छोराको लोभले १३ सन्तान

कृष्ण दर्नाल/रासस

पाल्पा — रम्भा गाउँपालिका–१, हुगीकी सुमित्रा विकलाई आफ्नो विवाहको सम्झना छैन । माइतीले १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग सुमित्रा विकको विवाह गरिदिए । विवाहपछि नरबहादुर, श्रीमती, उनका ससुराका साथ भारत गएको मात्र सुमित्रालाई सम्झना छ ।

सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६५ वर्षीया सुमित्रा विक र ७० वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।

“बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि” भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।

दुईतीन वटी छोरी जन्मेपछि परिवार नियोजनका लागि केही व्यक्ति घरमा आएको र सम्झाएका पनि हुन् । त्यतिबेला छोरी र श्रीमतीका साथ भारतमा रहेको नरबहादुर बताउँछन् । चार वर्ष मासिक रु ७५ तलबमा सेनामा काम गरेका उनले पछि कपडा बुन्ने काम गरे, जहाँ रु १५० तलब रहेको उनी बताउँछन् । त्यतिबेला छोरा नजन्मेकाले परिवार नियोजन गर्ने कुरा नै भएन ।

नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो । छोरा जन्मेपछि पनि उनले अझै अर्को छोराको आशामा रहे तर छोरीलाई छोरासरह नमान्दा छोरा पाउने आशा हराउन सकेन ।

बच्चा नपाउन नरबहादुरकी श्रीमतीले दबाई खाएपछि झनै समस्या झेल्नुप¥यो । आठ महिनासम्म रगत बग्यो, नफापेर नै होला । मरिन्छ की भन्ने डरले औषधि सेवन गर्न छाडेपछि चार छोरीको जन्म फेरि भएको उनी बताउँछन् ।

कुन छोराछोरीका कति सन्तान ?

सुमित्राको पहिली (जेठी) छोरी सुनिता रम्भा गाउँपालिका–१, बाँझबारीमा विवाह भयो । १५ वर्षको उमेरमा विवाह भएपनि उनले पनि १५ वर्षमै सन्तान पाइन् । चार छोरा र एक छोरीसहित पाँच जना सन्तान जन्मिए । जेठी छोरीतर्फ अहिले चार नाति छन् ।

दोस्री भारती स्याङ्जामा विवाहपछि उनका तीन छोरी एक छोरा छन् । उनका छोरीबाट पाँच नातिनी जन्मेका छन् । तेस्रो सावित्री दुई छोरा एक छोरीसहित अहिले नवलपरासी बस्छिन् । पहिला रम्भा गाउँपालिका, फोकिसकोटमा विवाहपछि बसाइँसराइ गरेर नवलपरासी गएका हुन् ।

चौथौ गायत्री रम्भा गाउँपालिकाकी दुई छोरा, दुई छोरी र दुई नातिनी, पाँचौँ विष्णु भालढुंगामा दुई छोरा एक छोरी, छैटौँ शान्ति तीन छोरा एक छोरी, सातौँ सुकमाया, पाल्पा बर्दलेमा दुई छोरा, आठौँ फूलमाया एक छोरा, एक छोरी, नवौँ लोकबहादुरका एक छोरी दुई छोरा छन् । नरबहादुरले ४६ वर्षको उमेरमा छोरा जन्माउनुभयो ।

दशौँ सुलोचनादेवी एक छोरा एक छोरी दिल्लीमा बस्छिन्, रम्भाकी ११ औँ छोरी बनिसराका एक÷एक छोराछोरी छन् । बाहौँ हरिकलाका सुनौलीमा एक÷एक छोराछोरी, तेह्रौँ छोरी पार्वतीका दुई छोरासहित नवलपरासीको सर्दीमा बसाइ छ ।

सुमित्रा ३० वर्षमा पहिलो पटक हजुरआमा बनेकी हुन् । अहिले पनि छोरीतर्फ नाति नातिना पलाँति जन्मने क्रम रोकिएको छैन । यस वर्ष चारपाँचवटा नातिनातिना देख्न पाइन्छ, नरबहादुरले खुशीको कुरा खुलाउनुभयो । नरबहादुरका जोडी खेतीपाती, पशुपालन र आरन पेशामा पहिला जति नै सक्रिय छन् ।

