कूटनीतिका मियो
भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्क रह्यो ।

भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्करह्यो ।
खनाल विद्वान्, समालोचक, कूटनीतिज्ञ र प्रखर बुद्धिजीवी थिए । उनले पहिला संस्कृत, अनि कलकत्तामा विज्ञान र अङ्ग्रेजी साहित्य पढेर फर्की १९९९ देखि २०१२ सालसम्म त्रि–चन्द्र कलेजमा पढाए । २०१२ मा प्रधानमन्त्री टंकप्रसाद आचार्यले आफ्नो प्रमुख सचिवका साथै गृहसचिव बनाएर सिंहदरबार लगे पनि खनाल कर्मचारी होइन, स्वतन्त्र विद्वान्का रूपमा परिचित रहे । उनको कूटनीतिक क्षमतालाई बीपी कोइराला, राजा महेन्द्र र राजा वीरेन्द्रले मात्र होइन, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले प्रयोग गरे । नेपालमा दुईपटक परराष्ट्रसचिव र नेपालका लागि अत्यन्त महत्त्वपूर्ण देशहरू भारत, चीन र अमेरिकामा राजदूत हुने एक मात्र व्यक्ति खनाल नै भए ।
२०१७ सालमा यदुनाथ खनाल राजा महेन्द्रबाट परराष्ट्रसचिव नियुक्त हुँदा नेपालको आन्तरिक राजनीति र परराष्ट्र सम्बन्धमा संकट थियो र त्यस संकटको समाधानमा सहायता लिन उनलाई महेन्द्रले परराष्ट्रसचिव बनाएका थिए । २०१७ पुस १ गते कू गरी शासनसत्ता हातमा लिनेबित्तिकै राजा महेन्द्रले भर्खर न्युयोर्कमा संयुक्त राष्ट्रसंघको पन्ध्रौँ साधारणसभामा भाग लिएर नेपाल फर्केका खनाललाई दरबारमा बोलाएर भने, ‘खनालजी, मैले बुवा त्रिभुवनले ल्याइबक्सेको प्रजातन्त्र बिगार्न खोजेको होइन । तर यी कांग्रेसहरूले भन्दा छिटो देश विकास गर्न सक्छु कि भनेर मैले पुस १ गतेको काम गरेँ । अब मलाई तपाईंले सहयोग गर्नुपर्यो । म तपाईंलाई परराष्ट्रसचिव बनाउन चाहन्छु । भारत मसित धेरै रिसाएको छ, सम्हाल्नुपर्यो ।’ खनालले ‘हुन्न, म सक्दिनँ’ भन्न मिलेन । उनी बीपी कोइरालासित संयुक्त राष्ट्रसंघ गएका थिए र उनको भाषण लेखेका थिए । तर महेन्द्रले खनाललाई ‘बीपीको मान्छे’ भनेनन्, ‘देशको मान्छे’ भने ।
यदुनाथ खनाल परराष्ट्रसचिव भएको दोस्रो वर्ष (२०१९ कात्तिक–मंसिरतिर) चीन–भारत सीमायुद्ध नै भयो । दुई देशको चेपमा रहेको नेपाल अप्ठयारोमा पर्यो । भारतीय सेनामा नेपालीहरू पनि थिए । तर भारतीय अखबारहरू लेख्थे, ‘नेपालले बाहिरबाहिर तटस्थ रहेजस्तो देखाए पनि भित्रभित्रै चीनलाई सघाइरहेछ ।’ अनि खनालले तत्कालीन भारतीय राजदूत हरीश्वर दयाललाई सिंहदरबार बोलाएर सोधे, ‘के हो, अखबारहरूमा आएको विचार भारत सरकारको पनि हो कि अखबारवालाहरूको मात्र हो ? यदि भारत सरकारले पनि त्यस्तै ठानेको छ भने हाम्रा राजासितसमेत कुरा गर्नुपर्यो ।’ अनि हरीश्वर दयालले खनाललाई भने, ‘होइन, नेपाल सरकारले जुन नीति अवलम्बन गरेको छ त्यो बिलकुल ठीक छ । त्यसको हामी प्रशंसा गर्छाैं । अखबारको पछि नलाग्नोस् ।’ खनालले मैले जीवनी लेख्ने क्रममा कुरा गर्दा यस्तो भनेका थिए ।
