चीन २.०

प्रदीप बस्याल, संजीव गिरी

कात्तिकमा राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ कंग्रेसमा पाठ गरेको साढे तीन घन्टा लामो म्याराथुन भाषणका हरेक शब्द निकै अर्थपूर्ण रूपबाट तौलिएका थिए । थुप्रै महिना अघिदेखि १०१ वटा अध्ययन टोलीले ३४ मध्येका २९ प्रान्त, स्वायत्त क्षेत्र, नगरपालिकाका १,४३३ बहुआयामिक क्षेत्रका संस्थाहरू भ्रमण गरेर त्यसको मस्यौदा तयार पारेका थिए ।

चीन २.०

त्यसमाथि आएका सुझाव र प्रतिक्रिया समेटेर पाँच सयभन्दा बढी पटकको पुनर्लेखनपछि तयार पारिएको उक्त रिपोर्टमा धेरै कुरा स्पष्ट थिए भने केही सांकेतिक । प्राय: संकेतबाटै धेरै बोल्ने चिनियाँ शैलीबीच पनि एउटा स्पष्ट दाबी के थियो भने चीन अबको विश्वको नेतृत्वकर्ता हो । मन्तव्यभरि सीले सबभन्दा बढी दोहोर्‍याए मध्येको एक शब्दावली ‘नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद’भित्र त्यसको स्पष्ट चित्र थियो । 

सीका पदचाप 
‘लो प्रोफाइल’मा रहेर अगाडि बढ्ने भन्ने पुरानो रक्षात्मक चरित्र बोकेर अगाडि बढिराखेको चीनमा पाँच वर्षअघि राष्ट्रपति सी सत्तामा आएसँगै बदलावका संकेतहरू देखापर्न सुरु गरेका थिए । उनले ल्याएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) यति विशिष्ट प्रकृतिको थियो कि चीन रक्षात्मक भएकै खण्डमा त्यसलाई अगाडि बढाउन सम्भव थिएन, छैन । खुलापनसँगै आर्थिक रूपमा मारेको फड्कोले चीनसँग अहिले विश्वकै सबैभन्दा बढी विदेशी मुद्रा सञ्चय छ, जसलाई दिगो रूपमा चलायमान गराउन नै बीआरआई अवधारणा जन्मिएको थियो ।

निरन्तरता बीचकै क्रमभंगताका रूपमा धेरैले अथ्र्याएको उनको पछिल्लो मन्तव्यले विगत ६ दशकको राजनीतिक प्रक्रिया र उनको नेतृत्वसँगै बढेको अग्रसरतालाई नमुनाकै रूपमा सैद्धान्तिक स्वरूप दिन खोजिएको छ । साना स्वार्थभन्दा धेरै माथि उठेर गरिएको यो कदमलाई उनकै आलोचकहरूले समेत खोट लाउनसकेका छैनन् । त्यसैले सार वा रूपमा जसरी भने पनि चिनियाँ सिद्धान्तसँगै सीको व्यक्तित्वको ‘इस्टिच्युसनलाइजेसन’ समेत हो यो । यसले सँगै ठूला जोखिमहरू पनि निम्त्याएको छ, चिनियाँ राज्य व्यवस्थाका सामु । 

