क्यान्सर जितेकी प्राध्यापक

फातिमा बानु

उनलाई आजभोलि एउटै प्रश्नले दिग्दार बनाउँछ । यो प्रश्न हो –‘अहो, तपाइँ जिउँदै हुनुहुन्छ ?’ हरेक शुभचिन्तक, आफन्तले उनलाई भेट्नेबित्तिकै सोध्ने प्रश्न नै यही हो । उनी भन्छिन्, ‘म मरिसके भन्ठान्नेहरूको अगाडि स्वस्थ भएर उभिन सकेकी छु, खुसी लाग्छ ।’

उनी अर्थात्, तारा पोखरेल । उनी शिक्षण अस्पताल महाराजगन्जकी पूर्व प्रोफेसर हुन् । त्यहाँ उनले ३९ वर्ष पढाएपछि भर्खरै अवकाशप्राप्त भएकी छन् । तारा हाल नर्सिङ संघकी अध्यक्ष छिन् । अब उनको नामको अगाडि अर्को नयाँ उपाधि पनि थपिएको छ— क्यान्सर जितेकी नर्स । १० महिना क्यान्सरसँग लडेपछि अहिले उनी पुरानै जीवनशैलीमा फर्किंदै छिन् । र, उनलाई भेट्ने मान्छेहरूलाई पत्याउन गाह्रो छ कि कुनै दिन उनी स्तन क्यान्सरबाट प्रताडित थिइन् । 

‘क्यान्सर ज्यान लिने रोग हो, यसको कुनै उपचार छैन । अझ नेपालमा त सम्भव नै छैन’ भन्ने मानसिकता अझै मेटिन नसकेको समाज हो, नेपाली समाज । अब उनको अभियान नै बनेको छ— क्यान्सरको उपचारै छैन भन्ने (कथित) मानसिकता भत्काउने र उपचार नेपालमै सम्भव छ भन्ने मानसकिता हुर्काउने । भन्छिन्, ‘क्यान्सरभन्दा ठूलो रोग ‘मानसिकता’ को हो, जसलाई मैले उहिल्यै जितिसकेकी थिएँ ।’

०७२ फागुन महिनाको एक बिहान । दैनिकीझैं उनी नुहाउँदै थिइन् । देब्रे स्तनमा स–साना अस्वाभाविक गिर्खा भेटिए । सोचिन्— यस्ता गिर्खा पहिले थिएनन्, के पलाएछ ? निकैबेर छामिन् तर, कतै दुख्ने, घोच्ने या बिजाउने भएन । झट्टै उनको मनमा चिसो पसिहाल्यो । कतै स्तन क्यान्सर त होइन ? 

शंकाले नित्य टोकिरह्यो । एक नर्स, स्वास्थ्यकर्मी भएकाले उनलाई क्यान्सरको लक्षण चिन्न मुस्किल थिएन । क्यान्सर विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठसँग उनको राम्रो चिनजान थियो, तुरुन्तै फोन गरिन् । परीक्षण गर्दा पत्ता लाग्यो— उनको शंका सही नै रहेछ । भन्छिन्, ‘अहँ, कत्ति पनि आत्तिएकी थिइनँ, घरमा पनि कसैलाई भनिनँ ।’ यतिसम्म कि आफूलाई क्यान्सरको भएको कुरा उनले शल्यक्रिया हुने दिन मात्रै घरमा थाहा दिएकी थिइन्, अझ विदेशमा पढिरहेका छोराछोरीलाई त थाहा नै नदिऊँ भन्ने उनको चाहना थियो ।

‘मेरा लागि क्यान्सर सन्चो हुन सक्ने एउटा स्वास्थ्य समस्या थियो, अरूका लागि मृत्यु,’ उनी भन्छिन्, ‘त्यसैले कसैलाई भन्न चाहिनँ, भनिनँ ।’ त्यतिखेर उनलाई आफ्नो रोगबारे त्यति चिन्ता थिएन । बरु क्यान्सरबारे राम्ररी नबुझेका परिवारले थाहा पाए भने कस्तो प्रतिक्रिया होला, कति आत्तेलान् भन्ने चिन्ताले गाँजेको थियो उनलाई ।