त्यसै वर्ष (२०१९ सालमा) भारतका लागि नेपाली राजदूत नरप्रताप थापाको विमान दुर्घटनामा देहावसान भयो । अप्ठयारोमा परेको नेपाल–भारत सम्बन्धलाई सम्हाल्न जान्ने अर्काे मानिस भेटिएन र राजा महेन्द्रले यदुनाथ खनाललाई नै भारतमा राजदूत बनाई पठाए । त्यतिखेर नेपाली कांग्रेसका कार्यकर्ताहरूले भारतबाट नेपालमा सशस्त्र विद्रोहको कार्यक्रम पनि चलाइरहेकै थिए । खनालले भारतमा राजदूत भई गएर २०१९ पुस १० गते (१ जनवरी १९६३) का दिन राष्ट्रपति सर्वपल्ली राधाकृष्णनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । त्यसताका नेपाल–भारत सम्बन्ध चिसो थियो । त्यो वर्ष नेपालको राष्ट्रिय दिवसमा आयोजित जलपानमा भारतका कुनै उच्चपदस्थ अधिकारी आएनन् । उपराष्ट्रपति आउने चलन थियो, ती पनि आएनन् । अनि खनालले जनस्तरमा कूटनीति सुरु गरे । त्यसैको फल थियो त्यो किताब— ‘रिफ्लेक्सन्स् अन् नेपाल–इन्डिया रिलेसन्स्’ । त्यस किताबमा संकलित लेख तथा भाषणहरूमा उनले नेपाल–भारत सम्बन्धका स्थायी पक्षहरूको व्याख्या गरेका छन् ।
अनि २०२४ सालमा भृकुटीमण्डप प्रदर्शनीस्थलमा रहेको चिनियाँ स्टलमा विद्यार्थीहरूले तोडफोड गरेर माओ जे दुुङको तस्बिर पनि खसालिदिए । नेपाल–चीन सम्बन्धमा त्यस घटनाले ठूलो तनाव पैदा गर्यो । चिनियाँ राजदूत नेपाल सरकारसित बिदै नभई चीन फर्के । त्यो संकटको समाधान गर्न फेरि यदुनाथ खनाललाई नै दिल्लीबाट फिर्ता बोलाएर परराष्ट्रसचिव बनाइयो र चीन पठाइयो । बेइजिङमा कुराकानी हुँदा चाउ एन लाईले त्यस विषयमा चिन्ता नगर्न आश्वासन दिए । नेपाल सरकार निकै चिन्तित थियो किनकि काठमाडौँस्थित चिनियाँ दूतावासका कर्मचारीले नेपाल सरकारलाई कडा विरोधपत्र लेखेर धम्क्याएका थिए । त्यस विषयका जानकार प्रधानमन्त्री चाउ एन लाईले त्यस्ता कर्मचारीलाई सरुवा गरिदिने समेत वचन दिएका थिए । त्यो मिसन सफल पार्न खनालको सुझबुझ उपयुक्त भयो ।
२०२६ सालमा यदुनाथ खनालले नेपालबाट भारतीय सैनिक सल्लाहकारहरूको टोली फिर्ता पठाउनमा कूटनीतिक सफलता हासिल गरे । त्यो धेरै गाह्रो काम थियो । त्यसको केही चर्चा मैले साझा प्रकाशनको अनुरोधमा लेखेको किताब ‘यदुनाथ खनाल : जीवनी र विचार’ (पृष्ठ ९६–१०४) मा गरेको छु । तर त्यसमा नपरेको एउटा कुरा उल्लेख गर्नु आवश्यक ठान्छु । खनालले मलाई के बताए भने, कूटनीतिमा त्यसको विषयवस्तु (कन्टेन्ट) जस्तै प्रक्रिया (प्रोसेस) पनि महत्त्वपूर्ण हुन्छ । २००९ सालमा एक–डेढ वर्षका लागि आएको भारतीय सैनिक सल्लाहकार समूह सोह्र–सत्र वर्षसम्म नेपालमा बसिरहयो र राजा महेन्द्रलाई त्यो हटाउने इच्छा भयो । उनले खनाललाई भने, ‘खनालजी, तपाईं एउटा भाषण लेख्नोस्, म त्यो पढ्छु ।’ तर खनालले भने, ‘सरकारले पढ्न हुँदैन, किनकि सरकारको भाषणमा व्यक्त चाहनाबमोजिम भारतले आफ्ना सैनिक सल्लाहकार टोली फिर्ता लग्यो भने त सरकार हिरो होइबक्सिन्छ, तर भारतले मानिदिएन भने कता गइबक्सिन्छ ?’ खनालको तर्क सुनेर राजा झस्किए र भने, ‘ठीक भन्नुभयो खनालजी । मैले होइन, प्रधनमन्त्री कीर्तिनिधि विष्टले पढ्छन् ।’ तर खनालले फेरि भने, ‘भाषण पनि नदिऔँ । ‘राइजिङ नेपाल’ मा एउटा अन्तर्वार्ताका रूपमा हाम्रा विचार राखौं । त्यसमा भारतको कस्तो प्रतिक्रिया आउँछ, सोहीअनुसार अघि बढ्ने या नबढ्ने निर्णय गरौंला । वास्तवमा यो यति संवेदनशील र खतरनाक विषय हो, यसमा कूटनीतिक गल्ती भयो भन्ने अवस्था आयो भने हामीमध्ये कुनै एकले आफ्नो पदबाट हट्ने तयारीका साथ अघि बढ्ने हो ।’ खनालको कुरा राजालाई उचित लाग्यो र त्यस विषयमा २०२६ असार ११ को ‘राइजिङ नेपाल’ मा प्रधानमन्त्री कीर्तिनिधि विष्टका नाममा एउटा अन्तर्वार्ता छापियो । केही दिनपछि तत्कालीन भारतीय राजदूत राजबहादुरले सिंहदरबार आएर खनाललाई भनेका थिए रे, ‘भाषा त जम्मै तिम्रैजस्तो लाग्छ नि !’ त्यसपछि लामो कूटनीतिक संवादमार्फत भारतीय सैनिक सल्लाहकार टोली फिर्ता पठाइयो ।
त्यति मिहिनेत गरेर परराष्ट्रसचिव यदुनाथ खनालले भारतसितको सम्बन्ध नबिगारीकन सेना फिर्ता पठाए, तर त्यसपछि राजा महेन्द्र नेपाल–भारत सम्बन्ध बिगार्ने काम गर्न थाले । अनि खनाल चित्त दुखाई परराष्ट्रसचिव पद छोडेर सन् १९७० मा हार्वर्ड विश्वविद्यालयमा फेलो हुन गए र त्यहाँ नेपालको परराष्ट्रनीतिबारे पचास पृष्ठ लामो लेख लेखे । उनी फर्किंदा नेपालमा नयाँ राजा स्थापित थिए— वीरेन्द्र । उनले खनाललाई दरबारमा बोलाएर (आफ्ना बाबु महेन्द्रकै भाषामा) ‘मलाई मद्दत गर्नुपर्यो’ भने र संयुक्त राज्य अमेरिकामा राजदूत बनाई पठाए । त्यतिखेरको चुनौतीपूर्ण प्रसंग के थियो भने सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको साताव्यापी भ्रमण गरिसकेका थिए, जसलाई उनले संसार परिवर्तन गर्ने एक साता (द विक द्याट् चेन्ज्ड् द वल्र्ड) भनेका थिए । अमेरिका र चीनबीच स्थापित नयाँ सम्पर्कले चीनसित सीमा जोडिएको नेपालका लागि के अर्थ राख्छ, गम्भीर चासोको विषय थियो यो । त्यतिखेर हाम्रो दक्षिणतर्फको छिमेकी भारतको सोभियत संघसँग निकट सम्बन्ध थियो । तर भारत–अमेरिका सम्बन्ध यति खराब थियो, राष्ट्रपति निक्सनले इन्दिरा गान्धीलाई ‘बिच’ (कुकुर्नी) भनेका थिए र निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले भारतीयहरूलाई ‘बास्टर्ड’ (ठिमाहा) भनी गाली गरेका थिए । कारण, पूर्वी पाकिस्तान (हालको बंगलादेश) लाई स्वतन्त्र बनाउने युद्धमा भारत सोभियत संघसित २० वर्षे पारस्परिक सुरक्षा सन्धि गरेर अमेरिकी नीति र इच्छाविपरीत अघि बढेको थियो । खनालले राजदूत भएर वासिङ्टन पुगेको सातादिन पनि नपुग्दै राष्ट्रपति निक्सनलाई ह्वाइट हाउसमा ओहोदाको प्रमाणपत्र बुझाए (जुन २४, १९७३) । तर उनीभन्दा धेरैअघि वासिङ्टन पुगेका भारतीय राजदूत टीएन कौल भने महिनौंअघिदेखि पालो कुरेर बसिरहेका थिए । खनाललाई भेटेर भारतीय राजदूत कौलले सोधेछन्, ‘मेरो पालो कहिले आउलाजस्तो लाग्छ, केही बुझ्नुभयो कि ?’ खनालले भने, ‘खै, अलि कुर्नैपर्नेजस्तो लाग्यो ।’
यदुनाथ खनाललाई स्वागत गर्दै आफ्नो लिखित वक्तव्यमा राष्ट्रपति निक्सनले भनेका थिए, ‘मेरो प्रशासन विश्वशान्तिको नयाँ संरचना निर्माण गर्न कृतसङ्कल्प छ र त्यसमा नेपालका राजा र जनताले दिएको योगदानको हामी हार्दिक प्रशंसा गर्छाैं ।’ त्यस भनाइको अर्थ बुझाउँदै मलाई खनालले पछि भनेका थिए, ‘सोभियत संघलाई आफ्नो एक नम्बरको प्रतिपक्षी मान्दै अमेरिकाले चीनसित मित्रता र सहकार्य गर्ने नयाँ नीति अख्तियार गर्दै थियो । त्यसैलाई निक्सनले विश्वशान्तिको नयाँ संरचना भनेका हुन् । अनि चीनसितको सम्बन्धसूत्रका रूपमा अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको थियो, तर हामीले त्यो भूमिका खेल्दा भारतले हामीमाथि कारबाही गर्ने खतरा थियो र हामीले त्यो गर्न सकेनौं । अनि पाकिस्तानको भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले त्यताबाट सुटुक्क चीन गई निक्सनको चीन भ्रमणको तयारी गरेका थिए । नेपालको भूराजनीतिक संवेदनशीलतालाई अमेरिकीहरूले बुझेका थिए र हामीले व्यक्त गरेको असमर्थतालाई लिएर चित्त दुखाएका थिएनन् । हामी रूसतिर ढल्केका छैनौं भन्ने उनीहरूले बुझेका थिए । त्यही कुरालाई निक्सनले नेपालका राजा र जनताले दिएको योगदान भनेका हुन् ।’ यसबारे मलाई खनालले बुझाए र निक्सनले दिएको भाषणको कपी पढ्न दिए । खनाललाई व्यक्तिगत रूपमा प्रशंसा गर्दै राष्ट्रपति निक्सनले आफ्नो लिखित भाषणको अन्तिम प्याराग्राफमा भनेका रहेछन्, ‘तपाईंंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्तिलाई श्री ५ वीरेन्द्रले अमेरिकाका लागि राजदूत नियुक्त गर्दा संयुक्त राज्य अमेरिका नै विशेष रूपमा सम्मानित भएको छ । तपाईंको नियुक्ति हाम्रा दुई देशबीचको सम्बन्धमा एउटा कोसेढुंगा हो ।’