दोस्रो कार्यकालको बागडोर लिइसक्दा सीको ‘भिजन’ भने आउँदो ३० वर्षसम्मका लागि स्पष्ट छ । अझ चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विधानमै ‘सी चिनफिङ विचारधारा’ राख्ने प्रस्तावलाई एकमतले पारित गरेर कंग्रेसले सीलाई पार्टी संस्थापक माओ त्सेतुङ जत्तिकै शक्तिशाली बनाएको छ । देङ स्यायो पिङको नामसमेत पार्टी विधानमा राखिए तापनि त्यो मरणोपरान्त थियो । अहिलेको निर्णय एउटा सांकेतिक सम्मानमात्र नभई सीको शक्ति देखाउने कसरत पनि हो । अर्थात् अब सी संकटमा पर्नु वा कमजोर हुनु भनेको चिनियाँ कम्युनिस्ट पार्टी नै संकटमा पर्नुसरह हो– भनेर त्यहाँँ प्रस्तुत गरिएको छ । देङ शक्तिमा आएपछि ल्याएका सुधारहरू देशको आर्थिक उन्नतिका लागिमात्र सहयोगी भएका थिएनन्, पार्टीलाई समयानुकूल सुधार गरेर पतन हुनबाट बचाएको थियो । उनको त्यही उदार र समयानुकूल परिवर्तनले ३ दशक निरन्तर आर्थिक कायापलट गर्न सक्यो । सीले पाएको यो गरिमाको औचित्यसमेत आउने थुप्रै पुस्ताका लागि देशको मार्गचित्र बनाएसँगै पुष्टि हुनेछ, यदि उनी सफल भए भने ।

सी यसरी बलियो दरिनुमा धेरैले महत्त्वपूर्ण मान्ने उनको भ्रष्टाचार विरोधी अभियान थियो । उनको उक्त अभियान चीनको सामाजिक–आर्थिक फड्कोका लागि त सहयोगी बन्यो नै, चिनियाँ कम्युनिस्ट पार्टीभित्र मौलाउन थालेको विकृति (जसले अन्तत: पार्टीलाई कमजोर पाथ्र्यो) सँग जुध्ने अश्त्रसमेत बन्यो । यो त्यही तीर थियो, जसले सीका बलिया प्रतिस्पर्धी वा उनलाई चुनौती दिनसक्ने जतिलाई पाखा लगाइदियो । सीको व्यक्तिगत स्वभाव बाहिरबाट हेर्दा जति साधारण र सहज देखिन्छ, सम्भवत: व्यवहारमा उनी त्यति नै जटिल छन् । हुन त कम्युनिस्ट पार्टीका विभिन्न महत्त्वपूर्ण ओहदामा रहँदासमेत उनी कहिल्यै कुनै विवादमा आएनन्, तडक–भडकबाट परै रहे । त्यसले नै उनलाई उक्त महत्त्वाकांक्षी अभियानका लागि उच्च मनोबल दिएको हुनुपर्छ । उनी आफ्नो राजनीतिक महत्त्वाकांक्षा हासिल गर्ने पाटोमा कति कठोर रहेछन् भन्ने कुरा पछिल्ला घट्नाक्रमले प्रस्ट पारेका छन् ।

एउटा समय त्यस्तो पनि थियो, जतिखेर अमेरिकाले चीनलाई बारम्बार विश्वप्रति जिम्मेवारी बहन गर्न आवश्यक रहेको भन्ने सुझाउँथ्यो । त्यतिखेर चीन सैद्धान्तिक रूपमै आफूलाई नपरेसम्म विवादमा तानिन चाहँदैनथ्यो । यसको एउटा सामान्य चित्र उनकै पूर्ववर्ती हु जिन्ताओले आफ्नो दसवर्षे कार्यकालमा जम्मा सातवटा देशको भ्रमण गरेबाट थाहा हुन्छ । जबकि सीले पाँच वर्षभित्रै ५६ वटा देश र क्षेत्रीय/अन्तर्राष्ट्रिय फोरमहरूमा भ्रमण गरेका थिए । 