क्यान्सरबाट लडिरहेका दिनहरूमा पनि उनले आफ्नो दैनिकी सामान्य बनाइन् । ती दिनहरूमा उनी शिक्षण अस्पताल महाराजगन्जमा ‘वमेन हेल्थ एन्ड डेभलपमेन्ट’ विषय पढाउँथिन् । शल्यक्रियापछि मुस्किलले १५ दिन मात्रै आराम गरेपश्चात् उनी पुरानै जीवनशैलीमा फर्किन संघर्ष गर्न थालिन् ।

शल्यक्रिया हुने दिनसम्म विद्यार्थीलाई थाहा थिएन कि उनलाई स्तन क्यान्सर थियो । दिनहुँ घरको ढोकामा लामो लाइन हुन्थ्यो, उनलाई भेट्न आउने मानिसहरूको घुइँचो हुन्थ्यो । ‘मलाई देख्नेबित्तिकै कोही रुन्थे, कोही अंगालो हाल्थे,’ उनले सम्झिन्, ‘उल्टै उनीहरूलाई सम्झाउनु–बुझाउनुपथ्र्यो ।’

आज पनि मानिसहरू उनलाई देख्नेबित्तिकै आँखा चौडा बनाउँछन्, कोही ‘विचराभाव’ ले उनीतर्फ टोलाउँछन् । उनलाई भने निको लाग्दैन ।

क्यान्सर पहिलो स्टेजमा मात्रै भएकाले पनि होला, उनलाई ठीक हुन समय लागेन । उपचारले काम गर्‍यो । क्यान्सर भएको स्तन झिकेर ६ चरण केमो लिएपछि उनी क्यान्सरमुक्त त भइन् । तर, मानिसहरूले उनको स्वास्थ्यप्रति गर्ने आशंका भने यथावत् छ, हटिसकेको छैन ।

यसरी तारा पोखरेललाई क्यान्सर जित्न उनको ज्ञान र विज्ञताले मात्रै सघाएको होइन । बढी सघाएको त उनको आफ्नै जीवनमा घटेको घटनाले हो, अनुभवले हो ।

ताराकी आमा पनि क्यान्सरपीडित थिइन् । ६० वर्ष पुगेकी आमालाई पाठेघर मुखको क्यान्सर भयो । आमाको क्यान्सर निको पार्न उनी नगएको अस्पताल भएन, नभेटेको डाक्टर भएन । 

‘३० वर्षअघि नेपालमा क्यान्सर अस्पताल थिएन, मैले भारत लगेँ,’ उनी सम्झिन्छिन् । यसको उपचार हुँदैन, पाँच वर्ष मात्रै बाँच्छिन् भनेर भारतबाट फर्काइएकी आमालाई उनले थप २८ वर्ष बचाइन् । आमाको क्यान्सर तेस्रो स्टेजमा पुगेको थियो । तेस्रो स्टेजको क्यान्सरलाई अहिले पनि चिकित्सकले ‘मृत्यु कुर्न’ घर फर्काउँछन् । घर फर्केपछि आमाको मनोविज्ञान खस्कन नदिन उनी लागिपरिन्, परामर्श र घरेलु उपचार गरेरै आमाको आयु बढाइन् । दुई वर्षअघि मात्रै उनकी आमा बितिन् । ‘आमालाई जिताउने तयारी गर्दागर्दै आफैं बलियो भएछु,’ उनले भनिन् । 

उनको उपचार खर्चमा नर्सिङ एसोसिएसनले एक लाख २५ हजार रुपैयाँ सहयोग दिएको थियो तर, उनले लिन मानिनन् । त्यो रकमबाट उनले क्यान्सर रोग निवारण अभियानमा अक्षय कोष खोलिन्, क्यान्सरपीडित नर्सको सहयोगार्थ । 