बढी सन्तान समस्या नै समस्या

सुमित्राले १३ सन्तान हुर्काउन निकै सास्ती भयो । घरमा सासू ससुरा नभएपछि बच्चा हुर्काउन समस्या भएको हो । केही बच्चा आफ्नो साथमा र केही श्रीमान्को साथ लगाएर काम गर्नुपर्ने बाध्यता रहेको थियो । धेरै सन्तान भएपछि उनीहरुले एसएलसीसम्म पनि पढ्ने मौका कमै सन्तानले मात्र पाए । सुमित्रा निरोगीजस्तो देखिए पनि शारीरिक रुपमा कमजोर नै छिन् ।

माइत जाँदा झनै समस्या

एउटा बच्चालाई काँधमा, एउटा काखमा र अर्कोलाई हातमा समातेर माइत गएको उनलाई सम्झना छ । बच्चा र झोला बोकेर माइत जानुपर्ने झनै समस्या हुने थियो । “केही बच्चा घरमै बाउसित राखेर माइत गइयो”, उनी भन्छिन् । १३ सन्तानमध्ये सबै कुशलमंगल रहेकोमा सुमित्रा र नरबहादुरको जोडी सवैभन्दा बढी खुसी छन् । आमा बाका अगाडि कसैको कानकपाल नदुखोस् भन्ने यो सन्तानप्रति उनको सधैँको प्रार्थना रहेको छ ।

स्थानीय दलित अगुवा यमबहादुर नेपालीले अहिले एक छोरा एक छोरी जन्माउने चलन बढेको बताए । छोराछोरीमा विभेद गर्ने बानीको अन्त्य हुनुपर्ने र समाजमा छोरासरह छोरीलाई मान्यता दिनुपर्ने नेपालीले बताए ।

प्रकाशित : भाद्र १३, २०७४ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

भवितव्यको सारथि

दुर्घटना, चोरीलगायत भवितव्यबाट सवारीसाधनमा क्षति पुगेपनि सम्पूर्ण नोक्सानी सवारीधनीले व्यहोर्नुपर्ने अवस्था अब हट्दै गएको छ । त्यस्ता सम्भावित नोक्सानीको जोखिम बहन गर्नकै लागि बिमा कम्पनी तयार छन् ।
यज्ञ बञ्जाडे

काठमाडौं — तपाईंले आफ्नो सवारीको बिमा गर्नु भएको छ ? कुन वा कस्तो प्रकारको बिमा गर्नुभएको छ ? तपार्इंले गरेको बिमाले केकस्ता जोखिम बहन गर्छन्? यस्ता धेरै विषयमा सबै सवारीधनीलाई जानकारी नहुन सक्छ । तर, यी पक्ष निकै महत्त्वपूर्ण हुन् ।

बिमा दुई पक्षबीचको सम्झौता हो । यसमा एक पक्ष बिमितले निश्चित रकम अर्को पक्ष बिमकलाई भुक्तानी गर्छ । यसकारण बिमालाई दुई पक्षबीचको करार पनि भनिन्छ । यस्तो करारबापत् बिमकले बिमितलाई आकस्मिक संकटबाट उत्पन्न हुने आर्थिक क्षतिबापत्को रकम भुक्तानी गर्छ । बिमामा एउटा पक्षको जोखिम अर्को पक्षलाई हस्तान्तरण गरिन्छ । त्यसैले यसलाई जोखिम हस्तान्तरण व्यवसाय पनि भनिएको हो । जीवन र निर्जीबन गरी बिमा दुई प्रकारका छन् ।

जीवन बिमाले मानवीय क्षतिबापत्को जोखिम सुरक्षण गर्छ भने निर्जीवन बिमाले बाँकी सबै प्रकारका सम्पत्ति, वस्तु तथा सेवालाई समेट्छ । उदाहरणका लागि तपाईंसँग गाडी छ । कुनै कारणबस गाडी दुर्घटनामा पर्‍यो । गाडीको क्षतिको मूल्यांकन गर्दा मर्मत गर्न ५० हजार रुपैयाँ लाग्ने भयो । यस्तो अवस्थामा गाडीको बिमा भएको छ भने उक्त क्षति सम्बन्धित बिमा कम्पनीले व्यहोर्छ । तर गाडीको बिमा गर्नु भएको छैन भने सम्पूर्ण नोक्सानी तपाईं आफैले व्यहोर्नुपर्छ । उल्लिखित घटनामा बिमा कम्पनीले क्षतिको ९० प्रतिशत हिस्सा व्यहोर्‍यो भने तपाईंलाई ५ हजार रुपैयाँ मात्र भार पर्छ । यो त दुर्घटनाको मात्र कुरो भयो । चोरी, प्राकृतिक प्रकोप, भवितव्यलगायत जुनसुकै कारणले सवारीसाधनमा क्षति पुगेको अवस्थामा पनि नोक्सानी कम्पनीले बहन गर्छ । यही कारण बिमा अपरिहार्य भएको हो । बिमा गर्दा त्यसले समेट्ने जोखिमबारे सबै सेवा तथा सर्तहरु राम्रो बुझी तिनको फाइदा–बेफाइदाबारे विश्लेषण गरेर मात्र अन्तिम निर्णय लिनु बुद्धिमानी हुनेछ ।