अमेरिकाले तिब्बती खम्पाहरूलाई सीआईएमार्फत तालिम र हतियार दिएर चीनका विरुद्ध काण्डहरू मच्चाउन गोप्य रूपमा मद्दत गरिरहेको धेरै वर्ष भइसकेको थियो, लगभग एक दशक नाघिसकेको थियो । त्यो काममा नेपालको भूमि प्रयोग हुनु हाम्रो राष्ट्रिय हितमा थिएन । आखिर सन् १९७५ (२०३२ साल) तिर नेपालले मुस्ताङ, डोल्पा, हुम्ला आदि जिल्लामा कारबाही अभियान चलाएर उनीहरूका हतियार खोस्यो र केवल ‘शान्तिपूर्ण ढंगले नेपालमा बस्ने’ अनुमति दियो । त्यसताका यदुनाथ खनालले अमेरिकी सरकार र तिनका एजेन्सीहरूलाई के भनेर सम्झाए भने, ‘नेपाल संवेदनशील भूराजनीतिक अवस्थामा छ । हामी हाम्रा छिमेकी भारत र चीनलाई अप्ठयारो पारेर अमेरिकाको हित गर्ने काममा संलग्न हुन सक्दैनौँ । यो कुरा तपाईंहरूले बुझ्नुपर्छ । जहाँसम्म खम्पाहरूको विषय छ, अब त अमेरिका स्वयं चीनसित सम्बन्ध सुधार्ने प्रयासमा छ भने तिनीहरूलाई प्रयोग गरिरहने आवश्यकता नै के छ र ?’ खनालको यो गम्भीर कूटनीतिक तर्कबाट अमेरिकी सरकारी कूटनीतिज्ञहरूको चित्त बुझ्यो ।
यस सन्दर्भमा ‘यदुनाथ खनाल : जीवनी र विचार’ मा नपरेको एउटा प्रसंग पनि यहाँ चर्चा गर्नु सान्दर्भिक देख्छु । संयुक्त राष्ट्रसंघ ज्यादै ‘पश्चिमपरस्त’ र अझ ‘अमेरिकापरस्त’ भयो भन्ने रूसी सिकायत थियो । त्यो कुरा बीपी कोइराला संयुक्त राष्ट्रसंघ जाँदा खु्रस्चेभले उनीसित उठाएका पनि थिए र तीन जना महासचिव राख्ने प्रस्ताव गरेका थिए । तर त्यो प्रस्ताव अव्यावहारिक भनी नेपालले सहमति जनाएन । त्यस विषयमा बीपीको भाषणमै असहमति आइसकेको थियो । सन् १९६० को दशकको अन्त्यतिर एक दिन रूसी राजदूत परराष्ट्रसचिव यदुनाथ खनाललाई भेट्न आएर भने, ‘तपाईं संयुक्त राष्ट्रसंघको महासचिव हुनोस्, रूसले समर्थन गर्छ ।’ रूसको त्यस्तो प्रस्ताव आउनुको कारण थियो— नेपालको स्पष्ट र दृढ असंलग्नता तथा खनालको व्यक्तिगत क्षमता र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित व्यक्तित्व । खनालले ‘यो गम्भीर कुरा हो, यसमा म केही सोचेर र सरसल्लाह गरेर जवाफ दिउँला’ मात्र भने ।
यदुनाथ खनाललाई थाहा थियो— अमेरिकाले नचाहेमा संयुक्त राष्ट्रसंघमा केही पनि हुँदैन । सुरक्षा परिषद्मा पाँच स्थायी सदस्यमध्ये चार एकातिर (अमेरिकी पक्षमा) हुन सक्थे । त्यस कारण यस विषयमा खनालले नेपालस्थित अमेरिकी राजदूत क्यारोल सी. लेसलाई बोलाएर कुरा गरे । लेसले कूटनीतिक शैलीमा खनालको प्रशंसा गरिन्, तर यस्ता विषयमा कसैको व्यक्तिगत क्षमताभन्दा पनि देशको अवस्था, सम्बन्ध र हैसियतले काम गर्ने कुरा गरिन् । खनालले कुरो बुझिहाले । त्यो प्रस्तावको चर्चा बाहिर ल्याएनन् । निक्सनले आफ्नो स्वागत–भाषणमा ‘तपाईंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्ति’ भन्नुको कारण थियो— अमेरिकीहरूले रूसी प्रस्तावका बारेमा थाहापाएका थिए ।