दक्षिणी चिनियाँ सागरमा चीनले आफ्नो विवादास्पद उपस्थितिको कडा बचाउमात्र गर्न थालेन, कृत्रिम टापु नै बनाएर त्यसमा सैन्य आधारहरू राख्ने गृहकार्य थाल्यो, कोरियाली प्रायद्विप, अफगानिस्तान, सिरिया, दक्षिणी सुडान, इरानी आणविक कार्यक्रममा सक्रिय उपस्थिति जनायो । देश बाहिर पहिलोपटक उत्तरपूर्वी अफ्रिकाको जबुटीमा सैन्य आधार स्थापना गर्‍यो । चीनको अमेरिकासँगको कमजोर पक्ष अब सैन्य शक्तिमात्र रहेको बताइन्छ, जसलाई सीले संसारकै आधुनिक सेना भनेर यसपटक बताएका छन् । अझ जलवायु परिवर्तनको मुद्दामा अमेरिकाले पेरिस सम्झौताबाट हात झिकेपछि त्यसको नेतृत्व स्वत: चीनको पोल्टामा परेको धेरैको विश्लेषण छ, जसलाई सी स्वयंले आफू ‘ड्राइभिङ सिट’मा रहेको भन्दै त्यस मोर्चामा पनि थप सक्रिय हुने संकेत दिएका छन् । यी घटनाक्रमले दिने अर्थ के हो भने चीन अब विश्व राजनीतिको पर्यवेक्षक होइन, सक्रिय खेलाडी बनिसकेको छ र अरू अगाडि बढ्न उद्यत छ । 

‘सुपर पावर’ सपना
सीले जसरी नयाँ युगको कुरा गरेका छन्, त्यसलाई आधुनिक चीनको तेस्रो अध्यायको रूपमा अथ्र्याउन थालिएको छ । बाँकी विश्वबाट एक्लिएर गरिएको सांस्कृतिक क्रान्तिदेखि खुलापनको चीन हुँदै अब खुला विश्वमा समाहित भएरै आफ्नो भविष्य उज्ज्वल हुने चीनले मापन गरेको छ । अर्थात् माओले स्वतन्त्र, देङ सियाओ पिङले समृद्ध बनाएको चीनलाई सीले पऽन: बलियो बनाउनेछन् । बलियोको अर्थ विश्वमा औपनिवेश युग सुरु हुनुपूर्व अर्थात् पन्ध्रौँ शताब्दीअघि जत्तिकै बलियो चीन बनाउने भन्ने हो, जतिखेर चीनको कुल गार्हस्थ उत्पादनको हिस्सा विश्वको २९ प्रतिशत अर्थात् सबभन्दा बढी थियो । 

आफ्नो इतिहासबाट सिक्दै र सच्चिँदै जाने नै चीनको मार्गदर्शन छ । माओलाई आफ्नो आदर्श मानिराख्दा समेत उनीहरू त्यसलाई तत्कालीन समयको मागको रूपमा मात्र बुझ्नुपर्ने र त्यस्तो क्रान्ति दोहोरिन नहुनेमा स्पष्ट देखिन्छन् । सीका कदमहरू समेत माओका दर्शनबाट टाढिएका र देङको सोचमा अझ फराकिलो मार्ग पक्रेका जस्ता देखिन्छन् । 

अहिलेसम्म चीनले आफ्नो शासन पद्धतिको खुलेर बचाउ गरे तापनि अन्य देशको शासन प्रणालीको विरुद्धमा कहिल्यै बोलेको थिएन । आफ्नो राजनीतिक दर्शन निर्यात नगर्ने उसको औपचारिक नीति नै थियो । सी विचारधाराको ‘नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद’ले भने घुमाउरो भाषामा अन्य देशले समेत त्यसलाई अनुशरण गर्न‘पर्ने परोक्ष आग्रह पेस गरेको छ । ‘आफ्नो सिद्धान्तको जित’का लागि एकजुट र प्रतिबद्ध हुन आग्रह गर्दै अब चीन आक्रामक रूपले अगाडि बढ्ने ‘मुड’मा देखिन्छ । सीको मन्तव्यमा चीनका लागि दुई चरणमा तत्कालीन भविष्यको खाता कोरिएको छ । पहिलो चरण अर्थात् सन् २०२० देखि सन् २०३५ मा चीनले ‘समाजवादी आधुनिकीकरण’लाई आत्मसात गर्नेछ भने सन् २०३५ देखि २०५० सम्ममा बलियो आधुनिक समाजवादी देशका रूपमा थप समृद्ध, प्रजातान्त्रिक, सहिष्णु र सांस्कृतिक रूपमा विशिष्ट बन्ने लक्ष्य लिएको छ । एसियातर्फ सरिरहेको बजारलाई आफ्नो स्वार्थ अनुकूल बनाउन पश्चिमा शक्तिभन्दा अगाडि नै आफ्नो पकड र प्रभाव बढाउन चीनले लगानी बढाइरहेको छ । 