कहिले र कसरी गर्ने बिमा ?
बिमा गर्न बिमा कम्पनी वा तिनले तोकेका बजारमा धेरै एजेन्ट (सम्पर्क व्यक्ति) हुन्छन् । ती एजेन्टमार्फत् सवारी बिमा गर्न सकिन्छ । ग्राहकको सुविधाका लागि सवारीसाधन बिक्री गर्ने कम्पनीले पनि बिमा कम्पनीसँग ग्राहकको सम्पर्क गराइदिन्छन् । कुनै एक बिमा कम्पनीमा गएर आफ्नो सवारीसाधनको बिमा गर्न सकिन्छ । बिमा यही समयमा गर्नुपर्छ भन्ने निश्चित मिति हुँदैन । तपाईंले सवारीसाधन खरिद गरेपछि बिमा गर्नैपर्छ । सामान्यत: कम्पनीले पूर्ण र तेस्रो पक्ष गरी दुई प्रकारका बिमा गरेको पाइन्छ । विद्यमान कानुनले तेस्रो पक्ष बिमा अनिवार्य गरेको छ । यसकारण सबै सवारीधनीले तेस्रोपक्ष बिमा गर्नैपर्छ । बिमा समितिले भने धेरै वर्षअघि यो व्यवस्था गरेको थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन भएको थिएन । पछिल्ला केही वर्षयता यातायात कार्यालयमा राजस्व बुझाउँदा बिमा गरेको कागजात अनिवार्य गरिएको छ । यस कारण बहुसंख्यक सवारीसाधनको तेस्रो पक्ष बिमा भएको पाइन्छ । तर पूर्ण बिमा अनिवार्य छैन, यो सवारीधनीको इच्छामा भर पर्छ ।

के हो तेस्रो पक्ष बिमा ?
बिमा गरिएको सवारीसाधनसँग सम्बन्धित तथा त्यस्तो सवारीसाधनमा यात्रा गर्ने व्यक्तिबाहेक अन्य बाहिरी व्यक्ति वा सम्पत्तिलाई समेटिएको बिमालाई तेस्रो पक्ष बिमा भनिन्छ । जस्तो, सडकमा गुडिरहेको सवारीसधानको दुर्घटना भएर अन्य मानिसको मृत्यु भएमा वा घाइते भएमा वा सम्पत्तिको क्षति भएमा त्यसको क्षतिपूर्ति उपलब्ध गराउन हुने प्रयोजनका लागि गरिने बिमा तेस्रो पक्ष बिमा हो ।नेपालमा यो बिमा हरेक सवारीधनीका लागि अनिवार्य गरिएको छ ।

शुल्क र आवश्यक कागजात
सवारीसाधन बिमाका लागि यति नै खर्च लाग्छ भन्ने निश्चित छैन । बिमा कम्पनीअनुसार बिमा शुल्क पनि फरक–फरक छ । बिमा योजना (पोलिसी)ले समेट्ने जोखिमअनुसार बिमा शुल्क निर्धारण गरिएको हुन्छ । यसकारण कति रकमको बिमा गर्ने भन्ने कुरा त्यसले समेट्ने जोखिममा आधारित हुन्छ । शुल्क निर्धारण भएपछि आफूलाई कहिले र कसरी भुक्तानी गर्दा सुविधा हुन्छ, त्यही अनुसार भुक्तानी विधि तय गर्न सकिन्छ । यसको अर्थ ग्राहकले आफ्नो सुविधाका आधारमा मासिक त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा बिमा शुल्क भुक्तानी गर्न सक्छन् । बिमा गर्न त्यति धेरै कागजात आवश्यक पर्दैन । सवारीसाधनको खरिद कागजात र सवारीधनीको आधिकारिक परिचयपत्रका आधारमा यस्तो बिमा गर्न सकिन्छ ।

