१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

यसरी परिवर्तन हुँदै छ दसैं मनाउने चलन

राजु घिसिङ

काठमाडौं — नयाँ लुगा लाउनुपर्‍यो भने दसैं कुर्नुपर्ने जमाना पनि थियो । त्यो पनि सेतो सर्ट र कालो पाइन्ट । अर्थात् स्कुल ड्रेस । तर त्यसैमा खुबै रमाइलो गरिन्थ्यो । यस्तो कुरा अचेल कुनै कथाजस्तै लाग्छ, जुन श्रुति परम्परामै सीमित भइसकेको हुन्छ ।

यसरी परिवर्तन हुँदै छ दसैं मनाउने चलन

खल्तीमा दाम छ भने जुनसुकै बेला पनि चाहिएको वस्तु किनेर लाउन सकिन्छ । दुई, चार, पाँच, सात सय, हजार वा हजारौं रुपैयाँ जति नै परोस् क्वालिटीअनुसारका कपडा यहींका बजारमा पाइन्छन् । स्कुल ड्रेस फेर्न दसैं नै कुर्नुपर्ने अवस्था छैन । र, जुनसुकै बेला पनि फेसनेबल बन्ने अवसर आइसकेको छ । खालि यत्ति हो कि आफूले बजेटको व्यवस्थापन गर्न सक्नुपर्छ ।

दसैंमा अलि लामै बिदा हुन्छ । प्राय: स्कुल, कलेज त दसैंदेखि तिहारसम्मै बिदा दिने चलन छ । त्यसैले पहिलाजस्तो दसैंमा घर रंगाउने, रमाइलो गर्ने, दक्षिणा थाप्ने र नयाँ ड्रेस लाउने परम्परा इतिहास भइसक्यो । हाम्रा लागि पनि वर्ष, महिना, साता त के, दिनको २४ घण्टा पनि कम लाग्न थालेको छ । त्यसैको बदलाव हुनुपर्छ, दसैंको फुर्सदिलो समयमा कुनै उपयोगी काम गर्ने चलन बढेको छ । कानमा जमरा, निधारमा रातो (सेतो पनि) टीका लगाएर हातमा दक्षिण थाप्दै दसैं मनाउने चलनलाई विशेषगरी युवा पुस्ताले नै बढी परिवर्तन गरिरहेको छ ।
बहुदलीय प्रजातन्त्रको आगमनसँगै देशको ठूलो संख्यामा युवा जमातको लस्कर मध्य पूर्वी अरबतिर लाग्न थालेको थियो । त्यसपछि आएको दसैं सम्झेर लोक दोहोरो गाउँदै फोनमा घर–परदेश रुने–रुवाउने चलन पनि अब पुरानो भइसक्यो । यस डिजिटिल युगमा जो जहाँ छन्, त्यहीं चाडपर्व मनाउने, रमाइलो गर्ने संस्कृति विकास भइरहेको छ । असी वर्षका बा–आमाले गोबरले लिपिएको घरमा बसेर अस्ट्रेलिया, अमेरिका, युरोपको मोडर्न लाइफ स्टाइलमा भिजिसकेका सन्ततिलाई भिडियो च्याटमार्फत साइतअनुसार टीका लाउन निर्देश गर्दै आशीर्वाद दिनु अब नौलो भएन । यसले फेसबुक, ट्वीटर र इन्स्टालाई दसैंमय बनाउने गर्छ ।

शत्रु नाश होऊन्, गति वायुको जस्तो होस्, धन दशरथको जस्तो होस्, चिरञ्जीवी भएस्... भनी आशीर्वादका वाक्यहरू पनि धेरै लम्ब्याउनुपर्ने छैन किनभने अहिलेका मान्छेमा समय अत्यन्तै कम छ । सडकदेखि सपिङ मलसम्म जो पनि हतार गरिरहेका देखिन्छन् । अमेरिकाको भिसा पाऊन्सम्मका आशीर्वाद पनि सुनियो तर अमेरिका ताक्नेहरू डोनाल्ड ट्रम्पसँग झस्किएका छन् । त्यसैले पुरानै तर एउटै वाक्यको आशीर्वाद दिए पनि काफी हुने देखिएको छ– चन्द्रमा दाहिना होऊन् (कुनै कुरा नरोकिने) ।

सन्तानले डाँडाकाँडा ढाकुन्, दुबो मौलाएझैं मोलाऊन् भनेर दिइने आशीर्वादलाई अब अर्को चस्माले हेर्ने समय आइसकेको छ । भौगोलिक रूपमा फैलिएको क्षेत्रको तुलनामा जनसंख्या धेरै भएको क्षेत्र नै ठूलो बजारमा स्थापित भइसकेको छ । जमिनदारलाई धनाढ्यमा तेल र ग्यास उद्योगले विस्थापित गरेका थिए । तेल–ग्यास उद्योगलाई टेक्नोलोजी बिजनेसले पछाडि पारिसकेको छ । एप्पल, सामसुङ, गुगल, अमेजन विश्वकै धनाढ्य कम्पनी भइसकेका छन् । सानो रूपमा भए पनि यस उद्योगमा नेपाली उपस्थिति बढिरहेको छ । त्यसैले यस दसैंको आशीर्वाद नयाँ आइडियाको बिजनेस उत्तम हुन्छ किनभने अहिलेका युवाको चाहना जागिर खाने होइन, नयाँ आइडिया ल्याएर बिजनेस गर्ने/गराउने हो ।

नीलो आकाशमा चंगा चेट, चच हुइँ गर्दै केहीबेरका लागि भए पनि जमिन छाड्दै खेलिने पिङ त चलेकै छन् । परम्परागत परिकार बनाएर खाने चलन पनि यथावत् छ । यसमा दशकयता थपिएको छ– घुमफिर । हाइकिङ, ट्रेकिङ वा सौराहा, पोखरालगायत मनोरम स्थलको भ्रमणले माइन्ड फ्रेस बनाउँछ, जसले नयाँ आइडिया वा राम्रो काम गर्ने ऊर्जा बढाउँछ । त्यसैले दसैंमा टीका लगाएर घुम्न निस्कने नेपाली युवाको संख्या बढ्दो छ । उनीहरूको गन्तव्य बैंकक, सिंगापुर, मलेसिया, दुबई पनि हुन थालिसकेको छ । यसले नेपालीको आय बढेको संकेत पनि गर्छ ।

बिजेनस गर्नेका लागि कमाउने अवसरका रूपमा पनि रहेको दसैंमा धेरैले ग्याजेट फेर्ने, बुक पढ्ने, म्युजिक सुन्ने, खेल्ने वा अरू नै केही गर्ने योजना पनि बनाउने गर्छन् । दसैं हिन्दु पर्व हो तर यो चाड हिन्दु धर्मावलम्बीमा मात्र सीमित छैन । दसैंले नछोएको कुनै पनि समुदाय छैन । तर आ–आफ्ना मौलिक पहिचान खोज्दै जाने क्रममा दसैंलाई भिन्न वा आफ्नै तरिकाले मनाउने पनि बढेका छन् । विभिन्न जनजातिमा सेतो टीका लगाउने र नलगाउने थुप्रै छन् तर नातेदार भेटघाट गर्ने अवसर भने यसैलाई बनाएका हुन्छन् । 

twitter: @rghising

प्रकाशित : आश्विन ७, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?