अहिलेसम्म चीनको विश्व मामिलामा खेल्ने अश्त्र उसको अर्थतन्त्र थियो । अब आफ्नो राजनीतिक दर्शनको प्रभावक्षेत्र बढाउने चीनको महत्त्वाकांक्षाले अर्थतन्त्रका आडमा स्थिर बनेको विश्व व्यवस्था केही धर्मराउन सक्ने जोखिमसमेत उत्तिकै छ । पश्चिमा शक्तिदेखि भारतसम्म चीनविरुद्ध एकजुट हुने सम्भावनाबीच चीन कसरी आफ्नो यात्रामा अचल रहन्छ भन्ने दृश्य अबको समयको महत्त्वपूर्ण चासो हुनेछ । 

पश्चिमा मोडलका विकल्पको रूपमा आफ्नो समाजवादी राजनीतिक दर्शनलाई प्राथमिकतासाथ अगाडि ल्याउनुमा चीनले हासिल गरेका केही ठूला उपलब्धिले काम गरेका छन् । जस्तो– चीनसँग अहिले सबभन्दा लामो उच्च गतिको रेल सञ्जाल र प्रविधि छ । सबभन्दा बढी ‘हाइब्रिड’ धान उत्पादनको प्रविधिले काम गरिरहेको छ । बाह्य जगतबारे बुझ्ने सबभन्दा ठूलो सिंगल अपरेचर टेलिस्कोप र सबभन्दा लामो पुलसमेत उसैसँग छ । यी काम उसको राजनीतिक दर्शनको शक्ति र आयाम देखाउने धरोहर हुन् । 

दोस्रो ठूलो अर्थतन्त्र भइसक्दा समेत चीनले अझै आफूलाई विकासोन्मुख देश भन्न छाडेको छैन । बरु हिजोआज उसले गरिबी घटाउनुसँगै धनी–गरिब बीचको खाडल कम गर्नुपर्ने चुनौती झेलिराखेको बताउँछ । चीनको उत्तरी र पश्चिमी भेगमा अझै गरिबी र पूर्वाधार अभाव ठूलो समस्या छ, जसले अझै चीन आन्तरिक रूपमा पनि धेरै बलियो हुन बाँकी रहेको यथार्थ कतैबाट लुकेको छैन । बरु आफ्ना जनतामा ‘सुपर पावर’को धङधङी बसाल्न उसले फरक बाटो समातेको छ । 

कुल मिलाएर अमेरिका र युरोपभन्दा बढी अर्थात् ७५ करोडभन्दा बढी ‘नेटिजन्स’ रहेको चीन साइबर स्पेसमा सुपर पावर बन्ने ध्याउन्नमा छ । यो कुराले उत्साहित भएका युवा पुस्तालाई सीले के कुरामा स्पष्ट बार लगाइदिएका छन् भने ‘त्यो काम कम्युनिस्ट पार्टीको अनुशासन र राष्ट्रिय सुरक्षालाई कमजोर बनाउने मूल्यमा हुने छैन’ । साइबर सुपर पावर हुने र कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टलिजेन्स अर्थात् एआई) मा लगानी बढाउने कुरा सीले आफ्नो मन्तव्यमै निकै महत्त्वसाथ राखेका थिए ।

