‘होइन भने पोलिदेऊ’

सजना बराल

काठमाडौं — उनी वृद्ध भइसके । बच्चाबच्चीबारे गफ गर्दा भावुक हुन्छन् । थप कुरा कोट्यायो भने हवाँहवाँ रोइदिन्छन् पनि । १४ महिनाको नातिको त प्रसंगै निकाल्नु हुँदैन, उनी आफूलाई थाम्न सक्दैनन् ।

‘होइन भने पोलिदेऊ’

आँखाबाट बरर आँसु खस्छ । दुई हातले आँखा मिच्दै सम्हालिन खोज्छन् । अनि केहीबेरमा फेरि उनका आँखा रसाइदिन्छन् । उनी उसैगरी आफूलाई रोक्ने यत्न गर्छन् । 

वासुदेव मुनाललाई बच्चाबच्चीसँग गहिरो लगाव छ । यस्तो हुनु स्वाभाविक हो । उनले जीवनका ३४ वर्ष केटाकेटीलाई नै समर्पण गरे । तिनकै सेरोफेरोमा रहे । उनीहरूसँग हाँसे, खेले, रमाए । रेडियो नेपालको ३१ वर्षे जागिरे जीवनभर वासुदेव मुनालले बाल कार्यक्रम मात्र सञ्चालन गरे । ‘आओ, मेरा प्याराप्यारा भाइबहिनीहरू हो, रेडियो नजिक आओ...’ भन्दै केटाकेटीलाई आफ्नो समीपमा ल्याए । उनी आफ्नो क्षेत्रका लिजेन्ड हुन् । 

वासुदेवको कार्यक्रम सुन्न बच्चाबच्ची झुम्मिन्थे । रेडियो नेपालबाहिर भुराभुरीको भीड लाग्थ्यो । स्टुडियोमा चित्र, निबन्ध, कविता, कार्टुन आदि समेटिएका पत्रहरूको चाङ थुप्रिन्थ्यो । ‘म सबै जम्मा पारेर पढ्थेँ,’ अस्पष्ट बोलीमा उनले कुरा सुरु गरे, ‘घर पनि ल्याउँथेँ । श्रीमती र छोराछोरीलाई पढ्न दिन्थेँ । रमाइलो हुन्थ्यो ।’

वासुदेवले बालगीत, नाटक, कथा, कविता थुप्रै लेखे । उनका नाटक अझै पनि रेडियो नेपालमा प्रसारण हुन्छन् । उनी चर्चित गायकसमेत हुन् । वि.सं. २०३० को देशव्यापी लोकगीत प्रतियोगितामा उनी पहिलो भएका थिए । ‘पानी खाने निहुँले तिम्रो घरमा आउँला...’, ‘तिम्रो घर चाँचरी...’, ‘भए पनि ठीकै नभए पनि ठीकै...’, ‘हाय मेरी मलमल जुनकीरी...’ लगायत थुप्रै गीतमा वासुदेवको शब्द, संगीत र आवाज सुन्न पाइन्छ ।

‘म उहाँलाई नै सुनेर हुर्किएको हुँ,’ वासुदेवका छोरा मोहित मुनालले भने, ‘बुबाका चेलाचेली थुप्रै छन् ।’

वासुदेव मुनालका लोकप्रिय केही गीत :
-पानी खाने निहुँले तिम्रो घरमा आउँला...
-तिम्रो घर चाँचरी त्यैँ तल हैन र...
-भए पनि ठीकै नभए पनि ठीकै...
-हाय मेरी मलमल जुनकीरी...
-सक्यौ नानी सक्यौ नानी..

यी वरिष्ठ व्यक्ति अहिले रोगले थला परेका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । केमोथेरापी गर्न सक्ने अवस्थामा छैनन् । ज्यान औधी कमजोर भएकाले केमोको सट्टा रेडिएसन दिएर जोगाइएको छ । कुनै बेला आवाजले नै सबैको मन जितेका मुनाल अहिले प्रस्ट बोल्न सक्दैनन् । गायक एवं कार्यक्रम प्रस्तोताका लागि योभन्दा ठूलो व्यथा के होला ? उनले यो दिनको कल्पना गरेका थिएनन् । तर, सत्य यही हो । त्यसैले दह्रो मुटु बनाएर भिड्दै छन् परिस्थितिसँग । 

कार्यक्रमको सिलसिलामा देशविदेश डुलेका वासुदेव अहिले गतिलोसँग हिँड्न सक्दैनन् । जे खाए पनि सर्किन्छ । ‘पहिले ब्रेन हयामरेज भएको थियो,’ ससुराको रेखदेखमा खटिएका उनका ज्वाइँले भने, ‘त्यसले गर्दा राम्ररी हिँड्न सक्नुहुन्न ।’ मस्तिष्क पक्षाघात हुनु उनका लागि कतिसम्म दिक्कलाग्दो भइदियो भने उनले जागिरबाट पेन्सनसमेत थाप्न पाएनन् । ‘अहिले पेन्सन आइदिने भए उपचारमा राहत हुने थियो,’ ६८ वर्षे वासुदेवले भने, ‘तर, ब्रेन हयामरेज भएपछि मैले त्यो बेला नै उपदान लिनुपर्‍यो । बाँच्नका लागि उपदान लिएपछि पेन्सन पाइनँ ।’

