२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चिया प्रवर्द्धनका लागि ‘टी टेस्टिङ’

स्वदेशी र विदेशी पारखीको सहभागिता
विप्लव भट्टराई

इलाम — चियाको राजधानी मानिने इलामका कृषक उपयुक्त बजार नपाएको भन्दै गुनासो गर्छन् । यहाँ उत्पादित ४० हजार किलो अर्थोडक्स चियामध्ये ८० प्रतिशत भारत, १० प्रतिशत पश्चिमा देश र बाँकी १० प्रतिशत आन्तरिक बजारमा खपत हुने गरेको छ ।

 चिया प्रवर्द्धनका लागि ‘टी टेस्टिङ’

अन्तर्राष्ट्रिय बजारमा सबै कृषकको पहुँच कम छ । चियाको पर्याय कन्यामको मुख्य पर्यटकीय क्षेत्रमा मंगलबार आन्तरिक बजार प्रवद्र्धनका लागि भिन्न शैली अपनाइयो । जिल्लाका दर्जनौं साना–ठूला चिया कारखानाका उत्पादन त्यहाँ राखिए । ‘टी टेस्टिङ’ नाम दिइएको कार्यक्रममा कन्याम आउनेहरूले स्वाद चाखे ।

चिया तथा कफी विकास बोर्डको आयोजनामा आयोजित कार्यक्रमका क्रममा घुम्न आएका विदेशीले सडकमै चिया पिउँदै रमाए । ‘चियाको बजार नेपालभित्र पनि धेरै छ,’ बोर्डका प्राविधिक नवीन कोइरालाले भने, ‘हामीले चियाको स्वाद र फाइदाबारे यहाँका उपभोक्तालाई पनि प्रत्यक्ष जानकारी गराउन नसकिएको अनुभव भएकाले उत्पादन हुने क्षेत्रमा नै चियाको स्वाद चखाएका हौं ।’ पछिल्लो समय कृषकले आधुनिक मेसिन खरिद गरेर चिया प्रशोधन गर्न थालेका छन् । साना र मझौला कारखानाको उत्पादनको धेरै हिस्सा आन्तरिक बजारमा खपत हुन्छ ।

यस्तै उत्पादनलाई लक्षित गरी आन्तरिक बजार प्रवद्र्धनको प्रयास थालिएको बोर्डको फिक्कलस्थित केन्द्रका सुमन तिखत्रीले जनाए । जिल्लामा कृषकस्तरबाटै ससाना चिया कारखाना खुल्ने क्रम बढदो छ । जिल्लामा ६० वटाभन्दा धेरै साना चिया कारखाना सञ्चालित छन् । अधिकांश साना चिया कारखानालाई बजारको सहज पहुँच छैन । धेरैको व्यापार यहाँ आउने आन्तरिक पर्यटकको भरमा छ ।

नेपाली उपभोक्ताले अर्थोडक्स चियाको प्रयोग गर्ने क्रम बढाउन सकेका छैनन् । देशभर प्रयोग दैनिक प्रयोग हुने चियामध्ये अधिकांशले सीटीसीको प्रयोग गर्छन् । यहाँ उत्पादित चिया स्वास्थ्यका लागि लाभदायक भएकाले प्रयोग बढाउनुपर्ने कृषक र व्यवसायीको भनाइ छ । जिल्लाका अधिकांश क्षेत्रमा चियाको व्यावसायिक उत्पादन हुन्छ । मुख्य गरी सूर्योदय नगरपालिकामा कृषक र कारखानाको संख्या धेरै छ । ‘चियाको बजार प्रवद्र्धनसँगै गुणस्तरीय उत्पादनका लागि सक्दो सहयोगका लागि प्रतिबद्ध छौं,’ सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले भने ।

इलाममा २४ ठूला कारखाना सञ्चालित छन् । कृषकबाट हरियो चियापत्ती खरिद गर्ने यी कारखानाले उत्पादनको सहज बजार बनाएका छन् । कृषकले भने हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढेको छ ।

प्रकाशित : कार्तिक १६, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?