चीनको लागि यो अर्थतन्त्र र प्रतिरक्षासँग जोडेर फड्को मार्ने दाउ पनि हो । खासमा अमेरिकामा बाराक ओबामा राष्ट्रपति छँदै एआई सम्बन्धी योजनाहरू सार्वजनिक भएका थिए, तर त्यता बजेट कटौती हुँदै गयो भने चीनमा बढोत्तरी । पछिल्ला केही दशकमा मात्र आफ्ना शैक्षिक धरोहरलाई बलियो बनाएको चीनले शताब्दी पुराना विश्वविद्यालय भएका अमेरिकामा भन्दा बढी वैज्ञानिकहरूलाई अहिले निकै आकर्षक सेवा र सुविधामा जम्मा पारिराखेको छ । जो भविष्यको नेतृत्वदायी प्रविधिको रूपमा हेरिएको त्यस्तो एआईका लागि काम गरिराखेका छन्, जहाँ रोबोटले मानिसले झैं कार चलाउने मात्र छैन, कार बनाउने पनि छ । मानव जीवन खतरामा नपारिकनै प्रतिरक्षा प्रणालीमा काम गर्नेछ । चीनबाट आएका सूचनाले यही भन्छन् ।

प्रविधि र साइबर जगतमा चीनले लिएको रफ्तार बुझ्न सीले सन् २०१२ मा सत्ता सम्हाल्दा विरलै प्रयोगमा आउने डिजिटल पैसाको कारोबारसँग अहिलेको अवस्थाको तुलना गरे पुग्छ । चीनमा अहिले मोबाइलबाट मात्रै वर्षेनि ९ खर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक कारोबार हुन्छ । 

पछिल्लो समय वैज्ञानिक अध्ययनमा भएको लगानीले ‘इनोभेसन हब’का रूपमा चीनलाई नै ब्रान्डको रूपमा प्रस्तुत गर्न थालिएको हो । प्याटेन्टहरू चीनका लागि अहिले सबभन्दा बढी जारी भइराखेका छन्, जसले यही गतिमात्रै कायम राखेमा छिट्टै अमेरिकालाई उछिन्नेछ । कुनै समय दोहोरो अंकको आर्थिक वृद्धिदर पक्रेको चीन अब ‘न्यु नर्मल’ अवस्थामा अगाडि बढ्न खोजिरहेको छ, जहाँ वैज्ञानिक खोज र नवीनतम अन्वेषण सहितको उच्च गुणस्तरीय उत्पादन प्राथमिकतामा हुनेछन् । 

पछिल्लो एक दशकयता ‘सफ्ट पावर’मा चीनको लगानी ह्वात्तै बढेको छ । कुनै समय ‘चिनियाँ सामान’ भन्नासाथ कमसल भनेर नाक खुम्च्याउनेहरू सामु विस्तारै चिनियाँ उत्पादन प्रयोगको विकल्प नहुने अवस्थामा छन् । आफ्नो सफ्ट पावर बढाउनकै लागि उसले महँगोमा थुप्रै विदेशी खेलाडीहरू भित्र्याइराखेको छ । सन् २०१४ मा १० अर्ब अमेरिकी डलर चीनले आफ्नो देशको छवि खडा गर्न खर्चेको थियो, जुन मात्रामा लगानी यसअघि कुनै पनि देशले त्यस्तो कामका लागि गरेका थिएनन् । 

चुनौतीका चाङ
जब सी पार्टी विधानसँगै जोडिए, उनको सफलता–असफलता अब एउटा राजनेताको खुबी वा कमजोरीको रूपमा मात्र हेरिने छैन । उनको नीतिमा समस्या आउनु भनेको अब सम्पूर्ण चीन र उसको भावी पुस्ताका लागि समस्या खडा हुनु हो । अझ चुलिएको उनको यो महत्त्वाकांक्षासँगै अब पश्चिमा दबाब झन् बढ्नेछ । प्रजातन्त्र र मानवअधिकारको कसीमा आलोचना खेपिरहने सीसामु निरंकुश हुनखोजेको आलोचना सुरु भइसकेको छ । तर सीका कदमहरूसमेत कम्ता रोचक छैनन् । भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गरिराखेका उनका एक प्रमुख सहयोगी पोलिटब्युरो नेता वाङ स्यान ६८ वर्षे उमेरहदका कारण हालै निवृत्त भए । प्रक्रियागत रूपमा यो स्वाभाविक भए तापनि धेरैले उनको निरन्तरताको अपेक्षा गरेका थिए । 