पेसा र चासोमिल्दो भएपछि तारालाई सुरुदेखि नै थाहा थियो— क्यान्सर रोग लाग्यो भनेर आत्तिनु हुँदैन । जीवनको एउटा मोडमा उनले यही रोगलाई बेहोरिन् । र, आत्मविश्वासकै आडबलमा पुनर्जीवन पाइन् पनि । आजभोलि तारा क्यान्सरपीडितलाई परामर्श दिँदै हिँड्छिन् । ६२ वर्षीया तारा भन्छिन्, ‘बिरामीलाई औषधिभन्दा बढी परामर्शको खाँचो छ, क्यान्सरपीडितका लागि हौसला मिसिएको परामर्श सबैभन्दा ठूलो औषधि हो ।’

 

प्रकाशित : भाद्र २४, २०७४ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोत्कृष्ट बन्ने होड

खेलाडी
‘स्पोर्ट्स अवार्डको मनोनयनमा पर्नु नै ठूलो कुरा हो, जित्नु त बोनस हो ।’
सुवास हुमागाईं

काठमाडौं — २०६३ सालमा वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका त्यस समयका कप्तान विनोद दासले यस्तो भनेका थिए ।

विदितै छ, कुनै पनि खेलाडीले आफ्नो खेलमा मिहिनेत गरेर सफलता हात पारेपछि ऊ त्यस खेलको उत्कृष्ट कहलाउँछ । तर, सम्पूर्ण खेलजगत्मा उत्कृष्टमध्येको पनि सर्वोत्कृष्ट हुने मौका भने कमैलाई जुर्छ । खेलकुदको सम्बन्धित निकायले खेलाडीलाई उत्प्रेरणा दिने यस्ता कार्यक्रम गर्न चुक्दा खेल पत्रकारहरूको एक समूहले यस कार्यलाई आफैं आयोजना गर्दै आएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा बर्सेनि हुने यस कार्यक्रमको १४ औं संस्करण यही भदौ २६ गते राजधानीमा हुँदै छ । पूर्वराष्ट्रपति रामवरण यादवले यसलाई राष्ट्रिय अवार्ड भनेका थिए । खेलाडी आफैंले पनि यस अवार्ड जित्नु त छँदै छ, मनोनयनमा पर्नुलाई पनि प्रतिष्ठाको विषय मान्ने गरेका पाइन्छ ।

सदाझैं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड समारोहमा यसपटक ८ विधामा विभिन्न खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धित व्यक्तित्वलाई सम्मानित गरिनेछ । मञ्चले ५ विधाका लागि मनोनयनमा पर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिसकेको छ भने अन्य ३ विधाको विजेता भने अवार्डकै दिन घोषणा गरिनेछ ।


वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा नेपालको लागि अन्तर्राष्ट्रिय जगत्मा पहिलो औपचारिक स्वर्ण दिलाउन सफल किरण चेम्जोङ र रत्नजित तामाङ छन् । किरणले राष्ट्रिय फुटबल टोलीसँग रहेर मलेसियामा आयोजित एएफसी सोलिडारिटी कप जितेका थिए भने रत्नजितले दिदी नङ्सलदेवीसँग मिलेर पाकिस्तान इन्टरनेसनल सिरिजअन्तर्गत मिक्स डबल्समा स्वर्ण ल्याएका थिए । रत्नजितले घरेलु प्रतियोगितामा लगातार उपाधि जित्दै आएका छन् भने किरण हाल माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका छन् । पुरुषतर्फको उपाधिका लागि यी दुई खेलाडीको सम्भावना प्रबल छ । त्यस्तै भलिबलका मानबहादुर श्रेष्ठ, क्रिकेटका शरद भेषावकर र एथलेटिक्सका सोमबहादुर कुमाल पनि मनोनयनमा छन् ।

महिलातर्फको मनोनयनमा भने राष्ट्रिय प्रतिस्पर्धामा वर्चस्व जमाएका खेलाडीहरूको बाहुल्य छ । मध्यम तथा लामो दूरीकी धाविका कान्छीमाया कोजूले गत वर्ष राष्ट्रिय कीर्तिमानसहित सहभागी भएको पाँच हाफ म्याराथन उपाधि जितिन् । त्यससँगै उनले सातौं राष्ट्रिय खेलकुदमा २ विधामा स्वर्ण पदक हात पारिन् । ब्याडमिन्टनमा पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउन सफल नङ्सलदेवी तामाङले सातौंमा स्वर्णसहित घरेलु प्रतियोगितामा पनि वर्चस्व जमाइन् । उत्कृष्ट महिला बन्ने होडमा कान्छीमायालाई नङ्सलले कडा चुनौती दिनेछिन् । यी दुईसँगै आर्चरीमा राष्ट्रिय कीर्तिमान बनाउन सफल ज्ञानु अवाले, ओलम्पिक पुगेर २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी सरस्वती भट्टराई र राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी पनि मनोनयनमा छन् ।


