।

सहकारीबाट ७ सय ४८ मुक्त कमलरीले ऋण लिएर विभिन्न व्यवसाय गरिरहेका छन् । उनीहरूले बाख्रापालन, बंगुरपालन, तरकारी खेती, फ्रेस हाउस, किराना पसल, हार्डवेयर पसल, सिलाइ–कटाइजस्ता व्यवसाय सञ्चालन गरेका छन् । व्यावसायिक योजना बनाएर पेस गरेपछि एक जनाले १० हजारदेखि ३ लाखसम्म ऋण पाउने गरेका छन् ।

२०५६ माघदेखि दाङको गोबरडिहास्थित खैरा गाउँबाट सुरु भएको कमलरी मुक्ति आन्दोलन अहिले सफलता भएको छ । सुरुमा ३६ कमलरीलाई मुक्त गरी विद्यालय पठाएइको थियो । अहिले २ हजार ९ सय ६३ जना नियमित विद्यालय गइरहेको मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले जानकारी दिइन् । पाँच जना त स्नातकोत्तर पढिरहेका छन् । 

मञ्चका अनुसार हालसम्म पश्चिम तराईमा १२ हजार ८ सय ६९ कमलरीको उद्धार भइसकेको छ । उद्धार हुनेमा सबैभन्दा बढी दाङमा छन् भने कम बाँकेमा छन् । आर्थिक अबस्था कमजोर भएका र अभिभावकविहीन ३ सय १ जना छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् ।

अझै पनि कैलालीमा ५९, बाँकेमा १७ र कञ्चनपुरमा ११ गरी ८७ कमलरीको उद्धार गर्न बाँकी छ । दाङमा २, बर्दियामा २ र कैलालीमा २ गरी ६ जना काम गर्ने घरबाटै बेपत्ता छन् । उनीहरूको सोधीखोजी हुन सकेको छैन । कमलरी बसेको अबस्थामा यौन शोषण भएपछि बच्चा लिएर घर फर्कने पनि ठूलो संख्यामा छन् । उनीहरूले अहिलेसम्म पनि न्याय पाउन नसकेको कमलरी मुक्ति अभियानमा क्रियाशील नेपाल युथ फाउन्डेसनका कार्यक्रम संयोजक मानबहादुर क्षत्रीले बताए । यौनशोषण भएको भनी परेका २८ उजुरीमध्ये हालसम्म ५ जना मात्र जेल परेको र अन्यले उन्मुक्ति पाइरहेको उनले बताए । 
***

शिक्षा मन्त्रालयले जारी गरेको ‘मुक्त कमलरीका लागि शिक्षा निर्देशिका २०६८’ मा मुक्त कमलरीलाई शिक्षाको पहुँचमा पुर्‍याउने, आत्मनिर्भरताका लागि सीप विकासमा सहयोग गर्ने र परिवार, समुदायमा चेतना वृद्धि गर्ने लक्ष्य लिइएको छ । निर्देशिकामा आधारभूत तह (१ देखि ८ कक्षासम्म) का लागि घरबाटै विद्यालय जाने मुक्त कमलरीका लागि मासिक १ सय ५० का दरले १० महिनाको १ हजार ५ सय, ९ र १० कक्षालाई मासिक १ सय ८० का दरले १० महिनाको १ हजार ८ सय तथा ११ र १२ कक्षाका लागि मासिक ५ सयका दरले १० महिनाको ५ हजार र स्नातक तहका लागि मासिक १ हजारका दरले १० महिनाको १० हजार रुपैयाँ छात्रवृत्ति दिने व्यवस्था छ । यसैगरी छात्रावासमा बस्ने या डेरा गरी बस्नुपर्ने मुक्त कमलरीलाई खाना खर्चबापत २ हजार ५ सय र व्यक्तिगत सरसफाइका लागि ५ सय गरी मासिक ३ हजार रुपैयाँ दिने व्यवस्था गरेको छ । 

१५ वर्ष पुगिसकेका औपचारिक शिक्षाभन्दा व्यावसायिक तालिम लिई आत्मनिर्भर हुन चाहने मुक्त कमलरीका लागि नियमित सीप विकास तालिम सञ्चालन गर्न सकिने कुरा निर्देशिकामा उल्लेख छ । मुक्त कमलरीले ५ देखि २० जनासम्मको समूह बनाई जुनसुकै समयमा पनि जिल्लास्तरीय कार्यक्रम व्यवस्थापन समितिमा निवेदन पेस गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । जिल्ला शिक्षा समितिका अध्यक्षको नेतृत्वमा जिल्लामा एक कार्यक्रम व्यवस्थापन समिति रहने व्यवस्था छ । निर्देशिकाले तालिम लिइसकेका मुक्त कमलरीले व्यवसाय गर्न चाहेमा व्यवसायको विवरण र खर्च उल्लेख गरी व्यवस्थापन समितिमा प्रस्तावना पेस गरेमा ५ हजार रुपैयाँ उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।

निर्देशिकामा मुक्त कमलरीलाई नि:शुल्क शिक्षा दिने दायित्व हरेक सामुदायिक विद्यालयको हुने कुरा उल्लेख गरे पनि विद्यालयले विभिन्न शीर्षकका नाममा छात्रवृत्ति कटौती गर्ने गरेका छन् । प्राप्त हुने रकम पनि अध्ययन खर्चका लागि अपर्याप्त भएको मुक्त कमलरीको भनाइ छ । प्रावि पढ्ने प्रत्येक मुक्त कमलरीका लागि वार्षिक न्यूनतम ४ हजार, निमाविका लागि ७ हजार, माविमा १० हजार, दस जोड दुईका लागि १३ हजार र स्नातक अध्ययनका लागि २० हजार रुपैयाँ आबश्यक रहेको मुक्त कमलरी विकास मञ्चको भनाइ छ । यसैगरी छात्रावासमा बस्ने अभिभावकविहीन कमलरीलाई मासिक ४ हजार, छात्रावास व्यवस्थापन खर्च प्रतिमहिना १ हजार र कमलरी आकस्मिक उपचार खर्चबापत वार्षिक प्रतिकमलरी २ हजार रुपैयाँ व्यवस्था हुन सके छात्राहरू फेरि कमलरी बस्नबाट रोकिने मञ्चको भनाइ छ ।

प्रकाशित : भाद्र १०, २०७४ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?