पार्टीमा पूर्व राष्ट्रपति हु जिन्ताओ कित्ताका मानिने प्रधानमन्त्री ली खछ्याङसमेत फेरिन सक्ने हल्लालाई समेत उनले निस्तेज पारिदिए । तुलनात्मक रूपमा उदारवादी मानिएका प्रधानमन्त्री ली र सीबीच पहिलो कार्यकालमा सैद्धान्तिक र व्यावहारिक तहमै मतभेद देखिएको थियो । काम गर्दै जाँदा एकातर्फ सीले लीप्रति विश्वास बढाउँदै गए भने प्रधानमन्त्री लीले पनि सीको कार्यगत शैली र नीतिमा समाहित हुँदै गए । बीचमा उनीहरूबीच व्यक्तित्व टकराव कतिसम्म देखिएको थियो भने ली खछ्याङका बाह्य संलग्नतामा कडाइ गरेर उनलाई खालि आन्तरिक मामिलामा केन्द्रित गरिएको थियो । 

चीनमा कम्युनिस्ट पार्टीले आफ्नोबारे जति पत्रकार सम्मेलन र प्रचारबाजी गर्दैन, त्यति संकेतहरू छाडिराखेको हुन्छ, जसकै भरमा उसको लयलाई बुझ्नुपर्ने हुन्छ । शीर्ष सात सदस्यीय पोलिटब्युरो स्थायी समितिमा हाल जीवित दुई पूर्व पार्टी महासचिव/राष्ट्रपतिहरू ज्याङ जेमिन र हु जिन्ताओ कित्ताका नेताहरू समानुपातिक जसरी उपस्थित हुन्छन् । तर सीले यसपटक ल्याएका पाँच नयाँ अनुहारहरूमध्ये कसैलाई उनले आफ्नो उत्तराधिकारी घोषणा गरेनन् । २५ सदस्यीय पोलिटब्युरोका १५ नयाँ अनुहारमध्ये १० सी कित्ताका भनेर चिनिएकाहरू छन्, जसले पार्टीका मुख्य निकाय र तहमा अख्तियारी बहन गर्नेछन् । यसले पार्टीभित्र सीले आफ्नो पक्षमा कसरी शक्ति सन्तुलनको कवच बनाएका छन् भन्ने देखाउँछ । 

चीनमा माओपछि एकै व्यक्तिमा यति धेरै शक्ति कहिल्यै केन्द्रित भएको थिएन । अहिले सीले हरेकजसो काममा पार्टी नेतृत्वमै भर पर्नुपर्ने र शासन पद्धतिलाई कानुनी आधारमा विकास गर्ने नीति लिएका छन् । उनले समातेको महत्त्वाकांक्षी यात्रामा आउन सक्ने अवरोधको सामना गर्न यसो गरिएको भन्नेहरू पनि छन् । तर नेतृत्वको आवधिक परिवर्तनले चीनलाई सधैं एकखाले गतिशीलता प्रदान गरेको थियो । र हरेक नयाँ पुस्तासँगै त्यहाँ मौलिक अभ्यासहरू भएका थिए । सीका पूर्ववर्ती हु जिन्ताओको प्रभावलाई सीसँग तुलना गर्न नसकिएला, तर उनको पालामा चीनमा मौन रूपमा भएको विकासलाई बिर्सन सकिंँदैन । यदि तेस्रो कार्यकाल समेत सीले निरन्तरता लिन चाहे भने चीनले हरेक पुस्तासँगै आउने गतिशीलताको चक्रमा धक्का पुग्न सक्छ । एउटै व्यक्तिमा लामो समय शक्ति सञ्चय हुँदा पार्टी जीवनमा नै फरकपन आउन सक्ने र त्यसले अन्तत: सीलाई निरंकुश बाटोमा लैजान सक्ने अवस्थालाई समेत नजरअन्दाज गर्न सकिंँदैन । पार्टीलाई जीवन्त बनाउनबाट चुक्दा भएको सोभियत कम्युनिस्ट पार्टीको पतन चिनियाँ कम्युनिस्टहरूले आफ्नै छिमेकमा देखेका छन् । 