खेलको भविष्य बोकेका युवा खेलाडीमा पनि कडा उत्कृष्ट बन्न कडा प्रतिस्पर्धा हुने देखिन्छ । आ–आफ्नो खेलको सिनियर टोलीमा परेर परिपक्व प्रदर्शन गरेका फुटबलका अनन्त तामाङ र क्रिकेटका दीपेन्द्रसिंह ऐरीलाई भारोत्तोलनकी कमल श्रेष्ठले चुनौती दिनेछिन् । अनन्तले नेपालको सोलिडारिटी कप जितमा महत्त्वपूर्ण भूमिका खेल्दा दीपेन्द्रले केन्याविरुद्धको जितमा सुदृढ ब्याटिङ गरेका थिए । यता कमला श्रेष्ठले भने युवा प्रतियोगितामा सिनियरको राष्ट्रिय कीर्तिमान तोड्दै सातौंमा स्वर्ण जितेकी थिइन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र भलिबलकी प्रतिभा माली पनि उपाधि जित्ने दाउमा रहनेछन् ।

खेलाडीसँगै प्रशिक्षकमा पनि उत्कृष्ट बन्ने होडबाजी छ । फुटबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने जापानी प्रशिक्षक ग्योतोकु कोजी र एथलेटिक्समा उत्कृष्ट प्रदर्शन गर्न सफल पुष्पराज ओझा अवार्ड जित्ने अग्रपंक्तिमा छन् । कोजीले सोलिडारिटी कपमा नेपाली टोलीलाई अपराजित रहँदै उपाधि दिलाउँदा ओझाले सातौंमा आर्मीलाई टिम च्याम्पियन र ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने सरस्वती भट्टराईलाई प्रशिक्षण दिएका थिए । ब्याडमिन्टनमा पहिलो पदक दिलाउने तामाङ दिदी–भाइका (नङ्सल/रत्न) प्रशिक्षक किरण थापा पनि उपाधिको आसमा हुनेछन् । यसबाहेक थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी र राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा पनि उपाधि होडमा छन् ।


वर्षभरि चर्चामा रहेका शीर्ष ५ खेलाडीहरूलाई मनोनयनमा राखी दर्शकहरूको मतका आधारमा दिइने अवार्ड हो, पिपुल्स च्वाइस अवार्ड । यस अवार्डका लागि मञ्चले १ महिनाअघि मनोनयन सार्वजनिक गरेर एसएमएस र फेसबुक भोटिङका आधारमा सर्वाधिक मत ल्याउने खेलाडीलाई विजेता घोषित गर्छ ।

रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहसँगै यस अवार्डमा अर्की ओलम्पियन जुडोकी फुपू ल्हामु खत्री, क्रिकेटका दीपेन्द्र सिंह ऐरी, एथलेटिक्सकी कान्छीमाया कोजू र फुटबलका सुजल श्रेष्ठ मनोनयनमा परेका छन् । गत वर्ष यस अवार्डमा कुल २,८६,५२१ एसएमएस र ११,६०० फेसबुक लाइक्स प्राप्त भएको थियो ।

मनोनयन घोषणा नगरिएका लाइफटाइम एचिभमेन्ट, स्पेसल र प्यारा–एथ्लिट अफ द इयरको अवार्डले पनि अवार्डमा थप रौनक थप्नेछ । सोमबार कार्यक्रममा उपाधि विजेता घोषणा हुँदा अवार्ड जित्ने त खुसी हुन्छन् नै, मनोनयनमा पर्नेले पनि आफूलाई विजयी नै ठान्नेछन् ।

प्रकाशित : भाद्र २४, २०७४ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्