तर यदुनाथ खनाल वासिङ्टनमा धेरै बस्न चाहेनन् । आफ्नी श्रीमतीको स्वास्थ्यका कारण नेपालै फर्कन चाहे र राजा वीरेन्द्रको राज्याभिषेकमा नेपाल आएका बेला सो इच्छा जाहेर गरी फर्केर लोक सेवा आयोगको अध्यक्ष भए । राजा वीरेन्द्र उनलाई खाली राख्न चाहन्नथे । अनि जब चीनमा माओ जे दुङको मृत्यु भयो, त्यहाँ नयाँ युगको प्रारम्भ हुने संकेत देखियो र त्यसले राजनीतिक, आर्थिक र कूटनीतिक कोल्टो फेर्न थाल्दा नेपालको केकस्तो प्रतिक्रिया हुनुपर्छ भन्ने विषय बुझ्ने व्यक्ति यदुनाथ खनाललाई नै ठहराई चीन पठाइयो । उनले चीनका विषयमा गरेको विश्लेषणात्मक प्रतिवेदनमा भनिएको थियो, ‘माओपश्चात्को चीनको परराष्ट्र नीतिमा क्रान्तिकारिता, सैन्यशक्ति र आधुनिकीकरणका तीन धार छन् । साथै आधुनिकीकरण भनेको चीनको आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक यी चार क्षेत्रमा गरिने परिवर्तनको कार्यक्रम हो ।’ सन् १९८२ मा खनालले दुइटा भविष्यवाणी गरेका थिए । एक, चीनको पश्चिमामुखी परराष्ट्र नीति धेरै वर्षसम्म चलिरहनेछ । र दोस्रो, चीनको प्रतिव्यक्ति औसत आय दुई दशकमा चार गुना बढ्नेछ । त्यो सन् २००२ मा ठीक साबित पनि भएको थियो ।
चीनको नेपाल र भारतसितको सम्बन्धमा यदुनाथ खनाल भन्थे, ‘चिनियाँहरू यथार्थवादी छन् । उनीहरू नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सम्बन्ध र चीन–भारत सम्बन्ध तीन अलग विषय हुन् भन्ने मान्छन् । हरेक सम्बन्ध विकसित हुनुको आफ्नै औचित्य वा तर्क छ । हरेक सम्बन्धलाई आ–आफ्नै मूल्य र महत्त्वका आधारमा हेरिनुपर्छ । चिनियाँहरू नेपाल–चीन मैत्रीलाई महत्त्व दिन्छन् एवं हाम्रो स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मान गर्छन् र यस विषयमा उनीहरूका नेताहरूले विशेष ध्यान पनि दिन्छन् । तर, उनीहरूले नेपाल–चीन सम्बन्धलाई जतिसुकै महत्त्व दिए पनि त्यो नेपाल–भारत मैत्रीको स्थानापन्न हुन सक्दैन भन्ने पनि मानेका छन् । साथै त्यो भारत–चीन मित्रताको स्थानापन्न पनि हुन सक्दैन भन्नेमा उनीहरू स्पष्ट छन् । उनीहरू आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्ना मित्रहरूको उचित सम्मानका साथ उनीहरूसित स्वतन्त्रतापूर्वक मित्रता बढाउन चाहन्छन् र हामीले पनि भारतसितको सम्बन्धमा पनि त्यसै गरौँ भन्ने अपेक्षा गर्छन् ।’
नेपालले आफ्नो परराष्ट्र सम्बन्धमा कठिन चुनौती भोगिरहेको आजको समयमा यो साँच्चै मननीय कुरा हो । यो परिप्रेक्ष्यमा, यदुनाथ खनाल नेपालको परराष्ट्र नीतिलाई बौद्धिकीकरण गर्ने एक मनीषी नै थिए ।
प्रकाशित : आश्विन १२, २०७४ १७:४३