सीको उत्तराधिकारी हुनसक्ने सम्भावना बोकेका व्यक्तिको रूपमा हेरिएका ग्वाङदोङ प्रान्तका पार्टी प्रमुख हु चुङह्वा र उनकै विश्वासपात्र चोङचिङ सहरका पार्टी प्रमुख चेन माइनर दुवै शीर्ष सातमा नपरेसँगै राष्ट्रपतिको दौडबाट स्वत: अलग्गिएका छन् । यसको लगाउन सकिने अर्थ के हो भने सीसँग तेस्रो कार्यकालका लागि आफ्ना नीति आफैंले वा अन्य कसैले नेतृत्व गर्ने भन्ने सोच्न पर्याप्त समय हुनेछ । र उनी तेस्रो कार्यकालसमेत निरन्तर राष्ट्रपति भए भने महान नेता देङ सियाओ पिङले बनाएको पऽस्ता हस्तान्तरणको ढाँचामा समेत ‘ब्रेक’ लाग्नेछ । सी यसरी आफ्ना कदम चालिराखेका छन् कि देशभित्र र बाहिरका प्रतिस्पर्धीलाई उनले छाडेका संकेतहरू ‘डिकोड’ गर्न धौधौ परिराखेको छ । 

सीको ‘सिग्नेचर’ अवधारणाका रूपमा रहेको बीआरआई अपारदर्शी र वातावरणमैत्री नभएको भन्दै त्यसको बारम्बार आलोचना हुने गर्छ, जससँग अझ उपल्लो तहमा उनी कसरी जुध्छन् भन्नेले समेत उनको परीक्षा लिनेछ । हुन त अन्तर्राष्ट्रिय सम्बन्धको परिभाषा नै बीआरआईसँगै फेरिएको भन्नेहरू पनि छन् । एक्काइसौं शताब्दीमा समृद्धि अब ‘राष्ट्रिय स्वार्थ’को रक्षा गरेर मात्र नभई राष्ट्रभन्दा माथि उठेर ‘साझा स्वार्थ’को रक्षाले दिने चिनियाँ अवधारणाले बोल्ने बीआरआईका पक्षधरहरू ठान्छन् । 

हवाइजहाजमा विश्व घुमिरहेका चारमध्ये एक चिनियाँ पयर्टक स्वयं चीनको सफ्ट पावर अस्त्रका रूपमा विस्तार भइराखेका छन् । तर अहिले बाहिर निस्केर फर्कने धेरैजसो चिनियाँ तन्नेरीहरू ‘भीपीएन’ भनिने प्रोक्सी इन्टरनेट सर्भरका प्लेटफर्म बोकेर फर्किराखेका छन् । यो दिन–प्रतिदिन अधिकतम स्वतन्त्रता खोजिरहेको चिनियाँ पुस्ताको चित्र हो । र चीनको लागि एउटा ठूलो चुनौती पनि । एकातर्फ सफ्ट पावरलाई अस्त्र बनाउन खोजिरहँदा पनि पूर्णरूपमा खुल्न नसक्दा चीनको फिल्म उद्योग सांस्कृतिक रूपमा धनी भइकन पनि विश्व बजारमा खरो उत्रनसकेको छैन । बरु बलिउड फिल्म दंगलले विश्वभर दुई हजार करोड भारतीय रुपियाँको व्यापार गर्दा चीनबाट मात्रै हजार बढी करोड असुलेको दृष्टान्त छ । विश्वमा अब्बल दरिएका चिनियाँ फिल्म निर्माताहरू मूल चिनियाँ भइकन पनि पश्चिमा देशका नागरिकको हैसियतमा छन् । 

