स्वरोजगारमा थारू महिला

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका १ भासीकी रमा चौधरी मुक्त कमैया परिवारकी सदस्य हुन् । केही वर्षअघिसम्म उनी श्रीमान्सँगै मजदुरी गरेर परिवारको गर्जो टार्थिन् ।

स्वरोजगारमा थारू महिला

मजदुरी गर्दा मिस्त्रीको काममा बढी ध्यान दिन थालिन् । ३ वर्ष लगातार मजदुरी गर्दा उनले पनि घर चिनाइको काम सिकिन् । अहिले अब्बल मिस्त्रीको छवि बनाएकी छन् । मजदुरीको आम्दानीभन्दा दोब्बर कमाउँछिन् ।

‘हेर्दाहेर्दै काम सिकें, अहिले अरू मिस्त्रीझैं राम्रैसँग घर चिनाइको काम गरिरहेकी छु,’ रमाले भनिन्, ‘ढलान र पिल्लरको काममा अलि अप्ठ्यारो भए पनि अरू काम सहजै गर्न सकिन्छ ।’ उनका श्रीमान् राजु अहिले पनि मजदुरी नै गर्छन् । 

कामकै खोजीमा उनको परिवार कैलालीको धनगढीबाट यहाँ बसाइँ सरेको हो । यहाँ आएपछि दुवैजना कृषिदेखि निर्माण कार्यमा मजदुरी गर्थे । रमाका श्रीमान् पहिले रिक्सा चलाउँथे । अहिले भने उनी पनि मजदुरीमै लागेका छन् । कुनै ठाउँमा त रमा मिस्त्री त उनका श्रीमान् मजदुर भएर पनि काम गर्छन् । 

रमाकै छिमेकी मीरा पनि ५/६ महिनादेखि मिस्त्री काम गर्न थालेकी छन् । उनले पनि मजदुरी गर्दागर्दै मिस्त्री काम सिकेकी हुन् । मीराका श्रीमान् शंकर हेडमिस्त्री हुन् । उनीसँगै मजदुरी गर्दागर्दै काम सिकेको रमा बताउँछिन् । अहिले रमा र मीरा दुवैका हेड मिस्त्री पनि शंकर नै हुन् । ‘मजदुरी गर्दा डेढ/दुई सय पाइन्थ्यो,’ मीराले भनिन्, ‘अहिले ५/६ सयसम्म पाउन थालेका छौं ।’ उनले सुरुमा इँटा मिलाउन र कर्नी चलाउन केही अप्ठ्यारो भए पनि अहिले भने पुरुषसरह काम गर्न सकिरहेको बताइन् । कहिलेकाहीं अप्ठ्यारो पर्दा श्रीमान् शंकरसँगै भएकाले सिक्न झन् सहज भएको मीराले बताइन् । 

महिलाहरू पुरुषभन्दा मिहिनेती र कामप्रति इमान्दार हुने भएकाले रमा र मीरा प्रति स्थानीयको भरोसा बढेको अन्य मिस्त्रीहरू बताउँछन् । दुवै जनाले पुरुषको भन्दा बढी र राम्रो काम गर्न सक्ने सहकर्मीले बताए । दुवैजना शान्त रूपले एकाग्र भई काम गर्छन् । मजदुरलाई नहडबडाई एकनासले काम गर्ने मिस्त्रीका रूपमा मीरा र रमाको जोडीले पहिचान बनाउन थालेको छ । मजदुर पनि उनीहरूसँग काम गर्न खुसी हुन्छन् । ‘दुवैजनाको काम सफा छ,’ हेड मिस्त्री शंकरले भने, ‘हतपत नगरी एकनासले काम गर्ने हुँदा मजदुरहरू पनि उनीहरूलाई नै रुचाउँछन् ।’ 

अहिले दुवै जनाको जोडी बनेको छ । एकातिर पुरुषहरू काम गर्छन् भने अर्कोतिर मीरा र रमा । कहिलेकाहीँ उनीहरू दुवैजना एक्लाएक्लै पनि काम गर्छन् । ‘सुरुमा एक्लै काम गर्न अलि अनुभव थिएन, केहि अप्ठेरो हुन्थ्यो,’ रमाले भनिन्, ‘तर अहिले भने सानोतिनो घर चिनाइको काम त एक्लै पनि गर्न सकिन्छ ।’ ठेकेदारसँग काम गरेमा ज्याला कम पाइने र आफैंले बेग्लै काम गर्दा बढी पाइने उनीहरू बताउँछन् । साँझबिहान घरको कामदेखि बालबालिकालाई स्कुल पुर्‍याउने काम पनि उनीहरूले नै गर्छन् । तै पनि दुवैजना समयमै काममा पुग्छन् । 

उनीहरूलाई घरपरिवारले पनि राम्रो साथ दिएको छ । परिवारका साथ पाएका कारण दुवैले मजदुरीबाटै मिस्त्रीको काम सिकेका हुन् । पुरुषसरह काम गर्न सक्ने भए पनि उनीहरूलाई ज्यालामा भने विभेद गरिएको छ । अहिले बजारमा चलेको दरभन्दा आधा मात्रै ज्याला पाइरहेको उनीहरू बताउँछन् । अहिले मिस्त्रीको दैनिक ज्याला ८ सय देखि १ हजारसम्म चलेको छ । तर उनीहरूले ५/६ सय मात्रै पाउँछन् । मजदुरीमा पनि अन्यको भन्दा कम नै पाउने गरेको उनीहरू बताउँछन् । 

प्रकाशित : भाद्र १३, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?