१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अझै एल्भिस

हिमेश बज्राचार्य

काठमाडौं — किङ अफ रक एन्ड रोल । छोटकरीमा ‘द किङ’ मात्रै पनि । अर्थात् एल्भिस प्रिस्ले । उनलाई २० औं शताब्दीको विश्व संगीतमा सबैभन्दा धेरै महत्त्वपूर्ण योगदान दिएका व्यक्तित्वका रूपमा लिइन्छ ।

अझै एल्भिस

यिनै एल्भिसको निधन भएको पनि ४० वर्ष भइसकेको छ, तर उनले छाडेर गएका संगीत उत्तिकै जीवन्त छन्, अझै पनि । पछिल्ला केही सातादेखि यो महिना उनको निधनको समय पारेर विश्व संगीतले फेरि एकपल्ट उनलाई सम्झने काम गरेको छ । 

सन् १९७७ को अगस्ट १६ मा उनको निधन भएको थियो । उनको निधन कसरी भयो, किन भयो, अझै पनि धेरै कथा सुन्न पाइन्छ । उडन्ते गफहरू उनको जन्मस्थान अमेरिकाको मिसिसिपीमा धेरै छन्, यसलाई लिएर । तर उनले यस संसारबाट बिदा लिएको पनि चार दशक भइसकेको स्थितिमा सायद उनलाई सम्झिने कारण पक्कै यो विवादास्पद मृत्यु होइन, उनको संगीत नै हो । यस्तै भयो, पूरा अगस्ट महिनाभरि । विशेषत: उनको जन्म घरतिर । 

दक्षिण अमेरिकी राज्य मिसिसिपीमा पर्छ, ग्रेसल्यान्ड । यसैमा उनले आफ्नो जीवनको अन्तिम समय बिताएका थिए । उनको निधनयता त्यो घर र त्यसको वरिपरिका स्थान विश्व संगीत पारखीका लागि एकपल्ट घुम्नै पर्ने, पुग्नै पर्ने स्थान भएको छ । त्यसैले त त्यो स्थानमा पुग्नेको संख्या पनि अविश्वसनीय रूपमा दुई करोड बढी पुगिसकेको छ । अगस्ट १६ को छेउछाउ पारेर त त्यहाँ ठूलै भीड जम्मा हुने गर्छ । यसपल्ट झन् विशेष रह्यो । 

एल्भिसले सन् १९५७ मा त्यहाँ रहेको घर किनेका थिए । त्यसको २० वर्षपछि उनको त्यहीं निधन भयो । निधनका बेला उनी भर्खर ४२ वर्षका थिए । विश्व संगीतले बुझ्न नसकेको तथ्य के भने महान् मानिएका संगीतकर्मीहरूले किन कम उमेरमै मृत्युलाई आत्मसात् गर्ने गर्छन् ? यसमा एल्भिस आफैं पनि अपवाद हुन सकेनन् । अहिले पनि जीवित रहेको भए ८२ वर्षमा हुन्थे । अहिले पनि उनीसँगै हुर्केका केही साथी एल्भिसबारे गफ हाँक्छन् । 

सन् १९५४ तिर उनले आफ्नो सांगीतिक जीवन सुरु गरेका थिए । उनलाई ख्याति दिलाउने पहिलो गीत भने ‘हार्टब्रेक होटल’ थियो, जुन सन् १९५६ तिर रिलिज भएको थियो । यो गीत अमेरिकामा नम्बर १ हिट पनि भएको थियो । त्यसयता उनले फर्केर हेरेनन् र एकपछि अर्को प्रसिद्ध गीत दिए । एल्भिस संगीतमा मात्र पनि सीमित रहेनन् । उनी अभिनेता पनि थिए । सन् १९५६ मा उनले कलाकारका रूपमा ‘लभ मि टेन्डर’ मा डेब्यु पनि गरेका थिए । 

त्यसको दुई वर्षपछि उनी अमेरिकी आर्मीमा भर्ती पनि भए । त्यसको पनि दुई वर्षपछि उनी फेरि संगीत र अभिनयमा फर्के । केही वर्ष अगाडि मात्र प्रसिद्ध रोलिङ स्टोन म्यागाजिनले एल्भिसका उत्कृष्ट गीतको सूची तयार पारेको थियो । त्यसअनुसार ‘सस्पिसियस माइन्ड’ लाई नम्बर १ स्थानमा राखेको थियो । पत्नी प्रिसिलियासँगको सम्बन्ध नाजुक हुन थालेपछि त्यसको दु:ख यस गीतमा पाइन्छ । ‘इभ आई क्यान ड्रिम’ दोस्रो नम्बरमा छ । यो अमेरिकी अश्वेत अगुवा मार्टिन लुथर किङप्रति भावपूर्ण श्रद्धाञ्जली थियो । 

त्यसयता आउँछ, ‘इन द गेटो’ । यसमा एल्भिसले आफ्ना असफलताका दु:खद पक्षबारे अनुभव पोखेका छन् । र, एल्भिसलाई सधैंका लागि सम्झाउने गीतमा पर्छ, ‘जेल हाउस रक’ । सन् १९५७ मा निस्केको यो गीतलाई धेरैले खुबै रुचाए । अझै पनि यो गीत उत्तिकै बजिरहेको सुन्न पाइन्छ । पाँचौंमा पर्छ, उनको प्रेम सम्बन्धी गीत, ‘कान्ट हेल्प फलिङ इन लभ ।’ एल्भिस ‘स्टाइल आइकन’ पनि हुन् । 
उनको फेसनलाई पछ्याउने अहिले पनि उत्तिकै छन् । 

एल्भिसको प्रसंगमा नेपालसँग जोडिएको घटना पनि धेरैले सम्झिने गर्छन् र यो रहेको छ, उनीसँग राजा महेन्द्र र रानी रत्नको भेट । यी तीन जना सँगै बसेको तस्बिर त्यति बेला अमेरिकामा पनि खुबै चर्चित भएको थियो । सन् १९६० मा राजा महेन्द्र अमेरिका पुगेका थिए । क्यालिफोर्नियाको लस एन्जलस पुग्ने क्रममा महेन्द्रले एल्भिसलाई भेटेका थिए । भनिन्छ, त्यति बेला संगीतबारे चर्चा भएको थियो । र, आफू नेपालमा पनि लोकप्रिय रहेको सुन्दा एल्भिस खुसी भएका थिए, भनिन्छ । यिनै एल्भिसप्रति श्रद्धाञ्जली ।  तस्बिरहरू : एजेन्सी

प्रकाशित : भाद्र १६, २०७४ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?