मूलत: धेरै अन्तर्राष्ट्रिय जगतमा आँखा डुलाउँदा र विश्व शक्तिसँग प्रतिस्पर्धा गर्ने धुनमा छायामा पर्नसक्ने आन्तरिक विकास र जीवनस्तर सुधार नै चीनको चुनौती हो । यो रफ्तारलाई व्यवस्थापन गर्न नसकेमा आन्तरिक ऋणमा बढी निर्भर चीनबाटै आर्थिक संकट ननिम्तिएला भन्न सकिँंदैन । त्यसैले एकथरी विश्लेषकहरू कम रफ्तारमै अगाडि बढ्नु चीनको दिगो भविष्यको लागि हितकर हुनेसमेत बताउँछन् । तर ‘वास्तविक अर्थतन्त्र’को वातावरण बनाउन ठूलो सोच्नुपर्ने र एक ढिक्का हुनुपर्ने नै सीको मन्त्र छ । सायद १९ औँ कंग्रेसमा धेरै चिनियाँ कमरेडहरूले उनको त्यही ठूलो सोचमा साना असन्तुष्टि जनाउन चाहेनन् । र साढे तीन घन्टा सीले मन्तव्य पढेपछि ‘असहमति भए हात उठाउन’ भन्दा सबैले एकै स्वरमा भने, ‘मेयो’ अर्थात् ‘छैन’ । 
ट्विटर : @pdpbasyal, @sanjeev1974ad

 

चीन चलाउने सात नेता

सी चिनफिङ, ६४
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव, राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष

ली खछ्याङ, ६२
प्रधानमन्त्री । अर्थशास्त्रमा लीका नीति चीनका ‘लिकोनोमिक्स’का रूपमा परिचित छन् । पूर्व राष्ट्रपति हु जिन्ताओ कित्ताका उनी सीपीसीमा दोस्रो दर्जाको नेता भइकन पनि राष्ट्रपति सीको छायामा परेका छन् । 

ली झान्सु, ६७
सीका पुराना साथी र हालका चिफ अफ स्टाफ ली राष्ट्रपति सीलाई ‘कोर लिडर’ बनाउन र उनका नीतिलाई स्थापित गर्न सबभन्दा बढी खटिएका व्यक्ति हुन् । गरिबी निवारणजस्ता चीनका आन्तरिक मामिलामा उनको भूमिका छ । उनी अब राष्ट्रिय जनकंग्रेसको सभापति हुने सम्भावना छ ।

वाङ याङ, ६२
कार्यकारी उपप्रधानमन्त्रीको रूपमा रहने वाङ ‘ट्रेड नेगोसेटर’का रूपमा परिचित छन् । निजी उद्यम र नागरिक समाजका प्रबद्र्धक उनी उदारवादी नेताका रूपमा हेरिन्छन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा केही महिनाअघि काठमाडौं आएका थिए ।

वान हुनिङ, ६२
प्रचार तथा नीति विभागको नेतृत्व गर्ने सम्भावना भएका उनी सन् १९९५ मा राष्ट्रपति ज्याङ जेमिनको सल्लाहकार र भाषण लेखकको रूपमा प्राज्ञिक क्षेत्रबाट राजनीतिमा छिरेका थिए । सीलाई कूटनीतिक परामर्शमा सघाउने उनी ‘चीनका (हेनरी) किसिङ्जर’को रूपमा चिनिन्छन् ।

झाव लिझी, ६२
झाव सीपीसीको सबभन्दा शक्तिशाली र रहस्यमयी मानिने भ्रष्टाचार विरोधी निकायको प्रमुख र अनुशासन अनुगमन सम्बन्धी केन्द्रीय आयोगको प्रमुखसमेत हुन् । उनी सन् २०१२ मै स्थायी कमिटीमा आउने चर्चा थियो, तर अन्तिम समयमा पछि परेका थिए । 

हान जेङ, ६३
पुरा राजनीतिक करिअर सांघाईमा बिताएका हानलाई उक्त सहरलाई विश्वको आर्थिक केन्द्र निर्माणको श्रेय जान्छ । आर्थिक टेक्नोक्र्याट पृष्ठभूमिका उनी चीनको महत्त्वपूर्ण आर्थिक निर्णयकर्ता हुनेछन् । उनी चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका सभापति हुँदै छन् ।

 

प्रकाशित : कार्तिक ११, २०७४ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?