नोक्सानी दाबी र भुक्तानी
कुनै कारणले सवारीसाधन वा तेस्रो पक्षमा क्षति पुग्यो भने दाबी भुक्तानीका लागि यथाशीघ्र बिमा कम्पनीलाई सूचना दिनुपर्छ । सूचना पाएपछि कम्पनीका प्रतिनिधिले दाबी भुक्तानीको प्रक्रिया सुरु गर्छन् । यस्तो समयमा कम्पनीले मागेका सबै कागजात पेस गर्नुपर्छ । सबै प्रक्रिया पूरा भएपछि कम्पनीले दाबी भुक्तानी दिन्छन् । बिमा गरिसकेपछि पोलिसीले समेट्ने जोखिमबापत्को क्षति नपाउने भन्ने हँुदैन । दाबी भुक्तानी भनेको बिमा कम्पनीको खर्च हो । जुनसुकै कम्पनीले पनि सकेसम्म खर्च कम गर्नै चाहन्छ । यसकारण कम्पनीले विभिन्न बाहनामा कम भुक्तानी गर्ने, ढिलो मात्र भुक्तानी गर्ने, कागजात नपुगेको बाहना गर्नेलगायत व्यवहार देखाउन सक्छन् । यस्ता समस्या आउनै नदिनका लागि ग्राहक सचेत बन्नुपर्छ । बिमा गर्नुअघि आफूले गरेको बिमाले के–कस्ता जोखिम समेट्छ ? यसका लागि के–कस्ता कागजात चाहिन्छ ? नोक्सानी भएको कति समयभित्र कम्पनीले सूचना गर्नुपर्छ ?यीलगायत सबै कागजात सुरक्षित र व्यवस्थित तरिकाले पेस गर्नुपर्छ । यसो भएमा कम्पनीले दाबी भुक्तानीमा आनाकानी गर्न सक्दैन । सबै प्रक्रिया पूरा भएपछि पनि आनाकानी गर्‍यो भने नियामक निकाय बिमा समिति तथा कानुनी प्रक्रियाका लागि अदालत पनि जान सकिन्छ ।

यात्रुलाई ५ लाखको बिमा
बिमा समितिले सवारीसाधनमा यात्रा गरिरहेका यात्रुको प्रतिसिट ५ लाख रुपैयाँ बराबरको बिमा हुने व्यवस्था गरेको छ । समितिले ‘मोटर बिमा दरसम्बन्धी निर्देशिका २०७३’ मार्फत् गत वर्षदेखि उक्त व्यवस्था लागू गरेको हो । यसअघि प्रतिसिट १ लाख रुपैयाँ बराबरको बिमा हुने व्यवस्था थियो । उक्त बिमांकको सीमाभित्र रहेर दुर्घटनामा मृत्यु भएका यात्रु, चालक परिचालहकहरुले किरिया खर्चबापत् ५० हजार रुपैयाँ पाउने व्यवस्था छ । यसैगरी, तेस्रो पक्षको दुर्घटनाबाट मृत्यु भएमा बिमांक ५ लाख रुपैयाँ र औषधोपचार गर्नुपरेमा ३ लाख रुपैयाँको सीमाभित्रको वास्तविक औषधोपचार खर्च कायम गरिएको छ ।

दुर्घटनाबाट चोटपटक लागेमा
दुर्घटनाबाट चोटपटक लागेमा औषधि उपचारका लागि अधिकतम बिमांक सीमा ३ लाख रुपैयाँ कायम गरिएको छ । बिरामी कुरुवाका लागि सम्बन्धित पक्षले प्रतिदिन ५ सयका दरले ४५ दिनसम्मको रकम भुक्तानी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । अंगभंग तथा औषधि उपचार दुवैको अवस्था सिर्जना भएमा माथि उल्लिखित सीमाभित्र छुट्टाछुटै रही दाबी कायम हुने कानुनी व्यवस्था छ ।

एम्बुलेन्स खर्च पनि
नयाँ व्यवस्थाअनुसार चोटपटक लागेर अंगभंग भई अस्पताल पुर्‍याउनुपर्ने अवस्था भएमा एम्बुलेन्स खर्च १० हजार रुपैयाँसम्म बिमा कम्पनीले व्यहोर्नुपर्छ । यसका लागि ‘एम्बुलेन्स’ भन्नाले सवारीसाधन दुर्घटना भई सोमा सवार यात्रु, चालक, सहचालक, हेल्पर तथा तेस्रो पक्ष व्यक्ति घाइते, अंगभंग तथा मृत्यु भई अस्पताल पुर्‍याउन प्रयोग हुने एम्बुलेन्सको नाममा दर्ता भएको साधन वा सो तत्कालउपलब्ध हुन नसकेमा अन्य कुनै सवारीसाधन वा अन्य यस्तै अस्पताल पुर्‍याउने साधन भनी परिभाषित गरिएको छ ।

प्रकाशित : भाद्र १३, २०७४ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्