भक्तपुर अस्पताल धाइरहेका उनी क्यान्सरको चौथो स्टेजमा रहेको मोहितले बताए । यो थाहा पाएयता वासुदेव पिरोलिएका छन् । उनलाई लाग्छ, आफूले गर्न बाँकी काम धेरै छन् । लेख्न बाँकी विषय मनग्गे छन् । गाउन बाँकी गीत प्रशस्त छन् डायरीभरि । मुख्य कुरा त उनी बालबालिकाका लागि अझै केही गर्न चाहन्छन् । कमसेकम बालबगैंचा बनाउन पाए राम्रो हुन्थ्यो भन्ने लागेको रहेछ । ‘केटाकेटीहरू भगवान् हुन्,’ उनले भने, ‘तिनीहरूसँग माया बसेको छ । नसा(नसामा तिनकै माया छ । केही गर्न चाहन्छु ।’

आफूले बाल कार्यक्रम चलाउँदा नेपालमा जम्मा सातवटा बालगीत भएको उनले बताए । पछि बाल कार्यक्रम र बालगीतको संख्या बढ्दै जाँदा वासुदेव नरमाउने कुरै भएन । अहिले चाहिँ विकल्प धेरै भएकाले नेपाली बाल कार्यक्रमको आकर्षण घटेको उनको मूल्यांकन छ ।

‘म विराटनगरबाट काठमाडौं आएर सिधै रेडियो नेपाल गएँ,’ लिटोजस्तो खानेकुरा खाँदै उनले भने, ‘त्यो बेला रामराजा पौडेल निर्देशक हुनुहुन्थ्यो । उहाँले मलाई कार्यक्रम चलाउन दिनुभयो ।’
घरमा मनग्गे भाइबहिनी भएकाले उनले रेडियोमा बाल कार्यक्रम रोजेका थिए । तिनीहरूले रमाइलो गरून्, केही सिकून् भनेर अन्य कार्यक्रमको सट्टा बालबालिका लक्षित कार्यक्रम गरेको उनले बताए । ‘मलाई अनाउन्स गर्न चाहिँ पाण्डव सुनुवारले सिकाएको हो,’ उनी सम्झिन्छन्, ‘ऊ मेरो बेस्ट फ्रेन्ड थियो । हामीले सँगै गीत पनि गायौं ।’ पाण्डवले आफूलाई ‘के बाल कार्यक्रम चलाइरहेको ?’ भनेर गिज्याउने गरेको वासुदेवलाई हिजो झैं लाग्छ । ‘केटाकेटीको माया पाएको छस् गोरे ?’ भन्दै वासुदेव पाण्डवलाई थर्काउँथे रे ।

आफू अप्ठ्यारामा पर्दा सरकारले पटक्कै वास्ता नगरेको ठानेर वासुदेव रिसाएका छन् । त्यत्तिका वर्ष सरकारी सेवा गरेको, संगीतकर्मीका रूपमा पनि सकेजति योगदान गरेको उनी बताउँछन् । तर, आर्थिक, मानसिक र शारीरिक समस्या आइलागेको यो बेला सरकारी तवरबाट कुनै आश्वासनसमेत नपाएको भन्दै उनी केहीबेर पिलपिलाए । ‘मलाई भाँचिदेऊ, मलाई बोली देऊ, होइन भने पोलिदेऊ,’ उनले लयात्मक शैलीमा भने, ‘मलाई बाँच्न जोस दिने त नाति मात्रै छ ।’ 

मुनाललाई सहयोग
गायक वासुदेव मुनालको उपचारार्थ संगीतकर्मी तथा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्न थालेका छन् । पत्रकार विजयकुमार पाण्डेले ‘गुरुको स्वास्थ्य सप्रियोस्’ भन्दै आफूलाई २५ हजार रुपैयाँ दिएको मुनालले बताए । अधिवक्ता परशुराम कोइरालाले २१ हजार दिएका छन् भने कलाकार एवं फिल्म निर्देशक दीपाश्री निरौलाले १० हजार रुपैयाँ प्रदान गरेकी छन् । प्रस्तोता समाज नेपालले १० हजार पाँच रुपैयाँ, गायिका अञ्जु पन्त र मञ्जु पौडेलले जनही १० हजार रुपैयाँ, १९७४ एडी ब्यान्डले ५ हजार ७ सय ८५ रुपैयाँ सहयोग गरेका थिए । गायिका आस्था राउतलगायतले पनि सहयोगको वचन दिएको मुनालले बताए ।

‘आस्थाहरू मेरो कार्यक्रममा आउँथे,’ उनले भने, ‘उनीहरूले राम्रो गरेको देख्दा खुसी लाग्छ ।’ उनको योगदानको कदर गर्दै भक्तपुर क्यान्सर अस्पतालले पनि नि:शुल्क उपचार गराइदिने बताएको छ ।

प्रकाशित : भाद्र २४, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?